आँसुको सौन्दर्यशास्त्र

0
1707

ए, रातहरुको राज्य !
ए, शवहरुको सम्राट !
अब त बोल मैले बुझ्ने गरी
कहिलेसम्म अनिर्णित रहिरहन्छ
मेरो आँसुको सौन्दर्यशास्त्र !
– आँसुको सौन्दर्यशास्त्र

कवि बिन्दु शर्माको माथिको उद्धृतांश कविताको शीर्षक सापटी लिएर मैले आफ्नो यो लेखलाई यहाँ प्रारम्भ गरेको छु ।शब्दहरुलाई क्लिष्ट बनाएपछि अर्थात कसैलाई गाली गरेर बर्बराएको जस्तो भाषा प्रयोग गरेर लेखिएपछि शब्दहरु कविता बन्छन् भन्ने मनोरोगले ग्रस्त एकथरी कविता लेखिरहेको जमातले कवितालाई कसरी बिगारिरहेका छन् र उनीहरुले कविताको कसरी हुर्मत काढिरहेका छन्, आजका कविताका पाठकहरु साक्षी छन् । एउटा कविको लागि कविता पक्कै पनि सौखको लेखन हुन सक्दैन र कविताका गम्भीर पाठक आनन्दका लागि मात्र कविता पढ्दैनन् । कविता त्यो शक्ति हो जसले पाठकको मनलाई उद्वेलित र आनन्दित पार्छ । आन्दोलित र ऊर्जाशील बनाउँछ । एउटा सशक्त कविताले सचेत पाठकहरुको एउटा सङ्गठन निर्माण गर्छ । एउटा गति पैदा गर्छ । कविताले आन्दोलनलाई सधैं उद्देश्यपरक बनाउँछ र कवि स्वयं पनि कविताको आन्दोलनको एउटा भोक्ता बन्छ । त्यसैले कवि र कविता स्वयंमा एउटा आन्दोलन हो । एउटा कवि कवितामा आफूले सिर्जना गरेको चरित्र(नायकत्व)बाट कहिल्यै अलग रहन सक्दैन ।

विश्वसाहित्यमा कविता नै सायद सबैभन्दा बढी लेखिने र पढिने विधा हो । र, यो विधा समाज र मानिसको सभ्यतासँग गाँसिएको प्राचीन विधा पनि हो । जब मानिसको भाषा बन्यो र भाषाले गेयात्मकता प्राप्त ग¥यो यसले कविताको सौन्दर्यता प्राप्त ग¥यो । जब मानिसले गुन्गुनाउन शुरु ग¥यो भाषाले लय पायो । भाषाको लयपूर्ण अभिव्यक्ति कविता बन्यो । कविता मानिसको जीवनको सौन्दर्यको कलात्मक अभिव्यक्ति बन्यो । कविता मानिसको सङ्घर्षशील इतिहासको गाथा बन्यो । कविताको यही विशिष्टता नै मानिसको सभ्यतादेखि सार्वकालिक बन्दै आइरहेको छ । जब मानिसले श्रम गर्न जान्यो र उसले प्रकृतिसँग सङ्घर्ष गर्न थाल्यो उसका सुस्केराहरुले काव्यिक चेतना प्राप्त ग¥यो । त्यही काव्यिक चेतनाले लेखक र पाठक जन्मायो ।

साहित्यमा सामाजिक चेतनाको निरन्तर प्रभाव रहिरहने हुँदा समाजसँगको साहित्यको सम्बन्ध जहिल्यै पनि अभिन्न रहन्छ । मानिसको चेतना र वस्तुको विकासले सामाजिक सम्बन्धहरुमा हेरफेर भइरहँदा त्यसले साहित्यमा पार्ने प्रभाव पनि सँगसँगै देखिन्छ । नेपाली साहित्यमा पनि विभिन्न समय र कालखण्डमा नेपाली समाजमा देखा परेका अन्तरविरोधहरु र सामाजिक र राजनीतिक परिवर्तनहरुले छाडेको प्रभाव र त्यसका सम्बन्धहरुलाई देख्न सकिन्छ ।

२०५२ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध नेपालको वर्गसङ्घर्षको इतिहासमा एक युगान्तकारी घट्ना थियो । यसले पुरै नेपाली समाजमा तरङ्गको स्थिति पैदा ग¥यो । अढाइ सय वर्षदेखि जमेर बसेको सामन्ती राजतन्त्र र त्यसका सामाजिक सम्बन्धहरुलाई जनयुद्धले पुरै हल्लाइदियो । दश वर्षसम्म चलेको ग्रामीण वर्गसङ्घर्षले सहरमा जनआन्दोलनको आधार तयार पा¥यो । देश गणतन्त्रन्मुख बन्यो । यसले साहित्यलाई पनि उत्तिकै प्रभाव पा¥यो र नेपाली समाजमा जड बनेर बसेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, उत्पीडित, दलित, सिमान्तकृत, जातीय र लिङ्गिक आदि बहुआयामिक क्षेत्रहरुलाई साहित्यले नयाँ उजागरका साथ लेख्यो ।

र, अन्ततः २०६३ सालमा देशले गणतन्त्र प्राप्त ग¥यो । नेपाली समाज गणतन्त्र प्राप्तिपछिको परिवर्तनको नयाँ परिस्थितिमा अगाडि बढ्यो । २०६३ सालको गणतन्त्र प्राप्तिपछिको समय साहित्यिक लेखन र प्रकाशनको हिसाबले पनि उत्तिकै उर्वर बन्यो । र यी वर्षहरु तुलनात्मक रुपमा बजारमा आख्यानका किताबहरु बढी देखिए ।

गणतन्त्रोत्तरको यो पछिल्लो समय नेपाली कविता सशक्त बन्न नसकिरहेको र एकथरी पहिचानवादी कविहरुकुण्ठाको कविता मात्र लेखिरहेको आरोप खेपिरहेको बेला कवितालाई वर्गीय आन्दोलन र श्रमको पक्षमा उभ्याउने र सधैं कविताको सामथ्र्य चेतना बोकेर हिँडिरहने एकजना वर्गपक्षधरता र प्रतिरोधी कविका रुपमा बिन्दु शर्मा देखा परिन् ।

‘मेरो कवितालाई मैले दमनको प्रतिरोधका रुपमा लिएकी छु । यस्तो दमन राष्ट्रिय, वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक वा समकालीन घटना र परिस्थितिजन्य जुनै प्रकारको पनि हुन सक्छ । दमनको प्रतिरोधको चिन्तनले चेतनामा बारम्बार प्रहार गरिसकेपछि मात्र प्रतिक्रियास्वरुप जन्मेका हुन् मेरा कविता ।’

आफ्नो प्रकाशित कवितासङ्ग्रह ‘ओक्कल दोक्कल पिपल पात’ को भूमिकामा कवि बिन्दु शर्मा लेख्छिन् । धेरैजना कविहरु, स्रष्टा र सर्जकहरुले गणतन्त्र स्थापनाका लागि आन्दोलन लडे, तर गणतन्त्र प्राप्तिपछि उनीहरु नै एक किसिमको यो यथास्थिति बोकेर अल्मलिरहेका छन् र यो अल्मल्याइ कत्ति पनि ठीक होइन । बिन्दु शर्मा लेख्छिन्,‘यथास्थितिलाई नै पक्षपोषण गर्दै उपभोक्तावादको चरम पतनतिर गइरहेको समकालीन समाजको विषम परिस्थितिप्रति सिर्जना हुने आवेग र आक्रोशले मलाई निदाउन नदिँदा देखिएका नवीन स्वप्नस्वरुप यी कविताहरु रचिएका हुन् ।’

‘ओक्कल दोक्कल पिपल पात’कवि बिन्दु शर्मा (२०३३, दाङ) को पहिलो प्रकाशित कवितासङ्ग्रह हो । यसअघि उनका केही समालोचनाका कृतिहरु प्रकाशित छन् । पचासको दशकदेखि कविता लेख्न सुरु गरेकी बिन्दु शर्मा आफ्नै जीवनको अनुभूति, आम मान्छेका अनुभव र सामाजिक कुरीतिको विरोधाभासहरुलाई नै आफ्नो कविता यात्रा मान्छन् । प्राध्यापन उनको पेसा हो र उनको सिर्जनात्मक लेखन उत्पीडन र सिमान्तकृत आम मान्छेको पक्षमा उठेको आन्दोलनको स्वर हो ।

अन्तिमपल्ट खेल्नुपर्नेछ
हामीले यसपटक आगोको होली
फेरि चम्किनेछन् खिया लागेका हाम्रा बर्छी र भालाहरु
थारुगाउँमा बलेका मधुरा टुकीहरुले नै
लाप्पा खेलेर सल्काउनेछन् मसाल
उठ्नेछन् फेरि पनि
तिम्रो गदाको जस्तो
बजरङ्गी प्रहारलाई रोक्ने
हाम्रो सग्ला मुट्ठीहरु
-दङ्गीशरणको आँगनबाट, पृ. ३०

बिन्दु शर्मा स्वप्नदर्शी छन् । उनी आफ्ना कविताहरुमा एउटा सपना देख्छन् – न्यायपूर्ण र समतामूलक समाजको एउटा सपना । त्यही सपनाले उनलाई आफ्नो काव्यिक स्थापत्यमा दरोसँग उभिने एउटा साहस दिएको छ, ऊर्जा दिएको छ । त्यसैले नै उनका कविता अँध्यारोमा अल्मलिरहेका बटुवाले टाढा कतै देखेका पिल्पिल बत्तीको उज्यालोझैं बनेको छ । उनका कवितामा जीवनप्रति सङ्घर्ष र आशावाद पाइन्छ ।

गोधूलिको रातो सूर्यलाई
पिठ्युमा बोकेर
ओरालो झरिरहेको कुप्रो युगसँगै
हाट भर्न हिँडेको
मेरो प्रिय मान्छे !
माइल स्टोनलाई झैं समयलाई
चपक्क समाएर पर्खिबस
पछ्याउँदै तिम्रा पदचापहरु
-बिम्बमा बटुवा, पृ. ३२

यतिखेर फागुनको बडो बिरसिलो हावा चल्छ । सुख्खा हावा । यस्तो हावाले अक्सर मेरा लागि पूराना यादहरु सोहोरेर ल्याउँछ । अनि आँखाबाट केही वस्तुहरु विस्तारै ओझेलिँदै गए झैं, मुटुभित्र कतै अप्ठ्यारोले थिचिरहे झैं, अनायासै आँखाको डीलको परेलामा आँसुको चिसो बसे झैं एक क्षणमै÷ एक पलकमै धेरै धेरै कुराहरु घटिसक्छ मेरो आँखाबाट, मेरो हिर्दयबाट । जब घरको पिँढीमा आएर साँझको बतासले सुस्केरा हाल्छ, आँखाबाट आँसु थाम्न हम्मेसी पर्छ र आँसुहरु बराल्लिएर भुइँतिर खस्छन् ।

जब झ¥यो ओइलाएको घाम पनि
सपाट ‘क्यानभास’ जस्तो साँझबाट
ठीक त्यही रात
बगाउँदै फूलजस्ता नदीहरु आँखाबाट
याचना ग¥यौ तिमीले
एक निमेषमै
मैले मेरो अस्तित्वजस्तो चहकिलो
सिन्दर दिएँ हृदयको
अर्को बिहान पोल्टामै पोखियो
हिउँदे घामजस्तो न्यायो आश्वासन
-आँसुको सौन्दर्यशास्त्र, पृ. २४

जब म ओक्कल, दोक्कल पिपल पात पढ्न बस्छु, कवि बिन्दु शर्मा एक सासमा आफ्ना कविताहरु मलाई सुनाएर किताबबाट ओझेलिसक्छन् । फेरि पनि उनका कविताका पदचापहरु उनी मेरो मस्तिष्कमा छाडेर हिँड्छन् । र, धेरैबेरसम्म पनि म उनका कविताहरुलाई आफ्नो नजिक महसुस गरिरहन्छु ।

कहिलेकाहीँ सत्ता र शासकहरुलाई गाली गर्न शब्दहरुले छुद्रता व्यक्त गर्नु पर्दैन । कोमल शब्दहरुले पनि शासकहरुको अन्तर्यमा मर्माहत गर्न सकिन्छ । शब्द र बन्दुकको बीचको अन्तर नरहने हो भने शासकहरुको क्रूरता र कलमको सौन्दर्यमा अर्थ र फरक के रह्यो र ! शब्द र बन्दुकको अश्लीलताको बीचको अन्तर के रह्यो र ! सायद कवि बिन्दु शर्माको कविताको कोमलताभित्रको शक्तिको सामथ्र्य पनि यही हो ।

किन वसन्तमै पलाउँछ पालुवा
जराबिनै कसरी फैलिन्छ पातपातै
त्यो पहेँलो आकाशबेली
चैते उराठतामा पनि
कसले सिकायो शाल्मलीलाई
राताम्मे भएर फुल्न
ग्रीष्ममै किन ओसार्छ गुँडतिर
कागले मसिना झिक्राहरु
बस्, मैले त एकोहोरो डो¥याइरहेँ
तिमीलाई प्राप्तिको गतिशील गन्तव्यतर्फ
तिमीले रटेका पाइथागोरसका निरस साध्यहरुमा
अनि अल्जेब्राका रेडिमेड सूत्रहरुमा
जोखिरहेँ आफ्नो मातृत्वलाई
-प्रेमको क्रुसिफिकेसन, पृ. ५७

कवि बिन्दु शर्माका कविताहरु आम उत्पीडनमा रहेका महिलाहरुका दुःखका सुस्केरा हुन् । एक्लै एकान्तलाई साथी बनाएर मनमनै बात मारिरहेकी अबलाझै उनका कविताहरु शान्त देखिन्छन् । राज्यले, धर्मले र राजनीतिले युगौंदेखि महिलाहरुमाथि सामाजिक र सांस्कृतिक रुपमा उत्पीडन गर्दै आइरहेको छ र यो उत्पीडनका विरुद्ध उनका कविताहरु विद्रोहका लागि साउती गरिरहन्छन् । तर उनी कवितामा सपाट नाराहरु लेख्दैनन् र उनका कविताहरु कोलाहल गर्दैनन् ।

नराख मलाई अब
रामलीलाको मैदानअघि
साँझको स्वयम्भूका निर्लिप्त आँखाका सामुन्ने
सजाएर कुमारीघरकी जीवित देवीलाई झैं
-मेनिफेस्टो, पृ. ८१

‘देशको दृश्य’, ‘सम्बन्धको यात्राबिम्ब’, ‘समविधानको स्वरुप’ र ‘नाङ्गिएको समय’ गरी चार खण्डमा चौबिस कविताहरु समाविष्ट ‘ओक्कल दोक्कल पिपल पात’ प्रगतिवादी नेपाली कविताको फाँटमा कवि बिन्दु शर्मालाई प्रतिनिधि कविका रुपमा परिचित बनाउन सफल कवितासङ्ग्रह हो । समालोचना बाहेक कविताको क्षेत्रमा देखिएको बिन्दु शर्माको यो आगमनले उनलाई कविको रुपमा स्थापित गरिदिएको छ । ‘ओक्कल दोक्कल पिपल पात’ सुरुचिपूर्वक कविता पढ्ने पाठकहरुका लागि सङ्ग्रहणीय कृति बनेको छ ।

बिन्दु शर्मा नेपाली साहित्यमा विद्यावारिधी हुन् । व्यवहारमा सरल छिन् । सांस्कृतिक आन्दोलनसँग सम्बद्ध छिन् । आफ्नो सङ्गठनको भूमिका र जिम्मेवारीप्रति इमान्दार छिन् । सायद विद्वान हुनु एउटा कुरा हो । विद्वान हुनु र सरल हुनु अर्को कुरा हो । विद्वान हुनु, सरल हुनु र सिर्जनाले सम्पन्न हुनु झनै अर्को कुरा हो । कहिलेकाहीँ कमैलाई यसरी मूल्याङ्कन गर्न सकिन्छ ।

शाल्मलि
२०७६ मङ्सिर २९

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here