घनश्याम ढकाल जो सधैं निष्ठाले बाँचिरहे

0
1719

२०४६ सालको जन आन्दोलनपछिका वर्षहरु मेरो साहित्यप्रतिको रुचि र अध्ययनको वर्षहरु रहे । काठमाडौंका क्याम्पसका कक्षा कोठाहरुमा प्रायः भइरहने काव्य गोष्ठी र लेखक साहित्यकारहरुको जमघटहरु र उनीहरुसँगको निकटताले मेरो त्यो रुचि र अध्ययनलाई अरु मलजल ग¥यो । साहित्यिक गोष्ठीहरुमा हुने किताब प्रदर्शनी र बिक्रीमा रहेका किताबहरु मेरो रोजाइ बन्यो । विशेष गरेर प्रगतिशील किताबहरु मेरो पहिलो रोजाइ हुन्थ्यो । किनकि रुसी र चिनिया साहित्यका किताबबाट स्कुल पढ्दा देखि नै म निकै प्रभावित थिएँ । दश कक्षा पढ्दा बुबासँग ज्यामिट्री बक्स किन्न भनेर लिएको बीस रुपैयाले मैले ‘आमा’ किनेको थिएँ । त्यतिबेला त्यति महङ्गो किताब म किन किन्दैछु, थाहा थिएन । स्कुल जाँदाआउँदा पुस्तक पसलको काठको फलेकको ढोकामा झुण्डिरहेको त्यो मोटो गाता भएको किताबलाई मेरो आँखाले निकै दिनदेखि पछ्याइरहेको थियो । त्यो किताबलाई मेरो आँखाले पछ्याइरहेको एउटा कारण चैं त्यस किताबको नाम थियो । सेतो गातामा निलो रङले कोरिएको एउटी बुढी मान्छेको अनुहारको आकृति रहेको चित्र निकै आकर्षक देखिन्थ्यो । र, गातामा परैबाट स्पष्ट रुपमा देखिने ‘आमा’ शब्दले मलाई सधैं अन्तसमा छोइरहन्थ्यो । सानैमा आमाको ममत्वलाई गुमाएको मेरो संवेदनालाई त्यो शब्दले छुन्थ्यो । किताब किनेको दिन म निकै खुसी थिएँ । भावुक भएर मैले त्यो किताबलाई सुम्सुम्याइ रहें । किताब किनेको केही महिना मैले ज्यामिट्री बक्सको अभाव झेल्नु प¥यो । बुबासँग फेरि ज्यामिट्री बक्स किन्नका लागि पैसा माग्ने हिम्मत मसँग थिएन । ज्यामितिको पाठ नगरेको निहुँमा धेरैपटक मैले कक्षामा सरबाट सजाय खानु प¥यो । किताबप्रतिको यही रुचिले मलाई साहित्यकारहरुको सङ्गतमा पु¥यायो ।

खुब किताब पढिन्थ्यो । सक्ने जति किताब किन्थें । काठमाडौंमा क्याम्पसको फी र कोठा भाडा तिरेर खर्च उबारिन्थ्यो र किताब किनिन्थ्यो । पुतली सडकमा रहेको पैरवी बुक्स र म्युचुअल बुक सेन्टर प्रगतिशील किताबहरुका लागि निकै नाम सुनिन्थ्यो । पैरवी बुक्स हाउसबाट मैले पहिलोपल्ट किनेको किताब संजय थापाको ‘बुङ्लाका साँझहरु’ र ‘पूर्वतिर’ थियो । पैरवी बुक्स हाउसबाट अलि तल दक्षिणतिर सिंहदरबार नपुग्दै अनामनगर जाने मोडनिर म्युचुअल बुक सेन्टर थियो । धेरैचोटि त्यहाँ पुगेर मैले चिनिया र रुसी साहित्यका धेरै किताबहरु किनेको थिएँ । घरमा किताबहरुको खात बढेपछि दुईवटा दराजभरि ती किताबलाई व्यवस्थित गरेर एउटा लाइब्रेरी नै बनाएँ । जनयुद्धताका आफ्नो भूमिगत अवस्था र घरमा प्रशासनको खानतलासी हुँदा धेरै किताबहरु सुरक्षित हुन सकेनछ । जति सुरक्षित हुन सकेका छन् ती अझै पनि मेरो किताबको दराजमा जतनले राखेको छु । संकटकालको बेला आफन्तहरुले सुरक्षित गरेर राखिदिएका र धुल्याहाबाट बचेका ती किताब धुल्याहालाई टक्टक्याउँदै फेरि पनि आफ्नो दराजमा ल्याएर सुरक्षित गरेको छु । २०४४ सालदेखिका ती किताबहरु कति त नयाँ संस्करणमा पनि निस्किएका छन् । र, कति त्यसपछिका कुनै संस्करणहरु देखिएका छैनन् । नयाँ संस्करणहरुलाई किनेर मैले ती पुराना किताबहरुलाई फ्याँकेको छैन ।

एकदिन आँबुखैरेनीको एउटा साहित्यिक कार्यक्रममा मैलै श्यामलसँग भनें, ‘मैले २०४५ सालमा किनेको तपाईंको ‘तपाईंहरुमार्फत’ कविता सङ्ग्रह मसँग अझै छ ।’

उहाँले दङ्ग परेर मलाई हेर्दै भन्नु भयो, ‘हो र ! तर मसँग आजसम्म त्यसको एकप्रति छैन । तपाईंले कति सुरक्षित गरेर राख्नु भएको रैछ है । धन्यवाद छ अनिलजी ।’

काठमाडौं रहँदा प्रारम्भमा मैले पढेका केही किताबहरु भाष्करको ‘पिचासको कसौडी’, खगेन्द्र सङ्ग्रौलाको ‘हाँडीघोप्टेको जीतबाजी’, ‘नलेखिएको इतिहास’, घनश्याम ढकालको ‘भरिया र यात्री’ र ‘सहिद मानचित्रमा नपरेको सहिद’, हरिहर खनालको ‘देश प्रदेश’ र ‘बमका छिर्का’ लगायतका थुप्रै किताब र लेखकका नामहरु अझै सम्झनामा आउँछ । किताब पढिसकेर पाठकको मस्तिष्कमा बन्न आउने किताबका लेखकहरुको बिम्बले पनि कहिलेकाहीँ एउटा रमाइलो उत्सुकता र रोमाञ्चकता ल्याउदो रैछ ।

यी प्रसङ्गहरु यहाँ उल्लेख गर्दासम्म यतिबेला फेरि मेरा आँखाअघिल्तिर घनश्याम ढकालका सम्झनाहरु उर्लिएर आइरहेका छन् । उहाँको अनुहारमा सधैं खेलिरहने गम्भीरता र आज भौतिक रुपले हाम्रो सामु उहाँको अनुपस्थितिले मलाई पनि गम्भीर बनाएको छ । घनश्याम ढकाल स्मृति प्रतिष्ठानले घनश्याम ढकालका सम्झनाहरुसँग सम्बन्धित लेखका लागि दिनु भएको जिम्मेवारीले पनि मलाई यतिखेर उहाँको बारेमा फेरि अलिकति घोत्लिनु पर्ने बनाइदिएको छ । मैले आफ्नो अध्ययन कक्षमा रहेको किताबका ¥याकमा पुराना पङ्क्तिबद्ध गरेर राखिएका किताबहरुमा घनश्याम ढकालका किताबहरुलाई खोजें । उहाँको ‘भरिया र यात्री’ कथा सङ्ग्रह त्यहाँ अझै सुरक्षित थियो । सँगै थियो भाष्करको ‘पिचासको कसौडी’ खगेन्द्र सङ्ग्रौलाको ‘सेतेको संसार’, भागिरथी श्रेष्ठको ‘क्रमशः’, ऋषिराज बरालको ‘भग्नाबशेष’,किशोर पहाडीको ‘घर खण्डहर’ र अरु अरु किताबहरु । एकचोटि पुछपाछ गरें । साङ्लोले किताबलाई धेरै दुख दिन्छ । टिम्बुरले कीरा लाग्दैन भनेर छिमेकमा कसले हो सिकाइदिएको थियो । त्यसैले टिम्बुरलाई मसिना टालोमा बाँधेर ¥याक ¥याकमा राखिदिएको छु ।

‘भरिया र यात्री’ कथा सङ्ग्रह पढिसकेपछि २०४६ सालमै मैले उहाँको कथाकारितालाई अध्ययन गर्ने अवसर मिल्यो । तिनताका उहाँसँगको व्यक्तिगत चिनजान नभए पनि यो कृतिले उहाँको कथाकार व्यक्तित्त्व मेरो अघि बलियो गरी उभ्याइदिएको थियो । उहाँका कथाहरु सरल थिए । कथामा नेपाली समाज र जनजीविकामाथि पञ्चायती क्रूर शासनले थिल्याएका नीलडामहरु थिए । कथा तत्व र सौन्दर्यका हिसाबले पनि उहाँका पछि प्रकाशित अरु कथा कृतिहरुभन्दा यो कृति अझै पनि मलाई उत्कृष्ट लाग्छ । उहाँको लेखनको यही विशेषताले मलाई प्रभावित ग¥यो । कहिलेकाहीँ काठमाडौंका साहित्यिक गोष्ठीका कार्यक्रमहरुमा भाष्कर र घनश्याम ढकालको नाम सुन्थें । पोखरामा उहाँहरुले गरिरहेका साहित्यिक क्रियाशीलताको चर्चा हुन्थ्यो ।

काठमाडौंबाट आँबुखैरेनी फर्केपछि अब मैले भेट्नु पर्ने निकट व्यक्तित्त्व हुनुहुन्थ्यो घनश्याम ढकाल । २०५१ सालको जेठमा गण्डकी साहित्य सङ्गमको एउटा कार्यक्रममा भाग लिन म आँबुखैरेनीबाट पोखरा पुगें । साथमा तनहुँका जनवादी गीतकार दिलीप श्रेष्ठ हुनुहुन्थ्यो ।

घनश्याम ढकाललाई भेट्ने मेरो चाहनालाई बुझेपछि उहाँले मलाई घनश्याम ढकालको घरमै लिएर जानु भयो । गण्डकी अञ्चलको पार्टीको साँस्कृतिक सङ्गठनको जिम्मेवारीमा पनि उहाँहरु सँगै हुनुहुँदो रैछ । घनश्याम सरकै घरमा हामी दुवैले त्यो बिहानको खाना खायौं । मैले आफ्नो ‘प्रजातन्त्र र पागल’ कथा सङ्ग्रह र ‘राष्ट्रले शोकधुन बजाएको छ’ कविता सङ्ग्रह उहाँलाई दिएँ । एकछिन पछि हामी गण्डकी सङ्गमको कार्यक्रमका लागि हिँडेरै सिर्जनाचोक हुँदै पृथ्वीचोक पुग्यौं । नारायण मरासिनी लगायतका अरु केही साथीहरु त्यहाँ भेटिनु भयो । चिनजान र परिचय ग¥यौं । त्यसपछिका केही साहित्यिक कार्यक्रमहरुमा घनश्याम सरसँग भेट भइरह्यो ।

घनश्याम ढकाल नेकपा माओवादी पार्टीसँग सम्बद्ध हुनुहुन्थ्यो । पार्टीले २०५२ फागुन १ गतेदेखि जनयुद्धको शुरु गरेपछि पार्टीसँग आबद्ध धेरै कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुले भूमिगत र अर्धभूमिगत रहनु पर्ने अवस्था रह्यो । जनयुद्ध नेपाली समाजको वर्गसङ्घर्षको एउटा छलाङ थियो । कम्युनिष्ट पार्टीको आफ्नो जनसेना थियो र उनीहरु प्रतिक्रियावादी राज्यसत्तासँग लडिरहेका थिए । गाउँमा जनसत्ता थियो । जति जनयुद्धका यी वर्षहरु नेपाली वर्गसङ्घर्षका गौरवपूर्ण वर्षहरु रहे, जनयुद्धसँग जोडिएका कार्यकर्ता, योद्धा र साँस्कृतिककर्मीहरुका लागि यी वर्षहरु उत्तिकै आत्मसङ्घर्षपूर्ण रहे । पार्टी भुमिगत थियो । प्रतिक्रियावादी राज्यसत्ताबाट व्यापक धडपकड, गिरफ्तारी र हत्याका शृङ्खलाहरु शुरु भएको थियो । वैधानिक र खुल्ला कार्यक्रमहरु निषेध भइसकेपछि पार्टी सम्बद्ध साहित्यकार र साँस्कृतिककर्मीहरुलाई भूमिगत जानुभन्दा अर्को विकल्प थिएन । मेरो भूमिगत अवस्था र पार्टीको भूगोल र जिम्मेवारीले फेरि त्यसपछि घनश्याम ढकालसँग भेट हुन सकेन । २०५५ सालमा भूमिगत अवस्थामा सम्पन्न भएको अखिल नेपाल जनसाँस्कृतिक सङ्घको प्रथम केन्द्रिय सम्मेलनले घनश्याम ढकाललाई उपाध्यक्षमा निर्वाचित ग¥यो । अध्यक्ष कृष्ण सेन इच्छुक हुनुहुन्थ्यो । सम्मेलनले मलाई पनि केन्द्रिय सदस्यमा चयन ग¥यो । म पूर्वको विराटनगरमा थिएँ । सम्मेलनपछि मात्र मैले थाहा पाएँ । केही समयपछि उहाँले जनसाँस्कृतिक सङ्घको उपाध्यक्ष पदबाट दिनु भएको राजिनामा र त्यसको सार्वजनिक वक्तव्यले सङ्गठनभित्र उहाँलाई विवादमा ल्यायो ।

घनश्याम ढकाल सङ्गठनभित्र निर्विवाद हुनुहुन्थ्यो, पक्कै पनि होइन । उहाँका पनि स्वाभाविक मानवीय कमजोरीहरु थिए । सङ्गठनभित्र उहाँका पनि आफ्ना असन्तुष्टिहरु थिए । तर सङ्गठनभित्र हुर्किरहेका विभिन्न गुट र सङ्कीर्णताले जहिल्यै पनि एकअर्कामा अविश्वास हुर्किरह्यो ।

हामी माक्र्सवादीहरु खुब पढ्छौं । दर्शनशास्त्रको खुब अक्षरांश व्याख्या गर्छौ । माक्र्सलाई फलाकेर माक्र्सवादी हुने होडले हामीलाई कहिल्यै छाडेन । माक्र्सवादलाई पढेर मात्र माक्र्सवादी हुने भए अहिलेसम्म हामी पूँजीवादी मुलुकहरुभन्दा धेरै समुन्नत भइसक्ने थियौं । तर रेशम कीराको जीवन जत्तिको पनि हाम्रो लेखन जीवनोपयोगी देखिँदैन । रेशम कीराले त पात खान्छन् र मान्छेका लागि न्यानो दिने कपडाका कच्चा पदार्थ दिन्छन् । हामी त झुसिल्कीरा पनि भइनौं । कम्तीमा झुसिल्कीराले आफूलाई पुतलीमा रुपान्तरण त गर्छन् । पूँजीवादीहरुले माक्र्सवादलाई बुझे । उनीहरुले माक्र्सको किताब र सिद्धान्तहरुलाई मात्र पढेनन् । व्यवहारमा लागु गरे । पूँजीको विकास गरे । तर हामीले सधैं माक्र्सवादको व्याख्या मात्र गरिरह्यौं । सामन्ती मानसिकताले ग्रस्त भएर हामी आफैंले अरुमाथि माक्र्सवादको लौरोले हिर्काइरह्यौं । परम्परागत संस्कारबाट हुर्किएको हाम्रो चेतना कर्मकाण्डको मानसिकताबाट मुक्त हुन सकेन । माक्र्सवादलाई पनि हामीले कर्मकाण्डी बनायौं । दुईवटा बेमेल चेतनाबाट हुर्किएको हाम्रो मानसिकताले सधैं ठिमाहा संस्कृति र प्रवृति हुर्काइरह्यो । हामी आफूलाई माक्र्सवादी हुँ भन्नेहरुबाटै माक्र्सवादलाई विद्रुपीकरण गरेर हामीले यो कस्तो सङ्गठन निर्माण गरिरहेका छौं, थाहा छैन । हामीसँग एउटा एउटा जुडास र गोड्सेहरु छन् र ती साहित्यमै पनि क्रियाशील छन् ।

वैचारिक छलफल र बहसभन्दा पनि नितान्त निजी जीवनसँग जोडिएर एकथरी माक्र्सवादी कर्मकाण्डी पन्नितहरुले घनश्याम ढकालप्रति निरन्तर व्यक्तिगत कटुता प्रहार गरिरहे । पक्कै पनि सार्वजनिक पद र जिम्मेवारी धारण गरेका व्यक्ति जो एउटा सामाजिक पद्धति निर्माण गर्न हिँडेका हुन्छन् उनीहरुका लागि आफ्नो निजी जीवन गौण हुन्छन् । तर हामी यति कुटिल छौं कि कसैको निजी जीवनलाई उसको कमजोरी बनाएर उसको सामाजिक प्रतिष्ठालाई एक बित्ता बनाइदिन सक्छौं । घनश्याम ढकाललाई एक बित्ता बनाउन खोज्नेहरु पनि थिए । घनश्याम ढकालले आफ्नो जीवनभरि त्यस्ता प्रवृतिहरुसँग जुधिरहनु भयो । कहिल्यै हतोत्साही हुनु भएन । उहाँलाई निराश बनाएर आन्दोलनबाट गलाउन खोज्नेहरु पनि एकथरी थिए । तर उहाँ थाक्नु भएन । र, गल्नु भएन । आफ्नो शारीरिक अस्वस्थताका बाबजुद पनि साहित्यकर्ममा उहाँ सधैं क्रियाशील हुनुहुन्थ्यो ।

      घनश्याम ढकाल सबैसँग आफ्नो विचार स्पष्ट राख्नुहुन्थ्यो । पार्टीभित्र चलेको अन्तरसङ्घर्षले पार्टीलाई आन्तरिक रुपमा लगभग फुटको स्थितिमा पु¥याएको थियो । को कताको स्थिति बन्यो । यो स्थिति साँस्कृतिक मोर्चामा पनि स्पष्ट देखियो । घनश्याम ढकाल अखिल नेपाल लेखक सङ्घको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ स्पष्टरुपमा संस्थापन पक्षमा खुलेर लाग्नु भयो । 

एकदिन दिउँसो उहाँको फोन आयो, ‘अनिलजी तपाई कता ?’

मैले उहाँले सोध्न खोज्नु भएको आशयलाई बुझिसकेको थिएँ । त्यसैले मैले ठट्यौली जवाफ दिएको थिएँ, ‘सर म त आँबुखैरेनीमा ।’

उहाँ हाँस्नु भयो । सायद उहाँ यसरी कमै हाँस्नु हुन्थ्यो । मेरो यो आशयपूर्ण जवाफ बुझ्नु भएर नै होला, उहाँले थोरै आफ्ना कुराहरु राख्नुभयो । धेरै कुरा भन्न आवश्यक ठान्नुभएन । र, भन्नुभयो, ‘म चैं संस्थापनतिर नै रहने भएँ क्यारे ।’

उहाँ स्पष्टवक्ता हुनुहुन्थ्यो । उहाँमा कुनै कुटिलता थिएन ।

२०६८ साल फागुन १ गते । एउटा उत्सव र एउटा दुःखपूर्ण समाचारको एउटा दिन थियो । एउटा दुखद दुर्घट्नामा परेर उहाँले शरीर छाडेको वर्षहरुलाई औंलामा गन्ने हो भने पनि आज सात वर्ष बितेको छ । फेरि पनि हामीसँग उहाँका सम्झनाहरु अझै ताजा र गाढा छन् । हामीसँग उहाँका कृतिहरु छन् । हामीसँग उहाँका कृतिहरु रहेसम्म उहाँ हामीहरुबीच जीवित रहनु हुनेछ ।

     अब खाँचो छ उहाँका सबै कृतिहरुको पुनर्प्रकाशन  र साहित्यको क्षेत्रमा पु¥याउनु भएको उहाँका साहित्यिक मूल्यहरुको स्थापना । उहाँका कमजोरी खोज्नेहरुले उहाँलाई सधैं आन्दोलनबाट परिधितिर धकेलेर अवमूल्यन गर्न पनि खोजिरहे । तर उहाँ जति बाँच्नु भयो निष्ठापूर्वक आन्दोलनमै बाँच्नु भयो । सङ्घर्षको जीवन बाँच्नु भयो । आन्दोलनमै आफनो मृत्युलाई वरण गर्नुभयो । उहाँको यो सहादतले फागुन १ गते हामी सांस्कृतिककर्मीहरुका लागि फेरि अर्को अविस्मरणीय दिन रहेको छ । 

घनश्याम ढकाल स्मृतिग्रन्थ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here