1

डा. जगदीश चन्द्र भण्डारीका दुई कविता

Share

डा. जगदीश चन्द्र भण्डारी एकजना सिद्धहस्त माक्र्सवादी सौन्दर्य चिन्तक र समालोचक हुनुहुन्छ । लामो समयदेखि सांस्कृतिक आन्दोलनमा रहेर सिर्जनारत् रहँदै आउनु भएका उहाँका ‘मेरा आँखामा ताना शर्माका कथा र जमर्काहरु’, ‘साहित्यः चिन्तन र विवेचना’, ‘प्रगतिवादी नेपाली कविताः रेखाङ्कन र विश्लेषण’, ‘पृथक सृजनः पृथक निरुपण’, ‘सौन्दर्यको भूमिका’‘सौन्दर्यको अन्विक्षण’ समालोचनात्मक कृतिहरु लगायत ‘वर्तमान जन्मन खोजिरहेछ, ‘अँध्यारोमा चल्मलाइएका शब्दहरु’‘मुक्तिक्षेत्रको यात्रामा’ कवितासङ्ग्रह र ‘आँखाका यी नानी’ बाल कवितासङ्ग्रह प्रकाशित छन् । उहाँको ‘मुक्तिक्षेत्रको यात्रामा (२०४८) सङ्ग्रहभित्र समाविष्ट कविताहरु प्रगतिवादी नेपाली कविताका क्षेत्रमा विशिष्ट उपलब्धि मानिन्छ । यसै सङ्ग्रहभित्र रहेको उहाँका यी दुईवटा कवितालाई मैले यहाँ प्रस्तुत गरेको छु । सरल शब्दहरुको प्रस्तुतिबाट पनि कविताले विद्रोहको विशिष्ट अर्थ दिन्छ ।

खतरनाक शत्रु

तिमी तान म तानिन्छु
तिमी पिट म पिटिन्छु
तिमी फेरि पिट
म फेरि पनि पिटिन्छु
म गाला थाप्छु
विवशताको
म गाला थाप्छु
बाध्यताको
मेरा आँखा छन्
यिनले संसार हेर्छन्
यिनमा आगोमा तताएको
रारातो झीर रोप
अथवा
ठूला ढुङ्गाले बेसरी हान
फुटोस् आँखाको नानी
हेर्न नसकोस् दुनियाँ
तिमी फुटाऊ
यी आँखाको नानी
आँखा न हुन्
सोझा छन्
इमान्दार छन्
हेर्छन् खाली हेर्छन् मात्र
तिमी फुटाऊ !
तिम्रा निम्ति ऐना
तिम्रा निम्ति अर्थहीन ढुङ्गा
मनोरञ्जन हुन्छ
तिनलाई पछार, लछार
अनि फुटाऊ
चकनाचूर पार
तिम्रा निम्ति आँखा
खतरनाक शत्रु हुन् ।
०००

128254138 683267545665750 4569910471130184120 n

जोडघटाउ

दौरा फेरियो
दौराको रङ फेरियो
लगाउने मान्छे उही छ
मात्र अभिनय फेरियो
मान्छेहरु हाँस्छन्
हँसाइ उही छ
बाचाहरु
क्रियाहरु
हेराइहरु
पुरानै छन्
मेटेर आफ्ना बाटाहरु
पदचिन्ह–स्मृतिलाई
भाँचभुँच पारेर
सहयात्री भन्नेहरु
अर्कै व्युहरचनामा तल्लीन छन्
म माटो
म ढुङ्गा
म ढुङ्गाको पनि ढुङ्गा
मलाई त पल्टिनु छ
आफैमा मिल्नु छ
बल गरेर खुट्टा उफार
संसारको अर्को कुना
सुन्दर दृश्यमा हाम्फालौं
कति रमणीय, कति सुन्दर
तेजोबध
जोशबध र लक्ष्यबध गर्ने
उसका कुरा
आफैमा कति रङका छन्
कति दृश्यमा बाँधिएका छन्
साँच्चै हो वा ख्यालख्याल
केहिछिन उफार्छ
एकछिनपछि थचार्छ
कुन बेला आँखा साट्छ
आँखाको तस्बीर साट्छ
तस्बीरमा जिउँदो भएर
उभिएकाहरु
एतिखेरै ढल्छन्
आफू जिउँदो भएर उभिएको हुन्छ
यी सबै कुरा
उसका दृश्यपटलमा
स्थायीभाव हुन सक्दैनन्
मोटो बुद्धिबाट मात्र
संसारको व्याख्या गर्छ
अटोमेटिक रुप गुणका
सूक्ष्म मान्छेहरुलाई
माटोले बुझ्दैन
माटोको नाउँमा
जस कसैले लेनदेन गरोस्
माटोलाई कुनै मतलब छैन
मात्र आँखामा बादलको
चट्याङको गर्जन भरेर
पखाल्नु पर्ने फोहोरहरु
हेरिरहेको छ फगत
आफैभित्रको अनल बालेर
०००

%d bloggers like this: