डा. कृष्णराज अधिकारी (जन्मः २०१९ माघ ८, बैदाम, पोखरा) समालोचनाको क्षेत्रमा एक सुपरिचित नाम हो । पोखरालाई आफ्नो कर्मथलो बनाएर निरन्तर सिर्जनकर्ममा लागिरहनु भएका डा. अधिकारी कवितामा पनि उत्तिकै सशक्त हुनुहुन्छ । ‘स्मृतिका बिम्बहरु’ (नियात्रा–२०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना–२०६६), ‘सुरुङ खन्दैछन् मुसाहरु’ (कवितासङ्ग्रह– २०६८) ‘साहित्यिक अवलोकन’ (समालोचना, २०७१), ‘केही सृजना पृथक विवेचना’ (समालोचना, २०७८), र ‘अँध्यारो यात्रा’ (कथासङ्ग्रह, २०७८) उहाँका प्रकाशित कृतिहरु हुन् ।
उहाँले थुप्रै साहित्यिक कृति र साहित्यिक पत्रिकाहरुको सम्पादन गर्नुभएको छ । उहाँका कविताहरुमा संवेदना, प्रकृति र मानवीय प्रेम, समसामयिक राजनीतिकप्रतिको व्यङ्ग्यचेत मुलस्वरको रुपमा रहेको पाइन्छ ।
उहाँ ‘विश्वराधानेत्रा साहित्य पुरस्कार २०७९’ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘सुरुङ खन्दैछन् मुसाहरु’ कवितासङ्ग्रहका दुई कविताहरुलाई प्रस्तुत गरिएको छ ।
अमेरिका
एक हुल सेवकहरुलाई
अघिपछि लगाएर
सेतो घोडामा सवार हुँदै
गाउँ–गाउँ चहारिरहेछ
गाउँको पुरानो मुखिया
एउटा काँधमा गोली भरिएको बन्दुक
अर्को काँधमा पैसा भरिएको सन्दुक
पहेंलपुरे खेत र तरकारी बारीहरु माड्दै
शान्त र स्थिर गाउँलाई भाँड्दै
सन्त्रास र आतङ्क मच्चाउँदै
घरीघरी बन्दुकको फायर चलाउँदै
आकाशभरि धुवाँ फालेर
स्याउले झुप्रा र पराले गोठहरुमा
चुरोटका ठुटा फाल्दै
घरीघरी घोडाबाट पछारिँदै र उठ्दै
बस्ती बस्ती घुमिरहेछ
गाउँको जेठो मुखिया ।
नियम र कानुनका सारा अख्तियार लिएर
कतै अधिकार र स्वामित्वको लालपूर्जा बाँड्दै
कतै प्रजातन्त्रको रसिद काट्दै
घरीघरी स्वतन्त्रताको अन्तशुल्क उठाइरहेछ
घरीघरी मानव अधिकारको कर उठाइरहेछ
स्वागतद्वार नराख्ने वडाहरु
फूलमाला लिएर नआउने बासिन्दाहरु
हात नजोड्ने र पाउ नपर्ने गाउँलेहरु
बञ्चित हुनेछन्
उसले बाँड्ने लालपूर्जा र रसिदबाट
अनि हुनेछ तिनका नाउँमा घोषणा जारी
मानवअधिकार हननकर्ता ! आतङ्कारी !
शान्त र स्वाधिन बस्तीमा कुल्चदै
सोझा र असन्तुष्ट गाउँलेहरु बटुली
झगडा गर्न उक्साउँदै
पैसाका थैलीहरु बाँडिरहेछ
आन्तरिक कलह बढाउँदै
शान्त गाउँलाई भाँडिरहेछ
साह्रै प्यारो छ उसलाई झगडा र युद्ध
बिना झगडा मनोरञ्जन लिन सक्दैन ऊ
बिना युद्ध शान्त रहन सक्दैन ऊ
बिना मृत्यु अरुको
अमनचयन लिन सक्दैन ऊ
कतै न कतै युद्ध हुनै पर्छ
कतै न कतै बुद्ध रुनै पर्छ
कतै पैसा उठाउने
कतै पैसा बाँड्ने
गाउँको मुखिया मात्र होइन ऊ
ऊ त मृत्युको ठूलो व्यापारी पनि हो
बिना युद्ध उसको व्यापार बढ्दैन
बिना मृत्यु उसको फसलै फस्टाउँदैन
यसैले गाउँ गाउँमा आफ्ना अनुचरहरु बनाएर
ठाउँ ठाउँमा आफ्ना सेवकहरु पठाएर
जीवनको मूल्य घटाउँदै
मृत्युको व्यापार बढाइरहेछ ऊ
यसैले शान्त जीवन खोज्नेहरु
मानव मूल्य रोज्नेहरु
सावधान !
मुखिया बनेर कोही
घरीघरी गाउँ घुमिरहेछ
मृत्युको व्यापार गर्दै
घरीघरी मृत्यु चुमिरहेछ ।
०००

देश रोइरहेछ
ढल्दैछन् लौ प्रतिदिन यहाँ देशका होनहार
जल्दैछन् यी मुटुहरु पनी शोकले बारबार
मेची काली सबतिर बडो कष्ट छाईरहेछ
हाँसो ठट्टा नगर अहिले देश रोईरहेछ !
बाँच्ने यौटा हक पनि गयो न्याय आफै हरायो
को ढल्दैछन् ? किन ढल्दछन् ? छैन सम्वेदना यो
बाला, वृद्धा, युवक सबमा त्रास छाईरहेछ
हाँसो ठट्टा नगर अहिले देश रोईरहछ !
क्वै मारिन्छन् झडप निहँुमै क्वै भने पक्रिएरै
क्वै काटिन्छन् अपहरणमै यो छ जासुस भन्दै
खोला नालातिर रगतको भेल उर्लीरहेछ
हाँसो ठट्टा नगर अहिले देश रोईरहेछ !
धेरै नै भो बलि सहिदको देशलाई पुग्यो कि ?
शान्तीवार्ता पनि यस घडी क्रान्तिको रुप हो कि ?
वार्ता भन्दै दमन गरदा घात मात्रै हुनेछ
साँचो वार्ता अब सुरु गरौं देश रोईरहेछ !
०००