(कवि सुनिता बुढाथोकी र देशको स्वाधीनताको रक्षाको लागि
लडिरहेका सम्पूर्ण देशभक्तहरूप्रति)
सडकमा आन्दोलन उठिरहेको बेला
हातमा कविता च्यापेर
कविगोष्ठीतिर हिँडिरहेको
मलाई सुहाउन्न
आन्दोलनमा
मैले बोकिरहेको प्लेकार्ड
र, यो राष्ट्रको लागि
यो सडकमा उठिरहेका आवाजहरू
मेरा कविता हुन्
म यो देशको
स्वाधीनताको रक्षाको लागि
लडाइँ लडिरहेको
एउटा देशभक्त
नागरिक हुँ
यो सत्ताका
हतकडीहरूले मलाई
कदापि बाँध्न सक्दैनन्
म यो दलाल सत्ताको विरोधी
कवि सुनिता बुढाथोकी हुँ
आलोक शृङ्खला, २०७८