डा. जगदीश चन्द्र भण्डारीका दुई कविता

WhatsApp Image 2026 07 24 at 3.47.33 PM

डा. जगदीश चन्द्र भण्डारी (जन्मः २०१९ जेठ २४, स्याङ्जा) कविता लेखनसँगै माक्र्सवादी सौन्दर्य चिन्तक र समालोचक हुनुहुन्छ । लामो समयदेखि सांस्कृतिक आन्दोलनमा रहेर सिर्जनारत् रहँदै आउनु भएका उहाँका ‘मेरा आँखामा ताना शर्माका कथा र जमर्काहरु’ (२०४०), ‘साहित्यः चिन्तन र विवेचना’ (२०५०), ‘प्रगतिवादी नेपाली कविताः रेखाङ्कन र विश्लेषण’ (२०५५), ‘पृथक सृजन पृथक निरुपण’ (२०६५), ‘सौन्दर्यको भूमिका’ (२०६६) र ‘सौन्दर्यको अन्विक्षण’ (२०७५) समालोचनात्मक कृतिहरु लगायत ‘वर्तमान जन्मन खोजिरहेछ’ (२०३९), ‘अँध्यारोमा चल्मलाइएका शब्दहरु’ (२०४७), ‘मुक्तिक्षेत्रको यात्रामा’ (२०४८) र ‘व्यवस्थाको कन्चट’ (२०८२) कवितासङ्ग्रह र ‘आँखाका यी नानी’ (२०५९) बाल कवितासङ्ग्रह प्रकाशित छन् ।

यसैगरी उहाँका ‘प्रतिनिधि नेपाली समालोचना’ (२०६८), माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ (२०६७), ‘नेपाली कवितामा वर्गसौन्दर्य (२०८१) र ‘ताराकान्त’ (२०८१) सम्पादित कृतिहरु रहेका छन् । ‘साहित्य र यथार्थ’ (२०५१) उहाँको अनुवाद कृति रहेको छ । उहाँका कविताहरुले सङ्घर्षका वृहत् आयाम समेटेर सरल शब्दहरुको प्रस्तुतिबाट पनि विद्रोहको विशिष्ट अर्थ दिन्छ ।

उहाँ हालसम्म ‘कृष्णमणि साहित्य पुरस्कार’–२०५५, ‘पारिजात सृजन पुरस्कार’–२०६३, ‘आनन्दमणि टुल्की–नन्दकला साहित्य सम्मान’–२०७९, ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’–२०८१ र ‘गोपालप्रसाद रिमाल साहित्य पुरस्कार’–२०८३ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘मुक्तिक्षेत्रको यात्रामा’ कवितासङ्ग्रहबाट दुईओटा कविता प्रस्तुत गरिएको छ ।

खतरनाक शत्रु

तिमी तान म तानिन्छु
तिमी पिट म पिटिन्छु
तिमी फेरि पिट
म फेरि पनि पिटिन्छु
म गाला थाप्छु
विवशताको
म गाला थाप्छु
बाध्यताको
मेरा आँखा छन्
यिनले संसार हेर्छन्
यिनमा आगोमा तताएको
रारातो झीर रोप
अथवा
ठूला ढुङ्गाले बेसरी हान
फुटोस् आँखाको नानी
हेर्न नसकोस् दुनियाँ
तिमी फुटाऊ
यी आँखाको नानी
आँखा न हुन्
सोझा छन्
इमान्दार छन्
हेर्छन् खाली हेर्छन् मात्र
तिमी फुटाऊ !
तिम्रा निम्ति ऐना
तिम्रा निम्ति अर्थहीन ढुङ्गा
मनोरञ्जन हुन्छ
तिनलाई पछार, लछार
अनि फुटाऊ
चकनाचूर पार
तिम्रा निम्ति आँखा
खतरनाक शत्रु हुन् ।
०००

att.W6bmmXqrPZPbszEDb3hb1fWQM0I8vykw lAHiHt0uj0

जोडघटाउ

दौरा फेरियो
दौराको रङ फेरियो
लगाउने मान्छे उही छ
मात्र अभिनय फेरियो
मान्छेहरु हाँस्छन्
हँसाइ उही छ
बाचाहरु
क्रियाहरु
हेराइहरु
पुरानै छन्
मेटेर आफ्ना बाटाहरु
पदचिन्ह–स्मृतिलाई
भाँचभुँच पारेर
सहयात्री भन्नेहरु
अर्कै व्युहरचनामा तल्लीन छन्
म माटो
म ढुङ्गा
म ढुङ्गाको पनि ढुङ्गा
मलाई त पल्टिनु छ
आफैमा मिल्नु छ
बल गरेर खुट्टा उफार
संसारको अर्को कुना
सुन्दर दृश्यमा हाम्फालौं
कति रमणीय, कति सुन्दर
तेजोबध
जोशबध र लक्ष्यबध गर्ने
उसका कुरा
आफैमा कति रङका छन्
कति दृश्यमा बाँधिएका छन्
साँच्चै हो वा ख्यालख्याल
केहिछिन उफार्छ
एकछिनपछि थचार्छ
कुन बेला आँखा साट्छ
आँखाको तस्बीर साट्छ
तस्बीरमा जिउँदो भएर
उभिएकाहरु
एतिखेरै ढल्छन्
आफू जिउँदो भएर उभिएको हुन्छ
यी सबै कुरा
उसका दृश्यपटलमा
स्थायीभाव हुन सक्दैनन्
मोटो बुद्धिबाट मात्र
संसारको व्याख्या गर्छ
अटोमेटिक रुप गुणका
सूक्ष्म मान्छेहरुलाई
माटोले बुझ्दैन
माटोको नाउँमा
जस कसैले लेनदेन गरोस्
माटोलाई कुनै मतलब छैन
मात्र आँखामा बादलको
चट्याङको गर्जन भरेर
पखाल्नु पर्ने फोहोरहरु
हेरिरहेको छ फगत
आफैभित्रको अनल बालेर
०००

About the Author

One thought on “डा. जगदीश चन्द्र भण्डारीका दुई कविता

  1. सुन्दर र सशक्त हुन्छन् डाक्टर भण्डारीका कविताहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these