घान्द्रुकको घाम

0
1035

बिहानको सात बज्दैछ ।

साउनको महिना । रातभरिको झरीले भिजेको काठमाडौँ र एउटा चिसो बिहान । हामी आ–आफ्ना झोलाहरुसँगै उभिएका छौं सुन्धाराको सडकपेटीको एकछेउ र सिमसिम पानीले हामी भिज्दैछौँ । 

बसले हर्न हान्यो र छिनभरमै काठमाडौँको सुन्धाराबाट हामी यात्रुहरुलाई बोकेर एउटा मिनिबस पोखरातिर प्रस्थान ग¥यो । हामी लायन्स आँखा अस्पतालका पाँच जना स्वास्थ्यकर्मीहरु पदम क्षेत्री, आर. बि. कुवँर, गणेश श्रेष्ठ, बलबहादुर राई र म सँगै छौँ र घान्द्रुक आँखा शिविरको लागि पोखरा जाँदैछौँ । बसभित्र यात्रुहरुको भीड छ । पानी परिरहेकै भएपनि यात्रुहरुको भीड र गर्मीले बसभित्र एउटा अत्यासलाग्दो उकुसमुकुस पैदा गरेको छ । 

बस नागढुङ्गा पुगेपछि एकचोटि काठमाण्डौलाई फर्केर हेर्छु । काठमाण्डौ बाक्लो कुहिरोले छोपिएकै छ । कताकतै हो कि भनेझैँ देखिने त्यो अग्लो धरहराको धमिलो छाया पनि यतिखेर विस्तारै कुहिरोसँग हराइरहेको देखिन्थ्यो । बसभित्रको उकुसमुकुसबाट बच्न अलिकति झ्याल के खोलेको थिएँ, यसैबेला झ्यालबाहिरको एकमुस्लो चिसो कुहिरो मौका छोपेर झ्यालभित्र पस्यो । म एकछिन चिसो भएँ । झ्याल बन्द गरेँ र बाहिर हेरेँ । सडकभरि शीत खसिरहेको थियो । 

एकैछिन चेकपोष्टमा अलमलिएपछि बस नागढुङ्गालाई छाडेर सडकको उँधैउँधो भएर बग्न थाल्यो । तर सधैँ जस्तो छ्याङ्ग देखिने ती सडक र वरपरका दृश्यहरु पनि यतिखेर कुहिरोले बाक्लै छोपिएका देखिन्थे । नजिकै अघिल्तिरबाट आइरहेको सवारी गाडीका लाइटको उज्यालोलाई देख्नसम्म पनि गाह्रो हुने गरी कुहिरोको दादागिरी देखिन्थ्यो र त्यो कुहिरोको अँध्यारोभित्र छाङ्गाछुर पहराहरु अझै कहालीलाग्दो भएर कहिले उकाली रहेझैं लाग्थ्यो । कहिले ओराली रहेझैं लाग्थ्यो । बसको गति र बाटोको मोडहरुले मनलाई झस्काइरहन्थ्यो । तर बसले आधाआधी ओरालो पार गरेपछि भने दृश्य एक्कासि बदलियोे । वरिपरिका सबै दृश्यहरु छ्याङ्ग थिए । एकैछिन त लाग्यो हामी कतै पृथ्वीको सतहको अर्कै लोकमुनि पो कुदिरहेका पो हौँ कि ! 

पानी बर्षिएर भर्खरै थामिएजस्तो कलिलो क्षण । पारी घाम पोखिएका पाटाहरु । झुलिरहेका फाँटहरु । गराहरुमा खेलिरहेको सूर्य । गाउँलाई हत्केलामा राखेर उभिइरहेका धादिङ्का पहाडहरु र उत्तरतिर फैलिएर मुसुक्क मुस्कुराइरहेको हिमाल । एउटा बैंशालु प्रकृति । कतै हेरिरहुँ भनेझैं, ती हिउँ फूलहरु टिपेर आँखाहरुबाट कतै पोखिइरहूँ भनेझैं । अघि भर्खरसम्म यात्राले चिसिएको मन अहिले भने कति मग्नमस्त थियो र कति साह्रो फुरुङ्ग र उत्साहित थियो । र, यी दृश्यहरुसँग रमाइरहेको थियो । 

नौविसे देखियो । बस पृथ्वी राजमार्गको चिल्लो सडकमाथि कुद्न थाल्यो । अब भने पहिले जस्तो बिग्रिएको सडक थिएन । प्रायः निर्माण कार्य पूरा भैसकेछ । त्यो चिल्लो सडकलाई देख्दा मलाई पहिलोपल्ट लाग्यो वर्षौदेखि बिफरको बूूढो बिमारीलेझैँ विक्षिप्त त्यो बूढो सडक आज आफ्नो जिर्णोद्वारमा आफै दङ्ग छ । चकित छ र एउटा कृतज्ञताले यात्रुहरुको लागि शुभ साइतको कामना बोकेर लमतन्न तेर्सिएर रहेको छ । 

थुप्रै पहाड र घुम्तीहरु छिचोल्दै बस नदीको किनारैकिनार कुदिरहेको थियो । बेलाबेलामा किनारहरुबाट उठिरहेको त्यो चिसो हावाले झ्याल टेकेर हामीलाई छोप्न आइपुग्थ्यो । एउटा आनन्दले यी झ्यालहरुबाट मैले पानीको त्यो नीलो प्रवाहहरुलाई हेरिरहें । मैले त्यहाँ अलिकति कविताका हरफहरु खोजें । एउटा सौन्दर्यता खोजें । ऐकान्तिकता खोजें । कहिले आफैभित्र हराएँ र कहिले म आफैबाट फुत्त निस्किँए । कहिले बगरैबगर कुदिरहेँ । पानीका छालहरुसँग खेलिरहें । कहिले जङ्गलका झाडीहरुमा हराएँ । लहराहरुसँग अल्झें । मनै न हो । बाँध्न कहाँ सकिन्छ र ? छाडिदिएँ । 

बस आफ्नै गतिसँग थियो र म आफैसँग हराउँदै थिएँ । बेलाबेलामा सडकछेउछाउका घरहरु आँखामा ठोक्किदै पछाडि पर्दथे । आँखामा वरिपरिका दृश्यहरुको एक झलक पथ्र्यो र हराउँथ्यो । यात्रा हो । कति चिजहरु आँखामा साँच्न सकिन्थ्यो । कति सकिँदैनथ्यो ।

मलेखुका घरहरु देखिए । बस रोकियो ।

‘लौ, चिया, नास्ता गरौँ है ।’ खलासी कराए ।

हामी बसबाट ओर्लियौँ र एउटा होटलभित्र छि¥यौँ ।

‘ल, को को के खाने हो, मगाऔँ हैँ ।’ रामदाइले सहमति खोज्नुभयो ।

‘जसले जे खाएपनि मलेखुको आलुचप चाँहि नभुलौ है साथी हो ।’ पदम क्षेत्रीले भन्नुभयोे । 

एकैछिनपछि चप आइपुग्यो । पदमदाइले चप प्रसङ्ग झिक्नुभयो । हामी सबै एक छिन हाँस्यौँ । मैले चप खाँदै भने– ‘मलेखुको चप मीठो, पदमदाइको मन ठिटो ।’ साथीहरु सबै कराए– ‘ल,ल एउटा अर्को मुक्तक फेरि होस् ।’ तर म भने मलेखुको तातो चप खाएरै चुपचाप रहेँ । 

एकछिनपछि बस त्यहाँबाट हिँड्यो । फेरि एकपल्ट सबै आफ्नो यात्राको धुनमै फर्किए । बसभित्र गीत बजिरहेकै थियो–

तिम्रै सुन्दर हरियालीमा,

तिम्रै सुन्दर वक्षस्थलमा

यो कविको शैशवकाल बित्यो

हाँस्यो, खेल्यो वनकुञ्ज घुम्यो 

मेरो प्यारो ओखलढुङ्गा । …………मेरो प्यारो ओखलढुङ्गा

हाम्रो यात्राको संस्मरणको मिठा क्षणहरु बनेर मेरो मस्तिष्कमा खेलिरह्यो नारायणगोपालको स्वरले भरिएको सिद्धिचरण श्रेष्ठको त्यो गीत । 

०००

तल त्रिशुली बगिरहेको थियो । 

र माथि किनारैकिनार भएर हाम्रो बसयात्रा कुदिरहेको थियो ।

झण्डै एघार बजे बस मुग्लिङ्ग पुगेर रोकियो ।

‘लौ, खाना खाउँ है ।’ खलासी ओर्लिएर कराए । 

‘लौ, खाना खाउँ है दाइभाइ हो । धारा त्यहीं छ । हातमुख धुने भए धोइहालौं ।’ ओल्लोपल्लो होटलका ढोकाहरुमा टाँसिएर ग्राहकको आगमनलाई पर्खिरहेका थकाल्नी आइमाईका आशातित् आँखाहरु यात्रुका पाइलाहरुलाई हेर्दै कराइरहेका थिए । गाडीबाट ओर्लिएर सडकमा उभिएरै हामी एकछिन अल्मलिरह्यौँ । एकछिनमा ‘लौ आओ केटा हो’ भन्दै पदमदाइ हाम्रो अघिल्तिर लाग्नु भयो । हामी चाँहि लाग्यौ उहाँलाई पच्छ्याउँदै । अलिपर रहेको ‘आमा’ होटलभित्र उहाँ पस्नुभयो ।

‘ए भाइहरु !’ चिनेर हो कि वा त्यो व्यावसायिक चतुरता, होटलकी थकाल्नी दिदी पदमदाइलाई देखेर मुस्कुराइन् । थकाल्नी दिदीलाई देखेपछि पदमदाइ पनि हाँस्नुभयो । 

‘धत्तेरी, दिदीको घर पनि धन्नै चिन्न सकेनौ हौ ।’ पदमदाइको त्यो पूर्वेली लवज 

‘ल, बस्नोस् भाइहरु ।’ थकाल्नी दिदी अरु औपचारिकता बनिन् ।

‘ए केटा हो, ल यहाँ दाइहरुलाई खाना ल्याइदे ।’ तिनी बाहिरैबाट कराइन् ।

‘को के के खाने ?’ रामदाइको खानाको मेनुको प्रस्ताव थियो ।

गणेशदाइ चाउमिन खाने हुनुभयो । हामी अरु सबै मासु सहितको खाना । 

‘दाइहरुलाई के राखिदिउँ ?’ छिन्छिनमा खानेकुराको भाँडा बोकेर हामी छेउ उभिन आइपुग्ने सानी ठिटीहरुको मुस्कानले हाम्रो ध्यानलाई तान्छ । अनुहारभरि अबोधता झल्कने उमेर नपुगेका ती साना र कलिला ठिटीहरु ग्राहकको मन जित्ने भावमा घरिघरि हामी छेउ आएर मुसुक्क हाँस्छिन् । सायद त्यहाँको व्यापारिक परिवेश र वातावरणले उनीहरुलाई सिकाएको त्यो एउटा अपरिपक्क सिको थियो जसलाई उनीहरुले सधैं यसरी नै पछ्याउँदै आइरहेका थिए । मलाई झट्ट बुधबार बेलुकी हेरेको टेलिफिल्म उजेलीको सम्झना आउँछ । एउटा सङ्केत गरें ।

“दाइ, उजेलीहरु ।” नजिकै तरकारीको भाँडा बोकेर उभिएकी ती सानी ठिटीलाई हेर्दै मैले रामदाइलाई 

“अँ, हगि ।” दाइले मुसुक्क हाँसेर मुन्टो हल्लाए । ती सानी ठिटी भने हामीतिर हेरेर केही बुझेझैं भावमा मसक्क मस्किएर त्यहाँबाट भागिन् । ऊ त्यसरी भागेको देखेर नजिकैका पदमदाइ लगायतका अरु साथीहरु अलमल्ल परेर हामीलाई हेरिरहे । तर मैले भने त्यहाँ उसले भाग्दै गरेका पाइलाहरु र उसले बाँचेको यो परिवेशभित्र उसको भविष्यको उज्यालोको एउटा सानो अंश खोज्ने थोरै प्रयासहरु गरिरहें । तर सकिएन । 

खाना खाइसकेपछि हामी त्यहाँबाट बाहिर निस्कन्छौँ ।

मुग्लिङ्गबाट हिँडेपछि झण्डै पट्यारलाग्दो धुलो सडकको त्यो ८ कि.मी. दूरी काटेपछि आँबुखैरेनी देखापर्छ । 

न कतै गाउँ, न शहरजस्तो 

धेरै बेथितिले खजमजिएको, 

क्षीण र निराश । 

अहँ, एउटा अन्यौलतापूर्ण स्थितिबाट अझै मुक्त हुन नसकिरहेको त्यो ठाउँ । सधैं अस्वस्थ । एउटा स्वच्छ मानसिकताको विकास त्यहाँ अझै हुन सकेन । केवल ईष्र्या छ त्यहाँ । द्धेष छ । घृणा छ । स्वार्थ छ । स्वार्थको कालो संस्कारको घेराबाट कहिल्यै मुक्त हुन सकेन त्यो गाउँ र कहिल्यै एक मुठ्ठी विश्वास बोकेर खुसीहरुले फुल्न सकेन । थुप्रै दुखाइहरु हुर्किरहेको थियो त्यो गाउँसँग । सधैं आफ्नैहरुबाट आक्रान्त । र, त्यो पीडाले मेरो मनलाई फेरि एकतमासको नरमाइलो बनाइरहेको थियो यतिबेला । 

‘तिम्रो घर यतै होइन ?’ रामदाइ सोध्दै हुनुहुन्थ्यो मलाई ।

‘हजुर ।’ मैले भनेँ,

‘यहीँ बजारमै पर्छ ?’

‘त्यो रोड समातेर अलिक हिँड्नु पर्छ ।’ मैले गोर्खातिर तेर्सिएको सडक देखाउँदै भनें । 

हाम्रो एक झलक हेराइमा आँबुखैरेनीलाई फेरि पछि छोडिदिन्छ बसको गतिले । अब हाम्रो अघिपछि धेरै टारहरु देखिन्छन् । पारी देउरालीको याङ्कोटबेसी, मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामसाइट, गोप्लीङफाँट, च्याङ्लीटार । यो भेकतिर अभैmसम्म पनि पानी पर्न सकेको रैनछ । हरेक वर्ष झरीमा रूझ्दै साउने भाकाहरुले गुन्जिरहने यी टारीखेतका गराहरु यतिखेर पानीको अभावमा बाँझैं पल्टिरहेका देखिन्थे । आकाशमा पानी पर्ने कतै कुनै छाँटसम्म छैन । कुलाहरु सुकेका छन् । किसानहरु आकाश हेर्दै वर्षा पर्खिरहेका छन् र बेचैनीहरु काटिरहेका छन् । सायद मुलुकभरि यस्ता अझै कति जमिनहरु पानीको अभावमा खडेरीले यस्तै बाँझो पल्टिरहेका थिए र देशले एउटा खडेरी भोगिरहेको थियो । तर हाम्रा सांसदहरु, जो यतिबेला काठमाण्डौंमा पानी चुहिरहेको संसदघरको छानोलाई रमिता लगाएर हेरिरहेका समाचारहरु पत्रपत्रिकाहरुमा आइरहेका थिए । धन्य हो !

दिउँसो तीन बजे बसले हामीलाई पोखरा ओराल्यो । आफ्नो छातीभित्र समेटेर पोखराले हामीलाई हार्दिकतापूर्वक मायालु अङ्गालो हाल्यो । त्यो संयोगले पाएको भेटझै हामी पोखराको छातीभित्र लुटपुटियौँ । हामीसँग शिविरका सामानहरु, औषधि र अप्रेशनका आवश्यक इक्युपमेन्टस् थिए । बसबाट सामानहरु ओरालेर हामीले एकैछिन सडकछेउ अल्मलिरहनु पर्यो । पदमदाइका आँखाहरु त्यहाँ केही खोजिरहेका थिए र भन्दै हुनुहुन्थ्यो– “हैन, कोही आएको रै‘नछ क्या‘हो । हामी आएको जानकारी मिलेन छ कि ?” 

डायरीबाट फोन नम्बर टिपेर उहाँ फोन गर्न जाँदै हुनुहुन्थ्यो । त्यसैबेला एकजना अपरिचित मान्छे हाम्रो अघिल्तिर आइपुगे र सोधे– ‘तपाईंहरु काठमाडौ लायन्स क्लबबाट आउनु भएको हो ?’

‘हजुर ।’ पदमदाइको जवाफ थियो । 

ती मान्छेको आँखामा झट्ट एउटा खुसी देखियो । 

‘मेरो नाम लक्ष्मण कोइराला, रेडक्रसबाट आएको ।’ र, उनले आफ्नो परिचय दिए । 

रेडक्रस नाम सुनेपछि हामी पनि खुशी भयौं । ढुक्क भयो मन । थाहा भयो लक्ष्मणजी हामी आउने खबरले हामै्र प्रतीक्षामा रहनुभएको रहेछ । चिनापर्ची भो सबैसँग । मोटरसाइकलमा हुनुहुँदो रैछ । फोन गर्नुभयो कतै । एकैछिनपछि रेडक्रसको जीप हाम्रो सामु आइपुग्यो र हामीलाई लिएर जीप रेडक्रसको अतिथि भवनतिर लाग्यो । 

‘ल भाइहरु, थकाई मार्दै गर्नुहोला है । अब आज त काम भएन क्यारे । आराम गर्नुस् र पोखरा घुम्नोस् ।’ अतिथिगृहको भवनअघि जीपबाट ओर्लिएपछि उमेरले अलि पाको देखिने एउटी महिला जो अघिदेखि जीपमा हामीसँगै हुनुहुन्थ्यो, कास्की जिल्ला रेडक्रसका सदस्य हुनुहुँदो  रै‘छ चन्द्रा गुरुङ, उहाँले भन्नुभयो ।

‘खै, हामीलाई त झनै केही थाहै छैन यहाँको ठाउँ । दिदीहरुले नै घुमाइदिने होला नि ?” पदमदाइले भन्नुभयोे ।

‘मलाई नि आज फुर्सद भएन हेर्नोस् न । असाध्यै व्यस्त छु । के गर्नुहोला भाइहरु ?’ चन्द्रा गुरुङ एकछिन सोचमग्न देखिनुभयो र भन्नुभयो– ‘के गर्नुहुन्छ त ? कि हाम्रो अफिसको कोही एकजना तपाईंहरुसँगै पठाइदिउँ त ?’

हामी झनै अलमल्ल । पोखरा हाम्रा लागि परिचित ठाउँ थिएन एक्लै घुम्नुका लागि । तर यही छोटो बसाइ र अवसर थियो हामीले पोखरालाई हेर्नु र बुझ्नु । हामीलाई यो अप्ठ्यारो स्थितिबाट उम्काए रामदाइले र उहाँले भन्नुभयो– ‘हैन, हामी आफै नै जाउँला दिदी । बरु तपाईंहरुले हामीलाई महेन्द्रपुलसम्म लगिदिनुभएहुन्थ्यो ।” 

‘अनि सक्नुहुन्छ त ? अप्ठ्यारो हुँदैन घुम्नु ?’ चन्द्रा गुरुङको प्रश्न थियो ।

‘हुँदैन दिदी । म पहिले पनि आइसकेको छु । म घुमाउँला वहाँहरुलाई ।’ रामदाइले भन्नुभयो ।

‘ए हो ! ल त्यसो भए त झन् भैहाल्यो ।’ चन्द्रा गुरुङका अघि खुम्चिएका निधारका गाँठाहरु अलिकति खुकुला देखिए– ‘तपाईंहरु एकैछिन आराम गरेर बस्दै गर्नुहोला है त । हामी तपाईंहरुलाई एकैछिनमा लिन आइहाल्छौँ ।’ –भन्नुभयो  ।

र, गाडी लिएर बाहिर निस्कनु भयो ।

०००

हामी अहिले एउटा पुलमाथि उभिएका छौँ । 

रेडक्रसको जीपले हामीलाई भर्खरै त्यो पुलमाथि ओरालिदिएको छ । यतिबेला हामीसँग अलिकति दिनभरिको यात्राको थकाइ छ । अलिकति भोक छ । र, धेरै उत्सुकता र आतुरताहरु छन् पोखरालाई घुम्नु र हेर्नुको लागि । हाम्रा आँखाहरु त्यहाँ महेन्द्रपुल र महेन्द्रगुफाहरु खोज्दै छन् । फेवाताल र  खोज्दैछन् । हामीले कथाजस्तै सुनेका धेरै कुराहरु आज पोखरामा हामीले हेर्न भ्याइसक्नु पर्नेछ । 

‘हैन, पहिले कतै खाजा खाने हैन ?’ पदमदाइ सोध्नुभयो ।

‘पख्नोस्, अलिपर राम्रा होटलहरु छन् ।’ रामदाइ हामीलाई डो¥याउँदै हुनुहुन्थ्यो ।

त्यहाँ मान्छेहरु आउँदैजाँदै थिए । विदशीहरु फोटाहरु खिचिरहेका देखिन्थे । हिप्पीहरु बरालिँदै थिए । मोटरहरु गुडिरहेका थिए । तर काठमाण्डौमा चल्ने गाडीहरुकोझैं हर्नको ट्याँट्याँटुँटुँ कतै थिएन । यति सम्य र शालीन सडक मैले काठमाण्डौमा देखेको थिइनँ । 

हेर्दा कल्वर्डजस्तो एउटा सानो पुलमाथि थियौँ हामी । बीचभागमा उभिएर रामदाइले हामीलाई भन्नुभयो– ‘यही हो महेन्द्रपुल । यहीँ तलबाट बगिरहेको छ सेतीनदी ।’ 

एउटा सरप्राइज्डजस्तो । पुलबाट तल टाउको निहुराएर सेतीनदीलाई हेर्न पो त थाल्यौं हामी । एकछिन अघिसम्म कौतुहलतापूर्वक मेरो कल्पनामा खेलिरहेको महेन्द्रपुल र हामीले हेर्न खोजिरहेको सेतीनदीको यो कायाले मलाई एकैछिन रोमाञ्चित बनाइरह्यो । पुल हे¥यो, पुलजस्तो पनि छैन । नदी हे¥यो, नदीजस्तो पनि देखिँदैन । कुनै खोल्सो पो होला भन्ठान्दै गरेको मेरो मनले अघिसम्म मेरो मानसमा बसेको कल्पनाको यमानको महेन्द्रपुलको आकार अहिले कल्वर्टजस्तो यो पुलले भत्काइदियो । पुलका डण्डीहरुलाई समात्दै मैले बगिरहेको सेतीनदीलाई उँधोतिर निहुरिएर हेर्न बल गरिरहें । पानी खसेको छङ्गछङ्ग आवाज सुनिन्छ । तर नदी त कतै देखिँदैन । उत्तिखेरै हावाको चिसो बाफ र त्यसको झोक्काले तलबाट मलाई हान्यो । त्यो कहालीलाग्दो खोल्सोबाट सेतीनदी बगेको दृश्यहरुलाई हेर्ने मेरा प्रयत्नहरु चाँहि व्यर्थै रहे । जमिनभित्र लुक्दै बगिरहेको सेतीनदीमाथि त्यो पहराबाट उठिरहेका ती घरहरु झनै कहालीलाग्दा थिए । 

साँच्चै, कति अवर्णनीय थिए ती दृश्यहरु । कति अलौकिक देखिन्थे ।

‘पहिले मान्छे हिंड्न सक्ने काठको पुल मात्र थियो यहाँ । यो पुल बनाएको पछि हो ।” रामदाइ भन्दै हुनुहुन्थ्यो– ‘पहिलेपहिले काठ चोरेर हिँड्नेहरु यसको भीरैभीर ऊ त्यो बाटो भएर हिँड्थे रे । एक फड्कोमा वारिपारि गर्दथे रे ।’ 

एउटा दन्त्यकथाजस्तै । वाचक थिए रामदाइ । हामी श्रोता थियौं । रामदाइले अलि उँभो नदीका किनारसँग जोडिएका जङ्गललाई औंलाहरुले इशारा गर्दै नमितासुनिताको हत्या भएको ठाउँ देखाउनु भयो । त्यो पाशविकता सम्झेर फेरि पनि एकपल्ट चसक्क मन दुख्यो । त्यो हत्याकाण्डबारे वास्तविकता बाहिर सार्वजनिक हुन नसके पनि हत्याले पञ्चायती शासकहरुप्रतिको जनताको तीव्र घृणा र आक्रोश भने प्रकट गरिदिएको थियो । नमितासुनिता मात्रै होइन सायद कयौं त्यस्ता नारीको आँसुको अस्मिता लुकेको छ सेतीको गर्भभित्र । र लागिरह्यो– तिनै अभागी आइमाईहरुको पीडाको सुस्केरा हो सेतीनदीको सुसाहट । क्रूर घट्नाले छातीभरि पञ्चायती शासकहरुप्रतिको अरु थप घृणा पैदा ग¥यो । 

नजिकैको एउटा होटलभित्र खाजा खाइसकेपछि महेन्द्रपुलबाट ट्याक्सी समातेर हामी फेवातालतिर हिँड्यौैँ । फेवातालको किनारभरि डुङ्गाहरु छन् । र त्यहीं एकछेउमा उभिएर हामीले त्यो परको दृश्यहरुलाई नियालिरह्यौँ । 

जहाँ लालुपाते छ 

र गुराँसका बोटहरु छन् 

पानीमाथि खेलिरहेको माछापुच्छ्रे  छायाँ छ 

जहाँबाट नाउडाँडा देखिन्छ 

बादलभित्र हराइरहेका धमिला पहाडहरु देखिन्छन्

एकचोटि मलाई आफूभित्र त्यो सौन्दर्य कोर्न मन लाग्छ 

त्यो लालुपाते समेट्न मन लाग्छ 

ती हिउँफूलहरु टिपेरै

मलाई मेरो देशकोे बैँस उमार्न मन लाग्छ 

मलाई ती पातहरुमाथि

एउटा अटोग्राफ कोर्न मन लाग्छ

०००

‘डुङ्गा चढौँ ।’ एउटा प्रस्ताव आउँछ । 

प्रस्ताव ल्याउने चाँहि गणेश श्रेष्ठ हुन् क्यारे । डुङ्गा चढ्ने कुराले भने एक किसिमको त्रास र उत्सुकता दुवै पैदा गर्छ मभित्र । बेलुकीको समय फेवातालमा डुङ्गा चढ्नु र चलाउनु उति सुरक्षित मानिँदैन भन्ने सुनिएको हो । अझ हावा चलेको बखत त डुङ्गा चलाउनु निषेध नै रहेछ । तै त्यो समय हाम्रा लागि उति साह्रो प्रतिकुल भने थिएन । परपरसम्म पनि डुङ्गाहरु चलिरहेका देखिन्थे । किनारासम्म डुङ्गाहरु आउँदैजाँदै थिए ।

‘आफै लैजानु हुन्छ भने ६० रुपैँया । नत्र एकसय रुपैँया ।’ सोधाइमा बोटेभाइले जवाफ दिए । 

आफैले चलाउन सक्ने त कुरै रहेन । बोटेभाइलाई लिएरै हामीले डुङ्गा चढ्यौँ । पदमदाइ एउटा बहना समातेर अघिल्तिर बस्नुभयो । बाँकी हामी भने टक्रयाक्टुव्रmुक मिलेर बस्यौँ । किनारालाई छाडेर डुङ्गा अब पानीमाथि खेल्न थाल्यो । पछिल्तिर बसेर बोटेभाइले बहाना चाल्यो । पदमदाइ अघिल्तिर बसेर बहानालाई पानीमा खेलाइरह्यो । पदमदाइको बहानाको चाल नमिलेपछि बोटेभाइले बहाना नचलाउन आग्रह गरे । जतिजति डुङ्गा अघि बढ्दै थियो पानीको गहिराइ र डुङ्गाको असन्तुलनले मनलाई उतिउति नै झस्काउँथ्यो । अलिपर पुगेपछि पदमदाइ झनै अरु जिस्कन थाल्नुभयो । आफ्नो त्यो भद्दा जिउलाई घरि उहाँ दायाँ ढल्काउनु हुन्थ्यो, घरि बायाँ ढल्काउनु हुन्थ्यो । उहाँको त्यो मजाकले कतै डुङ्गा नै पुल्टुङबाजी मार्ने हो कि भन्ने चर्को छटपटीले हामी सबैलाई पिरोल्यो । हामी उहाँलाई डुङ्गामा बसेर नजिस्कन भन्दैै थियौँ । तर उहाँको त्यो हर्कत केटाकेटीकोझैँ अरु बढ्यो ।

‘यसरी त दाइहरुलाई लान सकिन्न है ।’ अब भने बोटेभाइको धैर्यताले पनि साथ छोडेछ । 

बलबहादुर राईको अनुहार त अघिदेखि आक्रोशले कालो देखिन्थ्यो । केहीबेरमा डुङ्गाले तालको मध्यभागमा रहेको बाराही मन्दिरको छेउमा किनारा लियो । हामीले एउटा राहतको सास फे¥यौँ । सबैको अनुहारबाट अघिको त्यो सकस विस्तारै हरायो । अघिसम्मको त्यो त्रासपूर्ण क्षणबाट उन्मुक्त भएर अहिले सबैको ओंठबाट निस्केको हाँसोले सबैलाई एकछिन रोमाञ्चित पनि बनायो । सङ्कट र अप्ठ्यारोबाट मुक्त भएपछि मान्छेको जीवनप्रतिको मोह अरु झन् बढ्दो रै‘छ क्यारे । त्यसबेला हामी सबैको हाँसो र अनुहारका खुसीहरुबाट यस्तै महसुस गरेँ । 

‘के साह्रो डराको हौ तिमीहरु ।’ हामीतिर हेरेर पदमदाइको झनै नकच्चरो हाँसो निस्कियो । 

बलबहादुर पदमदाइतिर आँखा तरेर हिँड्यो । केही बोलेन ।

हामीले बाराही मन्दिरको परिसर चाहा¥यौँ । चारैतिर पानीेले घेरिएर बीचमा बाँकी रहेको त्यो सानो थुम्कोको सौन्दर्य छुट्टै थियो । कसरी रहन गयो होला यो थुम्को यहाँ ? कसले निर्माण ग¥यो होला यहाँ यो मन्दिर ? कहिलेदेखि यहाँ यो पूजाआजा शुरु भयो होला ? किन पानीले गल्दै नगएको होला यो जमिन ? थुप्रै जिज्ञासाहरु थिए मनभित्र । त्यहाँ पानीका छालहरुसँगै आँखाहरु रमिरहेका थिए । 

मन्दिर परिसरमा पातलिँदै गइरहेका मान्छेका उपस्थितिसँगै हाम्रा आँखाहरु फर्किएर फेरि उही डुङ्गातिर थिए । फेरि डुङ्गा त चढ्नु नै थियो । तर कोही डुङ्गा चढ्नको लागि अघि तम्सिरहेका थिएनन् । 

‘अहँ, म चाँहि यसमा गइनँ ।’ गणेश श्रेष्ठ पछि हट्यो ।

‘म नि जान्न ।’ बलबहादुर झन् पछि हटे ।

एउटा असामञ्जस्यता थियो अघिल्तिर । हामी सबैका आँखाहरु एउटा प्रश्न बनेर पदमदाइको अघिल्तिर उठेको थियो– ‘ल पदमदाइ के गर्ने ?’ 

पदमदाइ अलमल्ल पर्नुभयो ।

‘ल,ल बा म चल्दिनँ, भो अब त ।’ लाचार देखिनुभयो पदमदाइ ।

अलिपर पुगेपछि बोटेभाइले केही बर्षअघि एउटा डुङ्गा पल्टेको ठाउँ देखाए । त्यो दुर्घटनामा १४ जनाको मृत्यु भएको रै‘छ । त्यो सुन्दा भने एकपल्ट आङ्ग सिरिङ्ग भयो । मैले अलिकति निहुरेर पानीको त्यो निलो गहिराइलाई नाप्न खोजेँ । सकिनँ । जिउ ढक्क फुल्यो । बोटेभाइले तालबाराहीको मन्दिरलाई एकफन्को मारेर डुङ्गालाई किनारा लगाएपछि डुङ्गाबाट ओर्लिएर पाखा टेक्नासाथ बलबहादुर राई उफ्रिए– ‘यी केटाहरुसँग हिँड्नै नहुने रै‘छ ।’ 

हामी फेरि सबैे हाँस्यौँ, एकछिन् ।

दिन त्यहीँ बित्यो । हामीले डेविडफल्स् र महेन्द्रगुफा हेर्ने इच्छालाई त्यही थन्क्यायौँ र फेवातालबाट फर्किएर आफ्ना भारी पाइतालाहरुलाई रेडक्रसको अतिथिगृहको कक्षभित्र पुगेर बिसायौँ । ओछ्यान ढल्किएर गफगाफमै राति को कतिबेला निदायौँ, थाहा भएन । 

भोलिपल्ट, बिहानको चिसोले हामीलाई ब्युँझायो  । तर अल्छीलाग्दो निद्रा बोकेरै हामी ओछ्यानमा गुटमुटिरह्यौँ । कास्की जिल्ला रेडक्रसका मन्त्री महेश गुरुङले कोठाभित्र पसेर हाम्रो चियानास्ताको तयारी भएको जानकारी दिनुभएपछि भने हामीलाई हतारो प¥यो । चिया पिइसकेपछि हामीले त्यहाँबाट हिँड्नुपर्ने थियो । ढिलो भइसकेछ । रेडक्रसको जीप बाहिर हामीलाई पर्खिरहेको थियो । काठमाडौबाट गएका हामी पाँचजना, एकजना प्रहरी र तीनजना जु.रे.स.का भोलन्टियर्स बहिनीहरुलाई लिएर जीप अतिथिगृहबाट हिँड्यो । एकैछिनपछि जीप बाग्लुङ जाने सडकतिर हुइँकिदै थियो । सुईखेतको त्यो लामो तेर्साे बाटो हुँदै जीप कुदिरह्यो ।

‘ए, तपाईहरु त के हो यो ? हामीलाई भने तपाईंहरुलाई त्यहाँ पर्खदैंमा हैरान ।’ एउटा प्रहरी चेकपोष्टनिर मोटरसाइकल अड्याएर बसिरहनुभएका लोक भण्डारी र लक्ष्मण कोइरालालाई देखेपछि चन्द्रा गुरुङ कराउनुभयो । बाग्लुङ जाने त्यो सडकको निर्माण कार्य पुरा गरिनसकिएको हुनाले पर्मिट लिनुपर्दो रै‘छ र सजिलोको लागि त्यहाँसम्म डिएसपी. कार्यालयबाट ती प्रहरीलाई पनि साथै ल्याइएको रै‘छ । प्रहरीहरु त्यहीं ओर्लिए । चेकपोष्ट कटेपछि जीप उकालैउकालो भएर कुद्न थाल्यो । झण्डै एकाधघण्टाको त्यो उकालोले मलाई नौविसे नागढुङाको सडकखण्डको उकालोको सम्झना गरायो ।

‘छ्या, यो मौसम पनि कस्तो प¥यो है ।’ पहाड छोप्दै उठिरहेको बाक्लो कुहिरो हेर्दै चन्द्रादिदी बोल्नुभयो– ‘तपाईंहरुले खै पोखरा हेर्न नपाउने हुनुभयो आज ।’

‘माथि नाउडाँडाबाट पोखरालाई हेर्दा झनै् कति रमाइलोे देखिन्थ्यो ।’ रामदाइको पनि गुनासो थपियो ।

‘के हेर्नुहुन्छ र अब । फर्कदा दिन राम्रो प¥यो भने हेर्नुहोला ।’ चन्द्रा दिदीको सल्लाह थियो । 

नाउडाँडा काटेपछि जीपले फेरि ओरालो बाटो लियो । कुहिरो उस्तै थियो । भुईंकुहिरो उस्तै । पोखराका ती सुन्दर पहाडहरु र हिमालहरु हेर्ने हाम्रा रहरहरुमाथि त्यो बाक्लो कुहिरोले उस्तै दुःख दियो । जीप काँडे, लुम्ले हुँदै बिहानको दश बजेतिर मेदी नदीको किनारमा पुगेर रोकियो । घान्द्रुकसम्म पुग्ने हाम्रो पैदल यात्राको सुरु अब त्यहींदेखि हुँदो रै‘छ ।

०००

सातजना भरियाहरुलाई लिएर हामी हाम्रो पैदलयात्रा सुरु गर्छौ । हाम्रो सडकयात्रा अब सकिएको छ । सडकबाट ओर्लेर केही ओरालो र तेर्सो हिँडेपछि एउटा झोलुङ्गे पुल देखा पर्छ । झोलुङ्गे पुल तरेपछि हामी एउटा बस्तीभित्र पुग्छौँ । नदी किनारमै अग्ला काठहरु ठड्याएर बनाइएका ती घरहरु हेर्दा निकै आकर्षक देखिन्थे 

‘वीरेठाँटी’ लेखिएको एउटा सानो साइनबोर्डले हाम्रो आगमनलाई स्वागत गर्दै हात उठाउँछ । हामीले पनि नतमस्तक भएर अभिवादन गर्छौं र अघि बढ्छौँ । अलि अघि लहरै होटलहरु देखिन्छन् त्यहाँ । अलिक माथि पुगेपछि हामी अन्नपूर्ण होटलभित्र पस्छौँ । हाम्रो बिहानको खाना त्यहीं हुन्छ । त्यहीँ हाम्रो परिचय कास्की जिल्ला रेडक्रसका रमेश पौडेलसँग हुन्छ । कुराकानीकै क्रममा थाहा हुन्छ पौडेल पञ्चायतकालको समयमा पोखरा नगरपञ्चायतको सभापति समेत भइसक्नुभएको रहेछ । खाना खाइसकेपछि वीरेठाँटीसँग बिदा मागेर हामी हाम्रो यात्राको अघिल्तिर बढ्छौँ । 

हामी हिँडिरहेका छौँ कोही अघि कोही पछि हुँदै । नजिकै मेदीनदी बगिरहेको छ र हामी मेदीनदीको किनारैकिनार कहिले अञ्जुलीभरि पानी खेल्दै, कहिले अलिकति उकालिँदै र कहिले अलिकति ओरालिंँदै हिँडिरहेका छौँ । बाटोमा मान्छेहरुको उस्तो आवत–जावत छैन । नदीका अप्ठ्यारा किनारहरुलाई छाडेर पर पुगेपछि अलिकमाथि केही घरहरुको बस्ती देखिन्छ– स्याउलीबजार । फैलिएको बगर र जङ्घार परेको खोला । प्रायः मान्छेहरु यो बाटो आउँदाजाँदा साँझ प¥यो भने यहीँ स्याउलीमा बास बस्दा रै‘छन् । एकैछिन हामी त्यहीं सुस्ताउँछौँ र पछि आउनेहरुलाई पर्खन्छौँ । त्यहीं पोखराका कवि रमेश श्रेष्ठसँग भेट र परिचय हुन्छ । उनी चित्रकार पनि हुन् । 

स्याउलीबजारबाट सुरु हुँदो रैछ घान्द्रुकसम्म पुग्ने एउटा विकट उकालो । अहो ! त्यो जुरो हालेर उठिरहेको अजङ्गको उकालो । मनले हरेस खाने उकालो । प्रत्येक चार पाइलामा फुकी फुकी विश्राम लिँदै हिँड्नु पर्ने । केहीले त तल फेदीबाटै साथमा टेक्ने लौरीको बन्दोबस्त गरिसकेका थिए । मैले एकपल्ट त्यो अग्लो पहाडलाई हेरिरहेँ र आँखाहरुले त्यो उकालोलाई भ्याएसम्म पछ्याइरहेँ । एउटा चुनौती थियो हामीलाई त्यो पहाड र ठाडो उकालो । हामीले बिस्तारै त्यो उकालोलाई चढ्न सुरु ग¥यौँ र पाइलाहरुलाई अघि बढायौँ । उकालोसँगै थकाइ सुरु भयो ।

झण्डै आधाउधी उकालो छिचोलेपछि एक्कासि मुसलधारे पानीले झरी हाल्यो । अघिसम्म सफा देखिँदै थियो आकाश । बादल कतै थिएन । कतै हतारो पनि थिएन । हामी कोही अघि कोही पछि ह्ँदै त्यो उकालोलाई बिस्तारै उकालिइरहेका थियौँ । फसाद प¥यो । हामी कसैसँग ओढाउ थिएन । पानी ओत्ने कुनै ठाउँ थिएन । उपायविहीन भएपछि रुझ्दै, भिज्दै हामी अघि बढिरह्यौँ । निथु्रक्कै भएर अलिबेर हिँडेपछि बाटोछेउ एउटा सानो झुप्रो भेटियो । रामदाइ र गणेश श्रेष्ठ त्यही झुप्रोभित्र छिरे । रक्सी पाइँदो रै‘छ । दुवैजनाले एकएक ट्वाक रक्सी तानेर निस्किए । उकालोमा दररर एकैछिन हामीलाई भिजाएपछि पानीले पनि विश्राम लियो र पारी पाखातिर रमाइलो घाम प¥यो । 

रक्सीको रन्कोले भेटेछ क्यार रामदाइ र गणेश श्रेष्ठ त्यो उकालोमा पनि लम्किएर अघि पुगे । हामी उनीहरुको त्यो लम्काइलाई हेरेर बिस्तारै उकालिरह्यौं । 

तीन घण्टाको झण्डै नाक ठोस्सिने त्यो उकालो हिँडेपछि बाटोले पनि अब त तर्पाया तर्पाया लियो । अल्लि परबाट पहाडको एउटा मोड परेको ठाउँ देखियो । त्यहीं मोडमा पुगेपछि त्यो उकालोको अन्त्य हुँदोरहेछ ।

‘ऊ त्यो बत्ती बलेका घरहरु देख्नुभयो ? त्यही हो घान्द्रुक ।’ कुहिरोभित्र घरि हराउँदै र घरि देखिँदै गरेको बत्तीको उज्यालोलाई देखाउँदै रमेश पौडेलले भन्नुभयो । हामीले धमिलो त्यो कुहिरोभित्र छोपिएको घान्द्रुकलाई परबाट नियाँल्यौं र आतुरतासाथ अघि बढ्यौँ । हामी बस्ने ठाउँको बन्दोबस्त पहिलेदेखि मिलाइसकिएको रहेछ । हामीलाई त्यसको कुनै समस्या रहेन । घान्द्रुक पुग्दा साँझ परिसकेको थियो । राति आठ बजेतिर डा. यन्तमणि प्रधान र महेश गुरुङसहित अर्को एक टोली घान्दु्रक आइपुगे । एउटा रमाइलो जमघट बन्यो घान्द्रुक त्यो साँझ । पछिल्लोचोटि आउनेहरुमा कविता लामा र मुना श्रेष्ठ काठमाडौँबाट आएका थिए र बविता, सजना ढकाल र उत्तरा श्रेष्ठ भने क्षेत्रीय अस्पताल पोखराबाट । अब भोलिदेखि एकसातासम्म घान्द्रुकमा आँखाको निशुल्क स्वास्थ्य शिविर सुरु हुँदै थियो । 

०००

घान्द्रुक, जहाँ अन्नपूर्ण छ

माछापुच्छ्रे छ

र एउटा सिङ्गो राष्ट्र छ 

घान्द्रुक, जहाँ राष्ट्रको अस्मिता छ 

र ढुकढुकी छ

घान्द्रुक, जहाँ अटुट माया छ 

विश्वास छ 

प्रेम छ, स्नेह छ 

र हार्दिकता छ

घान्द्रुक, जहाँ विश्वका शान्ति गीतहरु गाइन्छन्

र एकताका हातहरु बाँधिन्छन्

जहाँ हजारौ पर्यटकहरु ओइरिन्छन्

र मानव सभ्यताको एउटा अर्को बिउ रोपिन्छ ।

हामी त्यही घान्द्रुकमा छौँ केही दिनका लागि । हाम्रो आँखा शिविरको कार्यक्रम सञ्चालन भइरहेको थियो । लायन्स आँखा अस्पताल काठमाण्डौ र पोखरा रेडक्रसको संयुक्त आयोजनामा भएको त्यो निःशुल्क शिविर अन्नपूर्ण संरक्षण क्षेत्रको भवनभित्र हुँदै थियो । बिरामीको भीड र ओहोरदोहोर उत्तिकै थियो । हामी बिहानदेखि बेलुकीसम्म व्यस्त रहन्थ्यौँ र साँझ शिविरका सहभागीहरुको एउटा रमाइलो जमघट बन्थ्यो त्यहाँ । रामदाइको गीत, पदमदाइको मुक्तक, कविता लामाको नाचले त्यहाँ एउटा छुट्टै रौनक र उत्साह भरिदिन्थ्यो साँझको कार्यक्रममा ।

घान्द्रुक आफैमा एउटा अनुकरणीय गाउँ रहेछ । झण्डै पाँचसय घरहरुको त्यो बाक्लो बस्तीमा अधिकांश घरहरु लाहुरेका रहेछन् । तर लाहुरे भएर पनि सहर पस्ने मोहले भने कहिल्यै छोएको रहेनछ त्यहाँका मान्छेहरुलाई । त्यहाँका गाउँलेहरुको एउटा समिति रहेछ र त्यही समितिबाट नै त्यहाँका सम्पूर्ण निर्णयहरु हुँदा रै‘छन् । सायद अलिकति पश्चिमी सभ्यता पाएरै पनि होला त्यहाँका मान्छेहरुमा धेरै सक्रियता थियो । आत्मविश्वास थियो । एउटा छहराबाट निकालेको झण्डै ८० किलोवाटको विद्युत उत्पादनले गाउँका चारवटा वडाहरु विद्युत सुविधाले सम्पन्न रहेछ ।

हरेक बिहान नौलो लाग्थ्यो हामीलाई । गतिशील लाग्थ्यो । ब्यूँझदा माछापुच्छ्रे हाम्रो सिरानमा हुन्थ्यो र त्यसको ढुकढुकी हामी आफ्नो छातीभित्र महसुस गथ्र्यौं । हामीसँग आँखाका वरिष्ठ चिकित्सक डा. यन्तमणि प्रधान हुनुहुन्थ्यो । उहाँसँग लायन्स आँखा अस्पतालमा सँगै काम गर्दै आइरहेका थियौँ हामी । हामी सबैको लागि एउटा अभिभावकजस्तो हुनुहुन्थ्यो उहाँ । नेपालमा मोतिबिन्दु रोगका कारण हुने अन्धोपन निवारणको लागि लायन्स आँखा अस्पतालको पनि धेरै महत्वपूर्ण भूमिका छ जस्तो लाग्छ मलाई । नेपालका धेरै पहाडी र तराईका क्षेत्रहरुमा यस अस्पतालले धेरै यस्ता निशुल्क आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको छ जसले मोतिबिन्दु रोगबाट हुने आँखाका रोगीहरुको उपचारलाई सहज बनाएको छ । 

डा. यन्तमणि प्रधानलाई म कहिलेकाहीँ क्रोधको एउटा अर्को पर्याय पनि ठान्ने गर्थे । अलि बढी रिसाहा हुनुहुन्थ्यो भन्ने लाग्थ्यो मलाई कहिलेकाहीँ । मुढी स्वभावको । सायद उहाँको यो थोरै स्वभावजन्य कमजोरी पनि थियो होला । केही समयदेखि उहाँको अघिपछि सँगै रहेर काम गर्दा मलाई लागेको मेरोे अनुभव हो यो । अस्पतालमा हम्मेसी उहाँसँग खुलेर हामी कोही पनि उहाँको अघि कुरा गर्न सक्दैनथ्यौँ । तर मेरो सोचाइलाई शिविरका यी दिनहरुमा उहाँबाट पाएको त्यो आत्मियतापूर्ण व्यवहारले भत्काइदियो । उहाँ बाहिर जति कठोर देखिनुहुन्थ्यो त्यति नै उहाँभित्र मैले कोमलता र हार्दिकता देखेँ । 

‘के गर्नु भाइ बाहिर जस्तो देखिए पनि मनभित्र पाप छैन ।’ उत्तरादिदीको डा. प्रधानप्रतिको श्रद्धाभाव थियो । ।

०००

एक हप्ताको शिविरका दिनहरु सकेर हामी पोखरा फर्कदै थियौँ । त्यो हाम्रो घान्द्रुक बसाइको अन्तिम दिन थियो । फर्कने दिन बिहान हामीले घान्द्रुकसँग बिदा माग्नु थियो । सँगै बस्दाको साथ छुट्नुको ती नरमाइला क्षणहरुले हाम्रा पाइलाहरु अघि बढ्नका लागि झनै गह्रौँ भइरहेका थिए । त्यो नमिठो बिहान । अन्नपूर्ण र माछापुच्छ्रे बादलको घुम्टो हालेर मुख लुकाइरहे । फूलका डालीहरुमा लुकेर चराहरुले हामीलाई हेरिरहे । हावा मन्द थियो । फूलहरु मौन थिए । न्याउलीका स्वरहरुले हामीलाई दुखाइरहेको थियो । 

बिहानको दश बजे हामीले घान्द्रुकसँग बिदा मागेर ओरालो लाग्यौँ । हाम्रो बिदाइमा मेदीनदी तल बिरेठाँटीसम्म साथ दिन आइपुग्यो । रेडक्रसका जीपहरु त्यहाँ हामीलाई पर्खिरहेका थिए । हामीले फेरि एकपल्ट धेरै टाढा देखिने घान्द्रुकका ती अग्ला पहाडहरुलाई हेरिरह्यौँ । त्यहाँ घाम थिएन । बादलहरु उठिरहेका थिए । 

र, हाम्रा आँखाहरु धेरैबेरसम्म का पहाडहरुसँगै बाँधिइरहे ।

गतिविधि–२०४८

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here