मिश्र वैजयन्तीका दुई कविता

WhatsApp Image 2026 07 24 at 3.51.27 PM

मिश्र वैजयन्ती (२०२५, ताप्लेजुङ) मोफसलका एक सशक्त साहित्यिक हस्ताक्षर हुनुहुन्छ । झापाको दमकमा रहेर उहाँ झण्डै तीन दशकदेखि सिर्जना र साहित्यिक सङ्गठनहरुमा क्रियाशील हुनुहुन्छ । मोफसलमा रहेर पनि समकालीन साहित्यमा उहाँका कविताहरु हस्तक्षेपकारी छन् । उहाँका कविताहरुमा सामाजिक विसङ्गतिहरुप्रति विमति छन् । निम्न तह र पाश्र्वमा पारिएकाहरुको आवाज र उनीहरुको विद्रोह छ ।

उहाँका ‘मोरङका समकालीन कविता’– (सहलेखन, २०६०), ‘संवेदनाका नागबेलीहरु’ (हाइकुसङग्रह, २०६२) र ‘पाश्र्व आवाज’ (कवितासङ्ग्रह, २०६६) कृतिहरु प्रकाशित छन् । उहाँ ‘धरणीधर वाणी सम्मान’ (२०६३), ‘कोशी प्रदेश उत्कृष्ट भाषा, साहित्य, कला तथा संस्कृति सम्मान’ (२०८०) लगायत थुप्रै साहित्यिक संघसंस्थाहरुबाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँका ‘पाश्र्व आवाज’ कवितासङ्ग्रहमा रहेका दुईवटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।

डेरा सरेको सूचना

जमिन हुनेको जग हुन्छ
खाँबा हुन्छन्, घर हुन्छ
नहुनेको के हुन्छ ?
मसिनो हुरीले सजिलै उडाउने
सिमलको भुवाजस्तो जिन्दगी हुन्छ

पैँचो लाउन र माग्न नपाएको बास
र ओत नभएको छानोमुनि
नराई हाँसेर जहानसँगै
एकपछि अर्को अन्त्यहीन यात्रामा
पैह्रो गएको छातीले
छोराछोरीलाई
आश्वासनको कुम्लो बोकाएर
ठाउँ कुठाउँ आड खोजी हिँड्ने
रुखबाट झरेको पातजस्तो
अथवा
सांसारिकताबाट विरक्त भएर
आफैंलाई बिर्सी हिँड्ने
फिरन्ताझैं, जिन्दगी हुन्छ

बल्लबल्ल जोडेका बट्टाबट्टी
थाङ्नाथुङ्नी,
केही तासी र बासी इच्छाहरु
अलिकति छोडेको माया र पाएका गालीहरु
गमलाभित्रको किनेको माटो र बिरुवा
के नै पो हुन्छ र नहुनेको ?
गाह्रो हुँदोरहेछ उखेलिन आफूबाट
जराबाट जरा जरा चुँडिन

मेरा गमलाका माटाबाट
ममताका आत्मीय आँसु
हृदयमा तप्कनी झरेर
निभाउन खोजिरहेछन् आँतको आगोलाई
पाइला हराएपछि पाइतालाबाट
पाइताला उखेलिएपछि जमिनबाट
गमलाको माटो प्रेम गर्छ मलाई
म प्रेम गर्छु गमलाको माटोलाई
गमलाको जरा हुँदैन
जरा हुनेकै त रहेछ घर

माटो सुँघेर आकाश हुने म
छामेर छुन सकिनँ आफैलाई
छोएर भेटिनँ मैले
म र मेरो कुनै अर्थहरु
म ठेगाना हराएको मान्छे
म वतन नभएको मान्छे
म देशको नभएको मान्छे
निचोरेर आफू नहुनुको बेथालाई
एक फाँक सुकाएर घाममा
जहान छोराछोरीलाई
बढी कल्पित र कम आशाको
मलिन आश्वासन सम्झाउँदै
‘हामी होइनौं’ को कथा नभन्दै
‘हामी छैनौं’ को अनुभूत नगराउँदै
कहिँ पुग्छौको प्रेरणाले
डेरा सरेको सूचना दिइरहेछु ।
०००

parswa

मैले च्यातिदिएका चिठीहरु

थोत्रा भएछन् राख्दा राख्दा खामहरु
तिमीलाई लेखेका चिठीका
भित्र रहेछन् चिठीहरु पनि
पल्टाई पल्टाई तिनलाई
पढें मैले आज

पढ्न जाँदा
तिम्रा र मेरा नमिलेका कुरा रहेछन्
वन घुम्न जाँदा असारेका हाँगामा
खेलेका कुरा रहेछन्
स्कुलमा पोल लाएका कुरा पनि पो रहेछन्
म त्यतिखेर उस्तै भएर रोमाञ्चित भएँ
चिठीसँग ठट्टा गरेर मुस्कुराएँ
पत्र पत्र खोतल्दै जाँदा
यौवनको रङ चढेर
बोल्न नसकेका कुराहरु
जम्मै मैसँग छोडिएका रहेछन्
मेरा चिठीहरु मजस्तै भएर
एकान्तमा एक्लै एक्लै रहेछन्

कत्ति लेख्न जानिनछु
आत्म प्रवञ्चनाहरु
घरु खेत, स्कुल, फिस, किताबका अभावले
कलिलो यौवनलाई पनि छोडेनछ
देशका घाउहरु कत्ति उनिएछन् यौवनको कुनामा पनि

हामी आन्दोलनको भागदौडमा
सँगसँगै भएका कुराहरु
अबेर घर फिर्दा
तिमी साथी भएर आइदिएका कुराहरु
बेलाबेलै हाम्रा विचार नमिलेर
महिनौं नबोलेका कुराहरु
पेरुमा भएका राजनीतिक घटना
र, चेचेनियाका विद्रोहहरु
इन्दिरा गान्धीको हत्या
र, दस्यु सुन्दरीका परिवेशहरु
मानेभन्ज्याङको सिमानाको दुखाइ
र अभावले चुहिएका छानाहरु
नमिता सुनिताको हत्या
र नारीलाई लागेका बोक्सी आरोपमा
मानिसले मानिसलाई दिसा खुवाएका कुराहरु
थुप्रै के के लेखेछु तिमीलाई
दिक्कै लाग्ने गरेर लेखेछु
सिरानीको उचाइ बढेपछि मात्रै हो
मैले चाल पाएको

च्यातिरहेछु यी चिठीहरु
तिमीलाई जाडोमा दिक्क लाग्ने
चिसा अनुभूतिहरु
गर्मीमा वाक्क लाग्ने
मेरा गनगनहरु

चेपचेपमा टाँसिएर सुरक्षित भएका हुन् कि
दमनमा परेर
स्वतन्त्रताको आकाश हेर्न नपाएर
खमभित्रका ढुसीयुक्त छिँडीमा कोचिएका हुन्
बोल्न नसकेर ऐँठन भोगेका हुन् कि
मन नपरेर नबोलेका हुन्
कस्तो असरल्ल पाएँ खामभित्र
चिठीका यी अक्षरहरु

फिस तिर्न नसकेर
म कक्षा बाहिर निस्कँदा
तिमीले जाँच नदिएका कुराहरु
शान्ता परियारका घरमा
हामीले खाना खाँदा
तिम्रा बाले हकारेका कुराहरु
अहिेले पनि लथालिङ्थ जीवन भोगिरहेका
गाउँ किनारका मानिसका पीडाका बैंसहरु
कत्ति लेखेछु मैले तिमीलाई
चिठीमा व्यक्तिगत गनथनहरु
सुन्यौ ! मुक्त गरिदिन्छु यी चिठीहरु
मुक्तिको आकाश ओढ्ने
अक्षरका यी जीवनहरु ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these