स्मृतिभित्र

att.2kzPQkFB tJCucsb9bI6 VyEns37dZh3RAi qQIsMv8

साँझको धमिलो एकान्तलाई चिरेर अनायासै पर बस्तीबाट आएको चीत्कारपूर्ण कारुणिक कोलाहलले स्वाभाविक रुपमा मेरा आँखाहरु पर बस्तीतिर पुगे । बस्तीको एउटा आँगनअघिल्तिर मान्छेको भीड र कल्याङ्बल्याङ देखिन्थ्यो ।

‘आज पनि रक्सीले मातेर बीरबहादुरले स्वास्नीलाई पिटेछ क्यारे ।’ मेरो मनले सोच्यो । त्यसैबेला मेरी बहिनी बार्दलीमा देखा परी र भनी– ‘दाइ, लुरी मरी बाबै !’

‘हँ !’ लुरीको अप्रत्यासित मृत्युको त्यो खबरले मलाई झस्कायो ।

एउटा अविश्वासले मैले बहिनीतिर हेरें । उसको आँखामा शून्यता थियो । अनुहार मलिन देखिन्थ्यो । लुरीको मृत्युको त्रासदी खेलिरहेको थियो सायद उसका आँखाभरि । टोल्हाइरहेकी थिई ।

‘के भएर मरिछ हँ लुरी ?’ मैले सोधें ।

‘भाइलाई सुताएर पानी लिन खोलामा गएकी रे । बाटोबाट चिप्लेर लडिछ र मस्र्याङ्दीको तल किनारमा पुगिछ ।’ उसको स्वरमा आँसु थियो ।

लुरीको मृत्युले ऊ दुखेकी थिई यतिखेर । उसका आँखाहरु व्यथित देखिन्थे । बेथितिसँग उसका आँखाहरु रुन चाहन्थे सायद लुरीका सम्झनाहरुले । बहिनीकी दौंतरी थिई लुरी । लुरीको मृत्युको चोट लुकाउन ऊ घरभित्र आएकी थिई एकान्त खोज्न । र, मलाई देखेपछि उसले भनेकी थिई– ‘दाइ, लुरी मरी बाबै ।’

लुरीको मृत्युको यो अप्रत्यासित खबरले मलाई संवेदित बनाइरह्यो निकैबेरसम्म । यो धमिलो साँझमा उसका स्मृतिहरु हावाका छालहरुझैं घरि उठ्दै र घरि हराउँदै मेरो मानसपटलमा खेलिरहे ।

००००

‘ए लुरी, ……. लुरीऊ ।’

बस्तीमा सधैं साँझ बिहान उठिरहने यो दीन आवाज । एउटी स्वास्नीमान्छेको अन्तरको पीडाको अथाह सुस्केरा । जब यो आवाज यसरी नै मेरो कानसम्म ठोक्किन आइपुग्थ्यो, अनि स्वाभाविक रुपमा मेरा आँखाहरु त्यही परको बस्तीका झुप्राहरुअघिल्तिर पुग्थे जहाँ यस्तै ४०–४५ वयकी एउटी स्वास्नीमान्छे आफ्नो आँगनमा उभिएर त्यसरी नै कराइरहेकी हुन्थी– ‘लुरी, …. लुरी !’

तर प्रत्युत्तरमा जब कतै टाढाबाट लुरीको ‘किन ?’ भन्ने जवाफ पाउँथिनन् अनि उनका आँखाहरु आँगनभरि छरिएको कामको मेलोमेसो समात्न पुग्थे । त्यो हतासपूर्ण वातावरणबाट एकैछिन मुक्त हुन खोजेझैं उनका आँखाहरु अत्यासलाग्दो गरी आँगनबाट उठेर फेरि पर पुग्थे केही खोजेझैं । सायद उनका आँखाहरु त्यहाँ लुरीलाई खोजिरहेका हुन्थे । तर त्यहाँ परपरसम्म पनि कतै लुरीको उपस्थिति नदेखेपछि उनी फेरि कराउँथिन्– ‘लुरी, ….. ए लुरी हौ ।’

यदी कतैबाट लुरीको ‘किन ?’ भन्ने जवाफ पाइहाले उनी जोडले कराउँथिन्– ‘तँलाई कालले डो¥याउन कहाँ हिँडेकी हँ !’ उनको आक्रोश उम्लन्थ्यो ।

‘याँ आफूलाई कामको भ्याइनभ्याई छ, हन तँलाई चैं काँ काँ डुल्नु पर्ने हँ ……… ।’ लुरीलाई नजिकै देखेपछि उनको रिस लुरीमाथि खनिन्थ्यो– ‘तँलाई खुट्टा भाँचेर राखुम्ला ।’

अनि एक्लै आफैसँग भुत्भुतिँदै त्यो स्वास्नीमान्छे आफ्नो काममा लाग्थिन् ।

यसैगरी सधैं यो बस्तीको हरेक साँझ र बिहान ती स्वास्नीमान्छेको एउटा आहत स्वरमा डुब्थ्यो । उनको छातीभित्र बल्किन्थ्यो समय । उनको ओंठको सुस्केराहरुलाई छोएर नीरस बहन्थ्यो हावा । उनको आँखामा उदाउँथ्यो एउटा उत्साहहीन घाम । र, साँझको अँध्यारोले उनको दैलोमा उदासी पोखिरहन्थ्यो ।

आठ वर्षकी थिई लुरी । गरिबीले हुर्किरहेकी । गाउँभरिका केटाकेटीहरु किताबको झोला बोकेर स्कुल हिँडिरहँदा ऊ आफ्नी आमाको कामलाई सघाउन अघिपछि हिँड्थी । डोको बोक्थी । घाँस काट्थी । पानी ल्याउँथी । उसको उमेरले यी सबै कामहरुसँग मेल खाँदैनथ्यो । उसको निधारमा सधैं नाम्लोको बोझ झुण्डिरहेको हुन्थ्यो । आङमा आधासरो च्यातिएको कमिज हुन्थ्यो । आफू सँगैकालाई हेर्थी । सुकिला देख्थी । उसको अवोध आँखामा रहरहरु पलाउँथे र झर्थे । डोको समातेर बारीको डीलबाट परको स्कुललाई नियाल्थी । बिचरीलाई आफ्नो रहर पोख्ने कल्लाई ? आमालाई हेर्थी । आफ्नोभन्दा नि बढी दश ठाउँमा च्यातिएको र टालेर मुजा हालेको कपडा आमाले लगाएकी छ । आमाको त्यो दीन अनुहारले उसको मनलाई झनै अरु उच्चाटलाग्दो बनाउँथ्यो । बाउ सम्झ्यो, एउटा कालो छायाँ मात्र उसको आँखाअघिल्तिर आएर खेल्छ । बाउको अनुहारै नसम्झिनु परे हुन्थ्यो जस्तो लाग्छ उसलाई । कालो पिचाशको छायाँ हो कि भनेझैं बाउको अनुहारले उसको मनलाई झस्काइरहन्छ घरीघरी । जब बाउलाई सम्झन्छ, आमाको शरीरभरिको नीला डामहरु उसका आँखाभरि आएर खेल्छ । मनभित्रै कहालिएर रुन्छ ऊ । आमाले कसरी सहेर बसेकी होली यी चोटहरु,’ सोच्छे । आमाप्रतिको एउटा नजानिँदो माया उसको मनमा उर्लिन्छ । कतिखेर उसको आँखामा आँसु आएर टल्बलाउँछ, थाहा हुन्न ।

टोलकै नम्बरी जँड्याहा वीरे भुजेल । जाँडरक्सीले नमातेको र टोलमा होहल्ला गर्दै नहिँडेको समय हुन्न । कहिलेकाहीँ विनावस्त्र बाटोमा पसारिएर लड्थ्यो र बाटो हिँड्नेहरुलाई मुखबाट आमाचकारी गाली निकाल्थ्यो । मान्छेहरुले उसको नजिकै भएर हिँड्न पनि छाडिदिएका थिए ।

‘शरम हरायो यसले ।’ कहिलेकाहीँ आमासँग बाउको बारेमा टोलका मान्छेहरुले गरेको गुनासो लुरीले सुन्थी ।

‘आ, ‘गु’ लाई चलाए गन्ध दिदी ।’ उसकी आमाले छिमेकीहरुलाई भन्थिन् । आमाले यसो भनिरहँदा लुरीले आफ्नी आमाको आँखामा लुकेको विवशता देख्थी । बाउका कारण छिमेकीहरुसँग आमाले सहनु परेको यो लाचारीले लुरीलाई मनभित्र दुखाउँथ्यो । बाउको क्रूर अनुहारसँग लुरीलाई रिस उठ्थ्यो र मनभित्र घृणा जागृत भएर आउँथ्यो । आमालाई मरणासन्न पिट्नु, जिउको कपडा च्यातिदिनु, पोल्टाको पैसा खोसेर लिनु, जाँड धोक्नु र बेहोसीले बाटो दोबाटोमा लड्दै हिँड्नु, बाउको योभन्दा अर्को चित्र लुरीको अबोध मानसपटलमा कहिल्यै आएन ।

‘अरु साथीका बा’हरु कति जाती छन् ।’ लुरीको आँखामा बा’को मायाको तृष्णा खेल्थ्यो ।

०००

‘तिमी स्कुल पढ्न जाँदिनौं ?’ एकदिन बाटोमा खेल्दै गरेकी लुरीलाई सोधें

उसले पुलुक्क मतिर हेरी र जवाफमा संकोचले भुइँतिर हेरेर एकोहोरिई ।

‘किन नगएकी पढ्न ?’ मैले हप्काउने पारामा भनें

‘बा’ले जान दिन्न,’ उसको अनुहारमा अलिकति अँध्यारो खेल्यो । र उसले भनी, ‘बाले स्कुलमा भर्ना त गरिद्या’ छैन ।’

‘किन भर्ना नगरिद्या त ?’ सोधें

‘अनि मैले भाइ खेलाउनु पर्छ नि त ।’ उसको बालसुलभता बोल्यो ।

लुरीको खेलको तन्मयतालाई मैले अरु केहिबेर त्यहाँ उभिएर हेरिरहें । मैले हेरिरहें– उसको अनुहारमा निस्फिक्रीपना थिएन । अनुहारमा विषाद्ले खेलिरहेथ्यो । उसको मनको अन्तरमा खेलिरहेको द्वन्द्वले उसको कलिलो मनोविज्ञान अल्झिरहेको देखिन्थ्यो । उसको आँखामा चञ्चलता थिएन । थकाइले उसका आँखा गलिरहेको देखिन्थ्यो ।

हिउँदको एकदिन ।
घामको न्यानो पाहार ताप्दै म घरको कौसीमा बसेर किताब पढ्दै थिएँ, तलबाट कसैले बोलाइरहेको स्वास्नीमान्छेको स्वर सुनियो, ‘ठूला बाबु, … ए ठूला बाबु ।’

कौसीबाट निहुरिएर हेरें, लुरीकी आमा थिइन् ।

‘खै, आमा हुनुहुन्न ?’ सोधिन्

‘हुनुहुन्छ । किन ? केही काम छ कि दिदी ?’ मैले सोधें

‘बिहान आमासँग कुरा गरेकी थिएँ । बारीको बोडीको झ्याङ उखेलेर लैजाऊँ कि भन्या ।’

‘लैजा भन न ।’ बाहिर लुरीकी आमाको स्वर सुनेर आमा भित्रबाटै कराइन्

‘हुन्छ, लैजानोस् रे ।’ मैले आमाको अनुमतिलाई बाहिर सुनाइदिएँ

एकैछिनपछि मैले बारीको कान्लातिर आँखा पु¥याउँदा बोडीको झ्याङको भारी हालेर लुरीकी आमा चुरोट सल्काएर थकाई बिसाइरहेकी थिई । त्यसैबेला लुरी भाइलाई बोकेर त्यहाँ आइपुगी ।

‘हैन, फेरि किन आइपुगेकी अर्काको बारीमा ? घर हिँड् ।’ आमा कराइन्

‘अँ, भाइ रोएको रोयै त गर्छ ।’ लुरीले आफ्नो आजित पोखिदिई

‘जा न जा, लैजा । म आइहाल्छु । जा त ।’

तर लुरीले आमालाई नसुनिकन कुम हल्लाएर अटेरी गरी । आमाको नजिकै उभिई र आमाको अस्तव्यस्त कपाललाई स्याहारिदिई । छोरीको साना औंलाहरुको त्यो स्पर्शले लुरीको आमालाई एउटा शितलता दियो । छोरीप्रतिको उनको स्नेह उर्लियो मनभित्र । बोलिनन् केही । छोरीको औंलाहरुलाई महसुस गरिरहिन् । र, चुरोटको सर्को तानिरहिन् । एउटा मौनता थियो त्यहाँ । तर पनि वातावरण रङ्गिन थियो ।

लुरीको आँखामा टिल्पिराइरहेको आँसुले छिनभरमै त्यो वातावरणमा खेलिरहेको रङहरुलाई पखालिदियो । लुरीको आँखाले एकटकले आमाको आङलाई नियालिरहेको थियो । आमाको मैलो र फाटेको चोलोले छोप्न नसकेका थुप्रै रातानीला डामहरु आमाको आङभरि थिए । एकपल्ट जिरिङ्ग भएर फुल्यो लुरीको जिउ । लुरीले आफ्ना साना औंलाहरुले ती डामहरुलाई मुसार्न चाही । तर अलिकति छुदा पनि आमालाई ती घाउहरु दुख्ला भनेर उसले आफ्ना औंलाहरु हटाई । लुरीको मनले भक्कानो हाल्यो तर उसले त्यो भक्कानोलाई भित्रभित्रै दबाई । जति रोक्न खोज्दा पनि लुरीको आँखाको डिलको दुई थोपा आँसु आमाको आङमा खसे । लुरीले आमालाई हेरी । चुरोटको लामो सर्कोसँगै उसकी आमा धुँवामा हराइरहेकी थिई ।

‘आमा ।’ लुरीले आमालाई झक्झक्याई

‘के ?’ अनिच्छाले लुरीकी आमा बोली

‘तिमीलाई के बा’को माया लाग्छ हो ?’ लुरीले सोधी । तर उसकी आमा बोलिन । चुरोट तान्दै एकटकले कतै हेरिरहेकी थिइन् ।

‘भन न भन्या आमा ।’ आफ्नो हठलाई लुरीले छाडिन ।

‘के भन्या ?’ झर्किन् लुरीकी आमा ।

‘तिमीलाई के बा’को माया लाग्छ ?’ लुरीले सोधी

लुरीकी आमाले लुरीलाई हेरी । छोरीको ओस्सिएको आँखामा सल्बलाइरहेको दुःखलाई हेरी । आमाले लुरीलाई नजिकै बसाली र कपाल मुसार्दै भनी– ‘लाटी, आफ्नो लोग्नेको माया पनि लाग्दैन त !’

‘अँ, बा’ ले त तिमीलाई पिट्छ ।’ लुरीको संवेदना बोल्यो

लुरीकी आमा केही बोलिन । छोरीको आँखामा हेरिन् । छोरीको आँखाको आँसुले उनलाई नरमाइलो बनायो । आमाछोरीको आँखाको त्यो मौनतालाई टिपेर एकैछिन त्यहाँ उदास बहिरह्यो हावा ।

‘के गर्छेस् त बाबै । तिमीहरु नै त छौ मुख हेर्नु ।’ लुरीको अनुहारलाई नियालेर उनले एकचोटि खुइय काढी । एकछिनपछि ती दुई आमाछोरी घाँसको भारी लिएर त्यहाँबाट उठे ।

यसरी नै लुरीको त्यो घरपरिवार, ती दुई आमाछोरीको आँसु र उनीहरुको आँखाभित्र खेलिरहेको दुःखको कोलाहललाई कहिलेकाहीँ मैले नजिकैबाट हेर्दै आइरहेको छु ।

आज पनि, बिहानै त हो । लुरी हाम्रो घरको आँगनमा साथीसँग खेलिरहेकी थिई । आमाको घाँटी सुक्ने गरी चिच्याइरेको आवाज सुनेर लुरी सँगै खेलिरहेका साथीहरुलाई छाडेर घरतिर कुदी ।

‘हैन, भात खानु पनि नपर्ने कस्तो हँ !’ लुरीलाई देखेर परैबाट कराइरहेकी उसकी आमाको स्वरलाई सुनें– ‘भात खाएर घर कुरेर बस् । म वन गएर आँउछु ।’

लुरीकी आमा नाम्लो हातमा लिएर निस्किई ।

‘भाइलाई राम्ररी हेर नि फेरि । उठेर रोइरहला ।’ आमाले भन्दै थिइन् ।

दिउँसो म बस्तीतिर निस्कँदा हातमा झोलुङ्गाको डोरी समातेर लुरी धुलौटे पिढीँमै निदाइरहेकी थिई ।

०००

तर यतिबेला लुरीको मृत्युको यो अकस्मात खबरले भने मलाई संवेदित बनाइदिएको छ । अब लुरी छैन । लुरीका सपनाहरु छैनन् । मात्रै उसको स्मृति छ त्यहाँ ।

‘लुरी तिम्रो आत्माले शान्ति पाओस्’, मनले कामना गरें

साँझको वातावरणमा छाएको अँध्यारोको गाढापन विस्तारै बढ्दै गइरहेको छ । पर बस्तीबाट हावाले ल्याएको कारुणिक कोलाहल र हावाले लहरिँदै क्रमशः टाढा बन्दै गइरहेको शङ्खको ध्वनिले साँझलाई बिरानो बनाएको छ । यही बिरानो साँझ बोकेर लुरीको सम्झना मेरो आँखाअघिल्तिर खेलिरहेको छ ।

२०४८
साप्ताहिक मातृभूमि

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these