निभा शाह नेपाली प्रगतिवादी कविताका फाँटमा निरन्तर कलम चलाउँदै आइरहनु भएका एक सशक्त कवि हुनुहुन्छ । नेपाली समाजको वर्गीय उत्पीडन र सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक रुपमा महिलाहरुप्रति हुँदै आइरहेको विभेदका विरुद्ध मुक्ति आन्दोलन र सामाजिक न्याय प्राप्तिका लागि कवि निभा शाहले आफ्नो कलमलाई सशक्त बनाउँदै आइरहनु भएको छ । उहाँको कवितामा स्थानीय भाषा र आञ्चलिक शब्दहरुको प्रयोग प्रसस्त पाइन्छ ।
उहाँका ‘इन्कलाब जिन्दावाद’(२०६३), ‘कालापानीकी द्रौपदी’(२०६६) र ‘मनसरा’(२०७२) कवितासङ्ग्रह प्रकाशित छन् । उहाँ ‘साहित्य सङ्गम पुरस्कार’, ‘पारिजात सिर्जनशील पुरस्कार’, ‘गरिमा पुरस्कार’, ‘नागार्जुन साहित्यिक पुरस्कार’ र ‘कृष्ण सेन ‘इच्छुक’ प्रतिभा पुरस्कार’बाट सम्मानित र पुरस्कृत भइसक्नु भएको छ ।
यहाँ उहाँको ‘मनसरा’ कवितासङ्ग्रहबाट दुईओटा कविताहरु प्रस्तुत गरिएको छ ।
मनसरा
पसिना बगेर
दुनियाँ बदलिने भए
भरियाको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
रगत बगेर
दुनियाँ बदलिने भए
जनताको दुनियाँ
उहिल्यै बदलिसक्थ्यो मनसरा
जब कि मनसरा !
रगत पसिनाले नै
दुनियाँ बदलिने हो
रगत पसिनाले नै
नबदलिएको दुनियाँ
किन बदलिएन ?
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा
आफूले चिरेको दाउरा
अरुले नै बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदै मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा
आफूले खोरिया खनेको खेत
अरुकै नाममा दर्ता भएपछि
माटो आफ्नो हुँदैन मनसरा
माटो आफ्नो नहुनेको
पेटभरि अन्न हुँदैन मनसरा
पेटभरि अन्न नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा
आफूले बोकेको बन्दुक
अरुले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनियाँ बदलिँदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा
आगोको आवाज सुन मनसरा ।
०००

बुधनी
अचेल–अचेल
जङ्गलबाट
सहर पसेका
म्हल बसेका
लालख्वामितहरु भनिरहेछन्–
बुधनी, तिमी
बुद्ध जन्माऊ
बुधनी रानी हो र !
बुद्ध जन्माउँछ ?
बुधनी दास हो
दासहरु स्पार्टाकस जन्माउँछन्
स्पार्टाकसहरु जन्माइरहन्छन् ।
०००