0

सयपत्री

Share

बारीका डिल र कान्लाभरि सयपत्री फूले । 

घरका छत, दलिन, चोक, मटान, आँगन, करेसाबारी, सबैतिर सयपत्री फुलिरहेका थिए । बाटाघाटा सयपत्री फूलहरुले निकै आकर्षक र मनोहर देखिन्थे । वातावरणभरि सयपत्री फूलहरुको सुवासयुक्त मोहकता थियो । 

शरदको घाम बिहानको पातलो कुहिरो हटाउँदै सर्वदाको घरको छानामाथि खस्यो । र, घाम बार्दलीका गमलाहरुमा फुलिरहेका सयपत्रीका फूलहरुलाई काउकुती लाउँदै खेल्यो । काउकुतीले जिस्किएर घामसँग फूलहरु मसक्क फुले । फूलहरुको रौनक थियो चारैतिर । हावामा फूलहरुको स्पर्शको नयाँ अनुभूति भइरहेको थियो । 

सर्वदा बार्दलीमा उभिएर हावामा छिरल्लिरहेका फूलहरुलाई हेरिरहिन् । तर किन हो कुन्नि, उनको आँखामा कतै पनि आज यी फूलहरुको रौनकता थिएन । सधैं झैं यो हावा र यी फूलहरुको स्पर्शले उनलाई छुन सकेन । 

उनको आँखामा हिजो रातिको सपनाको विषाद् थियो ।

‘साँच्चै सरु, यी फूलहरु तिमीलाई कस्तो सुहाउँछन् !’

एक्कासि उनको मन खस्क्यो । 

उनका औंलाहरु अनायासै आफ्नो कपाललाई मुसार्न पुगे । लोग्ने सम्झिन् । लोग्नेका प्रेमपूर्ण हातहरुले उनको कपालमा सिउरिदिएका सयपत्रीका फूलका गुच्छाहरु सम्झिन् । सयपत्री फूलको गुच्छालाई कपालमा सिउरी दिँदै उनको लोग्नेले भनेको थियो, ‘हेर त सरु, यी फूलहरु तिम्रो यो कपालमा कस्तरी सुहाउँछन् !’ 

खुसीले फुलेल बनेकी थिइन् उनी । 

अचानक उनी झस्याङ्ग बनिन् । जब उनी निद्राबाट ब्युँझिन् उनलाई सबै कुराहरु बेस्वाद थिए । 

एक समय थियो, लोग्नेको स्नेहले भरिएका हातको स्पर्शले उनलाई रोमाञ्चित बनाउँथ्यो । उनका आँखालाई प्रेमिल बनाउँथ्यो । उनका गोडाहरुलाई अस्थिर बनाउँथ्यो । उनको मन निर्बन्धसँग कल्पनामा कावा मारिरहेको हुन्थ्यो । तर, यी फूलहरुझैं आज उनको आँखामा कुनै चञ्चलता थिएन । सयपत्री, उनको सबैभन्दा प्रिय र आत्मिय फूल, जसको बैँसमत्त थुँगाहरुले उनको मनलाई सधैं उन्मुक्त बनाउँथ्यो । सयपत्री, जसको सौन्दर्य सधैं बिहानको घामझैं उनको कपालमा जीवन्त भएर अट्कन्थ्यो । त्यही सयपत्रीका फूलहरु आज उनलाई सबैभन्दा फिका र नीरस लाग्दै थिए । जसको फूल्नुमा कुनै जीवन छैन । कुनै सार छैन । कुनै अर्थ छैन ।

यतिबेला उनको कपालमा सयपत्रीका फूलहरु छैनन् । 

अलिनु छ उनको सिउँदो । 

बाहिर तिहारको चहलपहल छ । आज गाई तिहार हो । लक्ष्मीपूजा । बाटोमा थालीभरि पूजाका सर्दामहरु बोकेर नयाँ परिधानमा सजिएर हिँड्नेहरुको आवतजावत छ । आइमाई र केटाकेटीहरुको उन्मुक्त हाँसो छ । कोलाहलमय वातावरण छ । सर्वदालाई यी हाँसोले झनै विचलित बनाउँछ । असह्य लाग्छन्, उनलाई यी हाँसो । यस्तो लाग्छ, यी हाँसोले उनैलाई 

‘आह ! कति राम्रा सयपत्री फुलेका छन् है यहाँ !’ 

‘टिप्न नि माया लाग्दो, कति स्याहारले हुर्काएर राखेका होलान् !’

उनको घरछेउको बाटो भएर हिँड्नेहरुले यसरी नै आपसमा कुरा गरेको सुनेकी छिन् उनले । एउटा अव्यक्त छटपटी उठ्छ उनको मनभित्र । मनभित्र उठ्ने तरङ्गहरुले उनलाई झनै अशान्त बनाउँछ । उनका कल्पनाका प्रत्येक चित्रहरु विस्तारै भत्किन्छ । र, उनी आफैभित्र एउटा भग्नावशेष बन्छिन् । 

‘कुनै दिन म पनि त साथीहरुसँग यसरी नै हाँसेर हिँड्थें ।’ सोच्छिन् उनी 

उनले माइतका साथीसङ्गीलाई सम्झिन् । 

‘हैन, तिमीहरु कति छिरल्लिइ हिँड्न सकेको नक्कलीहरु !’ सर्वदा र उनका साथीहरुलाई सर्वदाकी आमा कहिलेकाहीं गाली गरिरहेकी हुन्थिन्, ‘गामभरि तिमीहरु नै छौ हगि बराल्लिई हिँड्नलाई ! घरको काम समात्ने हैन कहिल्यै ।’ आमाको आँखामा उनीहरुको माया लुकेको हुन्थ्यो । 

उनीहरु झनै आमासँग छिल्लिएर हिँड्थे । 

सर्वदाको सम्झनामा अहिले आमाको मायालु अनुहार खेलिरहन्छ । 

०००

‘दाइ, म के तिहारमा तिम्लाई टीका लाइदिन्छु अनि मलाई धेरै पैसा देऊ है ।’

‘अँ, म तँ कालीलाई दिन्न पैसा । म त लङ्गुरबुर्जा खेल्ने हो ।’

‘म तिम्लाई लाउन्न टीका ।’ 

‘न ला काली ।’

छोराछोरीको मसिनु झगडा चलिरहेको थियो तल आँगनमा । दाजुबहिनीको यो झगडाले सर्वदाको एकान्त स्थितिलाई बिथोलिदियो । उनले बार्दलीबाट छोराछोरीका ती अबोध आँखामा खेलिरहेको बालशुलभतालाई नियालिरहिन् । दाजुको उपेक्षाले बहिनीको अनुहारमा अँध्यारो छायो । दाजुको जवाफले ऊ निरीह देखिन्थी । र, एकटकले दाजुलाई हेरिरहेकी थिई । दाजु चाहिँ ऊबाट बेपर्वाह भएर चौका, पान, इट्टा, चिडी, भन्दै कागजको लङ्गुरबुर्जाको बोर्डमा गोटी खेलिरहेको थियो । 

छोरीले उभोँ बार्दलीतिर हेरिन् र आमालाई देखिन् । आमालाई देखेर झनै ऊ अँध्यारिइन् । छोरीको खुसी हराएको त्यो भावहीन अनुहारको मुद्राले सर्वदाको मन एकछिन् नियास्रियो । र छोरीप्रतिको उनको मातृत्व भरिएर आयो । एकैछिनपछि छोरी बार्दलीमा आमाछेउ उभिन आइपुगिन् । छोरीको मौनताभित्र लुकिरहेको दाजुसँगको दुखेसाहरुलाई सर्वदाले नजिकैबाट स्पष्ट अनुभव गरिन् । 

‘पर्खेस् त्यो कालेलाई । म मेरी छोरीलाई मात्र दिन्छु तिहारमा धेरै पैसा । दिन्न म त्यो कालेलाई ।’ आफ्नो अंगालोमा बाँध्दै सर्वदाले छोरीलाई ढाडस दिइन् । आमाको सामीप्यले छोरीको आँखामा उज्यालो छायो । 

‘आमा बाले के तिहालमा धेलै पैछा ल्याउँच है ?’ छोरीले सोध्छे

एक्कासि सर्वदाको मन खस्कन्छ । वर्षौदेखि उनले आफूभित्र बाँधेर राखेको संयमतालाई छोरीको यो प्रश्नले फेरि भत्काइदिन्छ । उनी भित्रको एउटा विगत फेरि बल्झिन्छ । आँसु बन्छ र पोखिन्छ । 

त्यो विभत्स प्लेन दुर्घट्ना ! दुर्घट्नामा आगोले जलेका यात्रुहरुका विभत्स शव । 

सर्वदाको मन आगोले विभत्स जलिरहेको लोग्नेको मृत्युको सम्झनाले फेरि कहालिन्छ । एउटा अभिशाप र अपराधबोधले उनलाई अझै छाडेको छैन । आखिर लोग्नेको मृत्युको दोषी त उनी आफै हुन्; यही कुराले उनलाई भित्रभित्रै वर्षौदेखि लखेट्दै आइरहेको छ । लोग्नेलाई विदेश पठाउने कुरामा अग्रसर त उनी आफै थिइन् । लोग्नेले सानोतिनो प्राइभेट कम्पनीको जागिर खाएको थियो । उनी आफै पनि सरकारी स्कुलको स्थायी शिक्षिका थिइन् । बाउआमा गाउँमा थिए । जागिरलाई पायक पर्ने गरी उनीहरु बजारमा घरभाडामा बसेका थिए । दुईजनाको आम्दानी थियो । नपुग्दो थिएन । फेरि पनि उनी सधैं लोग्नेलाई टोकेसो गरिरहन्थिन् । 

‘सबै गएकै छन् त !’ सर्वदा लोग्नेलाई अत्तो हाल्थिन्, ‘सँगै यहीँ भाडामा बस्नेहरुका लोग्नेहरुले विदेश गएर घडेरी किनेर घर पनि उठाइसके । उनीहरुका चालढाल अर्कै छ । आफ्नो लोग्नेको यस्तो पारा छ । भगवानले पनि अलिकति ईख त हाल्दिनु नि !’

सधैंको स्वास्नीको कचकचले सर्वदाको लोग्ने पनि दिक्क थिए । र, स्वास्नीसँग झर्किन्थे– ‘हैन, नकरा न है । कति कचकच गर्छेस् । मलाई त अगाडि देख्नै हुन्न । मुख चिलाइहाल्छ तेरो !’

‘भो, भो मै नजाति अब । मैले त केही बोल्नै हुन्न । टाउको दुख्छ उसको ।’ सर्वदाको गनगन सुरु हुन्थ्यो लोग्नेसँग, ‘छोरालाई हुर्काउनु पढाउनु छैन क्यारे । सबैका छोराछोरी बोर्डिङ स्कुल हिँड्न थालेका छन् । यै सर्कारी स्कुल छ आफ्नो लागि त । पेटमा अर्को आइसक्यो । उसलाई ख्वाउने केले हो, था’ छैन । आफूजस्तै अर्काको नोकर बनाएर राखे हुन्छ केटाकेटीलाई । सधैं भाडामा बस्नु छ । सबैका आँखाले हेप्ने भइसके । उसलाई पीर सुर्ता पो कसका लागि छ र !’

सर्वदाको अघिल्तिर उनको लोग्ने निरीह थिए । एकदिन सर्वदाले आफ्नो सबै सञ्चयकोष निकालिन् । यताउति सरसापटी गरिन् । लोग्नेलाई पासपोर्ट तयार गर्न लगाइन् । यति गर्दासम्म सर्वदाको लोग्नेको मनस्थिति पनि विदेश जाने मोहले बदलियो । विदेश जाने कुराले उसलाई उत्सुक बनायो । बिदेशको मोहले उसको मन पनि एककिसिमले रोमाञ्चकारी बन्यो । विदेशी भूमि, विदेशी जागिर, विदेशी जीवनशैली, विदेशको रंगिन दुनियाँ उसको कल्पनामा कौतुहल बनेर खेल्न थाल्यो । 

छुट्नु अघिको रात लोग्ने–स्वास्नी दुवैले आ–आफ्नो मनका पुन्तुरो खोले । राती अबेरसम्म पनि दुवै जना निदाएनन् । रातभरि प्रेमालापपूर्ण कुरा गरिरहे । 

‘आफ्नो जिउको राम्रोसँग ख्याल राख्नू । गह्रौ जिउकी छेस् । यताउति बल गरेर धेरै हिँड्ने काम नगर्नू । केही परे बाआमालाई बोलाएर राख्नू  ।’ लोग्नेले सर्वदासँग भन्यो । 

‘पुगेपछि चिठी पठाउनुस् नि । उताको ठेगाना पाएपछि यताबाट चिठी पठाउन सजिलो हुन्छ । विदेश हो, सञ्चो–विसञ्चोको खबर पठाइरहनुस् । सँगै काम गर्ने साथीहरु कस्ता पर्छन् ! दुःख विमारमा यसो हेर्नेहरु भए सजिलो हुन्छ । त्यहाँ हाम्रो सुर्ता गरेर बसिरहने हैन ।’ लोग्नेको छातीसँगै टाँसिएर सर्वदाले विस्तारै साउती गरिन् । 

भोलिपल्ट बिहान दुवैको मनलाई छुट्टिने बेलाको नरमाइलोले छोप्यो । बिहानको त्यो घाम पनि दुवैका लागि बिरानो बन्यो । दुवैका आँखामा एकान्तपन थियो । 

दिन बिते । महिनाहरु बिते । सर्वदाले छोरी जन्माइन् । छोरी जन्मेको खुशी लेखेर सर्वदाले लोग्नेलाई चिठी पठाइन् । लोग्नेको कमाइ राम्रै थियो । लोग्नेले पठाएको पैसालाई सर्वदाले राम्रै जोहो गरिन् र एकाध वर्षमै बजारको भनेको ठाउँमा घडेरी जोडिन् । ऋण जोरजाम गरेर घर पनि बनाइन् । 

‘कहाँ जान मानेको थ्यो र ! बलैले पठाएँ । बेलैमा पठाउँन सकेँ र यति भो ।’ छिमेकीहरुसँग सर्वदा लोग्नेको टिप्पणी गर्थिन् । 

०००

पाँच वर्ष बित्यो । 

एकदिन लोग्ने फर्कने खबर सर्वदाले पाइन् । लोग्ने फर्कने खबरले उनी औधि खुसी भइन् । कहिलेकाहीँ लोग्नेको सम्झनाले उनको मनमा एकांकीपनहरु नआएका होइनन् । कतिपटक निद्राबाट ब्युँझेर ओछ्यानमा लोग्नेलाई नखोजेकी पनि होइनन् । कतिपटक गमलाबाट सयपत्री टिपेर ऐनाअघि आफ्नो कपालमा आफैले सयपत्री सिउरिँदै उनले आफ्नो अघिल्तिर लोग्नेको छायाँलाई नखोजेकी पनि होइनन् । कति सपनामा आफ्नै लोग्ने बिरानो भएर आउँथ्यो र हराउँथ्यो । यस्ता धेरै क्षणहरुले उनको मनमा विस्मात् ल्याउँथे र उनको मनलाई एकोहो¥याएर जान्थे । 

अहिले लोग्ने फर्कने खबरले भने उनको मनलाई आतुर बनाइदिएको थियो । आँखामा व्यग्रता थियो । लोग्ने फर्कने दिन उनी काठमाण्डौं पुगिन् । त्रिभुवन विमानस्थलको प्रतीक्षालयमा उनी अधैर्यतापूर्वक लोग्ने आउने विमान पर्खिरहेकी थिइन् । उनका आँखा जमिनलाई छाडेर आकाशमा खेलिरहेका थिए । 

ठीक समय, उनले विमानस्थलको यात्रु प्रतीक्षालयको कक्षमा पाएको सूचनाअनुसार उनको लोग्ने सहितको यात्रुवाहक हवाइजहाज अवतरणको लागि माथि आकाश हुँदै धावनमार्गमा देखियो । अधैर्यता र उत्सुकताले सर्वदाको मन हवाइजहाजसँगै धावनमार्गमा कुदिरह्यो । तर एक्कासि ‘धड्याम्म’ को एउटा ठूलो विस्फोटको आवाज आयो । अचानक आएको यो आवाजले प्रतीक्षालयमा रहेका सबैका आँखामा धावनमार्गमा ठूलो आगोको मुस्लोसहितको हवाइजहाज जलिरहेको आश्चर्यचकित दृश्य थियो । सबै स्तब्ध थिए । सबैका आँखाहरु बिस्फारित थिए । सबै चिच्याइरहेका थिए । 

सर्वदा त्यो दृश्यले जोडले कहाल्लिइन् । 

उनका आँखालाई चारैतिरबाट अँध्यारोले छोप्यो । उनका हातगोडाहरु लल्याकलुलक भए र उनी जमिनमा ढलिन् । जब एकछिनपछि उनका आँखा खुले, देखिन्– उनको लोग्ने चढेको जहाज धावनमार्गमा पुरै खरानी बनिसकेको थियो । सबैका आँखामा त्यो अकल्पनीय दुर्घट्नाको आतङ्क छाएको थियो । सबै भयभित र त्रसित थिए । 

चारैतिर कोलाहल थियो । रोदन थियो । चीत्कार थियो । वातावरण कारुणिक थियो । छिनभरमै सर्वदाका सबै आकाङ्क्षा र सपनाहरु जलेको जहाजसँगै खरानी बनिसकेका थिए । 

०००

‘आमा, आमा !’

छोरीले झक्झक्याउँदा पो सर्वदा झसङ्ग भइन् । 

‘आमा, बा’ले के दछैमा धेलै पैसा ल्याउँच हगि । मलाई नि तिहालमा धेलै पैसा देऊ है आमा ।’ छोरीले सर्वदालाई भनिरहेकी थिई । 

सर्वदाले एकचोटि सबैतिर नियालिन् । घाम अझै छानामाथि थियो । उनले एकपल्ट लामो उच्छवास लिइन् । बिहानको मन्द बहिरहेको हावामा झुलिरहेका सयपत्रीका फूलहरुलाई हेरेर उनको मन फेरि एक तमास बनिरह्यो । 

नेपालखबर डट कम

%d bloggers like this: