गाउँको माड्साब

WhatsApp Image 2026 08 15 at 5.10.33 PM 1

आउनुहोस
म तपाईसँग उहाँलाई
परिचय गराउँछु

उहाँ मेरो गाउँको माड्साब

कक्षामा भूगोल पढाउनु हुन्छ
अर्थशास्त्रका एक दुई कक्षा लिनुहुन्छ
राजनीति उहाँको शौक
कहिले समाजशास्त्र पढाउनु हुन्छ
राजनीतिक अर्थशास्त्रको
ज्ञाता हुनुहुन्छ

तपाईं उहाँलाई
जुनसुकै नामले चिन्नुहोस
भूगोलविद् भन्नुस
समाजशास्त्री भन्नुस
राजनीतिज्ञ भन्नुस
विशेषज्ञ भन्नुस
प्राज्ञ भन्नुस
(असलमा उहाँ रङहरुको
कुशल संयोजक हुनुहुन्छ
र, चमेरा उहाँको वर्ग हो ।)

एकताका
आफ्ना समकालीनहरू माझ
उहाँ अत्यन्तै चर्चित हुनुहुन्थ्यो
(अझै पनि चर्चामा आइरहने
प्रसङ्ग हो यो ।)

एकदिन
कक्षामा उहाँले कालोलाई
सेतो छ भन्नु भो
विद्यार्थीले विनम्रतापूर्वक
कालोलाई कालै छ भने
उहाँले एउटा जोडदार चड्कन
विद्यार्थीको गालामा हान्नु भो
र, कड्किनु भो –
‘चुप लाग गधा,
कसले तँलाई यो नचाहिँदो
कुरा सिकायो ?’

हिजोआज
कक्षामा भूगोलको पढाइ हुँदैन
(आजकल किताबबाट
भूगोलको पाठ्यक्रम हटाइएको छ
यो कुनै अनिवार्य विषय होइन ।)
त्यसैले आफ्नो देशको
अक्षांश र देशान्तर
आजकल उहाँले बिर्सिसक्नु भएको छ
‘सर सगरमाथा कहाँ पर्छ ?’
विद्यार्थीले सोधे भने
‘तँलाई किन यो चासो ?’
उहाँ भन्नुहुन्छ

उहाँ राष्ट्रियता पढाउनु हुन्छ
राष्ट्रियतामा साझा अधिकारका
कुराहरू पढाउनु हुन्छ
तर अर्काको साँधभित्रको कुवा
कसरी साझा बन्न सक्छ ?
कक्षामा नानीहरू बुझ्दैनन्
उनीहरू मौन छन्
र, एकअर्कालाई हेरेर
टोल्हाइरहन्छन्

प्रसङ्गहरूबाट निस्केर
म गम्छु– देश खै कता गइरहेछ ?
भोलि के हुने हो यो देश ?

एकाएक
म यो के देख्दैछु !
यो देशको प्रतिनिधिसभाका
सांसदहरूमा फेरिएर
संसदघरभित्र
धमाधाम उपस्थित भइरहेछ
मेरो गाउँको माड्साब ।

२०५१

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these