रमेश खतिवडा
१. प्रारम्भः
भुँडीपुराण प्रकाशनबाट वि.सं. २०८१ मा निबन्धकार अनिल श्रेष्ठ (२०२८) को यो ‘मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रह प्रकाशित भएको छ । निबन्ध साहित्यको आख्यानेतर गद्य विधा हो । यसको क्षेत्र बृहत् रहेको छ । कुनै पनि विषय निबन्ध बन्न सक्छ । निबन्धलाई शैली–स्वरूप–संरचनाका आधारमा समष्टिमा आत्मपरक र वस्तुपरक गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । नेपाली निबन्ध लेखनपरम्परामा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ (१८३१) प्राथमिककालीन निबन्ध हुँदै लक्ष्मीप्रसाद देवकोटाको ‘आषाढको पन्ध्र’ (२००२) बाट आधुनिक नेपाली निबन्धको सुरुवात भएको मानिन्छ । नेपाली निबन्ध लेखनपरम्पराको लामो शृङ्खलामा यसले विधागत एवं शैलीशिल्पगत विविधता, नवीनता र मौलिकतालाई अवलम्बन गरेको पाइन्छ ।
नेपाली निबन्ध लेखनको आधुनिक कालको उत्तरवर्ती चरणमा देखापरेका प्रतिभा हुन् ः निबन्धकार अनिल श्रेष्ठ (२०२८) । मूलतः नेपाली प्रगतिवादी कवितासाहित्यमा आफ्नो छुट्टै स्थान बनाइसकेका र वर्तमानमा पनि आफ्ना सिर्जनामार्फत् सशक्त उपस्थिति जनाइरहेका साहित्यकार अनिल श्रेष्ठका कविता विधाका ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह–२०५१), ‘मृत्युपर्व होइन मेरो देश’(कवितासङ्ग्रह–२०५५), ‘आरु फुलेको साँझ’ (कवितासङ्ग्रह–२०६३), ‘मफलर युद्ध’ (कवितासङ्ग्रह–२०६९), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (कवितासङ्ग्रह–२०७३), ‘मध्यरातमा मुर्कट्टा’ (कवितासङ्ग्रह, –२०७८), आख्यान विधाका ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह–२०५०) र निबन्ध विधाका ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छ यी गीतहरू’ (ंस्मरणात्मक अनुभूति र कविता–२०६६), ‘टाइगर हिलकी पुनम’ (निबन्धसङ्ग्रह–२०७१) र ‘यो मन कहाँ दुख्छ ?’ (निबन्धसङ्ग्रह–२०८१) लगायतका पुस्तकाकार कृतिहरू प्रकाशित छन् । श्रेष्ठ चालिसका दशकदेखि निरन्तर लेखनयात्रामा रहेका छन् ।
निबन्धकार अनिल श्रेष्ठको निबन्धगत प्रवृत्ति र उनका निबन्धका बीजलाई पनि नियाल्नु वाञ्छनीय देखिन्छ । तेजविलास अधिकारीले “क्रान्तिप्रतिको आकर्षण र निरन्तरताले उनलाई एउटा गतिशील नेतृत्व र प्रगतिशील स्रष्टाका रूपमा स्थापित गरिदिएको” (अधिकारी, २०८२) बताउँदै उनको निबन्धको वैचारिकता र साहित्ययात्राको गतिशीलतालाई सङ्केत गरेका छन् । ‘परिचर्चा’ (खतिवडा, २०७९) मा सामाजिक सांस्कृतिक रूपान्तरणकै सेरोफेरोलाई अनिल श्रेष्ठले आफ्नो निबन्धको विषय बनाएको निष्कर्ष निकाल्छन् । समाजका सामाजिक विकृति, विसङ्गति, सामाजिक रूढि र अन्धविश्वास, राज्यसत्ता र राज्यव्यवस्थाले सुशासन, जवाफदेहिता, पारदर्शिता, कानुनीराज्य, लोकतन्त्र, विधिको शासन, राज्यको नीति आदिलाई कुल्ची देश र जनताप्रति दिएको धोका अर्थात् राजनीतिक बेइमानी, समाजको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक, पूर्वाधारलगायतका क्षेत्रमा व्याप्त असमानता, शोषण, दमन, अन्याय, अत्याचार, बेथिति, विकृतिविसङ्गति, भ्रष्टाचार तथा जातीय, लैङ्गिक, भाषिक, वर्गीय विभेद र असमानता आदिले ग्रसित समाजको सामाजिक सांस्कृतिक रूपान्तरणको उद्देश्यका साथ अनिल श्रेष्ठका निबन्धहरू आएका छन् । सो क्रममा समाज र साहित्यलाई अभिन्न रूपमा हेर्दै सौन्दर्यको खोजी गरेका छन् । स्पष्ट वैचारिकताका साथ विषयवस्तुको उठान गरेका छन् । योग, जीवन, अध्यात्म, मन, साहित्य, सौन्दर्यलगायतका विषयमा आफ्ना दर्शनपरक चिन्तनहरू अघि सारेका छन् । यी श्रेष्ठका निबन्धका बीज हुन् ।
२. ‘यो मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रहको अन्तर्वस्तु
अनिल श्रेष्ठको ‘यो मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रहमा ‘यो मन कहाँ दुख्छ ?’, ‘निर्मलाको सान्निध्य’, ‘आँसुको सौन्दर्यशास्त्र’, ‘अँध्यारोको जुनकिरी’, ‘सुमिनासँग संवाद’, ‘घनश्याम ढकाल जो सधैँ निष्ठाले बाँचिरह’े, ‘यारी, मेरा याराना’, ‘कविताको मैदानमा एक सानदार ब्याटिङ’, ‘झिमरुकमा बयलिन हिँडेको मन’, ‘योगः एक उन्मुक्त जीवनशैली’, ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन’, ‘त्यो रमाइलो डाँडा’, ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’, ‘प्रमोदित प्रमोद’, ‘बिम्बको प्रभाव’, ‘लहलहै जिन्दगी’, ‘बरेली बजार र तेजी सुरीको हराएको झुम्का’, ‘ग्वालियरमा छुटेको मन’, ‘सिराइचुलीलाई सिरानी हालेर’ शीर्षकका १९ ओटा निबन्धहरू सङ्गृहीत रहेका छन् । कालिक हिसाबले २०७८ असारदेखि २०८१ असारभित्र लेखिएका यी निबन्धहरू साहित्य, समाज, सौन्दर्य, जीवनदर्शन, यात्रासाहित्य, लेखकीय जीवनभोगाइ र अनुभूतिहरूमा केन्द्रित रहेका छन् । तल श्रेष्ठका निबन्धका अन्तर्वस्तुहरूका बारेमा सङ्क्षिप्त चर्चा गरिएको छ ।
(क) समीक्षात्मक निबन्ध
देशभित्रका र देशबाहिरका स्रष्टाका कृतिहरूको पठनबाट ती कृति र ती कृतिका स्रष्टासँग सम्बन्धित भएर लेखिएका निबन्धहरू यस सङ्ग्रहका समीक्षात्मक निबन्ध हुन् । विधागत स्वरूपका हिसाबले ती निसमालोचनासँग निकट रहेका छन्ः
‘निर्मलाको सान्निध्य’ शीर्षकको निबन्धमा मुंसी प्रेमचन्द्रद्वारा रचित निर्मला उपन्यासले निम्न मध्यम वर्गीय भारतीय समाजको महिलाले त्यहाँको सामाजिक, मनोवैज्ञानिक परिवेश, दाइजो प्रथा, अनमेल विवाहलगायतका कारण भोग्नुपरेको चरम उत्पीडनको उठान गरेको बताउँदै निबन्धकार श्रेष्ठले निर्मलाप्रति सहानुभूति एकातर्फ प्रकट गरेका छन् भने अर्कातर्र्फ निर्मला उपन्यासका स्रष्टा मुंसी प्रेमचन्द्रका सङ्क्षिप्त व्यक्तिवृत्त, उनका लेखनका पाटा र कृतिहरू, लेखनयात्राका क्रममा आएको ऊहापोह र जीवनदृष्टिलाई समेत उजागर गर्ने प्रयत्न गरेका छन् ।
कवि र कवितालाई विचार, चेतना, आन्दोलन, गतिका रूपमा हेर्दै साहित्य केवल सोखका लागि मात्र नभई जीवनका लागि हुनुपर्छ र कविता, क्लिष्ट, दुर्बोध्य, अश्लील, भद्दा गालीगलौजयुक्त नभई सरल, सहज, कलात्मक, सौन्दर्ययुक्त हुनुपर्छ भन्ने मान्यतालाई अघि सार्दै निबन्धकार श्रेष्ठले ‘आँसुको सौन्दर्यशास्त्र’ निबन्धमा कवि बिन्दु शर्मा र उनको ओकलदोकल पिपल पात’ कवितासङ्ग्रहको प्राप्तिलाई उठान गरेका छन् । श्रेष्ठले समाज र साहित्यलाई अभिन्न रूपमा हेरेका छन् ।
‘सुमिनासँग संवाद’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले कवि सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ कवितासङ्ग्रहले समाजमा प्रक्षेपण गरेका विचारहरू र कवि सुमिनाका काव्यगत चिन्तनलाई प्रस्तुत गरेका छन् । समाजका बेथिति, विसङ्गति, सत्ताका अराजकता, गतिहीन यात्रा र निर्लज्जपन, सबै प्रकारका उत्पीडन, शोषण र विभेद आदि नै बागी स्त्रीको आत्मकथाको उपजीव्य हो । निबन्धकार श्रेष्ठ वैचारिकता र विद्रोहलाई नै कवि सुमिनाको कविताहरूको सघन र केन्द्रीय विषय मान्छन् । श्रेष्ठले पारिजात र सुमिनालाई एकै ठाउँमा उभ्याउँदै वैचारिकताका हिसाबले तुलना गरेका छन् । पारिजातपछि खड्किरहेको वैचारिक कविताहरूको लेखनलाई मूर्तरूप दिने काम सुमिनाले गरेकी छन् भन्ने ठम्याइ निबन्धकार श्रेष्ठको रहेको छ । त्यसै गरी निबन्धमा पठनसंस्कृतिमा जोड दिँदै कविताका शक्ति र सामथ्र्यबारे चर्चा गरिएको छ । कविताको जग सौन्दर्य हो, सौन्दर्य सङ्घर्षबाट प्राप्त हुन्छ, श्रमको साध्य सौन्दर्य हो भन्ने विचार अघि सार्दै कवितालाई सुन्दर समाज निर्माणको आधारका रूपमा हेरिएको छ ।
‘यारी मेरा याराना’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले संस्कृतिकर्मी मोदनाथ मरहट्टासँग जोडिएका विविध घटना सन्दर्भलाई एकातिर देखाएका छन् भने अर्कातिर लेख्ने विषयको खोजी निबन्धसङ्ग्रहका विषयवस्तु र तिनका चिन्तनलाई सुललित शैलीमा समीक्षा गरेका छन् । साथै श्रेष्ठले मरहट्टाको लेखकीय पक्षधरता र निबन्धगत वैशिष्ट्यलाई समेत उजागर गरेका छन् ।
‘प्रमोदित प्रमोद’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले तिसका दशकदेखि नेपाली साहित्यमा देखापरेका प्रमोद प्रधानका साहित्यिक (सिर्जना, समालोचना, बालअनुसन्धान) वैशिष्ट्य र योगदानका चर्चा गरेका छन् । साथै प्रधानसँग जोडिएका जीवनका विविध घटनाहरूलाई उजारगर गरेका छन् ।
‘कविताको मैदानमा एक सानदार ब्याटिङ’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले कवि राधा कल्पित र उनका बरफका कोइलाहरू कवितासङ्ग्रहलाई लिएर कल्पितका काव्य वैशिष्ट्य, काव्यिक चेतना र शक्तिलाई प्रस्तुत गरेका छन् । त्यसक्रममा समाज र समयप्रति सचेत रहेकी स्रष्टा कल्पितले आफ्ना सिर्जनामा नारीकेन्द्री विचार, समाजका सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक विकृतिविसङ्गति, जातीय, लैङ्गिक विभेद, अन्याय, शोषण, दमनको उजागर गर्दै सत्य र न्याय स्थापनामा सशक्त भूमिका खेलेको विचार निबन्धमा आएको छ । मूलतः श्रेष्ठले सो निबन्धमा कविताको सार्वजनिकीकरणमा सामाजिक सञ्जाल फेसबुक छिटो, छरितो र पहुँचयोग्य प्लेटफर्म भएको विचार अघि सारेका छन् । त्यसै गरी कारोना महामारीले हाम्रो जीवनशैली एवं जीवनपद्धतिमा पारेको प्रभाव र हाम्रो जस्तो विकासोन्मुख देशमा महामारीका घडीमा जनताले भोग्नुपर्ने दुःख, पीडाको वर्णन छ । त्यसप्रति उदासीन रहेको राज्यसंयन्त्र, सुशासन, जबाफदेहिता, कानुनी राज्यका सबालमा कमजोर रहेको पाइन्छ ।
(ख) साहित्यिक यात्रा एवं संस्मरणात्मक निबन्ध
साहित्यको सिर्जना र साहित्यिक गतिविधि (गोष्ठी, अन्तक्र्रिया, कवितावाचन, लेखन कार्यशाला, प्रशिक्षण आदि) मा देश तथा विदेशमा समेत सक्रिय रूपले सहभागिता जनाइरहेका निबन्धकार श्रेष्ठले साहित्यिक यात्राका भोगाइ, तहाँको परिवेश र समाजलाई टिपेर वैचारिकताका साथ निबन्धहरू लेखेका छन् । त्यस्ता निबन्धहरू विधागत स्वरूपका आधारमा यात्रासंस्मरण र नियात्रासँग निकट रहेका छन्ः
इच्छाकामना साहित्य प्रवाह चितवनको आयोजनामा चितवनको सबैभन्दा अग्लो भूभाग (डाँडा) सिराइचुलीमा भएको दुई दिवसीय सिराइचुली काव्ययात्राका अनुभूति र त्यससँग जोडिएका विविध भावहरूको उठान निबन्धकार श्रेष्ठले ‘सिराइचुलीलाई सिरानी हालेर’ शीर्षकको निबन्धमा गरेका छन् । मूलतः स्थानीय जात्रा, पर्व, मेलाका सन्दर्भमा देउराली, थुम्का, भन्ज्याङ र पहाडका सिराइमा पछिल्लो समय आन्तरिक पर्यटनको प्रवर्धन र त्यसमा होम स्टेको भूमिका, सडक सञ्जालले ग्रामीण यात्रामा ल्याएको सहजता, ग्रामीण पहाडीय प्राकृतिक सौन्दर्य, कला, संस्कृति र सङ्ग्रहालयप्रति स्थानीय सरकारको दृष्टि र उदासीनता, रित्ता घरहरू, हुग्दी–जयपुरी–हात्तीवाङ–शक्तिखोर–सौराह पर्यटकीय पदमार्ग र हिजोको ग्रामीण दैनिकीय पदमार्ग एवं त्यसको महत्ता, साहित्य लेखनका उद्देश्य, पाठक र साहित्यको दुरी, सामाजिक जागरण र रूपान्तरणमा साहित्यको भूमिका, साहित्य लेखनमा देखिएको पुनरावृत्ति र ह्रास, हात्तीवाङमा भएको काव्य साँझ र कवि भूपिनलाई जन्मोत्सवको सरप्राइज, चितवनकै सबैभन्दा अग्लो डाँडा सिराइचुलीको प्राकृतिक सौन्दर्य र पर्यटन प्रवर्धनमा त्यसको भूमिकालगायतका विषयवस्तु निबन्धमा आएका छन् । हुग्दी–सिराइचुली, सौराह पदमार्गमा हिजोको बाह्य पर्यटकको उपस्थिति र त्यसको निरन्तरताका लागि गर्नुपर्ने काम, चासो र चिन्ता, सिराइचुलीको पर्यावरणीय सौन्दर्य बचावटका लागि अपनाउनुपर्ने सावधानी, त्यहाँका सीमान्तकृत चेपाङ बस्ती र तिनका संस्कृति, परिवर्तनका लागि भएको सशस्त्र जनसङ्घर्षमा यस पदमार्ग र भूभागले खेलेको भूमिकाका विषयसमेत निबन्धमा अटाउन सकेको भए निबन्ध अझ उत्कृष्ट हुने देखिन्छ ।
‘झिमरुकमा बयलिन हिँडेको मन’ शीर्षकको निबन्धमा प्युठान साहित्य परिषद्ले आयोजना गरेको बृहत् साहित्य सम्मेलन महोत्सव प्युठान २०७९ मा जाँदाको यात्राजन्य अनुभूति रहेका छन् । जसक्रममा यातायात कुर्नुपर्दाको पीडा, नीति, विधि, काम, कर्तव्य र जबाफदेहिताविहीन हुँदा लामो दुरीको यात्रामा सेवाप्रदायकबाट यात्रुहरूले झेल्नुपर्ने समस्या र अप्ठ्याराहरू, निबन्धकारका प्युठानसँग जोडिएका राजनीतिक, सामाजिक, साहित्यिक स्मृतिहरू, स्रष्टाहरूको साहित्यिक जमघट, यात्राका क्रममा देखिएका विभिन्न रमणीय स्थान, माडी र झिमरुक नदीको ऐतिहासिकताका पाटाहरू निबन्धमा आएका छन् ।
‘लहलहै जिन्दगी’ शीर्षकको निबन्धमा ऐतिहासिक, सांस्कृतिक महत्त्व बोकेको भारतको ग्वालियर सहरमा हुने प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवमा नेपालका तर्फबाट आदिइत्यादि नाट्य समूहको संयोजनमा सो यात्रामा निबन्धकार जानुअघि र जाँदाका विषयवस्तु आएका छन् ।
ल्हैलहै जिन्दगीको परिपूरक निबन्ध हो– ‘बरेली बजार र तेजी सुरीको हराएको झुमका’ । यस निबन्धमा निबन्धकार श्रेष्ठले ग्वालियर साहित्य महोत्सवमा महेन्द्रनगर हुँदै बरेलीबजार पुग्दाका यात्राजन्य अनुभूतिलाई प्रस्तुत गरेका छन् । सोक्रममा तराईका विविध संस्कृति, नेपाली सीमा नाकाको फितलो व्यवस्था र भारतीय सीमा नाकाको उच्च परिबन्ध, राष्ट्रिय स्वाभिमान, स्वाधीनतालाई कुल्ची सत्ता र शक्तिको दुरुपयोगबाट हुने असमान सन्धि सम्झौता र त्यसले देशमा पारेको नकारात्मक प्रभाव, महाकालि सन्धिले दिएको पीडा, टनकपुर बाँधले पु¥याएको असर र बरेली बजारको ऐतिहासिकतालाई उजागर गरेका छन् ।
‘लहैलहै जिन्दगी’, ‘बरेली बजार र तेजी सुरीको हराएको झुमका’ शीर्षकको पूरक निबन्ध– ‘ग्वालियरमा छुटेको मन’ हो । यस निबन्धमा निबन्धकार श्रेष्ठले भारतको ग्वालियरमा २०७८ भाद्र १० गतेदेखि १४ सम्म ग्वालियर साहित्य उत्सवमा भोगेका विविध अनुभूतिहरूलाई प्रस्तुत गरेका छन् । त्यसक्रममा ग्वालियरको ऐतिहासिकता, नेपाली भाषा र नेपालीप्रति तहाँको नागरिक उड्डयन मन्त्री ज्योतिरादित्यले देखाएको सद्भाव, पुस्तकालयको महत्ता, विदेशी भूमिका नेपाली संस्कृति, भाषा, साहित्य, वेशभूषाको महत्ता, कार्यक्रमका विविध वस्तुसन्दर्भलाई उठान गरेका छन् ।
(ग) साहित्य, समाज एवं सौन्दर्य विषयक निबन्ध
निबन्धकार श्रेष्ठले समाज र साहित्यलाई अभिन्न रूपमा हेर्दै साहित्यमा अन्तर्निहित सौन्दर्यको खोजी गरेका छन् । मूल्याङ्कन गरेका छन् । यस सङ्ग्रहमा साहित्य, समाज र सौन्दर्यसँग सम्बन्धित निम्न निबन्धहरू रहेका छन्ः
‘बिम्बको प्रभाव’ शीर्षकको निबन्धमा कविता÷काव्यमा बिम्ब एवं प्रतीकको महत्तालाई उजागर गरिएको छ । सुन्दर बिम्ब एवं प्रतीकमार्फत पाठकको हृदयलाई कविताले आह्लादित गर्न सक्नुपर्छ । त्यसबाट पाठकमा सकारात्मक चिन्तन, दृष्टि र चेतना निर्माण गर्न सक्नुपर्छ । पाठकलाई गतिशील हुन अभिप्रेरित गर्नुपर्दछ । पाठकलाई सकारात्मक चिन्तन, चेतना निर्माण एवं गतिशील बनाउन कवितामा प्रयोग हुने बिम्बले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । निबन्धकार श्रेष्ठले साहित्यमा बिम्बको प्रयोग, सौन्दर्यको खोजी, पाठकको चेतना निर्माण र विषयवस्तु एवं भावबोधमा बिम्ब र प्रतीकको भूमिका, साहित्यमा मोफसल र केन्द्रको धङधङी, राज्यबाट पुरस्कारलगायतका गतिविधिमा मोफसलका स्रष्टा–साधकमाथि हुने अन्याय, कवितामा वर्गीय चिन्तन, चेतना निर्माण र जागरणलगायतका विषयवस्तुलाई प्रस्तुत गरेका छन् । कविताको सौन्दर्य, कविको कल्पनाशीलता, सामाजिक रूपान्तरण र जागरणमा कविताको भूमिका, कविताका बिम्ब एवं प्रतीकले पाठकमा पार्ने प्रभावलाई सशक्त ढङ्गबाट प्रस्ट्याउनका लागि निबन्धकार अनिल श्रेष्ठले ‘आरु फुलेको साँझ’ कवितासङ्ग्रह र त्यसमाथिको समालोचक गोपीरमण उपाध्यायको टिप्पणी, कृष्णसेन, इच्छुक, चुनु गुरुङ आदिका कविता र तिनले पाठकमा पारेको प्रभावलाई निबन्धमा अघि सारेका छन् ।
कला, संस्कृति, सभ्यता, साहित्यको जग समाज हो । समाजकै विषयवस्तु लिई कला, संस्कृति, सभ्यता, साहित्य मुखरित हुन्छ । कला, संस्कृति, सभ्यता, साहित्य र समाज एक अर्काका परिपूरक हुन् । तसर्थ समाजको समुन्नत विकास र रूपान्तरणमा साहित्यको अहम् भूमिका रहन्छ । त्यसै गरी समाजकै जगमा रही साहित्यमा सत्यम्, शिवम् र सुन्दरम्को प्रकटीकरण भएको हुनुपर्छ अर्थात् साहित्य समाजकल्याणकारक र सौन्दर्ययुक्त हुनुपर्छ । सौन्दर्य चेतना, श्रम र रूपपक्षसँग सम्बन्धित हुन्छ । यो सुख, गतिशीलता र नवीनतासँग पनि जोडिन्छ । समाजलाई समाजका रूपमा चिनाउने परिचायक तŒव नै कला, संस्कृति, सभ्यता हो । यो विना समाज अपुरो हुन्छ । साहित्यमा समाजको सौन्दर्य निर्माण शीर्षकको निबन्धमा साहित्य समाजमा आधारित हुन्छ । समाजलाई पृथक् गरेर साहित्य सिर्जना हुन सक्दैन । किनकि साहित्य समाजको प्रतिबिम्ब हो । समाज र जीवनको सौन्दर्य साहित्यमा प्रकटित हुन्छ । मानवजीवन पद्धति एवं श्रम सौन्दर्य साहित्यमा मुखरित हुन्छ । निबन्धकार श्रेष्ठले ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’ शीर्षकको निबन्धमा तनहुँ आँबुखैरेनीको ऐतिहासिक सन्दर्भसहित नेपाली साहित्यमा भानुभक्त र गोकुल जोशीले पु¥याएको योगदानको समेत चर्चा गर्दै सामाजिक चेतना निर्माणमा आँबुखैरेनीको शिक्षा र साहित्यले खेलेको भूमिकाको चर्चा गरेका छन् । साथै उनले आँबुखैरनी स्रष्टा समाजको स्थापनाको उद्देश्य र देशको सामाजिक, सांस्कृतिक रूपान्तरणमा साहित्यका मार्फत यस संस्थाले निर्वाह गरेको भूमिकाको समेत उठान गरेका छन् । गतिशील समुन्नत, न्याययुक्त समृद्ध समाज निर्माणमा साहित्यको भूमिका अहं हुन्छ । किनकि साहित्यमा समाजको सौन्दर्य प्रकटित हुन्छ । सौन्दर्य श्रम, गतिशीलता एवं नवप्रवर्तन आदि हुन् ।
सीमान्तकृत चेपाङ समुदायदेखि आदिवासी थारुहरूको भूमि चितवन धेरैको रोजाइको क्षेत्र पनि हो । यहाँ सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता पनि छ । निबन्धकार श्रेष्ठ ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन’ शीर्षकको निबन्धमा हिजो तोरीले पहिचान दिएको चितवनको स्मरण गर्दैै आज चितवन साहित्यको केन्द्र रहेको विचार अघि सार्छन् । देशका सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक विविध क्षेत्रमा रहेका विकृति, विसङ्गति, असमानता, शोषण, दमन, अन्याय, विभेदको अन्त्यका लागि पहल र न्यूनीकरण गर्दैै कानुनी राज्य, लोकतन्त्र, जबाफदेहिता, भ्रष्टाचाररहित स्वस्थ, न्याययुक्त, सुशासनयुक्त समाज निर्माण र सामाजिक, सांस्कृतिक रूपान्तरणमा चितवनको साहित्यले खेलेको भूमिकाको चर्चा गरेका छन् । सङ्ख्यात्मक रूपमा मात्र नभई चितवनको साहित्य गुणात्मक रूपले पनि सबल र सशक्त रहेको विचार निबन्धमा आएको छ ।
(घ) दर्शनपरक निबन्ध
व्यास जन्मभूमि तनहुँका निबन्धकार श्रेष्ठले प्रकृति, जीवनदर्शन, दर्शन, जीवनभोगाइ, मुक्ति, योग लगायतका विषयवस्तुलाई समेटेर वैचारिक दार्शनिक तवरका निबन्धहरू पनि लेखेका छन् । स्रष्टाले आफ्ना पूर्ववर्ती कृतिहरूमा अवलम्बन गरेको वैचारिकता र यी निबन्धहरूबिच विरोधाभाष पनि देखिन्छ । मूलतः श्रेष्ठका यस प्रकारका निबन्धहरू वेदान्त दर्शनसँग निकट रहेका छन् ।
पौरत्स्य दर्शनमा क्रमशः दश इन्द्रिय, मन, बुद्धि र आत्मालाई श्रेष्ठतर रूपमा चिन्तन गरिएको पाइन्छ । मनको स्वभाव चञ्चल रहने हुनाले जसलाई निग्रह गर्न कठिन हुने बताइएको छ । मनलाई नै बन्धन र मोक्षको कारण मानिएको छ । मोक्ष अर्थात् दुःख निवृत्ति सुखको प्राप्ति, अज्ञान निवृत्ति । तर्कसङ्ग्रहमा सुखाद्युपलब्धिसाधनमिन्द्रियं मनः भनी परिभाषित गरिएको छ । मन जो अदृश्य छ । जसका विषयमा हाम्रा लिखित साहित्य तथा दार्शनिक ग्रन्थहरूमा समेत चर्चा एवं चिन्तन भएको पाइन्छ । निबन्धकार अनिल श्रेष्ठले पनि ‘यो मन कहाँ दुख्छ ?’ शीर्षकको निबन्धमा मनलाई विषयवस्तु बनाएका छन् । सो क्रममा उनले मनसँग जोडिएर आउने सुख, दुःख, प्रेम, बिछोड, रिस, राग, घृणा, शून्यता, भावना, सम्बन्ध, मनको स्वरूपविहीनता, मनका तरङ्गहरूको उत्पत्तिस्थल लगायतका विषयवस्तुको उठान गरेका छन् । साथै उनले देह र मन भिन्न वस्तु हुन् वा शरीरकै अङ्ग मन हो । यदि शरीरभन्दा भिन्न मन हो भने मान्छेलाई यसले दुःख दिनु नपर्ने विचार राखेका छन् । श्रेष्ठले जीवन र मृत्यु शाश्वत र मानिसले श्वास लिइरहँदा र फेरिरहँदाका बिचको समय नै जीवन हो । सुख, दुःख मानवीय जीवनका चक्र हुन् ।’ निबन्धकार श्रेष्ठ विचारहरूको तरङ्गले शरीरमा ल्याउने प्रभावलाई मनका रूपमा अथ्र्याउँछन् र देहाभिमानबाट मुक्त रहेर सोचिने असल विचारहरू नै सुख हुन् भन्ने विचार राख्छन् ।
योग ‘योगा’ भइरहेको छ । सामान्य हातखुट्टा चलाउनु अर्थात् शारीरिक व्यायाम गर्नु ‘योगा’ हुन सक्छ । जो आज व्यापार, व्यवसाय बनेको छ तर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिको समुच्चय योग हो । निबन्धकार श्रेष्ठ ‘योगः एक उन्मुक्त जीवनशैली’ शीर्षकको दार्शनिक निबन्धमा योग र अध्यात्मबारे आफ्नो विचार प्रस्तुत गर्छन् । उनी अध्यात्मलाई मान्छेको चेतना, शक्ति र ऊर्जाको ज्ञानका रूपमा लिन्छन् । आफ्नो खोजी र स्वतन्त्रतालाई अध्यात्मसँग जोड्छन् । अध्यात्मबाट सत्यको बोध गर्न सकिने विचार राख्छन् । योग हाम्रो जीवनशैली र जीवनपद्धति हो । यसले मान्छेलाई स्वतन्त्र, चेतनशील, ज्ञानयुक्त, बन्धनमुक्त बनाउँछ । योगयुक्त जीवन नै पूर्ण जीवन हो । योग एक कला हो । हिंसा र युद्ध अस्वस्थ विचारका विकार हुन् । जुन मनमा रहेका घृणा, द्वेष, लोभ, मोह, ईष्या, अहङ्कार आदिले प्रकटित हुन्छन् । त्यसैले स्वस्थ जीवनशैली र मनको निर्मलीकरणका लागि योगको आवश्यकता छ । जसबाट सत्यको बोध, आत्मजागृति र बन्धहरूबाट मुक्त हुन सकिन्छ । त्यस्तो पूर्वीय दार्शनिक चिन्तन योगलाई सङ्कुचित बनाउन नहुने विचार निबन्धमा प्रकट भएको छ ।
(ङ) जीवनीपरक निबन्ध
निबन्धकार श्रेष्ठले यस सङ्ग्रहमा जीवनीपरक निबन्धहरू पनि लेखेका छन् । सोक्रममा तिनका जीवनदर्शन र विचारहरूलाई समेत प्रस्तुत गरेका छन् । त्यस्ता निबन्धहरू निम्न रहेका छन्ः
‘अँध्यारोको जुनकिरी’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले दार्शनिक सुकरातका सङ्क्षिप्त जीवनीका पाटाहरूका साथै सुकरातका दार्शनिक विचारहरूलाई प्रस्तुत गरेका छन् । समाजमा सत्य र न्यायका पक्षमा उभिने मानिसहरूलाई कसरी छद्मभेषीहरूले षड्यन्त्रपूर्वक विष खुवाएर मार्छन् । तीप्रति समाजमा भ्रमहरू कसरी छर्छन् । न्याय कसरी खुम्चन पुग्छ ? निबन्धमा सुकरातले पनि यिनै समस्याहरू भोगेका छन् तर उनी विचलित छैनन् । मृत्युलाई सहज रूपमा ग्रहण गरेका छन् । सुकरातले समाजमा नीतिको पालना, सत्य र आत्मशुद्धिका चिन्तनको प्रचार गरे । ज्ञान र सत्यको खोजी गरे । आत्मचिन्तनमा जोड दिए । शरीर र आत्मा भिन्न कुरा हो । आत्मा चेतनशील छ । ज्ञानका लागि अहङ्कारलाई फाल्नुपर्छ । आत्माको अमरत्वलाई स्वीकार गरे । सांसारिक वासना र मोहजालबाट मुक्त हुँदा ज्ञान मिल्छ र ज्ञानपछि मुक्त भइन्छ भन्ने विचारलाई सुकरातले अँगालेको कुरा निबन्धमा आएको छ । त्यस्तै निबन्धकार श्रेष्ठले सुकरातका शिष्य प्लेटोले ‘कविहरूलाई देश निकाला गर’ भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उठान गर्दै कविता र चिन्तनले समाजमा सकारात्मक प्रभाव छर्न नसकेको र समाजलाई निराशा र कुण्ठातिर धकलेकाले राज्यका संरक्षणमा हुर्किरहेका त्यस्ता विलासी कविहरूप्रति प्लेटोको विमति थियो भन्ने विचारको उठान गरेका छन् ।
‘घनश्याम ढकाल जो सधैँ निष्ठाले बाँचिरहे’ शीर्षकको निबन्धमा निबन्धकार श्रेष्ठले घनश्याम ढकालका स्मृतिहरूलाई प्रस्तुत गरेका छन् । भरिया र यात्री कथा सङ्ग्रहबाट घनश्याम ढकाल र उनका व्यक्तित्वलाई चिनेको र त्यसबाट आफू प्रभावित भएको बताउँदै निबन्धकार श्रेष्ठले ढकालको साहित्यिक, सांस्कृतिक सक्रियता, राजनीतिक विचार, वर्गसङ्घर्ष, साङ्गठनिक नेतृत्व, जीवनसङ्घर्ष, स्पष्ट विचार र कुटिलतारहित निष्ठायुक्त जीवनभोगाइको उठान गरेका छन् । साथै उनले ढकालका कृतिहरूको प्रकाशन गरी उनको योगदान र स्मृतिहरूलाई जीवन्त बनाउन आह्वान गरेका छन् । निबन्धमा माक्र्सवादलाई विद्रूपीकरण गर्ने र रूपान्तरण हुन नखोज्ने माक्र्सवादी भनाउँदाहरूप्रति खरो व्यङ्ग्य गरिएको छ ।
‘त्यो रमाइलो डाँडा’ शीर्षकको निबन्धमा सक्षम र सफल उद्यमी लक्ष्मणबाबु श्रेष्ठका मनकामना निर्माणसँग सम्बन्धित जीवनसङ्घर्षका विविध पक्षहरूको वर्णन गरिएको छ । साथै देशको अर्थनीतिका कारण नेपाली उद्यमीहरूले भोग्नुपरेका पीडा, देशको सांस्कृतिक एवं धार्मिक पर्यटनमा मनकामना केवलकारले खेलेको भूमिका, स्थानीय समुदायलाई उत्पादन र रोजगारसँग जोड्न लक्ष्मणबाबुले तयार पारेका प्रस्ताव योजना आदिको वर्णन गर्दै श्रम, इमान र नैतिकतालाई आत्मसाथ गरेका नेपाली उद्यमी लक्ष्मणबाबु श्रेष्ठप्रति श्रद्धाभावसमेत प्रकट गरिएको छ ।
निबन्धकार अनिल श्रेष्ठले यसरी विभिन्न विषयवस्तुहरूमा आधारित भएर आफ्ना १९ ओटा निबन्धमार्फत सरल र सहज ढङ्गबाट आत्मपरक शैलीमा स्वकीय नैबन्धिक वैचारिकतालाई पाठकमा सम्प्रेषण गरेका छन् । सामाजिक, सांस्कृतिक रूपान्तरणका अभावहरूको बोध गरी आफ्ना निबन्धका बीज तिनलाई बनाए तापनि सूक्ष्म मात्रामा मात्र त्यस्ता विषयलाई प्रत्यक्ष रूपमा राखी निबन्धगत सुललितता र मिठासलाई श्रेष्ठले जीवन्त तुल्याएका छन् । मूलतः कानुनी राज्यको अवधारणा, स्वतन्त्र, निष्पक्ष न्यायालय एवं समुन्नत, सुखी, समृद्ध समाजका लागि सामाजिक सांस्कृतिक रूपान्तरण आवश्यक छ र सामाजिक, सांस्कृतिक रूपान्तरणमा साहित्य र त्यसमा निहित सौन्दर्यको अहम् भूमिका हुन्छ भन्ने कुरालाई उनका निबन्धले पुष्टि गर्न खोजेका छन् ।
त्यसैगरी श्रेष्ठका दर्शनपरक निबन्धहरूले योग, अध्यात्म, सुख, शान्ति, समृद्धि, आत्मजागरण, स्वतन्त्रता आदिका बारेमा विमर्श गरेका छन् । निबन्धकार श्रेष्ठले हाम्रा भनाइ, गराइ र चिन्तनबिचका खाडल, पठन र लेखन संस्कृतिमा आएको ह्रास, सूचना प्रविधि र त्यसका सकारात्मक एवं नकारात्मक पाटाहरूलाई आफ्ना निबन्धमा समेटेका छन् ।
३. भाषाशैली
निबन्ध आख्यानेतर गद्य विधा भएकाले यो गद्यमा रहन्छ । निबन्धकार अनिल श्रेष्ठका निबन्ध सरल, सहज र सुबोध्य छन् । गहन दार्शनिक चिन्तनहरूलाई समेत सहज ढङ्गबाट प्रस्तुत गरेका छन् । निबन्धको मुटु रहेको वैचारिकतालाई पनि सुललित ढङ्गबाट पाठकका मस्तिष्कमा विनमय अर्थात् सम्प्रेषण गरेका छन् । पाठकलाई निबन्ध पठनका क्रममा उत्सुकता र जिज्ञासा पैदा गर्न निबन्धकार सफल भएका छन् । साहित्यकार अनिल श्रेष्ठको मुख्य साहित्यिक प्राप्ति कविता नै हो । तसर्थ उनका निबन्धहरू कवितात्मक पनि रहेका छन् । केही निबन्धहरूमा व्यङ्ग्य पनि पाइन्छ । त्यसै गरी यस सङ्ग्रहका निबन्धहरू स्वरूपका आधारमा केही निसमालोचनासँग निकट राख्छन्, केही नियात्रा र यात्रा संस्मरणसँग निकट राख्छन् । केही निबन्धहरूमा पत्रहरू पनि जस्ताको तस्तै राखिएको छ । यसबाट यो मन कहाँ दुख्छ ? निबन्धसङ्ग्रहमा विधा भञ्जन एवं मिश्रणको स्थिति पनि देखिएको छ तर मूलतः आत्मपरकताका साथ प्रस्तुत भएकाले, हार्दिकता वहन गरेकाले, वैचारिकता रहेकाले यी निबन्ध नै हुन् ।
भाषा सरल, सहज र सुबोध्य भए तापनि कतिपय ठाउँमा वर्णविन्यासगत त्रुटिहरू रहेका छन् । त्यसै गरी कतै कतै पद सङ्गति तथा वाक्य सङ्गतिमा पनि समस्या देखिन्छ तर यस्ता त्रुटिहरू नगण्य मात्रामा रहेका छन् । असावधानीवश कविताको विकासक्रमको तथ्यगत त्रुटि पनि एक ठाउँमा देखिएको छ । त्यस्ता तथ्यगत विवरण र अन्य समस्याहरूलाई आउँदा संस्करणहरूमा परिमार्जन गर्नु वाञ्छनीय हुन्छ ।
४. अन्त्यः
समाज र साहित्य एक–अर्काका परिपूरक हुन् । साहित्यमा सौन्दर्य मुखरित भएको हुन्छ । सौन्दर्य श्रममा निहित हुन्छ । त्यसको उजागर साहित्यले गर्दछ । निबन्धकार अनिल श्रेष्ठको ‘यो मन कहाँ दुख्छ ?’ निबन्धसङ्ग्रहका निबन्धहरूले पनि साहित्यमा अन्तर्निहित सौन्दर्यको खोजी गर्दै सामाजिक, सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका अहम् हुने निष्कर्ष निकालेको पाइन्छ भने कतिपय निबन्धले योग, मानवजीवन, सुख, मन आदिको चर्चा गर्दै शान्ति, मुक्ति र स्वतन्त्रताको वकालत गरेका छन् ।
सन्दर्भसूची
अधिकारी, तेजविलास (२०८२). अनिल श्रेष्ठ केही रचना, केही विवेचना. काठमाडौँः भुँडीपुराण प्रकाशन ।
खतिवडा, रमेश ( २०७९). परिचर्चा. धादिङः गणेश खतिवडा, सीता पौडेल ।
श्रेष्ठ, अनिल (२०८१). यो मन कहाँ दुख्छ ?. काठमाडौँः भुँडीपुराण प्रकाशन ।