0

बिम्बको प्रभाव

Share

योद्धाजस्तै अग्ला बृक्षहरु
मोर्चा कसेझैं अविचल उभिरहे
एकताको हातेमालो बाँधेर
लहराहरुले दृढताको मुठ्ठी कसिरहे
संगीनले नझुक्ने साहसका गुराँसहरु देखेर
बन्दुकहरु लाचार भएर गए
झिल्को निभाउन आएकाहरुले झनै आगो दन्काएर गए
दार्बोटको नाकाबाट सैनिकहरु नाजवाफ भएर गए ।
‘दार्बोटको जङ्गलमा’, कृष्ण सेन ‘इच्छुक’

बिम्ब भनेको कुनै सतहमा देखिने वस्तुको छाया हो क्यारे । यो वस्तुको एउटा रुप वा आकृति पनि हो । कहिलेकाहीँ बिम्बले वस्तुलाई सादृश्य वा रमाइलो पनि बनाउँछ । चित्रमय बनाउँछ । वस्तुको प्रभावकारितालाई बढाउँछ । उत्सुकता पैदा गर्छ । एउटा दृश्य निर्माण गर्छ । बिम्बले वस्तुको सुन्दरतालाई कसरी मापन गर्छ, यो चाहिँ वस्तुले चेतनामाथि पार्ने प्रभाव र दृष्टिकोणमा निर्भर हुने गर्छ सायद । त्यसैले एउटै दृश्यले फरक फरक किसिमले मान्छेका मनहरुलाई छुन्छ र फरक अनुभूतिहरु रहन्छ । सामाजिक जीवनमा मानिसले प्राप्त गरेका यस्ता अनुभूतिहरुलाई भाषाको माध्यमबाट साहित्यमा विशेष गरी गीत र कवितामा यस्ता बिम्बहरुको प्रसस्त प्रयोग गरिँदै आएको पाइन्छ ।

कवितामा बिम्बहरुको प्रयोग र पाठकको हृदयमा यसले उत्पन्न गर्ने तीव्र अनुभूतिको एउटा उदाहरणको रुपमा कवि कृष्ण सेन ‘इच्छुक’को यस्तै एउटा कवितालाई मैले माथि प्रस्तुत गरेको हुँ ।

मेरो हातमा यतिबेला एउटा साहित्यिक पत्रिका छ– साहित्यप्रभा । प्रगतिशील लेखक सङ्घ, कास्कीले आफ्नो मुखपत्रको रुपमा प्रकाशन गर्दै आइरहेको साहित्यप्रभाको यो तेस्रो अङ्क हो । भर्खरै चितवनका कवि मोदनाथ मरहट्टाले छाडेर जानु भएको थियो । सर्सर्ती हेरें । मेरो नयाँ कवितासङ्ग्रह ‘आरू फुलेको साँझ’ माथि बुटवलका साहित्यिक व्यक्तित्व एवं समालोचक गोपीरमण उपाध्यायको एउटा समालोचकीय दृष्टिकोण थियो । उहाँको नामसँग परिचित रहेर पनि उहाँसँगको भेटघाट र चिनाजान भने थिएन । बुटवलको एउटा किताब दोकानमा उहाँले ‘आरू फुलेको साँझ’ देख्नु भएछ र पढ्नका लागि किनेरै लानु भएछ । कविताहरु पढिसकेपछि कविताले पारेको प्रभावका बारेमा उहाँले लेख्नु भएको छ, ‘आरू फुलेको साँझ’ नामक कवितासङ्ग्रहले मलाई निकै प्रभावित पा¥यो । कयौं दिनसम्म ती कविताहरुले मलाई प्रभावित पारिरह्यो । ……. अहिले अनिल श्रेष्ठका केही कविताहरुले पाठक एवं काव्यसमीक्षकहरुलाई निकै लामो समयसम्म असर पारिरहन्छ । ………अनिल श्रेष्ठका कविताहरुलाई मैले पण्डित जगन्नाथ (१७ औं शताब्दी) को संस्कृत साहित्यिक सिद्धान्तका आधारमा हेर्नपर्दा “रमणीयतार्थ प्रतिपादक शब्द काव्याम्” को काव्य सिद्धान्त पूरा रुपमा लागु हुन्छ ।

राजधानीको भीडबाट बाहिर मोफसलमा बसेर लेख्नु, त्यसलाई प्रकाशन गर्न खोज्नु र प्रचारमा ल्याउनु आफैमा जटिल कार्य हो । केही अपवादलाई छाडेर समग्र मोफसलको सिर्जनालाई हेर्ने हो भने यो मोफसलको साझा पीडा हो । केन्द्रमा बसेर आफूलाई मोफसलको मान्ने र केन्द्र र मोफसलको दुरीलाई नदेख्ने एकथरी जमातको बुकुर्सी उफ्राइ देख्दा भने कहिलेकाहीँ हाँसो उठ्छ । मोफसलको नाममा राज्यले स्थापना गर्ने पुरस्कार र केन्द्रमा बसेर मोफसलको पुरस्कार थाप्न कुदिरहेका भाटहरु र उनीहरुको भाटगिरी देख्दा टिठ लाग्छ । यस्तो बेला ‘आरू फुलेको साँझ’ कवितासङ्ग्रहका कविताका बारेमा एकजना सिद्धहस्त समालोचक र सौन्दर्यचिन्तकको कलमबाट व्यक्तिगत प्रभाव र आग्रह विना एउटा साहित्यिक पत्रिकामा आएको यो समीक्षा लेख पढिसकेपछि उहाँका यी शब्दहरुले मलाई हर्षित र पुलकित बनाइरहनु स्वाभाविक थियो । यी शुभेच्छापूर्ण शब्दहरुले मलाई निकै बल दिएको थियो ।

‘आरू फुलेको साँझ’ कवितासङ्ग्रहको धेरै ठाउँमा चर्चा, परिचर्चा उठ्यो । समकालीन प्रगतिवादी नेपाली कवितामा यसका कविताहरु उल्लेखनीय रहेको सकारात्मक टिप्पणीहरु पनि सुनिए । कविताले बोकेको वर्गीय विचार र बिम्ब र प्रतीकको प्रयोगको नवीन संयोजनले यी कविताहरु जनयुद्धका कविताहरुको दृष्टान्त बनेको कुराहरु पनि आए । सायद कविताहरुले दिने अनुभूतिले नै कविताको प्रभावकारिता दर्शाउँछ । कविताका असल पाठक र अग्रज समालोचकहरुबाट मैले पाएको हार्दिकता, स्नेह र प्रेमले नै मलाई लेख्ने कार्यमा अझ बलियो बनाइरह्यो ।

सामान्यत कविताहरु लेखिन्छन् । कविताहरु पढिन्छन् । कति कविताहरु पढ्दापढ्दै बिर्सन्छन् । कति कविताहरुले पछिसम्म पनि मस्तिष्कमा आफ्नो उपस्थिति गराइरहन्छन् । कवितामा बिम्बको प्रयोगले वस्तुको एउटा चित्र निर्माण गर्छ र मस्तिष्कमा लामो समयसम्म पनि त्यसको एउटा प्रभाव छोडिरहन्छ । म आफूले कविता पढ्दा पनि मलाई यस्तो लाग्छ । मैले यस्तो अनुभूत गरेको छु । मैले चुनु गुरुङको ‘बेलिसरा’ कविता पढेको छु । ‘बेलिसरा’ कवि चुनु गुरुङको सुन्दर काव्यिक सिर्जना हो । उनले धेरै कविताहरु लेखिनन् । तर ‘बेलिसरा’ कवितामा जनयुद्ध सिर्जित सौन्दर्यको बिम्ब निर्माणले यो कविता उत्कृष्ट बनेको छ । यो कविताले निर्माण गरेको बिम्ब अझै पनि मेरो मस्तिष्कमा खेलिरहन्छ । बेलिसरा, त्यो एउटी ग्रामीण महिला, जनयुद्ध घनिभूत भएको एउटा आधार इलाकामा छापामारहरुको सहयोगी बनेर हिँड्छे । कहिले घाँस काट्छे र घाँसको भारीमा बम हालेर बोक्छे । कहिले सरकारी सेनाहरुको घेरा छलेर जनसेनाहरुका लागि डोकोमा खाना र औषधि बोकेर पु¥याउँछे । जनयुद्धमा ग्रामीण महिलाहरुको साहसिक कार्य र युद्धमा उनीहरुको उपस्थितिलाई अत्यन्त सुन्दर र सशक्त ढङ्गले कवि चुनुले ‘बेलिसरा’ मा बिम्ब सिर्जना गरिदिएकी छिन् ।

डोकोको पिंधमा चीजबिज ढाकी खोस्मेराले
खोस्मेरामाथि दाउराका चाङ
बोक्दै थाप्लोमा, नाम्लाको पातो मिलाउँदै
घुर्मैलो पछेउरी ओडेकी बेलिसरा
सधैंझैं ऊ आफ्नो बाटो हिँड्छे
थुप्रै फेरा जीवनको मूल्य माग्ने
साइँदुवाहरुको सामुन्ने रत्तिभर नडराइ हिंड्छे ।
……………….

साँच्चै हिजाआज बेलिसरा
ज्यानको खतरा मोलेर हिंड्छे
त्यही खतरामा जीवनको मूल्य पाएको छु भन्छे
त्यस्ता खजना बारम्बार ओसारपसार गर्छे
खबर पु¥याउँछे÷ खबर ल्याउँछे
तरकारी बेच्दै ऊ हरेक ठाउँ पुग्छे
दुश्मनको मुख्यालयमा जनताको विरुद्ध के हुँदैछ ?
तुरुन्तै रिपोर्ट पु¥याउँछे ।

कवि चुनु गुरुङ जनयुद्धमा आफै सहिद भइन् र कविताको नयाँ मूल्य स्थापित गरिन् । त्यसैगरी मणि थापाको ‘गमालीहरु’ र इच्छुकको ‘वर्मझिया’ र ‘दार्बोटको जङ्गलमा’ कविताले सिर्जित बिम्बहरुले अझै पनि मेरो मस्तिष्कमा गहिरो प्रभाव छोडिरहेको छ ।

एउटा कविताले पाठकको मस्तिष्कमा पार्ने प्रभाव र पाठक र कविताको सम्बन्धमा मलाई यहीँनिर कवि कृष्ण सेन ‘इच्छुक’को एउटा भनाइ याद आउँछ– ‘एउटा कविता पढिरहँदा कविताले पाठकको मस्तिष्कलाई सिस्नुलेझैं झनझनाइ रहनु पर्छ ।’

०००

एकदिन, स्कुलको लामो बिदाको समय भएकोले अनिश मामाघरबाट आँबुखैरेनी आएको थियो । आँबुखैरेनीमा हरि खत्रीको घरमा हामी कोठा डेरा लिएर बस्थ्यौं । अनिश डुम्रे मामाघरमै बसेर त्यहाँको एक बोर्डिङ स्कुलमा पढ्थ्यो । स्कुलको छुट्टीमा ऊ आँबुखैरेनी आउँथ्यो र हामीसँग बस्थ्यो । कोठामा ‘आरू फुलेको साँझ’ कवितासङ्ग्रहको केही प्रतिहरु थिए । किताब देखेपछि उसले मलाई भन्यो, ‘ड्याडी मैले तपाईंको यो किताब पढेको छु ।’

सुरुमा त मैले उसलाई खासै ध्यान दिइनँ । किताबप्रतिको उसको त्यो रुचिलाई सामान्य ठानेरै मैले उसलाई भनें, ‘हो र ! तैले यो किताब पढेको छस् ?’

उसले ‘अँ’ भन्यो ।

‘कविता हो ।’ ऊप्रतिको मेरो यो सामान्य प्रतिक्रिया थियो ।

‘यो किताबको कविता पढेको छु ।’ उसको स्वर दृढ थियो । र, म उसका ती आँखाहरुमा कविताको पाठकको छनक खोजिरहेको थिएँ ।

उसले केहीबेर सर्सती किताबमाथि नियालिरह्यो । केही पानाहरुलाई पल्टायो र एउटा कविता देखाउँदै मलाई भन्यो, ‘ड्याडी यो कविता मलाई निकै मन पर्छ । दुईतीनचोटि पढेको छु । पढिसकेपछि यो कविताले मन कस्तो कस्तो बनाउँछ ।’

मैले उत्सुकतापूर्वक उसलाई हेरिरहें । मेरालागि अनपेक्षित रुपमा आएको उसको त्यो प्रतिक्रियाले मलाई आनन्दित बनाइरह्यो । कविताको प्रतिक्रियामा आएका उसका अभिव्यक्तिका यी शब्दहरुले ऊभित्र रहेको एउटा पाठकीय चेतको विकासको बोध गरिरहें । पहिलो पटक मैले आफू लेखक भएर उसलाई एउटा बुबाले छोरालाई हेर्ने आँखाबाट अलग रहेर एउटा असल पाठकको रुपमा अनुभूत गरिरहें । र, म अचम्भित र खुसी दुवै थिएँ ।

‘तँ मलाई यो कविता पढेर सुनाउछस् ?’ उसलाई भनें

त्यो ‘आरू फुलेको साँझ’ शीर्षकको कविता थियो । उसले कविताका केही हरफहरु पढेर मलाई सुनायो । कवितामा जनयुद्धको एउटा ग्रामीण चित्र छ । एउटा युद्धमय साँझको परिवेश छ । उसले कविताका ती हरफहरु पढ्दै गर्दा मैले उसको अनुहारमा कविताले पारेको प्रभावलाई नियालिरहें । कविता पढिसकेर ऊ मुसुक्क हाँस्यो । उसको अनुहारमा खेलिरहेको त्यो हाँसोले मलाई त्यहाँ झनै अरु आनन्दित बनायो । ऊ भर्खरै १२ वर्षको थियो । आठ कक्षा पढ्दै थियो । तर यतिखेर ऊ मेरो अघिल्तिर उभिएको मेरो कविताको एउटा निस्पक्ष पाठक थियो । र, म उसको एउटा निस्पृह लेखक ।

अर्को एकदिन, ऊ त्यसैगरी मामाघरबाट आएको दिन थियो । मैले भर्खरै ‘किथिर्काले काटेको दिन र झ्याउँकीरीले रोएको साँझ’ कविता लेखिसिध्याएको थिए र ऊ आउँदा कविताको खेस्रा कपि नजिकै टेबलमा थियो । मैले आफ्नो त्यो कविताको पहिलो पाठक छोरोलाई बनाएँ ।

‘ड्याडी अन्तिमको यो दुई लाइन शब्दहरु फेर्नुस्’ – उसले भन्यो ।

मैले उसको आग्रहमा कविताको त्यो अन्तिम दुईलाइनमा केही विपर्यासका शब्दहरुलाई राख्दै र हटाउँदै गरिरहें ।

‘ल, यो ठीक छ ड्याडी ।’ उसले ती दुई शब्दहरुलाई अन्तिमचोटि परखेपछि मैले कवितालाई अन्तिम परिमार्जन गरें ।

दिन सर्छ
र साँझ पर्छ
रुखका हाँगाहरुबाट विस्तारै
झ्याँउकीरीका स्वर भुइँमा झर्छ
किथिर्काले काटेको दिन
र झ्याँउकीरीले रोएको साँझ
मन अनायास दुख्छ
आँसु अनायास सुक्छ ।

यो कविता ‘शब्द संयोजन’ पत्रिकामा पठाएँ ।

कवितामा बिम्बको प्रभावको सम्बन्धमा श्रध्देय समालोचक÷सौन्दर्य चिन्तक गोपीरमण उपाध्यायको अनुभूतिलाई समातेर मैले आफ्ना अनुभूतिजन्य यी केही प्रसङ्ग र कविताका दृष्टान्तहरुलाई यहाँ राख्ने जमर्को मात्र गरेको हुँ । कविता धेरै लेखिने विधा हो । तर कविताले सधैं क्लिष्टताको आरोप खेपिरहेको यो समयमा पाठकका लागि मन छुने केही कविताहरु लेख्न सकुँ भन्ने आफैप्रतिको यो एउटा मनसाय हो । कल्पना हो र एउटा आशावादिता पनि ।

कविको कल्पनाशीलताले नै कवितामा बिम्बको राम्रो सिर्जना हुनसक्छ ।

शाल्मलि
२०७६ कार्तिक

%d bloggers like this: