1

भुङ्लीचोक; भुलिगए पाप लाग्ला

Share

आँबुखैरेनीबाट हिँड्ने सुरसार गर्दागर्दै घडीले दिउँसोको दुई बजाइ छाड्यो । बस पर्खदा घडीले अरु पन्ध्र बीस मिनेट बढी नै नाघ्यो । दुई बजे हिँड्ने सल्लाह थियो तर यो आधा घण्टा हाम्रो हिसाबले उतिसाह्रो ढिला नै त भने थिएन ।

हामीले पुग्नपर्ने ठाउँ थियो भुङलीचोक । गोरखा जिल्लाको एउटा दुर्गम गाउँ । सदरमुकामबाट दक्षिणपूर्व । तर अहिले हामी गइरहेका थियौँ चितवन जिल्लाको फिस्लिङ हुँदै उत्तरतिरको अग्लो डाँडो । यात्राका हामी सहयात्रीहरु थियौँ कारोबार दैनिकका भगवान खनाल, छन्दकवि नारायणप्रसाद पोखरेल र म । कवि मोदनाथ मरहठ्ठाको निम्ता थियो । हामीलाई धेरै अघिदेखिको निम्ता हो यो उहाँको भुङलीचोक घुम्न आउने । उहाँ त्यही गाउँको भद्रकाली माध्यमिक विद्यालयको शिक्षक । त्यसैले पनि बिहानैदेखि मोदनाथ मरहठ्ठा मोबाइलबाट हामीलाई सोधिरहनुभएको थियो–

‘कति बजे हिँड्ने हो ?’

‘हिँड्नु भयो कि भएन ?’

‘कहाँ आइपुग्नु भयो ?’

उहाँको त्यो व्यग्रताले पनि हामीलाई आतुरता थपिरहेको थियो । र, हामीलाई त्यो समय जुरेको थियो मङ्सिर १७ गते, २०६७ साल ।

अघिल्लो दिनसम्म हामी तीनै जनाको सल्लाह थियो सकेसम्म अलि चाँडो हिँड्ने । त्यसो भयो भने फिस्लिङबाट हिँडेरै आरामले घुम्दै जान सकिन्छ भन्ने थियो । तर समयको चाँजोपाँजो भनेको जस्तो कहाँ हुनु ? त्यै दिन सबैलाई व्यस्त परेछ । अघिल्लो साँझदेखि नै म डुम्रे थिएँ साढु दाइको छोरीको गुफा राखेको कार्यक्रममा अल्झँदै । बिहान भगवान खनाललाई फोन गरेँ । उनी पनि एकजना साथीको छोरीको गुफा राखेको निम्तोमा थिए । नारायण पोखरेल एक बजे मात्र स्कुल छुटेर हिँड्नुपर्ने भएछ । त्यसपछि सबैको साझा समय बन्यो दुई बजे आँबुखैरेनी चोकमा भेट हुने ।

जाडोको दिन । हेर्दाहेर्दै त बित्यो आधा दिन । एक बजिसकेछ । पूजा त अझै सकिएकै छैन । खाना खाने त कति बजे पो हो । मनभित्र छटपटी बढ्यो । चल्यो औडाहा । तै भान्सामा थिएँ र यताउति खाँदाखाँदै अघाइसकेको थिएँ । पूजा सकिसकेपछि खाना खाने थोरै औपचारिकता सकेर हतारले म हिँडिहालेँ डुम्रेबाट आँबुखैरेनीतिर । फोन लागेको हैन दुवैलाई । दुवैजना मलाई पर्खिरहेका होलान् र सके रिसाउँदै पो होलान् कि भन्ने पनि मनमा लागिरह्यो । ‘लौ, यो अबेर भएको अपजस भने मैलाई लाग्ने भो अब ।’ गाडीभन्दा मन आतुरसँग आँबुखैरेनीतिर कुदिरहेको थियो । बस अड्नासाथ हाम्फाल्दै ओर्लें । बसबाट ओर्लिसकेपछि आँखाले उनीहरुलाई यताउति खोजिरह्यो । कतै देखिनँ । चोकको विन्ध्यावासिनी होटलको अघिल्तिर उभिएर म सडक छेउछाउ र वरपर उभिएको मान्छेहरुको भीडमा उनीहरुलाई खोज्दै थिएँ । अलि परबाट आइरहेको भगवान खनाललाई देखेँ । नजिकै आइसकेपछि उनले हाँस्दै ‘सरी है, ढिला भइहाल्यो’ भने । नारायण पोखरेल पनि केहीछिनमा आइपुगे । आखिर म नै उल्टो उनीहरुलाई पर्खनु पर्नेमा पो परेछु । केही क्षणअघिको व्यर्थ छटपटीबाट मुक्त बनेँ ।

आँबुखैरेनीदेखि फिस्लिङसम्मको बस यात्राको समय एकघण्टा । फिस्लिङदेखि भुङलीचोकसम्मको पैदल हिँडाइको समय दुई र बढीमा तीन घण्टा । सालाखाला साढे तीनदेखि चारघण्टासम्मको हाम्रो यात्रा ।

हामीले यसरी समयको हिसाब तय ग¥यौँ । तर आँबुखैरेनीको बसको पर्खाइले हाम्रो समयको हिसाबलाई लोप्पा ख्वाइदियो । फिस्लिङसम्मको हाम्रो बस यात्राको समय बढ्ने देखेपछि हामीले मुग्लिङसम्मको लागि नारायणगढको बस चढ्यौँ । छोटो दूरीको लागि बस चढेपछि उभिएर, घचेडिएर, चेप्टिएर, थिचिएर पनि यात्रालाई सहनै पर्ने । स्वाभाविक पनि लाग्ने । उभियौँ मुग्लिङसम्मै । मुग्लिङ ओर्लिएपछि नारायणगढबाट आएको काठमाडौँको बस समात्यौँ । पर्खिरहनु पर्ने समय लागेन ।

हामी भुङलीचोक जाँदै थियौँ । फिस्लिङ हुँदै त्रिशुली नदी तरेर पारि देखिने अग्ला डाँडाहरु आजको हाम्रो यात्राको रोजाइ थियो । भुङलीचोक हाम्रालागि नयाँ ठाउँ र भूगोल भए पनि ठाउँको नामले भने उतिसाह्रो अनभिज्ञ थिएनौँ । कवि मोदनाथ मरहठ्ठा भुङलीचोकमै हुनुहुन्थ्यो र उहाँ सधैँ भेटमा भनिरहनुहुन्थ्यो– ‘लौ न एकचोटि भुङलीचोक आउनुप¥यो । कहिले आउने हो ? भुङलीचोकको सौन्दर्यसँग लेखक, कविहरुलाई गाँस्नुप¥यो ।’

मेरो घरआडकै छिमेकी हीरा श्रेष्ठ भाइको घर पनि भुङलीचोक रहेछ । भुङलीचोक छाडेर अहिले केही वर्षदेखि यता आँबुखैरेनी बस्दै आइरहेका छन् । मोदनाथ मरहठ्ठा सरलाई चिन्दा रहेछन् ।

‘अँ, त्यो सरलाई त गाउँमा सबै बूढा सर भन्छन् ।’ उनी भन्छन् ।

उमेरकै हिसाबले पनि मोदनाथ सर विद्यालयकै सबैभन्दा पाका शिक्षक हुनुहुँदो रै’छ । उमेरले साठी नाघिसक्नु भएको । तर असाध्यै उत्साही र फुर्तिला । उमेरको अन्तरले जेजस्तो भए पनि हामी चैँ थियौ समकक्षीजस्ता ।

‘तपाईंको गाउँ घुम्न जाउँ भन्या ।’ कहिलेकाहीँ म हीरा भाइलाई भनिरहन्छु ।

हीराभाइलाई पनि बेला बेलामा भुङलीचोक गाउँको घर गइरहनु पर्ने । उनका दाजुहरु उतै गाउँमा छन् । गाउँमा खेतीपातीका लागि पनि उनी गाउँमा गइरहन्छन् ।

‘दाइ भुङलीचोक जाउँ हिँड्नोस् ।’ उनी पनि मलाई भनिरहन्थे ।

तर यति सजिलै पनि कहाँ थियो मलाई आफ्नो पसल छाडेर हिँड्नु । आज भने सबै चाँजापाँजो मिलाएर हामी आँबुखैरेनीमा बसेर साहित्य सिर्जना कार्यमा लागिरहेका तीन सहकर्मीका पाइलाहरु उत्साहले उचालिएका थिए भुङलीचोकतिर ।
०००

‘एउटा नयाँ डेष्टिनेशन खोजौँ न ।’ एकदिन भगवान खनालले भन्यो ।

उनी मकहाँ आइरहने र प्रायः यस्तै घुमघामका कुराहरु गरिरहने । घुमक्कड । उसलाई कहीँ न कहीँ नयाँ ठाउँहरु घुमिरहनु पर्छ । लेखिरहनु पर्छ । एक ठाउँमा अड्न जान्दैनन् । घुमन्ते स्वभाव छ । उसलाई थाहा छ– उसको यो स्वभावको लागि उपयुक्त मान्छे हुँ म । मेरो पसलमा आउँछन् । र, प्रस्ताव फ्याँक्छन् । उसलाई यो पनि थाहा छ उसका यस्ता प्रस्तावहरुमाथि म धेरै कमजोर छु । कहिलेकाहीँ दिउँसै पसलको ढोका तानेर ऊसँगै फिरन्ता भएर हिँडिदिएको छु ।

‘क्या अनिलजी । तपाईं नि लहडी नै ।’ हिँडिसकेपछि ऊ मलाई भन्छ र हाँस्छ । उसको हाँसो पनि बेतोडको छ । उसको हाँसोलाई देख्नेहरु एकछिनपछि उसको हाँसोलाई सम्झेरै ऊमाथि नै हाँस्छन् ।

धेरैदिन हराएर एकदिन ऊ मकहाँ आइपुग्यो । धेरैदिन भनेकोचाहिँ धेरैमा दुईचार दिन । आँबुखैरेनी क्याम्पस पढाउँछन् । क्याम्पस सकेर एकचोटि आउनेचाहिँ मकहाँ नै हो । पसलमा फुत्त छिर्छन् । एउटा नयाँ घटना प्रसङ्ग सुनाइहाल्छन् । कुनै कार्यव्रmम बनाउनु छ भने अलिबेर अल्मलिन्छन् । नत्र फेरि फुत्त हिँडिहाल्छन् ।

यसरी नै एकदिन बन्यो भुङलीचोकसम्मको एउटा यात्रा । र, मोदनाथ मरहठ्ठाले धेरैदिन अघिदेखि दिएको निम्तो पनि जु¥यो । तर यस्ता यात्राहरुबाट मैले बेहोर्नु पर्ने अप्ठ्याराहरुचाहिँ धेरै रहन्छन् । म परेँ व्यापारी । सबैभन्दा निम्छरो व्यवसाय– व्यापार । अभैm स्वास्थ्यकर्मी, के चाहियो र ! सजिलै कतै फुर्सदले हिँड्न, निस्कन नपाइने । कतै डुल्न निस्कूँ, फोन आइहाल्छ– ‘बिरामी जाँच्न आ’छ ।’

एउटा तनाव सुरू भइहाल्छ । उस्तै परे जाँच्न आउनेहरु नै पसलबाट नम्बर मागेर फोन गर्छन्– ‘कहाँ हुनुहुन्छ ? कहिले आउनुहुन्छ ?’

अनि यात्रा कसरी सहज हुनु मेरालागि ?
०००

मुग्लिङदेखि फिस्लिङसम्मको यात्रा पनि उभिएरै रह्यो । बसमा नारायण पोखरेल र भगवान खनाल अगाडि उभिएका थिए । फिस्लिङमा बस रोकिएपछि उनीहरु अघि ओर्लिए । पछि ओर्लनेमा थिएँ म । म ओर्लिदा नारायण पोखरेल सडकको छेउछेउ परतिर कुद्दै थिए । नारायण पोखरेललाई पछ्याउँदै भगवान खनाल पनि कुदिरहेका थिए । म सडकबाट किनारा लागेँ । र, एकैछिन अलमल्ल परेर उनीहरुलाई हेरिरहेँ ।

‘के भो ?’ म वरैबाट सोध्दै थिएँ ।

अलि पर पुगेर नारायण पोखरेल अडिए र सडकबाट खोलापारि फर्किएर सुइय पाटेसिटी हाले ।

‘ए भगवानजी के भो ?’ उनीहरुलाई पछ्याउँदै अलि नजिकै पुगेपछि मेैले फेरि सोधेँ ।

‘पारि बस जाँदै छ ।’ उनले दौडिदै भने ।

ज्या ! अघिदेखि रुमल्लिएको मन बल्ल पो छ्याङ्ग भो । यत्तिकै लागि यस्तरी दौडिनु पथ्र्यो र ! खोलापारि मोटर भेट्न भनेर पो पाटेसिटी हाल्दै दौडिएका रै’छन् । हामीले पुलको वारि छेउ टेक्दा नारायण पोखरेल पारि छेउ पुगिसकेका थिए । हेर, अघिसम्म हिँड्न कस्सिएको हाम्रो नाथे मन ! खोला पारि बस देखेपछि भने आतुर भएर हामी बस भेट्न कुदिरहेका थियौँ । हामी हिँडिरहेको झोलुङ्गे पुलमुनि त्रिशुली नदीमा बोटिङ चलिरहेको थियो । तर त्यसको रमाइलोले हामीलाई कहाँ छोपिरहेको थियो र ? हामी हस्याङफस्याङ कुदिरहेका थियौँ । नारायण पोखरेल अघिअघि, म पछिपछि । पुल तरेर पछाडि फर्केर हेरेँ । भगवान खनाल त्रिशुली नदीमाथि चलिरहेको बोटिङको फोटाहरु लिन व्यस्त थिए ।

‘छिटो, छिटो ।’ म कराएँ ।

’आइहालेँ ।’ उनी आफ्नो क्यामरालाई क्लिक क्लिक पार्दै दौडिए ।

घुम्ती काटेर बस केही पर बिसाउनीमा रोकिएको देखियो । बस बिसाउनीमा केही घरहरु थिए । अघिको दौडाइ र हिँडाइले हाम्रो सास फुलिरहेको थियो । शरीरले थकाइ बिसाउन खोज्दै थियो । सास्ती त एकछिनको त्यो दौडाहाले पो पा¥यो । तै गाडी देखेर ढुक्क भइयो । र, बसलाई एकै झम्टा हालियो । तर भित्र हेर्दा त बस रित्तै । न यात्रुहरु छन् । न ड्राइभर छ । थुक्क ! बित्थैमा पो सास्ती भोग्नु दौडिएछ ।

बसनिर उभिएरै यताउति अन्य मानिसहरुको उपस्थितिलाई खोज्यौँ । वरिपरि कोही देखिएनन् । दोधारले छोप्यो । यो बस कहाँ जाने होला ? बस भुङलीचोक नै जाने पो हो कि होइन ? घामको ओझेल बढ्दै थियो । कुर्दाकुर्दै बस नजाने भइदियो भने ? छटपटी पो बढ्यो । त्यसैबेला नारायण पोखरेलको मोबाइल बज्यो । फोन मोदनाथ सरको थियो । सबै वस्तुस्थिति बतायौँ ।

‘बस दर्बुङ जाने हो कि भुङलीचोक, सोध्नुहोला ।’ मोदनाथ सर भन्दै हुनुहुन्थ्यो ।

झनै अन्योल बढ्यो । त्यसैबेला नजिकैको होटलबाट निस्किएर दुईजना अधबैँसे उमेरका लोग्नेमान्छे हाम्रो छेवैबाट बसमा चढेर बसे । हामी अलमलिएरै बसनिर उभिएर यताउतिका दृश्यहरु हेरिरहेका थियौँ । मन मात्र होइन मेरो हातको नाडीघडीको सुई पनि उस्तै आतुरीसँग दौडिरहेको थियो ।

‘कहाँ जाने हो तपाईंहरु ?’ अघि बस चढ्नेहरुले हामीलाई सोधे ।

‘यो बस भुङलीचोक जाने हो ?’ नारायण पोखरेलले ढोकाबाट भित्र उक्लिएर उनीहरुलाई सोधे ।

‘हो, हो, आउनोस् ।’ उनीहरुले भने ।

हामीलाई नौलो देखेर उनीहरु अझै सोध्दै थिए– ‘कहाँ जाने हो तपाईहरु ?’

‘भुङलीचोक हो ।’ हामीले भन्यौँ ।

‘आउनुस्, आउनुस् ।’ उनीहरु भन्दै थिए ।

केहीबेरमै बस आधाआधी भरियो । ढुक्क हुन कहाँ सकिन्थ्यो र ! कहिलेकाहीँ मान्छे भनेजति भएन भने गाडी ड्राइभर बेसीमै बास बसिदिन्छ भन्ने पनि सुन्यौं । अब खलासी भरोसा । खलासीले गाडीमा भएको मान्छे गनेर पर होटलभित्र छिरे । हामीले दुविधापूर्ण आँखाहरुले होटलतिर चिहाइरह्यौँ । एकछिनपछि ड्राइभर र खलासी दुवै होटलबाट बाहिर निस्किए । अब गाडी हिँड्ने भयो भनेपछि हामी गाडी चढ्यौँ । भगवान खनाल बीच सिटतिर गएर बसे । नारायण पोखरेल र म अलि अघिल्तिर बस्यौ“ । बसका सबै सिट आधासरो धुलोले छोपिएका देखिन्थे । बसभित्र हामीलाई नयाँ देखेरै होला सायद एक दुईजना भने हामीलाई कहाँ ? के ? कसो ? सोधिरहेका थिए । उनीहरुको मुखबाट ह्वास्स रक्सीको कडा गन्ध आइरहेको थियो र त्यो गन्धले उनीहरुसँगै रहेको भगवान खनाललाई भने असह्य बनाइरहेको देखिन्थ्यो । उनी त्यो चर्को गन्धबाट उम्कन कहिले उठ्दै र कहिले बस्दै हामीतिर हेरेर एउटा अप्ठ्यारो हाँसो हाँस्दै थिए ।

ड्राइभरले बस स्टार्ट गरेर अघि बढ्यो ।

’घच्याक्क’ अलिपर पुगेर बसले बेस्मारी ब्रेक मा¥यो । बस लरक्क लर्कियो दाहिना छेउतिर । सिटबाट उछिट्टिएको मेरो शरीर अघिल्लो सिटमा पुगेर नराम्ररी ठोक्कियो ।

’मा¥यो बज्जेले ।’ छेउकी बूढी आमै कराइन् ।

‘हैन, के गरेर चलाको ।’ पछाडिबाट कराउँदै थिए सबै ।

ठोक्किएको घँुडो मुसार्दै उठेँ । बाटोमा ठूलो खाल्डो रैछ । ड्राइभरले स्टेयरिङ घुमाउँदै खाल्डोबाट बसलाई सन्तुलनले निकाल्दै थिए । बाटोको अवस्था गतिलो थिएन । खोल्सा हो कि सडक छुट्याउन गाह्रो थियो ।

‘बाटो यस्तै हो ।’ ढोकामा उभिएको खलासी हामीतिर हेरेर हाँस्दै थिए । उसलाई भने यो सबै सामान्य थियो । बसको अघिल्तिरको शीशाबाट हेरेँ । कच्ची सडकलाई बर्खाको पानीले खोतलेर खोल्साखोल्सी बनाएको देखिन्थ्यो र बसको पाङ्ग्रासम्म अड्न सक्ने थियो सडक किनाराहरु । दाहिना छेउतिर भिरालो परेर त्रिशुलीको किनारसम्म ठोस्सिन पुगेको अग्लो भीर थियो । उँधो भीरतिर हेरेपछि जिरिङ आङ फुल्यो । बसको सिट छाडेर खलासीसँगै ढोकामा उभिन पुगेँ ।

‘बस छेउतिर लरक्कै भयो भने त ।’ एउटा मनले सोच्यो ।

‘लरक्क’, ‘लरक्क’

कहिले दायाँ कहिले बायाँ लर्किदै बसले एउटा गौँडो छिचोल्यो । घरिघरि त्यो उकालोमा मोड नपुगेर बस घच्याक्क रोकिन्थ्यो । खलासी ओर्लिएर बसको पछाडि कुद्थ्यो । ‘ड्याङ्गड्याङ्ग, ड्याङ्गड्याङ्ग’ ऊ बसको पछिल्लो ढोकालाई हिर्काउँदै ड्राइभरलाई बस पछाडि हटाउन इसारा दिन्थ्यो । ढोकानिर उभिएको म भने चिसो हुँदै कहिले भीर हेर्थें, कहिले ड्राइभर र खलासीलाई हेर्थें । आफ्नो हातको नाडी नै बटारिने गरी ड्राइभर स्टेयरिङ घुमाउँथ्यो र बसलाई मोडबाट निकालेर अघि बढाउँथ्यो ।

‘ड्राइभरचाहिँ ज्याद्रो नै हो ।’ मनले भन्यो ।

कच्ची सडकको किनाराको रौँ नापेर बस गुडाउनु पर्ने ड्राइभरको आँट र ड्राइभरको हातमा आफ्नो जीवन सुम्पेरै गाडी चढ्नु पर्ने अवस्था देखेपछि भने मैले ड्राइभरलाई जिस्क्याएँ– ‘लौ गुरुजी, यो बाटोमा त पहिले मुटु झिकेर तपाईंलाई सुम्पेपछि बल्ल पो गाडी चढ्नु पर्ने रैछ ।’

गुरुजी हाँसे ।

उनी रहेछन् पनि भरलाग्दा । त्यो जोखिमसँग खेलेरै दुई वर्षदेखि उनी त्यहाँ गाडी कुदाइरहेका रहेछन् । र, भुङलीचोक र आसपासका स्थानीय गाउँलेहरुका यात्रालाई सुगम बनाइरहेका रहेछन् । तर यो जोखिमलाई मोलेरै गाउँलेहरुले सधैँ कसरी हिँड्दा हुन् यो कहालिलाग्दो भीरहरुको मोटरयात्रा ! यो विकटमा यस्ता बाध्यतापूर्ण जीवन जिउने कलाले पनि हामी नेपालीहरु साँच्चै नै अभ्यस्त बनिसकेका छौँ भन्ने लागिरह्यो मलाई ।

आइडाँडाबाट पछाडि फर्केर हेर्दा फिस्लिङ त कता हो कता हवाईजहाजबाट तल जमिनलाई हेर्दा देखिने भूदृश्यझैं पर । फिस्लिङका मसिना घरहरु, मसिना धागो तानेजस्ता पृथ्वी राजमार्गको सडक, थुम्काजस्ता डाँडाहरु, किरिङमिरिङ परेको त्रिशुली नदी । क्षणभरको लागि आँखालाई बाँध्ने रोमाञ्चकारी दृश्यहरु थिए ती ।

आइडाँडा ! नाम सुन्दा अचम्मलाग्दो डाँडो थियो त्यो । गाउँ रहेछ । कसरी रह्यो होला यस गाउँको नाम आइडाँडा ? एउटा खुल्दुली मनमा खेलिरह्यो । यहीँबाट छुटिँदो रहेछ दर्बुङ जाने बाटो । फिस्लिङ र भुङलीचोकको मिड्प्वाइण्ट रहेछ आइडाँडा । यहाँ आइपुगेपछि भुङलीचोक जाने आधा बाटो हामीले तय गरिसकेछौँ ।

आइडाँडाबाट बस उकालो लागेपछि त्यो कच्ची सडकको अवस्था, सडकको मोड, मोडपछिको उकालो देख्दा मनभरि प्रश्नहरु उठिरहे । यो सडक मोटरयात्राको लागि कति सुरक्षित छ ? कसले यो सडकको इन्जिनियरिङ इष्टिमेट ग¥यो होला ? जिविसले कसरी यो सडक पास ग¥यो ? बाटोको कुनै अनुगमन पनि छैन । कसले निगरानी गर्ला यी सडकहरु ? र, कुन मापडण्डले बने होलान् ? हामीले बसभित्र रहेका स्थानीयहरुसँग सोध्यौ“ पनि । तर यस सडक निर्माणको लागि जिविसको कुनै सहयोग, अनुदान भने रहेनछ । स्थानीय गाउँलेहरुको रकमले यो सडक खनिएको रहेछ । कुनै प्राविधिक सहयोग पनि रहेनछ । स्थानीय जनसहभागितामा सडक खन्ने यति उदाहरणीय कार्य हँुदाहँुदै पनि किन कतैबाट यसको प्राविधिक कार्यप्रति ध्यान नपुगेको होला ? किन सरकारी सहयोग र पहुँच नपुगेको होला ? बसभित्र स्थानीयहरुसँग हाम्रो छलफल पनि यस्तै रह्यो ।

आहा ! बस बाहिरका दृश्यहरुले हाम्रा आँखाहरु एक्कासि रमाए । पाखाभरि पोखिएको पहोलो घाममा पहेँलपुर सुन्तलाहरु । छपक्कै सुन्तलाका बोटहरु । कान्ला परेका गराहरु र कोदाको रहरलाग्दो अग्ला नल । बारीभरि जताततै रहरलाग्दा केराउ खेती । सेतै पूmल खेलिरहेका केराउ । केराउका मनग्य कोसाहरु । दृश्य निकै मोहित देखिन्थ्यो । भगवान खनालको क्यामरा यी दृश्यहरुलाई खिच्न आतुर भएर झ्याल बाहिर सोझियो ।

‘के गाउँ हो यो ?’ हामीले सोध्यौा ।

‘बिजौरे ।’ बसका स्थानीयले भने ।

बसमा रहेका केही स्थानीयहरु त त्यहीँ ओर्लनेहरु पनि रहेछन् । भुङलीचोक गाविसभरिमै सबैभन्दा राम्रो सुन्तला उत्पादन हुने गाउँ रहेछ बिजौरे । हामी पत्रकारहरु हौा भन्ने थाहा भएपछि उनीहरुले फर्कंदा बिजौरे गाउँ पसेर सुन्तला खाने निम्ता पनि दिए हामीलाई ।

बिजौरेलाई छाडेर बस अलि माथि एउटा डाँडोमा पुगेपछि तल देखिएको बिजौरे गाउँ झनै सुन्दर देखियो । गाउँका केही फोटाहरु खिच्न हामीले ड्राइभर भाइलाई बस एकैछिन रोकिदिन अनुरोध ग¥यौँ । पारि दक्षिणतिर चितवनका अग्ला डाँडाहरु देखिन्थे । दारेचोक गाउँपालिकाको एउटा अग्लो डाँडाबाट बिस्तारै घाम ओझेल पर्दै थियो । र, गर्भाशय आकारको त्यो अग्लो डाँडाको कापबाट स्खलित भइरहेको घामको त्यो निकै सुन्दर दृश्यलाई मैले आफ्नो क्यामरामा कैद गर्न खोज्दाखोज्दै घाम डाँडाबाट लोप भयो । मन साह्रै खिन्न भयो । प्रकृतिका यस्ता विरलै दृश्यहरुलाई सजिलै कहाँ देख्न र समेट्न सकिन्छ र फेरि कहिल्यै ? मलाई धेरैबेरसम्म पनि त्यो दृश्यलाई क्यामरामा कैद गर्न नसकेकोमा पछुतो र छट्पटी भइरह्यो ।
०००
भद्रकाली माविको त्यो फराकिलो चौरमा बसले हामीलाई ओरालेपछि हामीले भुङलीचोक गाउँ टेक्यौँ भन्ने थाहा भयो । अब हामीले सम्पर्क गर्नु थियो मोदनाथ मरहठ्ठा सरसँग ।

‘बुढाको फोन नै लाग्दैन ।’ गाडीबाट ओर्लिएर नारायण पोखरेल मोबाइलमा औालाहरु थिच्दै हुनुहुन्थ्यो । मोबाइल सम्पर्क हुन नसकेपछि उहाँ भुतभुताउँदै हुनुहुन्थ्यो– ‘गाडी आ’को त थाहा पाउनुपर्ने हो ।’

चौरमा केटाकेटीहरु बल खेल्दै थिए । हामीले उनीहरुसँग मोदनाथ मरहठ्ठा सर बसेको घर सोध्यौा । उनीहरु एकैछिन् अल्मलिए । एकअर्कामा मुखामुख गरे र हामीतिर हेरे ।

‘बुढा सर, बुढा सर ।’ केटाकेटीहरु खासखुसी गर्दै थिए ।

‘हामी सरका साथीहरु हौँ ।’ हामीले भन्यौँ ।

उनीहरुले हामीतिर हेरेर अल्मलिँदै मोदनाथ सर बसेको घरतिर लाग्ने बाटो देखाइदिए । केही पर पुगेर दुईतिर फाटिएको बाटोमा हामी अल्मलिँदै थियौँ, केही तल देखिएको ठूल्ठूला गराका कान्लाहरु फाल हान्दै भगवान खनाल त पुगिसकेछन् बारीभरि फलेका केराउ खेतीको फोटो खिच्न । हैन, यो गाउँमा केराउ पनि कस्तरी हँ ! बारी पनि ठूल्ठूला गरा परेका । बारीभरि केराउका फूल खेलेका छन्, सेताम्मै । हाम्रा आँखाहरु केराउका फूलहरुमा रमाएर खेलिरहे । एकैछिनपछि हामी केराउका बारीहरुलाई छाडेर बाटोमा उक्लियौँ ।

‘हेल्लो अनिल सर ।’ टाउको, कान र मुखलाई गलबन्दीले छोपेर सामुन्नेबाट आइरहेका दुईजनामध्ये एकजनाले हामी उभिएको बाटोछेउ आइपुगेर मलाई बोलाए । एकछिन अलमल्ल परियो । उसले गलबन्दी खोलेपछि पो थाहा भो चिनजानका साथी रहेछन्, सविन श्रेष्ठ । दुवै हाँसियो ।

सविनजीको घर पनि भुङलीचोक । छिमेकी हीरा भाइको नजिकको आफन्त । आँबुखैरेनी जाँदा हीरा भाइनिर गइरहनुहुन्थ्यो । त्यहीा परिचय भएको थियो । उहाँ पनि भद्रकाली स्कुलको शिक्षक हुनुहुँदो रैछ । सविनजीलाई भेटेपछि हामीलाई मोदनाथ सरसम्म पुग्न अब कुनै गाह्रो भएन । सविनजीको घरमा पुगेर चिया पियौँ । चिया पिउँदै गर्दा उहाँले आफ्नो बारीबाट एक झोला सुन्तला टिपेर ल्याउनुभयो । सुन्तला पनि खायोँ । मोदनाथ सर बसेको घर सविनजीको काकाको घर रहेछ । धेरै टाढा रै’नछ । सविनजीसँगै लाग्यौँ त्यतातिर ।

साँझको बत्ती बलिसकेको थियो गाउँमा । हामीले मोदनाथ सर बसेको घरको आँगन टेक्दा उहाँले तगारामै हामीसँग हात मिलाउन आइपुग्नुभयो । हामी आएको खबर अघि नै पाइसक्नु भएको रहेछ । अँध्यारोमा भ¥याङ उक्लेर हामी अटाली चढ्यौँ । म्याडम खाना बनाउँदै हुनुहुँदोरैछ । अटालीमा गुन्द्री हालेर बस्यौँ । मोदनाथ सरको त्यो साँझको पाहुना हुन पुगेका हामी । खानपान र मेजमानी चल्यो । भुङलीचोकको साँझको चिसोमा कोदाको भ्mवाइँखट्टे तयार भयो । झ्वाइँखट्टेले निकालेको भगवान खनालको हाँसो । हाँसोको रोबै अलग । उसको हाँसोको खित्काले त्यो रात भुङलीचोकमा हाम्रो उपस्थितिलाई दरो गरी ब्युँझाइरहेको थियो । राति अबेरसम्म नारायण पोखरेलको महाकाव्यको श्रवण गरियो । उनले अमरगाथा महाकाव्य लेख्दै थिए ।
०००

‘मगर भाषामा भुङ भनेको भीर । गुरुङ भाषामा लिङ भनेको बस्ती । नेवार भाषामा चो भनेको थुम्का वा डाँडा । अर्थात् यसको संयुक्त अर्थ थुम्का या भिरालो परेको बस्ती भन्ने बुझिन्छ । यो ठाउँ नेवार, गुरुङ र मगरहरुको मिश्रित बस्ती भएकोले यो गाउँको नाम भुङली चो रहेको हो । पछि बोलीचाली हुँदै जाँदा भुङलीचोक भएको हो ।’ बिहान चिया पिउँदै गर्दा मोदनाथ सर भुङलीचोकको नामको अर्थ लगाउँदै हुनुहुन्थ्यो ।

मनासिव लाग्यो । दक्षिणतिर फर्किएर भिरालो भू–बनोट परेको यो बाक्लो बस्ती नेवार, मगर, चेपाङ र गुरुङको मिश्रित गाउँ थियो । सुन्तला यहाँको मुख्य आम्दानी थियो । राजमा, केराउ, कोदो, आलु, फापर यहाँको अन्य कृषिजन्य उत्पादनहरु थिए ।

चिया पिइसकेपछि भुङलीचोकलाई चहार्न निस्क्यौँ । माओवादी द्वन्द्वकालमा युद्धबाट सबैभन्दा बढी प्रभावित रहेछ यो गाउँ । स्थानीय एकजना विद्यार्थी शङ्कर थापालाई माओवादीको नाममा शाही सेनाद्वारा रुखमा झुण्ड्याएर गोली हानी हत्या गरेको वीभत्स कथा पनि स्थानीयहरुबाट सुनियो त्यहाँ । माओवादीबाट ध्वस्त पारिएको गाविसको क्षतविक्षत भवन देखियो बाटोमा । युद्धका चोटहरुलाई बिर्सन नसकिरहेको यो गाउँ अभैm द्वन्द्वकालको घाउहरुलाई बोकेर बाँचिरहेको थियो । हामी हटिया, माझगाउँ, पोखरी हुँदै उँभो पहाडको सिरानमा रहेको भैरवीटारतिर उकालिँदै थियौँ । बाटो सफा देखिन्थ्यो । ढुङ्गाका सिँढीहरु बढारिएका देखिन्थे । स्थानीय बालक्लबका साना भाइबहिनीहरुले प्रत्येक औँसी र पूर्णिमाको दिन बाटो सफा गर्ने चलन रहेछ । पोखरी गाउँमा आइपुगेपछि बाटोबाटै देखियो सहिद शङ्कर थापाको घर । रुग्ण देखिन्थ्यो घर । अझै पनि शोकग्रस्त । घरमा कोही देखिएनन् ।

पोखरी गाउँलाई छाडेर अलि उँभो पहाडलाई टेकिसकेपछि आँखाहरु उत्तरका हिमालसँग ठोक्किए । मनमोहक देखिन्थे हिमालका दृश्यहरु । पश्चिमपट्टि मनकामना र बकेश्वरीका डाँडाहरु छन् । दक्षिणमा चितवनका दारेचोक, काउले र इच्छाकामनाका अग्ला पहाडहरु देखिन्छन् । हामी भैरवीटारको त्यो अग्लो पहाडलाई टेक्दै जति अग्लिन्छौँ, वारिपारिका डाँडाहरु उत्तिकै स–साना थुम्काथुम्की जस्ता लाग्छन् ।

‘वाउ…।’ हामीले त्यो अग्लो पहाडको सिरानलाई टेकेपछि अनायासै मेरो मुखबाट शब्दहरु निस्कन्छ । आँखाहरु आश्चर्यले चारैतिर फैलिन्छन् । मन खुसीले एकतमास बन्छ । र, त्यो बिहानको बतासले मनलाई आनन्दित बनाउँछ ।

‘यै हो भैरवीटार ।’ हाम्रा खुसीहरुमा रमाउँदै मोदनाथ सर भन्नुहुन्छ ।

पहाडको टुप्पालाई चटक्क तलवारले एकैचोटि काटेझैं देखिने त्यो फराकिलो टार । ठूला हवाईजहाज पनि सजिलै अट्न सक्ने त्यो समथर चौर । वरिपरिबाट बाक्लो जङ्गलले घेरिएर बीचमा बनेको त्यो टुँडिखेल । जङ्गलका पोथ्राहरुबाट भुइँमा खसिरहेको कलिलो घाम । लहरै फुलिरहेका हिमाल र छेवैको पोखरीबाट लहरिँदै उठिरहेका त्यसका छायाँहरु । रुखका हाँगाहरुमा बिहानको त्यो बताससँग खेलिरहेका चराहरुका चिरबिर स्वर । हामी मुग्ध बनेर भैरवीटारको त्यो सौन्दर्यलाई पछ्याउँदै थियौँ ।

‘सटासट’, ‘सटासट’,

हाम्रा क्यामराहरुले आफूभित्र कैद गरिरहेका थिए प्रकृतिका यी अनुपम दृश्यहरुलाई । कुनै बेलाको सामरिक किल्ला थियो होला यो ठाउँ । पक्कै पनि कुनै फौजी प्रयोजनको लागि यो ठाउँको निर्माण र प्रयोग गरिएको थियो कि ? अवश्य पनि इतिहासको कुनै कालखण्ड र त्यसको अवशेष लुकेको हुनुपर्छ यहाँको जमिनसँग ।

यो ठाउँलाई किन भैरवीटार भनेका होलान् ? कहिलेदेखि यो नामले प्रचलन पायो होला ? मेरो मानसमा यस्तै धेरै प्रश्नहरु खेलिरहे । माओवादी जनयुद्धको पछिल्लो समय विद्रोहीहरुले यस ठाउँलाई आफ्नो प्रशिक्षण केन्द्रकै रुपमा प्रयोग गर्दै आएका थिए रे । यहाँ धेरै ठूला सैन्य प्रशिक्षणहरु पनि चलाएका थिए रे । यसबाट पनि यो ठाउँको सामरिक महत्व र इतिहासमा भएका युद्धका भग्नावशेषको अध्ययन गर्न सकिन्छ ।

प्रकृतिको त्यो रमणीयतालाई छाडेर हामीले आखिर त्यहाँबाट फर्कनु नै थियो । घडीमा एघार बजिसकेको थियो । हामी त्यो अग्लो पहाडको सिरानलाई छाडेर फेरि तल ओर्लियौँ । खाना खानको लागि म्याडम हामीलाई पर्खिरहनु भएको थियो । हामीले खाना खाइवरी मोदनाथ सर र म्याडमसँग बिदा मागेर हिँड्यौँ । मोदनाथ सर हामीलाई तल कोराक गाउँसम्म छोड्न आउनुभयो । कोराक गाउँमै हात हल्लाएर मोदनाथ सरसँग फेरि छुट्यौँ ।

कोराक गाउँदेखि ओरालियो हाम्रो बाटो । आफ्नो मनलाई भुङलीचोकमै छाडेर अब हामी घामलाई सिरान हालेर कोराकको ओरालो ओर्लिरहेका थियौँ । पारि देखिन्थ्यो फिस्लिङ बजार । उँधो नदीका खोँचहरु देखिन्थे । र, त्रिशुली नदी आफ्नै मग्नतामा बगिरहेको थियो । त्यो ओरालोमा ओर्लिरहँदा तल त्रिशुली नदीका खोँचहरुबाट बतासिँदै आएको बताससँगै म सुसेलिइरहेँ–

फिस्लिङको बजार
मेरो माया तिम्लाई भो हजार
किरमिरे, जाली रुमाल

शब्दाङ्कुर– २०७०

%d bloggers like this: