एउटी वादी आइमाईको पेटीकोटको टुक्राहरू च्यातिएर

att.yhkQ3xZwChOOFBQ5HCpQvdzTFkU7gAykrCSEzjpYTng 1

एउटी वादी आइमाईको
पेटीकोटको टुक्राहरू च्यातिएर
जब यो मुलुकको राष्ट्रिय झण्डा बन्छ
र, सिंहदरबारका पर्खालहरू
पेटीकोटका झण्डाहरू फर्फराउँछन्
जब भर्खरै सङ्गीतवद्ध गरिएका
नयाँ राष्ट्रिय धुनहरू
सिंहदरबारको ग्यालरीभित्र बज्छ
र, यो मुलुकका केही उत्साहित सांसदहरू
कुर्सीबाट उठेर नयाँ धुनलाई सलामी गर्छन्
जब सिंहदरबारको गेटअघि
बाहिर पहरा दिइरहेका सिपाहीका आँखाहरू
पर्खालहरूमाथि झुण्डिरहेका झण्डाहरूलाई हेर्दै
कामुकता प्रदर्शनी गर्छन्
र, त्यसका इँजारहरू खुस्किएर
सिंहदरबार स्खलित हुन्छ
जब सर्वोच्च न्यायालयका पर्खालहरू चढेर
संविधानका अराजक धाराहरू
आपसमा मैथुन खेल्छन्
र, सिंहदरबारका जगहरूबाट
पेटीकोटका भ्रूणहरू पैदा गर्छन्
जब साँझ परेपछि
निर्मल निवासमा सिंहदरबार फुल्छ
र, पारस शाहहरू लोकतन्त्रको
प्रशंसा गाउँछन्
जब अति सम्मानित पोशाकहरूको
यौटा कुनाबाट
अँध्यारो बिस्तारै खस्छ
र, सडकका किनाराहरूमा अँध्यारो झुल्न थाल्छ
जब स्ट्रिटल्याम्पका खम्बाहरूमा ठोक्किएर
बत्तीको उज्यालो मर्छ
र मुलुक पक्षाघातले
संविधानसभा भवनको छेवैमा लड्छ

म भयप्रद भएर
सडकको एक छेउमा उभिएको छु

र, यो व्यस्त भीडबाट
सघन कक्षको एउटा दुर्गन्धित बेडमा
उपचार गराइरहेको
म मेरो मुलुक हेरिरहेको छु

यहींबाट कहिले म सिंहदरबारका
पर्खालहरूमाथि फर्फराइरहेका झण्डाहरू हेर्छु
कहिले नारायणहिटी हेर्छु
र, त्यसको सिरानमा देखिइरहेको
घडीसुईहरू हेर्छु

यतिखेर फेरि
एक हुल वादी आइमाईका अर्धनग्न स्तनहरू
मेरा आँखाअघि आएर उभिएका छन्
र, यो मुलुकका लागि
आफूले गर्भाधान गर्न पाउनुपर्ने
माग गरिरहेका छन् ।

कौशिकी, २०६५

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these