उपनामले अल्मल्याइरहेको त्यो क्षण

0
1695

वीऊ नष्ट हुनू अगाडि विरूवा निक्लन्छ नौलो वनी
नौलो जान्छ पुरानिदै अरु नयाँ निक्लन्छ नौलो वनी
यै नौलो विधिबाट यो जगत नै बद्लिन्छ आखिरमा
यै हो वास्तव क्रान्ति उन्नति दुवै बद्लिन्छ आखिरमा

काटेको रुखमा पलाउँछ मुना मौलेर नै झप्झप
कुल्चेको पृथिवी कडा छ विरूवा उम्रिन्छ तै झप्झप
रोकी रोक्न सकिन्न फुल्दछ सधैं फक्रेर नै सिर्जना
बाँची मात्र रहन्छ जीवहरूमा फक्रेर नै सिर्जना
(छेपेटार, रविकिरण निर्जीव)

रविकिरण निर्जीवसँगको मेरो पहिलो भेट कहिले भएको थियो, ठ्याक्कै तिथिमितिको यकिन अहिले मसँग छैन । कवि मोदनाथ मरहट्टामार्फत उहाँका केही कृतिहरुसँग साक्षात्कार हुने अवसर भने निर्जीवसँगको भेट हुनुअघि नै पाएको हुँ । कहिलेकाहीँ लेखक आफूले आफ्नो नामसँग जोड्ने उपनामले पनि लेखकको व्यक्तित्वसँग विरोधाभास ल्याइदिन्छ । रविकिरण अनि फेरि निर्जीव ! धेरैबेरसम्म त मलाई यही नामको उपनामले अल्मल्याइरह्यो । जसको रचनाहरुमा जीवन मुखतरित छ, उपनाम चैं उसकै निर्जीव ।

‘कस्तो जीवन नभएको निर्जीव नाम हो यो ?’ भनें मोदनाथ मरहट्टासँग

‘तपाईंसँग भेटाइदिउँला एकदिन ।’ मोदनाथ सर भन्नुहुन्थ्यो ।

चितवनमा शारदा घरदैलो कार्यक्रमको नियमित साहित्यिक शृङ्खला चल्थ्यो । शारदा घरदैलो कार्यक्रमको केही शृङ्खलासँग जोडिएर मैले पनि आफूलाई ती कार्यक्रमहरुमा सहभागी गराएँ । सायद नारायणगढको एउटा कार्यक्रममा मोदनाथ मरहट्टा सरले निर्जीव र मलाई चिनाजानी गराउनु भएको थियो । त्यसपछिका कार्यक्रमहरुमा हाम्रो भेट अनौपचारिक र खुकुला भए । सम्बन्ध आत्मीयतापूर्ण बन्यो । ‘सोझा निर्जीवका बाङ्गा निबन्धहरु’ निबन्ध सङ्ग्रहको प्रकाशन भएपछि चितवनका साहित्यकारहरुकामाझ रविकिरण निर्जीवको निबन्धकारिताको एउटा अलग्गै चर्चा रह्यो । एकजना सबल र शक्तिशाली निबन्धकार व्यक्तित्वका रुपमा मेरो मानसमा उहाँको उपस्थिति बसिह्यो । लामो समय शिक्षण पेशामा रहेर निवृतिभरण हुनु भएका उहाँको जीवनको सादगीपन र उहाँको लेखन दुवै उत्तिकै सरल देखिन्छ ।

उहाँ माक्र्सवाद पक्षधर लेखक हुनुहुन्छ । उहाँको लेखनमा स्पष्ट माक्र्सवादी वैचारिक दृष्टिकोण पाइन्छ । ’छेपेटार‘ उहाँको आञ्चलिक लघुकाव्य कृति हो । आकारमा लघुत्तम भैकन पनि यस काव्यकृतिमा ग्रामीण वर्गसङ्घर्षको अनुभूति गर्न सकिन्छ । त्यसैले पनि उहाँ पञ्चायतीकालभरि प्रशासनको आँखाको कसिङ्गर बनिरहनु भयो । उहाँको यही विद्रोहचेतले बहुदलीय व्यवस्थाको विसङ्गतिहरुका विरुद्ध उहाँलाई विद्रोही बनायो । देशको आमूल परिवर्तनको लागि चलिरहेको जनयुद्धका उहाँ हिमायती लेखक बन्नुभयो । बहुदलीय व्यवस्थाका शासकका गिरफ्तारी, यातना, ताड्ना, हिरासत र अनेक सास्तीहरु खेपेर आफूलाई इस्पात बनाउनुभयो ।

युद्धका पीडाका समान अनुभूतिहरुले पनि मलाई रविकिरण निर्जीवसँग अरु निकट बनायो । सङ्कटकालमा सेनाको गिरफ्तारीमा परेर आफूले भोगेका यातनाका अनुभवहरु उहाँसँग अविस्मरणीय छन् । आन्दोलन र सङ्घर्षका ती दिनहरु अब एउटा गर्तमा छ र समय कोमामा परेको एउटा रोगीजस्तो बनेको छ । समयको त्यो एक कालखण्ड अहिले एउटा हेलुसेनशनजस्तो लाग्छ रविकिरण निर्जीवलाई । तर उहाँ एकजना स्वप्न द्रष्टा हुनुहुन्छ । उहाँ सपना हराएको विषाद मात्र लिएर हिँड्नु हुन्न । सपनाले छाडेका स्वप्नील उर्जा अझै पनि उहाँसँग उत्तिकै छ ।

२०६४ सालको फागुनदेखि हामीले आँबुखैरेनीबाट शारदादेउराली मासिक पत्रिकाको प्रकाशन सुरु ग¥यौं । २०६५ साल साउनमा यस पत्रिकालाई जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत् दर्ता गरी पाक्षिक प्रकाशन बनायौं । यो आँबुखैरेनीकै पहिलो पत्रिका थियो । तीन वर्षसम्म शारदादेउरालीको नियमित अङ्कहरु निस्किए । तर त्यसपछिका वर्षहरुमा यो नियमित हुन सकेन । अहिले बन्द छ । शारदादेउराली पाक्षिक प्रकाशनकै आयोजनामा शारदा घरदैलोको एउटा शृङ्खला आँबुखैरेनी, उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको थियो । त्यो काव्यगोष्ठीमा तनहुँ, चितवन, गोरखा, कास्की र लमजुङका धेरै कवि, साहित्यकारहरुको उपस्थिति र सहभागिता रहेको थियो । रविकिरण निर्जीव, मोदनाथ मरहट्टा, इन्द्र रेग्मी लगायतका धेरै साथीहरुको तत्परतामा शारदा घरदैलो कार्यक्रमलाई चितवनको भूगोलभन्दा बाहिर पहिलोपल्ट हामीले आँबुखैरेनीमा आयोजना गरेका थियौं ।

२०६६ सालमा शारदादेउराली पत्रिकाले आफ्नो प्रकाशनको दोस्रो वर्षको अवसरमा कवि मोदनाथ मरहट्टा र हास्य व्यङ्ग्य निबन्धकार माणिकरत्न शाक्यलाई सम्मान गर्ने निर्णय ग¥यो । माणिकरत्न शाक्य केही वर्षदेखि आँबुखैरेनीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत रहँदै आउनुभएको थियो । कार्यक्रमका लागि प्रमुख अतिथिको कुरो रह्यो । झट्ट रविकिरण निर्जीवको ख्याल आइहाल्यो । साथीहरुका माझ प्रस्ताव गरिहालें । चितवन उतिटाढाको कुरो नि भएन आइजाइको लागि । समयले बाँधिइरहनु पनि परेन । प्रमुख अतिथिका लागि उति साह्रो औपचारिकताको दबाब बोकिरहनु पनि परेन ।

‘लौ, रविकिरण सर निम्ता भो ।’ यताबाट फोन भो ।

उताबाट पनि रविकिरण सरको सहज स्वीकारोक्ति पाइहाल्यौं । त्यसपछि कार्यक्रमको मिति तय भयो २०६६ फागुन ११ गते शनिबार, शारदादेउराली पाक्षिक पत्रिकाको दोस्रो वार्षिक उत्सव ।

रविकिरण निर्जीवको प्रमुख आतिथ्यतामा शारदा देउराली पाक्षिक पत्रिकाको त्यो कार्यक्रमलाई हामीले भव्यता र उत्साहपूर्वक सम्पन्न ग¥यौं । हामी सबैले स्रष्टाद्धयको सम्मान र कार्यक्रमको सफलताको खुशी बाँडिरह्यौं ।

शब्दाङ्कुर,
मंसिर २०७६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here