सीमा आभासका दुई कविता

WhatsApp Image 2026 07 24 at 4.04.13 PM

सीमा आभास नेपाली कविताको क्षेत्रमा एक बलशाली कवि हुनुहुन्छ । ओखलढुङ्गामा जन्मिएर विराटनगरलाई आफ्नो कर्मथलो बनाउनु भएको उहाँले मोफसलमै रहेर पनि आफ्नो लेखनका माध्यमबाट साहित्यमा सशक्त उपस्थिति देखाउनु भएको छ । ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रह (२०६३), ‘टापुका स्वरहरु’ कथासङ्ग्रह (२०६६), ‘म स्त्री अर्थात आइमाई’ कवितासङ्ग्र्रह (२०७३) र ‘महायुग’ उपन्यास(२०८२) उहाँका प्रकाशित कृतिहरु हुन् ।

उहाँका कविताहरु विभेद र असमानताका विरुद्ध छन् । सीमान्तकृत र उत्पीडनमा रहेका वर्गका पक्षमा छन् । विद्रोह उहाँका कविताको मूल स्वर हो । उहाँका कवितामा ग्रामीण जनजीवन छ । ग्रामीण जनजीवनको दुःख छ । पहिचान र मुक्तिको खोजी छ । शालीनता र शिष्ट भाषामा तीब्र भाव उहाँका कविताको विशेषता हो ।

यहाँ उहाँको ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रहबाट दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।

साहिँली ब्यूँझ न !

ए ! साहिँली ब्यूझ न !
आज तिम्रो जन्मदिनको रात हो यो
बादल बैंसले पट्ट फुटेर
वृष्टि भएको बिहान हो यो
तिम्रो दीर्घायुको कामना उचालेर गाएको गीतले
तिम्रै आगमनको स्वागत गर्दा आफै लुछिएकी छ्र्यौ
तिम्रो जन्मदिनमा बालेका बत्तीहरुले
आफै पोलिएकी छ्यौ
एक हत्केलो आकाश उचाल्न
एक फुट धर्ती बोक्न
हार र जीत नभएको युद्ध गरिरहेकी छ्यौ
परिचय पाउन नसक्ने नामबाट

छाउपडीभित्र कति लुकिरहेकी छ्यौ ?
सुकोमल किशोरी बन्न
उन्माद र मादकतामा
आँसुले भिजेका खोल ओढेर

एक टुक्रा इतिहासको बीचमा
उज्यालो हुन नसकेको
उद्धिग्न रातको परपीडा
बिहानी किरणका फ्रेमभित्र जुठो बारेर
आफैलाई नचिन्ने धर्मभीरुहरु
आफैलाई देखेर गर्व गरिरहेछन् ।

गुन्युले बेरेर तिम्रो अस्तित्व
जिउँदो पुल्ठोको लप्का धुँवाइरहेको छ
तिम्रो जन्मदिनमा मृत्युको बाजा बजाएर
तिम्रै इन्द्रियहरु पिल्स्याइएका छन्
फगत बाँचेका अस्तित्हरु
स्वादमा कति चाट्छन् हँ !
बिनाबन्दुक
बिनासम्झौता
बाङ्साङ्ग् झुपडीबाट छाउपडी भत्काउँदै
पीडाबोधमा ब्युँझने बिहानीसँगै
हार या जीत बोकेर
युद्धको आँगनमा जाऊँ है साहिँली ।
०००

saanjh ko

लखेटिँदा लखेटिँदै

मैले प्रथमपटक टेकेको माटोबाट लखेटिँए
मैले प्रथमपटक हेरेको अनुहारबाट लेखेटिँए
मलाई प्रथमपटक समातेका हातहरुबाट लखेटिँए
लखेटिँदा–लखेटिँदै आफू आफैबाट लखेटिँए ।

कतै स्नेह र प्रेम नछरिएको
मरुभूमिभन्दा पनि शून्य र उराठ बाटो हुँदै
पसिनैपसिनाको कन्चट
आँतभरि तिर्खा लिएर लखेटिँए ।

लखेटिँदा लखेटिँदै
बाटो वरिपरि गुराँस फुल्ने देशको याद आयो
चिसो पानी बग्ने गाउँको पँधेराको याद आयो
काफल पाकेको जङ्गलमा कोइली गाएको गीतको याद आयो
र याद आयो मलाई झुक्याएर भागेको विगतको
लखेटिँदै जाँदा
बाटोमा कतै विश्राम भेटिएन
समी, पीपल र चौतारो पनि भेटिएन

लखेटिँदै जाँदा
थुप्रै चीजहरु भेट्टाएँ र गुमाएँ
समात्न खोजेका हातहरु छोडिएका छन्
संगाल्न खोजेका साथहरु छोडिएका छन्
छेकबारहरु चुँडेर दौडिरहँदा
अञ्जान बस्तीमा नानीहरु खेलेको भेटेँ
आफूभरि आँखाभरि

लखेटिँदा–लखेटिँदै
कल्पनाका गुराँसबाट पनि लखेटिँए
मैले विश्राम नगरेको चौतारोबाट लखेटिँए
मैले शीतलता नतापेको छहारीबाट लखेटिँए
स्वयम् आफ्नै छाँया छोडिएर लखेटिँए
यसरी
मैले प्रथमपटक टेकेको माटोबाट
म आफै लखेटिँए
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these