कविता लेखनमार्फत पचासको दशकदेखि साहित्य लेखन शुरु गर्नु भएका विमला तुम्खेवा (जन्मः २०३४, तेह्रथुम) को लेखन सक्रियता र उपस्थिति अहिले पनि उत्तिकै बलियो छ । प्रकृति, मानवीय संवदेना, जातीय उत्पीडन र पहिचानको पक्षमा उहाँका कविताहरु सशक्त छन् । आफ्ना कविताहरुमार्फत पाठकहरुमाझ आफ्नो स्टण्ट राख्न उहाँ सफल हुनुहुन्छ । स्थानीय बिम्ब, भाषा र शैलीका कारण उहाँका कविताहरुमा निकै सुन्दर काव्यात्मक अभिव्यक्ति पाइन्छ ।
‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ उहाँको चौथो काव्य कृति हो । यसअघि उहाँका ‘विमला तुम्खेवाका कविताहरू’ (२०५५), ‘नदी, छाल र तरङ (२०६०) र ‘संस्मरण एउटा बूढो रूखको’ (२०६५) कविता कृतिहरु प्रकाशित भइसकेका छन् ।
उहाँ ‘प्रतिभा पुरस्कार (बेलायत)– सन् २०२०, ‘अनुप लिङ्देन स्मृति पुरस्कार’– २०७८, ‘अमर नेम्वाङ लिम्बु स्मृति पुरस्कार’– २०८० र ‘व्यथित काव्य पुरस्कार’– २०८२ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कवितासङग्र्रहमा रहेका दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।
संसारभरिका तानाशाहलाई खुल्लापत्र
यो सहरको जुनसुकै गल्ली, चोक
चौरास्ता र होटलहरुमा भेट्न सक्नेछौ मलाई
म यौनकर्मी आइमाई
मरेको आमाको दूध चुसिरहेका कलिला बच्चाहरु
बमले ध्वस्त बनाएको सहरको सुनसान बाटोमा
नानीहरुको लास बोकेर
पागलझैं बेहोसीमा दोडिरहेका बाउहरु
तिम्रो डरको पराकाष्ठा हो ।
म
शरीर बेचेर भए पनि इमानको भात खान्छु
इमानको कपडा लगाउँछु
इमानको जिन्दगी बाँच्छु
र, दिल खोलेर हाँस्न सक्छु
तिमीहरु बम बेचेर मान्छेको मासु खान्छौ
मानव अधिकारको खोल ओढेर
खुनको खेल खेल्छौ
निमुखाहरुको आँसुको मदिरा पिउँछौ
फरक यही छ हामीबीचमा ।
यो ओठलाई
जतिपटक नेता, ठेकेदार, सन्यासी
र समाजसेवीहरुले चुमेर गए
त्यतिपटक घृणा गरें मैले तिमीहरुलाई
म,
तिमीहरु जस्तो निर्लज्ज छैन
तिमीहरु जस्तो बेइमान पनि छैन
आफ्नै शरीर बेचेर भए पनि इमानको भात खान्छु
र, एकबारको जीवन मुस्कुराएर बाँच्छु
मलाई लाग्छ
मुस्कुराएर बाँच्न सक्नु संसार जित्नु हो ।
०००

गेटपास
कुकुरलाई चाहिँदैन गेटपास
सिंहदरबार बाहिर–भित्र
चाहेको बेला जान आउन सक्छ
वा,
जुनसुकै मन्त्रालय वा किचेन क्याबिनेटका जुठेल्नाहरुमा
पुच्छर हल्लाउँदै पुग्न सक्छ
यस्तो दृश्य तपाईं जुनसुकै समयमा देख्न सक्नुहुनेछ
तर
जनतालाई चाहिन्छ गेटपास
यो कुरा बुझेको छ कि छैन सिंहदरबारले
जसको पसिना र रगतले उभिएको छ
तर शासकको नजरमा
कुकुरभन्दा नि तल रहेछ जनता