विमल निभाका दुई कविता

WhatsApp Image 2026 07 24 at 4.04.15 PM

विमल निभा (जन्मः वि. सं. २००९ असार १९, नेपालगञ्ज) नेपाली प्रगतिवादी कविताका एक अग्रणी कवि हुनुहुन्छ । उहाँका कविताहरु माक्र्सवादी विचार दृष्टिकोणप्रति प्रतिवद्ध छन् । उहाँका कवितामा वैचारिक व्यङ्ग्यचेत प्रखर छ । उहाँका कवितामा सामाजिक असमानता, वर्गीय विभेद, राजनीतिक विकृति र मानवीय संवेदनालाई तीखो व्यङ्ग्य र वैचारिक दृष्टिकोणबाट प्रस्तुत गरिएको पाइन्छ । कविता बाहेक व्यङ्ग्य निबन्धमा पनि उहाँको कलम उत्तिकै सशक्त देखिन्छ ।

‘आगोनेर उभिएको मानिस’ (२०४०) उहाँको सर्वाधिक चर्चामा रहेको कवितासङ्ग्रह हो । यसबाहेक उहाँका ‘चौथो कालम’ (व्यङ्ग्यसङ्ग्रह–२०४५), ‘एउटा बाहुला नभएको बुसर्ट’ (कवितासङ्ग्रह–२०६०), ‘छेउको बधशाला’ (व्यङ्ग्यसङ्ग्रह–२०६२), ‘डाइनोसोर जिउँदो छ’ (व्यङ्ग्यसङ्ग्रह–२०६९), ‘जोकरको बन्दुक’ (कवितासङ्ग्रह–२०७६), ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ (कवितासङ्ग्रह–२०७८), ‘सत्र भोका कागहरु’ (कवितासङ्ग्रह–२०८१), र ‘एउटा सानो घर होस्, एउटा सानो गाई होस्’ (निबन्धसङ्ग्रह–२०८२) प्रकाशित कृतिहरु हुन् ।

उहाँ ‘लोकेन्द्र साहित्य पुरस्कार–२०५०, ‘साझा पुरस्कार–२०६१, ‘गोपालप्रसाद रिमाल पुरस्कार–२०७४ र रमेश विकल साहित्य पुरस्कार–२०७८ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘आगोनेर उभिएको मानिस’ कवितासङ्ग्रहमा रहेका दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।

जुम्ला

उज्यालो कतै छैन
स्वप्न हराएको छ
के तपाई अन्धकारको खुराक भएको
बस्तीमा जानुभएको छ ?

अपराधीझैं उभिएका छन्
नाङ्गा पहाडहरु
जोसँग खान दिनलाई केही छैन
जे छ, त्यो बाँझो भूमिझैं चारैतिर
फैलिएको छ
मानिसहरुको मुटु
गाईगोरु र भेडाहरुका करुण करङमा
धड्किरहेछ

र दुई चिसा हातहरु स्पर्श गर्न
निरन्तर अघि बढिरहेछन्
नदी
जहाँ साना–ठूला ढुङ्गाहरु
एकआपसमा टक्कराइरहेका छन्
तर आवाज कतै छैन
के जुम्ला मौन छ ?

रोटीको अनुहार फेरिएको छ
भोकको स्वाद तीतो भएको छ
र पेटभित्रको खालीपन
छचल्किएर
बाहिर निस्किएको छ
यसपालि जाडो धेरै छ
पसिना आइरहेछ
र आगोनेर उभिएको मानिसको
शरीर
तामाझैं चम्किरहेछ

जुम्लामा मौसमको कुनै ठेगान छैन
एकछिनमै जङ्गलको हावा सिटी बजाउन थाल्छ
के तपाईले फाँसीको तख्ताझैं हल्लिरहेको
सल्लाको हाँगालाई हेर्नुभएको छ ?
०००

aagonira 1

जुत्ता

जुत्तामा तलुवा लगाऊ
काँटी ठोक
अर्को फित्ता फेर
धागोले सिऊ
या पालिसले खुब चम्काऊ
तर टाउकोमा जुत्ता लगाउन
अब कोही तयार छैन

जुत्ताको आकृति
देशको मानचित्रजस्तो बनाऊ
वा राष्ट्रप्रेमको अभिनय गरेर गाऊ
‘पञ्चै हो, यो देश बनाइदेऊ’
चुप नकराऊ

जुत्ता सम्पूर्ण चिसिइसकेको छ
छाला कुहिएर डुङ्डुङ्ती गन्हाइरहेको छ
रङ उडेर एकदम कुरुप भइसकेको छ
र त्यसमा लागेका काला–काला दागहरुले
असङ्ख्य घृणा जन्माइरहेका छन्
चिसिइसकेको, गन्हाउने, कुरुप
र घृणास्पद जुत्तालाई
इतिहासको एक कुनामा फ्याँकेर
अब हामीले आफ्नो नाङ्गो खुट्टामा
नयाँ जुत्ता लगाउनुपरेको छ

(त्यसैले श्रीमान, पाठ नपढाऊ
जऊ, धेरै नअलमलाऊ
अब धेरैजसोलाई आ–आफ्नो खुट्टाको नाम
थाहा भइसकेको छ)
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these