बन्दी बुबालाई पत्र

0
1712

बिहानैदेखि आकाश धमिलो छ । बाथको रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिदोले मुर्झाएको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकाश । जेलका पर्खालहरुले मात्र होइन, कुहिरोका पातला पर्दाहरुले पनि मन कैद छ यतिबेला । 

साँघुरो छ जेल । जेलका चिसा छिँडीहरुजस्ता साँघुरा छन् बन्दीहरुलाई राखिने यी कोठाहरु । मुस्किलले पाँच सात जना अट्ने यो एउटा कोठा हामी तेह्र जना बन्दीहरुका लागि अहिले अर्को यातनागृह बनेको छ । चिसो बतासले मडार्दै ल्याएको नजिकैको पाइखाना र ढलको दुर्गन्धले नाकलाई झनै अरु असह्य बनाउँछ । 

म हातमा एउटा साप्ताहिक पत्रिका लिएर पढ्न बसेको छु । घरि घरि नाकमा बेस्मारी ठोस्सिन आइपुग्ने चर्को दुर्गन्धले मेरो पढ्ने क्रमलाई बिथोलिदिन्छ । र, म नाक छोपेर बस्छु । सासलाई थुन्छु । कम्बलले गुटुमुटिएर फेरि म त्यो परको फलामका बारहरुले छेलिएर बसेको आगन्तुक कक्ष बाहिर हेर्छु, जहाँबाट भर्खरै ड्युटीका प्रहरीले ट्वाङ्, ट्वाङ् घण्टी हिर्काउँछ । 

सधैं दोहोरिरहने यही एउटै क्रम ।

र, यो दुर्गन्धलाई वर्षौदेखि यातनापूर्वक झेल्दै आइरहेको मेरो जेलजीवन ! 

कोठाभित्र कोलाहल छ । र, फेरि पनि एकतमास छ वातावरण । सबैका आँखाहरुले शुन्यता र उदासी पोखिरहेछ । सबैको मन बिरानो छ । एक्लो र उद्धिग्न । एक किसिमको खालीपन । कहिलेकाहीँ मनका कतिपय उस्तैउस्तै मिल्दाजुल्दा गाँठाहरुलाई एकै ठाउँ फुकाएर हामी सामुहिक रुपमा हाँस्ने गर्छौ । हाम्रो हाँसो पनि यो मुलुकको प्रशासनलाई मन पर्दैन । जासुस लाग्छ । 

यहाँ धेरै किसिमका थुनुवाहरु छन् । बन्दीहरु छन् । कसैका चोरी मुद्दाहरु छन् । कोही हत्या अपराधमा सजाय काटिरहेका छन् । धेरैजसोका राजनैतिक मुद्दा छन् । राजद्रोही । सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा लगाएर यहाँ राखिएका छन् । राजनीतिमा समातिएर यहाँ ल्याइएकाहरु भने अलि बढी बहिर्मुखी छन् । विद्रोही स्वभावका । उनीहरुका जीवनमुखी कुराहरु हुन्छन् । 

जेल भनेको त राज्यको अन्याय र विभेदपूर्ण शासनको प्रतिच्छाया झैं लाग्छ । एउटा न्यायपूर्ण राज्यभित्र त जेलको अस्तित्व नै रहँदैन सायद । राज्यले सुशासन दिने हो भने किन चाहियो जेल ? राज्यको असमान र विभेदपूर्ण व्यवहारले नै समाजमा विखण्डन पैदा गरिदिएको छ । अनि त्यही विखण्डनले समाजलाई बाँडिदिएको छ– दुई चिरा पारेर । ऊँचनीच, ठूलोसानो, छुतअछुत, बलिया र निर्धा राज्यको शासनप्रणाली बनेको छ । अनि त्यहीँबाट सुरू भएको छ राज्यको विभेदकारी व्यवहार । बेरोजगारी, लुट, चोरी, डकैती, हत्या र नागरिकको असुरक्षा राज्यको दैनिक सूची बनेको छ । कानुनले राज्यको पहँुचवालाहरुलाई छेकबार गर्दैन । जेल त निर्धाहरुलाई हो । निमुखालाई हो । 

एउटा एकाग्रताबाट हटेर फेरि पत्रिका पढ्छु । आँखाहरु सर्सर्ती कुद्छन् पत्रिकाका समाचार पृष्ठ र कोलमहरुमा । एउटा उत्सुकताले एउटा कोलमको शीर्षकमा आँखाहरु फेरि टक्क अडिन्छन् एकैछिन । त्यहाँ लेखिएको थियो – ‘बन्दी बुबालाई पत्र ।’

शीर्षक आँखामा आएर बस्छ । चिठीको शैलीमा लेखिएको थियो त्यो । 

पढ्छु, …….

प्यारो बुबा,

आज फेरि तपाईंका सम्झनाहरु मेरा आँखाअघिल्तिर खेलिरहेका छन् । र, म यो एकान्तमा तपाईंका सम्झनाहरुसँग एकालाप गर्दै छु । धेरै दिनदेखि तपाईंको सुर्ताले छोइरहेछ । नजिकै हुनुभएको भए भन्नुहुन्थ्यो– ‘सुर्ता नगर ।’ मेरो गालामा स्नेहले चिमोट्दै तपाईं सधैंझैं भन्नुहुन्थ्यो होला, ‘यी पर्खालहरु पनि हाम्रा लागि एकदिन खुल्ला हुनेछन् ।’ तर, सुर्ताले किन छाड्थ्यो ! जस्तै लाग्दैन भने पनि सुर्ताले आँखाहरुबाट चिहाउँथ्यो । कहिले आमाका आँखाहरुबाट । कहिले हजुरबाका आँखाहरुबाट । भाइबैनीका आँखाहरुले सधैं एउटा रिक्तता पोख्छ । घरभित्र जब अभावको बल मिच्याइँ चल्थ्यो अनि सुर्ता त बढ््थ्यो नै । तपाईंलाई जेल सरुवा गरेपछि झन् त्यो सुर्ता अरु बढेको छ । साल बितेछ, तपाईंसँग भेट टाढा भएको । निद्रामा सधैं बर्बराइ मात्र रहनुहुन्छ हजुरबा, ‘नानी तेरा बा आएजस्तो छ, ढोका खोली दे त ।’ आजकल आँखा उतिसाह्रो देख्नुहुन्न । टाढाको देख्न छाड्नु भएको छ । बेलुकी कोही घरको छेउबाट हिँड्यो भने सोध्नुहुन्छ, ‘को ? कान्छा हो ?’ 

कसैले स्वर दिए चिन्नुहुन्छ ।

‘ए….. !’ हजुरबाको एउटा उदास स्वर पोखिन्छ पिँढीमा ।

म सोध्दिनँ बुबा, तपाईं त्यो जेलभित्र आराम हुनुहुन्छ ? कि हुनुहुन्न ? यो देशको कुशासनको जञ्जीरले बाँधिएर एउटा सुदुर भूगोलको जेलभित्र तपाईंका यी दिनहरु कसरी सुखपूर्वक बित्न सक्छन् ! तपाईंले यातनापूर्वक बिताइरहनु भएका यी दिनहरुलाई म कल्पनासम्म पनि कसरी गर्न सक्छु । कहालिन्छ मन । शासकहरु साँच्चै क्रूर हुन्छन् बुबा । तर जुनसुकै एकान्तवासको सजायले पनि तपाईंको आस्थालाई गाल्न सक्दैन त्यो मलाई थाहा छ । …….

चिठीले भावुक बनायो मलाई । छोरीले बुुबालाई लेखेको चिठी थियो । अनायासै छोरीलाई सम्झिरहेँ । छोरीको एउटा सग्लो आकृति चिठीका हरफहरुसँगै लुटुपुटिएर आँखामा खेलिरहे । 

चिठीलाई फेरि पढ्छु– एउटा तन्मयतामा ।

‘ ……..यो बीसौं शदीको अन्त्यतिर आइपुग्दा पनि हामी उही मध्ययुगीन समयको बर्बर छायाँमुनि बाँच्न विवश छौं । देश लुट्नेहरुकै रजाइँ छ यहाँ । लुट्नेहरुकै शासन चल्छ । सामन्तहरु देश चलाइरहेका छन् । लुटाहाहरु शासक बनेका छन् । बन्दुकले देश चल्छ । र, नागरिकको छातीमाथि शासकहरु सङ्गीन धस्छ । दिनदहाडै महिलाहरु लुटिन्छन् र नदीका किनारहरुमा फ्याँकिन्छन् । शासकहरु पहिले लाहुर भर्तीकेन्द्रहरु खोल्थे र नेपाली छोराहरुलाई विदेशी भूमिको युद्धमा होम्थे । अहिले उनीहरुलाई अरब मुलुकहरु लखेटिरहेका छन् र राज्यमा बस्नेहरु उनीहरुका रेमिटेन्स खाइरहेका छन् । जसले यो मुलुकको परिवर्तनको लागि लडे तपाईं लगायतका ती योद्धाहरु अझै पनि जेलका कैदी बनिरहेका छन् । 

बुबा, भर्खरै देशमा एउटा आन्दोलन चल्यो । धेरैले बलिदान दिए परिवर्तनका निम्ति । सहिदको रगतले आहाल बन्यो देश । देशले प्रजातन्त्र पायो रे भन्छन् । उही सामन्तहरुलाई सिरानमा हालेर प्रजातन्त्रको यो कस्तो परिभाषा आयो कुन्नि ! यो कस्तो उल्लासहीन प्रजातन्त्र हो ? सत्ता उही छ । तानाशाहहरु उही छन् । अन्याय र अत्याचार उस्तै छ । विवेकहीनहरु सरकार चलाउँछन् । हामी नारीहरुले त झोलामा खुर्सानीको धुलो र खल्तीमा ब्लेडका टुक्राहरु बोकेर आत्मरक्षाका लागि हिँड्नु पर्ने रे । यो देशको प्रधानमन्त्रीले हामीलाई यसै भन्छ । कति निर्लज्ज छ यो देशको सरकार ! जब यो देशको कार्यकारी प्रधानमन्त्री यो देशको नागरिक महिलामाथि नै यति मजाकले बोल्छन् भने हामीले कहाँनिर खोज्ने मुलुकको न्याय र कानुन प्रणाली ? के हामी ठट्टाका पात्रहरु मात्र हौं ? हाम्रा विषयहरु सधैं ठट्टाका विषयहरु मात्र बन्छन् ? हाम्रा आवाजहरुप्रति कसैले संवेदनशील बन्नुपर्दैन ? के हामीमाथि सधैं यसरी नै हँसीमजाक चल्छ । के प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्तिप्रति जवाफदेही बन्नु पर्दैन ? हामी महिलाले यो देशको प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ भनेर भन्यौं । 

हामी महिलाको अवस्था झनै कमजोर र दयनीय बन्दै छ । देशको आधा धर्ती ओगटेका हामी महिला भन्छौं । राज्यले महिलाको समान अधिकारको कुराहरु गर्छ । फेरि पनि हामी दोहोरो शोषणमा छौं । पहिलो शोषण राज्यले गर्छ । दोस्रो शोषण धर्म र संस्कृतिको नाउँमा परिवारले गर्छ । अझै पनि म सम्झन्छु तपाईंको एउटा किताबबाट पढेको शास्त्रको वाक्यांश –

 “पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने,

पुत्रो रक्षति वाद्धक्ये, न स्त्री स्वातन्त्रय म¥हती ।”       

अर्थात, नारीले सानो छँदा बुवाको, विवाहअघि दाजुभाइको, विवाहपछि लोग्नेको र वृद्ध अवस्थामा पुत्रको अधीनमा रहनुपर्छ । अर्थात स्त्री जातिले कहिल्यै स्वतन्त्र हुनु हुँदैन । स्त्रीले सधैं दासी भएर रहनू । ओहो ! धर्मको यो विषसमान अहङ्कारले घरभित्रै हामी महिलालाई कस्तरी डसिरहेछ । किन दिनदहाडै जलिरहेका छन् महिला ? किन महिलालाई दिसा खुवाएर सामाजिक बहिष्कार गर्छ समाज ? र, कसले चलाउँछ महिलाविरुद्धको यो विभेदकारी कानुन ? समाजको आवरणमा लुकिरहेका विषधारीहरु फँणा उचालेर किन ‘स्याँक्क’ ‘स्याँक्क’ डस्छ हामीलाई ? 

प्यारो बुबा, 

धेरै समयपछि तपाईंलाई यो चिठी लेख्दै छु । सधैं तपाईंको अगाडि सरेर बोल्नै पनि धक मानेर लजाउँदै आमाको पछाडि लुकी हिँड्थें म । प्रायः घरबाट टाढा रहेर कमै घरमा उपस्थिति हुने तपाईंका पदचापहरु मलाई नौलो लाग्थ्यो । प्रायः घरभित्र तपाईंको उपस्थिति राति हुन्थ्यो । रातिको धमिलो उज्यालोमा मेरो अर्धनिद्रामा तपाईंको अनुहार खेल्थ्यो । बिहान ब्युँझदा तपाईं हुनुहुन्नथ्यो । सपनाजस्तै लाग्थ्यो मलाई । कहिलेकाहीँ आमाको सुक्सुकाइरहेको आवाज र तपाईंको गुन्गुनाइरहेको मसिनो स्वर मेरो निद्रामै कानमा खेल्थ्यो । बिहान धेरैबेरसम्म पनि त्यो स्वर मेरो कानमा गुञ्जिरहेको आभास हुन्थ्यो । मैले जहिल्यै पनि अँध्यारोमा तपाईंको मुहार खोज्ने प्रयास गरें । तर आज लाग्दैछ तपाईं मेरो आदर्श बुबा मात्र हुनुहुन्न, मेरा महान गुरु पनि हुनुहुन्छ । तपाईंका पदचापहरुलाई पछ्याउँदै एउटा परिवर्तनकामी समाजको पक्षमा मैले पनि लड्न सिकेँ । तपाईंकी छोरी पनि ठूली भई अब । तपाईंहरुको यो लडाइँ अब मेरो पनि लडाइँ भएको छ । तपाईंहरुको अन्याय र अत्याचार विरुद्धको यो आन्दोलनको मोर्चालाई अब मैले पनि मेरो मोर्चा बनाएको छु । हिजो पञ्चायती शासकहरुले झुठ्ठा मुद्दामा फँसाएका तपाईं र तपाईंका साथीहरु अहिले पनि जेलभित्र बन्दी जीवन बिताइरहनु भएको छ । हिजोका राजकाज ऐन आज पनि ज्युँका त्युँ छन् । हिजोका शासकले तपाईंमाथि लगाएका झुटा हत्याका मुद्वाहरु अझै खारेज गरिएका छैनन् । जसले यै प्रजातन्त्रको प्राप्तिका लागि जीवनभरि लड्यो, उनीहरु अहिले पनि जेलमा छन् । खै कहाँनिर छ उनीहरुका लागि यो राज्यको सम्मान ? किन गर्न सक्दैन यो सरकार उनीहरुको सम्मानपूर्वक रिहाइ ? के प्रजातान्त्रिक सरकारका मूल्यहरु यस्तै हुन्छन् बुबा ! प्रजातन्त्रको रङ यस्तै हुन्छ ? 

महिला आन्दोलनका थुप्रै दिदीबहिनीहरुको साथमा छु । कतैबाट पनि टुङ्गो लाग्न नसकेको यो अपूरो क्रान्ति र यो अधुरो सपना बोकेर हामी फेरि हिेँडिरहेका छौँ सङघर्षको बाटोतिर । साँच्चै अब मृत्युसँग पनि डर लाग्दैन । हामी जित्नेछौं, जितेरै फर्कने छौं । 

तपाईंकी छोरी 

रोहिणी 

चिठी पढिसकेपछि त्यसै–त्यसै फैलिरह्यो मेरो छाती । त्यसै–त्यसै आँखा खुसीले छचल्किरहे । उज्यालियो मन । मन उडेर पुग्यो छोरीनिर । उसका साना खोबिल्टा परेका चिम्सा आँखाहरु पनि किन तेजस्वी लाग्दै थिए अहिले मलाई । उसका आँखाको आभालाई देखिरहेँ मैले । र, मलाई किन यस्तो लाग्दै थियो– मेरी छोरी न्याय र समानताको यो आन्दोलनको अग्रमोर्चामा बहादुरीका साथ लडिरहेकी छिन् । 

बाहिर झरीले दिन बादलिएको थियो । तर पनि मेरो मन छ्याङ्ग थियो यतिबेला । एउटा आनन्दको अनुभूतिले काउकुती खेलिरहेको मेरो मनभित्र । मैले खुसीले आफ्नो छातीलाई चौडा पारेँ । मेरो आँखाको डिलमा आएर खुसीको आँसु बस्यो ।  

‘मेरी छोरी साँच्चै ठूली भइछे,’ मनले सोच्यो, ‘अब उसले यो आन्दोलनको नेतृत्व गर्छे ।’ मेरो मनले आँक्यो, ‘मेरी छोरी पक्कै साहसी छे । यो मुलुकको परिवर्तनको बाँकी कार्यभारको जिम्मा अब उसले आफ्नो काँधमा लिन्छे ।’ 

मैले उसको आँखामा झाँसीकी वीरङ्गना लक्ष्मीबाई देखिरहेँ । 

२०४८

जनसाहित्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here