विचार र व्यवहारका कविः अनिल

0
1701

श्रमशील

कवि अनिल साहित्यकार अनिल श्रेष्ठ भइसकेका छन् । जीवनयात्राको दौडमा उनले समकालीन प्रतिभाशाली कवि व्यक्तित्वको सूचीमा आफूलाई आफ्नै रचनाद्धारा परिचित तुल्याएका छन् । २०५० देखि निरन्तर साहित्यिक कृतिहरुको प्रकाशनमा जुटेका अनिलले आफूलाई मूलतः कवि र अंशत अन्य विधाका स्रष्टाका रुपमा परिचित तुल्याएका छन् । समालोचक नारायण मरासिनी कवि अनिलका कविताहरुलाई दशवर्षे नेपाली संवेदनाका ऐतिहासिक अभिलेखका रुपमा स्विकार गर्दछन् (मरासिनीः २०६७ः २९४) । नेपाली समालोचना क्षेत्रका वरिष्ठ समालोचक चैतन्यदेखि चालिसका दशकमा जन्मिएका समालोचकहरुले पनि कवि अनिललाई एउटा प्रतिनिधि कवि दर्जामा निगाहाले राखेको पक्कै होइन ।

मेरो अगाडि अहिले अनिल श्रेष्ठ प्रतिनिधि कविता २०७३ छ । कवि अनिल श्रेष्ठका सबै कृतिहरुमा प्रीति लाउने अवसर मलाई मिलेको हुनाले पनि यस कविता सङ्ग्रहमा के कस्ता प्रतिवद्धता/वर्णन/शैली शिल्प थपिए ममा जिज्ञासा रहेको छ । यो शुद्ध हिसाबले पाँचौ र मिसमास विधाका हिसाबले छैंटौ कविता सङ्ग्रह हो । यसका अतिरिक्त उनका एक कथा सङ्ग्रह र एक निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । दर्जनको आसपासमा साहित्य कृति प्रकाशनतर्फ लम्किएका अनिलको काव्यात्मक प्रवृत्ति बुझ्नका लागि प्रतिनिध कविता पढ्नु पर्ने नै हुन्छ । कवि अनिलले उत्ताउलो नभइ र आफूलाई स्वघोषित नगरी यस कविता सङ्ग्रहको छोटो भूमिकामा पोखिदिएका छन् मनका भावहरु । उनको चाहना केवल एकपटक स्पर्श भए कविता सङ्ग्रहको प्रकाशन सकल भन्ने घोषणा ।

यस कवितासङ्ग्रहमा समयक्रम अनुसार कविताको विन्यास गरिएको छ । आरम्भ–२०७२ भित्र ८ ओटा कविताहरु सङ्कलित रहेका छन् भने मफलर युद्ध–२०६९ भित्र १९ ओटा कविता सङ्कलित रहेका छन् । त्यसैगरी आरू फुलेको साँझ–२०६३ भित्र १४ कविता र मृत्युपर्व होइन मेरो देश–२०५५ भित्र १५ ओटा कविताहरु सङ्कलित रहेका छन् । झण्डै पाँच दर्जन कविता यस सङ्ग्रहमा सङ्कलितर रहेकोमा सङ्ग्रहको विन्यास नवीनतम् रचनाबाट पचासको दशकतर्फ ऐतिहासिक पुष्टि गर्ने हिसाबले गरिएको देखिन्छ ।

मैले कविताको समीक्षा गर्दै गर्दा देशमा स्थानीय तहको चुनाव चलिरहेको छ । स्थानीय तहको चुनाव उहिल्यैको पञ्चायत र बहुदलभित्रको गाउँ पञ्चायत र गाविसको चुनाव जस्तै बाहुबली खालकै देखिरहेकै छ । त्यसमा भनिएको छ ‘सिंहदरबारको अधिकार गाउँमा’ । म अझै पनि विश्वास गर्न सक्दिन मेरो शङ्कालु मन र अनुभवसिद्ध विगतलाई । शायद कवि पनि यहाँ बडो कलात्मक विचारको आडमा तथ्यपरक ढङ्गले भन्छन्ः

लैजाऊ, ती सबै राहत
ऊ त्यो मुर्दाघरलाई नै चाहिन्छ
चाहिँदैन हामीलाई
यी सबै वस्तुहरुको
अत्यधिक खपत हुने ठाउँ
हो त्यो मुर्दाघर
यो देशको सबैभन्दा ठूलो
मूर्दाघर हो
सिंहदरबार ।

आजसम्म जो जसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको कुरा गरेपनि जनता बलियो हुनै पाएको छैन । आज पनि जनतालाई रक्सी र एकछाक मासुले किन्न तल्लीन नेताजी र नेताका आसेपासेले भूकम्प, बाढीपहिरो, आगलागी आदि शीर्षकमा आएको बजेट सिंहदरबारकै आडमा बसेर चपाएका छन् । हुन त सिंहदरबारमा सिंह हु भन्ने नेताहरु मत्रै छैनन् सिंहलाई स्याल बनाउन खप्पीस नोकरशाहहरु तिसौं वर्षदेखि वहीखाता मिलाएर नयाँ क्रान्तिकारी नेतालाई तस्कर नीतिको दास बनाउन र खुइल्याउन तल्लीन छन् । त्यसैले त अवकासपछि कि झुण्डिएर कि विष सेवन गरेर नभए अदालतमा आत्मसमर्पण गर्न हत्त न पत्त पुगेर जिन्दगीको परिचय दिइरहेका छन् । आज हामी प्रश्न गर्न सक्छौं मगन्ते महतहरुले विश्वको सफल अर्थमन्त्री भएर मागेको पैसा ….. ज्ञवाली र ….. पोखरेलहरुले क–कसलाई पोसे । भूकम्पमा पीडा भोगेकाले पैसा लिन के कुराले छेक्यो । के यो देशको सरकारी कर्मचारी मात्र नागरिक हो ? सुकुम्बासीले कहाँ देखाउने लालपूर्जा ? अचम्मको छ सिंहदरबारको नियम । मत्स्यन्यायलाई आदर्श न्याय सम्पादनको आधार बनाउने न्यायमूर्तिमा दर्ता भएका …… मल्लहरु प्हिलो संविधानसभामा के गर्दै थिए ? एनजिओ र आइएनजिओको आडमा नेता, मन्त्री र राजनीति नियुक्ति खाएकाहरुले देशलाई कसरी खाइरहेका छन्, क्रान्तिकारी नेता दिनप्रतिदिन कसरी बेचिँदो छ,

म ईष्र्या गर्छु
यो देशका बूढो प्रधानमन्त्रीको
प्लाष्टिक सर्जरी गरिएका तन्नेरी गालाहरुसँग
उसका गालाहरुको रङ सधैं
हामीलाई भ्रम बेच्न सिपालु छन्
र, मलाई याद आउँछ
सात दलको
बैठक स्थगनपछि
बाहिर निस्किरहेका अध्यक्ष प्रचण्डका
थकित आँखाहरु
लोडसेडिङले थला परेको सहर
र, अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रभित्र
संविधानसभाको
बैठकहलबाट उठिरहेको
सभासद् सपना मल्लको हाँसो

यो अँध्यारोमा मलाई
यी दुबै उत्तिकै अद्धितीय लाग्छन् ।

२०६५ सालमा लेखिएको यस कविताको रचनागर्भ र आजको गणतन्त्र नेपालको अवस्था हेर्दा त्यस्तो तात्विक भिन्नता रहेको देखिन्न । आज पनि किन चाउरिस मरिच आफ्नै पीरले भनेझैं प्रचण्ड उही ठाउँमा छन् । उही बूढो प्रधानमन्त्रीको पार्टीका चौथोपटक प्रधानमन्त्री हुने एकहत्तर वर्षे युवा नेता देशको बागडोर सम्हालिरहेका छन् । उनै सपना मल्लहरु विचार कमजोर रहेको दोस्रो संविधानसभाद्वारा निर्मित संविधानको व्याख्या गर्दै निर्णय दिन न्यायालयमा पुगेका छन् । यता जनताको सम्पन्न बन्ने सपना सपनाहरुले नै निलिरहेका छन् । बनावटी हाँसो र नाम मात्रको गणतन्त्र उस्तै लाग्छ । देशभित्रका समस्या जहाँको तहीँ छ । कर्मचारीतन्त्र मौलाएको मात्र होइन बौलाएको छ । नेता कुर्सीको स्वादमा होश गुमाउदै हिँड्दैछन् । कसैलाई राष्ट्रवादको भूतले सताएको छ । चाकरी चुलिएर अर्को सगरमाथा बनिसकेको जो कर्सले अनुभूत गर्न सक्छ । कवि वर्तमानका यी तस्विरहरुलाई पनि आफ्नो कवितामा समेट्न सक्षम देखिएका छन् ।

कवि विचार र वस्तुलाई बाँससँग तुलना गर्दै अत्यन्त व्यङग्यात्मक भाव निकाल्न सफल देखिएका छन् । कविको चेतना बोल्छ,

बाँस
जसलाई तिमी
लौरो बनाऊ
र बर्साऊ दुनियामाथि
र तिम्रो लौरोबाट
भागिरहेको
दुनियालाई हेरेर
तिमी
मस्तले हाँस
एक्लै ।

प्रतिनिधि कविताभित्र प्रतिनिधि अनुभव र प्रतिनिधि विचार पनि एकैचोटि प्रस्तुत भएको छ । घण्टाघरलाई भुइँचालोले पनि नढलेको बलियो निर्मितिका रुपमा सम्बोधन गर्दै इतिहासमा देखिएका थुप्रै गल्ती र कमजोरी, लुट, भ्रष्टहरुलाई भुइँचालोले नढलेका घण्टाघर जस्तै जनताका विचार पोखिएका रचनाहरुले कहन सक्छन् भन्ने मान्यता यसमा प्रकट गरिएको छ ।

कुनै कुनै कवितामा अमूर्त चिन्तनलाई प्रस्तुत गर्दै जाँदा निराशाजनक भाव पनि पस्कन पुगेका छन् कवि । कवि ‘बीस हजारी तालको किनारामा सुकिरहेको एउटा रुख’मा जीवनको अन्त्य र निस्सारतालाई अनायासै प्रस्तुत गर्न पुग्दछन् । जहाँ उनले खासै सकारात्मक सन्देश दिन सकेका छैनन् । सुकेको रुखले कसरी साहस र धैर्यको प्रतिनिधित्व गर्न सक्ला ? प्रश्न पाठकको मनमा उत्पन्न हुन्छ ।

तिमी
कविहरु चाहिँ
सधैं किन
यतिका
उदास छौ हँ ?

कवि अनिलले कविहरु मूलतः प्रशस्ति, चाकरी, नुनतेलको जोहामा लागेको प्रति कडा व्यङ्ग्य गरेका छन् । अभावहरुका बिचमा भाव खोज्ने, अभावहरुलाई आशामा बदल्ने कवि किन सेलाइरहेका छन् । सत्ताले कविहहरुलाई कसरी खेलाइरहेका छन् । कविको आक्रोश कविताबाटै सहजै थाहा पाउन सकिन्छ । मूलतः सहरले मान्छेलाई निलिसकेको छ । सहरले मान्छेलाई दास मात्र बनाएको छैन जिउँदो लास सावित गरेको कुरालाई उनले दोहो¥याएका छन् ।

कवि अनिललाई पछिल्ला कवितामा मात्र हेरेर उनको काव्य चेत वा निरन्तरतामा जानिँदैन । उनलाई झण्डै २० वर्ष अगाडिको कविताबाट पनि हामी उत्तिकै समसमायिक चेतना भएका कविका रुपमा चिन्न सक्दछौं ।

घरेलु उत्पादित
मुलायमरभुवादारपस्मिनाजस्तै
जसरी सिंहदरबारबाट ग्राइण्ड डिजाइन गरेर
यो मुलुकको नक्सा
कुनै भारतीय प्रधानमन्त्रीको निवासमा
उपहार सहित सकुशल पठाइने गर्छ
अति इमर्जेन्सी पार्सल डकुमेण्ट
तपाईं पनि आफ्नो विदेशी प्रेमिकाको
जन्मदिनको शुभअवसरमा
निश्चिन्त पठाउन सक्नुहुनेछ
पार्सलमा यो देश

यो देशलाई पार्सल गर्नका निम्ति बनेका विपी, जीपी र केपीहरुका योजना र उदार अर्थ नीतिलाई यस कविताले मार्मिक ढङ्गले उठाएको देखिन्छ । साहित्यका पाठक नबनेका नेता र नेताका आडमा कमाउन पल्किएका बाठा–टाठा धुपौरेहरुलाई देशको माया नभएको पक्कै हो । प्रजातन्त्रवादी हुँ भन्नेहरुले देशको प्रजातन्त्रलाई खेलौना बनाएकोप्रति कविको गम्भीर असहमति कविता मार्फत विम्बात्मक ढङ्गले चित्रित छ ।नाम नलिइकनै पनि नामी तस्करहरुको सातो उडाउन र काला व्यापारीको हातमा राज्यको नीति नियमलाई सुम्पनेहरुप्रति अझै जनतामा चेतना फैलिइ नसकेको भाव उनका आजका कवितामा समेत उठेका छन् ।

किन सधैं
संदेहपूर्ण छ हँ ?
यो मुलुकको न्यायाधिशको
आँखाको अपारदर्शी
कालोचश्मा ?

कवि अनिलले नेपाली समाजको हर एक पक्षलाई आफ्नो कवितामा सजाएका छन् । अटाएका छन् । आशा मार्नु हुँदैन । जीवन सङ्घर्षको निम्ति हो । कवि भिजिलान्ते होइन । कवि प्रतिपक्ष हो । अन्धकार च्यात्ने यात्री हो । विचार विनाको यात्रा मृत्युतर्फको यात्रा हो । कविका कविताका विषयवस्तुले पाठकमा भित्रदेखि नै सही इतिहास खोज्न घच्घच्याएका छन् । सत्ताको इतिहास र जनताका सङ्घर्षको इतिहास मिल्दो रहेनछ । शायद राजनीति सत्ताको आडमा शासन गर्न चाहन्छ । राजनीतिको विपक्षमा खवरदारी गर्ने काम साहित्यको हो । कवितामा विचार भएर पनि सजिला विम्बात्मक भावले पाठकको मनमा बस्न उनी सफल भएका छन् । कविलाई कुनै सेलिब्रेटी बन्नु छैन । कवि त विचारका संवाहक हुँदै हुन् ।

अन्त्यमा, कवि अनिल श्रेष्ठ नेपाली साहित्य यात्रामा प्रगतिवादी भावधारामा निरन्तर कलम चलाउँदै अघि बढिरहने कविका रुपमा परिचय बनाएका कवि हुन् । कवि अनिलले अमूर्त विम्बलाई भन्दा विपरिचितिकरणबाट परिचितिकरण गरिएका कविताहरुमा बढी जोड दिनु पर्दछ । प्रतिनिधि कविताले पाठकलाई लेख्न थाकेर लेखेका मध्य उत्कृष्ठ छानेको होला भन्ने जस्तो भाव जाहेर गर्दो रहेछ । क्रान्तिकारी विचारबाट आलोकित कवि अनिलका कविताहरु नेपाली समाजको सांस्कृतिक अध्ययन, राजनीतिक यात्राको बोध र उनको जीवनको नित्य निरन्तर साहित्य साधकको लागि प्राथमिक सामग्री बनेका छन् । कविताले इमान्दार लेखन, वैचारिक लेखन, निरन्तर लेखन, आशावादी लेखनलाई सुस्पष्ट तुल्याएको छ । आजको उत्ताउलो साहित्य बिक्री हुने साहित्यको बजारमा विज्ञापन बिनै उनी पढिएका छन् । उनका विचार स्विकारिएको देखिन्छ । सिर्जनधर्मितामा इमान्दार बनेर विचारको वृक्षमा मलजल गर्नु उनको क्रान्तिकारी काव्य चेतको पुष्टि गर्न सकिने आधार हो । कविताभित्र विचारको उठान र व्यवस्थापन क्षमताको प्रमाण हो ।

सौर्य दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here