‘आरू फुलेको साँझ’ फूलको सौन्दर्यशास्त्र र कोइलीको ब्यङ्ग्य

0
1713

रूद्र खरेल


अनिलका कविताबारे यस्सो केही दुईचार पङ्ति कागछेरा अच्छेर कोरौँ भनेर घोत्लिदै थिएँ, मेरो मन आफ्नै सम्झनाको पोखरीमा छुप्लुङ्ग हामफाल्नु पुग्यो । म एउटा कथाको संसारमा पुगे । कथाका पात्र थिए– सम्राट र तीनजना राजकुमार । सम्राट् आफ्ना तीनजना कुमारहरुको परीक्षा लिएर सबैभन्दा योग्य चाहिँलाई राज्य सुम्पिन चाहन्थ्यो । उसले तीनैजना छोराका हातमा पसरीभरि बिउ थमाउँदै भन्यो– ‘बाबु हो, म दुईचार वर्ष तीर्थ व्रत गर्छु, तिमीहरूले यो बिउ जतनसँग राख्नु ।’

एउटाले बाकसमा खुबै हिफाजतसँग त्यो बिउ राखेछ । अर्काले चाहिँ पुरै भिन्न बाटो समात्ने जुक्ति सोचेछ । अन्तमा, ‘युरेका’ भन्दै हर्कले आर्कमिडिज उफ्रिएझैं उसले पनि आपूmलाई आश्वस्त पारेछ–‘अँ, चाइने जो उपाय होस् त साला यस्तो होस् न । अहिल्यै बजार गएर बिउ बेचिदियो । बा आएपछि खुरूक्क किन्यो ल जा’ । तेस्रो झनै अर्को उपाय समाउने निधो ग¥यो । उसले बिउ माटामा छरेछ ।

तीर्थबाट फर्कनासाथ सम्राटले छोराहरुसँग बिउ माग्यो । पहिलाले जतनसाथ बाकसबाट बिउ झिकेर दियो, जसको उमारशक्ति सडिसकेको थियो । दोस्रो बजार दौडियो र नयाँ बिउ किनेर जतिका तति दाखिला ग¥यो । तेस्रोले ढकमक्क फुलेका सुन्दर पूmलका थुँगा देखाउँदै भन्यो– ‘बा, तपाईंले दिएको बिउ यही हो । कथा यति हो, म यहीँनिर आएर टक्क अडिन्छु, । सास रोकेर गम्छु ।

बिउ कुहाएर उमारशक्ति चिलिम पार्नेलाई म शास्त्रीय सूत्रहरु सञ्चयकर्ता पण्डितहरुसँग दाँज्न चाहन्छु । तिनले सिर्जनाका सूत्रहरु जम्मा गरे, दिमागमा कोचे, कुहाए । तिनले ‘नबुझी बोल्नु र सुन्निएर मोटाउनु एउटै हो’ भन्ने नेपाली अनुभवलाई पनि बिर्से । कसैले भने– माक्र्सले, माओले, फलानो पुस्तकको फलानो पृष्ठमा यसो भनेको छ । कसैले भने – डेरिडा र ल्योतार्डले उत्तर आधुनिकतावादबारे फलानो पुस्तकमा यसो भनेको छ । पूर्वीय काव्यशास्त्रको ठ्यासफु लेख्ने एकजना प्राध्यापकले एकदिन मलाई आफ्नो एउटा कविताको पुस्तक दिए । विचरा प्राध्यापकको कविता पढेपछि मलाई वैराग लागेर आयो । कुनै कुनै रचना यस्तो हुन्छ, जो नलेखिएकै अवस्थामा रहँदा त्यसरी नलेख्नेको इज्जत बढ्छ । मलाई माया लाग्यो तिनको ! त्यसो त म उत्तरआधुनिकतावादी साथीलाई पनि माया गर्छु । एकजना प्रगतिवादी कविले कोदालोलाई श्रमको बिम्ब बनाएछन् । मेरा उत्तरआधुनिकतावादी मित्रले ठाँटसँग भने – ‘कविताको निश्चित अर्थ हुन्छ र थोडै ! खरेलजीको अक्किलले कोदालो भन्छ भने भनोस्, म त्यसलाई पुरुष जननेन्द्रिय बुझ्छु, लिङ्ग बुझ्छु । कविले कोदालाले माटो खनेको विम्ब कोर्छ भने म त्यसलाई सम्भोग बुझ्छु । मलाई यस्तै लाग्छ, मेरो लाग्नुसँग कसको के लाग्छ ? यो दशा देखेपछि मेरोे दिमागमा क्रोधित गोमन साँपझैं एउटा प्रश्न फणा फैलाएर स्याँक्क गर्छ– के समालोचकहरु पनि स्वतन्त्र स्रष्टा हुन् ? अवश्य हुन् । आनन्दवर्धन, कुन्तक, भामह, क्रोचे, डेरिडा, माक्र्स, एङ्गेल्स, लुकाज, फक्स, कडवेल सबै स्रष्टा हुन्, आ–आफ्नो मौलिकताका कारण । हो, यिनीहरुका आ–आफ्ना वर्गीय धरातल छन् । तर मिल्दो कुरा के छ भने यिनले कसैका सूत्रहरुलाई आफ्नो भनेर दावी गरेका छैनन् । चाहे माक्र्सवादी पन्नितहरु हुन्, चाहे उत्तरआधुनिकतावादी, दुवैमा मिल्दो कुरा हो– सौन्दर्यशास्त्रका सूत्रहरु सञ्चय गर्नु । त्यसकारण, यिनीहरु स्रष्टा कम, दोभाषे वा इन्टरप्रिटर बढी भएका छन् । यिनका पोस्तकमा जतनसँग पोको पारिएको बिउले उमारशक्ति गुमाइसकेको छ । त्यसमा पनि कति त सिर्जनामा उभिएर होइन, निख्लो सिद्धान्तको हावामा सिकारी बाजझैं कावा खान्छन् । तसर्थ, यिनीहरु बिउ त बुझ्छन् तर माटो र उमारशक्ति बुझ्दैनन्, जुन सिर्जनाको आधार हो । अरुको चिन्तनको अनुकरण, अनुवाद, खेस्राटिपोट र जड बुझाइ हेर्दा उत्तरआधुनिकतावादी, शैलीवादी र प्रभाववादी मात्र होइन, पार्टीसत्ताको सांस्कृतिक मोर्चा हाँक्ने कतिपय माक्र्सवाद साथीहरु पनि गतिहीन भएका देखिन्छन् । आ–आफ्ना पन्नितहरु, अनि पन्नितपिच्छे सिर्जनाको रेखी हाल्ने अमिन, कित्ताकाट र नापी शाखाहरु छन् । यी नापी शाखाहरुले देशमा विद्यमान विद्रोह वा युद्धको साहित्य, कला सिर्जनामा प्रतिविम्बन बारे कस्तो बीभत्स नक्सा कोर्छन् कुन्नि ! तिनको हास्यास्पद कित्ता काटमा कुनै अब्बल कवि दोयम, सिम, चाहार हुँदै पाताल भासिन बेर छैन । त्यसपछि खाली ठाउँमा जीवनका जिउँदा अनुभूतिहरुलाई घोक्रेठ्याक लाएर राजनीतिको ठाडो पुलिन्दा बोकेर त्यही सम्राट्को छोरा उभिन्छ, जसले बाबुलाई खुसी पार्न बाकसमा कोचेर बिउ कुहाएको थियो ।

बिउलाई विनिमय मूल्यमा हेर्ने सम्राटको माहिलो छोराको सम्झना तिनले गराउँछन्, जसले कला साहित्यलाई माग र उपभोगमा सीमित ठान्छन् । म पिएचडी को मूल्य स्वीकार्छु । त्यसमा परेको श्रमलाई साष्टाङ्ग डण्डवत् गर्छु, तर वस्तुको ट्यागको रूपमा होइन । फेरि पिएचडी गर्नु र साहित्यकार बन्नुलाई फरक ठान्छु म । अहिले ‘प्रगतिशील’ शब्द पनि एउटा ट्याग भएको छ । व्यापारशास्त्रका सूत्र कोरलेर बेपारीहरु कृतिको बजारमूल्य निधो गर्छन् जसले जति बढी नाफा आर्जन गराउँछ, उनीहरुको सिद्धान्तमा त्यो त्यति नै बढी उत्कृष्ट कृति मानिन्छ । यसर्थ, अँगालाभरि नोटका बिटा बोकेर तिनीहरु गाइड लेखुवा ट्यागवादी प्रगतिशील ढ्याकहरु खोजिरहेका छन् जसको शोधग्रन्थ नाउँका ठ्यासफुहरुले पुरस्कार, पद र पदोन्नति खान आँ मुख बाइरहेका छन् । यो प्रगतिवाद होइन । बजारवाद अर्थात उपभोक्तावाद हो । प्रगतिवादभित्रको छद्म पूँजीवाद हो । यस्ताहरुले उत्तरआधुनिकतावादलाई धारे हात लाउनुमा ताङ्खिवक अर्थ छैन । दुवैको सार तङ्खव भनेको मनको आवाजलाई कैद गरेर बजारका अघिल्तिर लम्पसार पर्नु, ध्याक पसार्नु हो । मन एकातिर बजार अर्कातिर । मन हार्छ, बजारले जीतबाजी थाप्छ । पूँजीका अघिल्तिर स्वतन्त्रताले आत्महत्या गरेको कथा हो यो । तर उनीहरुको बाहिरी जीवनमा तिरिमिरि झ्याँइ छ । खरायाले वर्षमा चारचारपटक आधा दर्जन चिचिभँडी पाएझैं यिनका सिर्जना चुचुरो डम्पिङसाइटझैं चुलिएको छ । नाफाको अंशले शौचालयको भारतीय मार्वल भएर ट्यागवादी प्रगतिवाद मौलाएको छ ।

पहाडको फेदीमा बसेर कवाडी भट्यौलीको येमानको चुली हेर्छु, । टोपी सम्हाल्छु । यस थुप्रोभित्र के छ हँ ? जस्ताका पाता ? फलामका टुक्रा ? प्लास्टिक ? सिसाका टुक्रा ?

अतिवादको निष्कर्षबारे मलाई केही भन्नु छैन । व्यक्तिगत रूचिअरूचि, शब्दहरुका टुकुचे भेलसँगै यसपल्टको बर्सादमा पनि हामफालिरहेछ बौलाहा मूल्याङ्कन ! कति आची, कति माटो, कति जीवाणुविषाणु अनि कति जीवनदायिनी पानी छ टुकुचाको बाढीमा ? खोइ कसले परीक्षण ग¥यो ? संजोग भन्नुपर्छ, यी निराशाहरुले बोक्दै– चिथोर्दै घाइते बनाइरहेको बेला मेरो अञ्जुलीभर ‘आरू फुलेको साँझ’ फुल्छ । डुब्छु, गम्छु, रोमाञ्चित हुन्छु, गतिमान् जीवनका छालहरुसँगै आपूmभित्र घामका कलिला किरणहरु समेट्छु । सङ्लो पानीका चुलबुले छालहरुले आफ्नो स्मित हाँसोका फिंजहरुमा इन्द्रेणी पार्दा म कल्पनाको आकाशमा भौतारिन्छु । हरेक बिहान मेरो करेसाको जपाकुसुमले घामका किशोर म्वाइहरुलाई मकरन्दको मसीले प्रेमपत्र लेखेझैं अनिल श्रेष्ठले वसन्तलाई आरूसँग र मृत्युलाई साँझसँग जोडिदिए । म उनको सिर्जनालाई अभिनन्दन गर्छु ।

कुनै पनि सचेत र सशक्त कविले परम्परागत बिम्बहरूको अपुताली स्याहार्दैन । पुरानो संरचनाको झडकेलो सन्तानलाई उसले आफ्नो बनाउदैन । ऊ आफ्नै युगका बिम्बहरुमा पोखिन्छ, वर्षाका एक पछि अर्को थोपा नवीनतम भएझै, हरेक बिहानका आकाशका लालीहरु अघिल्लो दिनको भन्दा भिन्न भएझैं ऊ आफ्नो बिम्ब संसारमा स्निग्ध सर्वदा पूmलझैं मुस्कुराउँछ । अनिलका चुमौँ चुमौँ लाग्ने मनोहर र लालित्यपूर्ण शब्दहरुमा पाठकलाई आमन्त्रण गरिरहेका नयाँ पाहुना बिम्बहरुलाई मेरो हार्दिक अभिवादन !

मृत्युका तख्ताहरु झैं हल्लिरहेछ संसद घरका ढोकाहरु
नागरिकहरुको दैलोमा मृत्युपत्र झुण्ड्याएर
विधेयक बेढङ्गले हाँसिरहेछ
हावा उदास छ
प्रतिनिधि सभाका झ्यालहरुमा
झुण्डिरहेछ सांसद पिण्डहरु
र त्यसका आँखाहरुबाट सूर्यबध नाचिरहेछ
सिंहदरबारका मूल ढोकाबाट निस्केर हरिया झिंगाहरु
बाहिर सडकमा भुनभुनाइरहेछ ।

प्रकृतिबाट टिपिएका अनिलका बिम्बहरु सजिलै बुझ्न सकिन्छ । ती सरल मात्र छैनन्, संवेद्यताको दृष्टिले पनि बढी सशक्त छन् । ‘त्यो साँझ–१’ले मात्रै पनि यस कथनलाई राम्ररी पुष्टि गर्छः

त्यो साँझ
कतै थिएनन् चराहरुको गीत
वरिपरि, जहाँ कफ्र्यूको आदेश थियो
र हावा बन्द थियो
कविताको आँखाबाट दुखिरहेको गाउँ थियो
गाउँका अशान्त दृश्यहरु थिए
पहाड थियो
एउटा उदास साँझ थियो
र दुखिरहेको आकाश थियो ।

सेतो आतङ्कको मृत्यु–पीडालाई कवि अनिलले प्रकृतिका माध्यमबाट कति लोभलाग्दोसँग पस्किदिए । उनको कविताको गति, लय, संवेद्यता र बिम्ब चयन हेर्दा, मलाई एउटा ठिटो भूपी जन्मन लागेको आभास हुन्छ, यद्यपि उसका आफ्नै युगसन्दर्भ र चटक्कै छुट्टिने बिम्बहरु छन् । फेरि यो कुरा म तारे होटलको पुस्तक विमोचन समारोहमा रमरम हुस्कीको नसामा पत्रकारहरुलाई सुनाएर कुनै गैससवादी कविलाई प्रसन्न पार्न पस्किरहेको छुइनँ । म जाँड खाएर भूमिका लेख्दिनँ । जाँड खानका लागि पनि लेख्दिनँ । लेखिसकेर पनि जाँड पानी माग गर्दिनँ । मेरो त कविसँग एउटा मात्र माग छ–सत्य र यथार्थको निर्भीक तर जिउँदो प्रस्तुति बस् ! मेरो काम कसैको दुई फिट अग्लाई कलमी गरेर अर्को कुनै होचो प्रियपात्रलाई बडेमाको अग्लो प्रमाणित गर्ने बहादुरीपूर्ण चमत्कार देखाउने पनि होइन । यो काम भूमिकाको हुर्मत आवरू लुट्नेहरूले नै गरुन् ।

दस वर्षको नेपाली संवेदनाको ऐतिहासिक अभिलेख साहित्यमा खोज्ने हो भने अनिल र अनिलहरुका कविता नपढी हुँदैन । ‘आरू फुलेको साँझ’ राष्ट्रियता, सेतोआतङ्क र त्यसबाट प्रभावित गाउँवासीका जीवनका दृष्टिले मात्र होइन, द्वन्द्वको युगीन सन्दर्भहरुको प्रतिबिम्बनका कारणले पनि बिर्सिनसक्नु छ, नौलो छ । नवीनतम बिम्ब संयोजन, सूक्ष्म कलादृष्टि र समयका स्पन्दनहरुको शक्तिशाली प्रस्तुतिहरुलाई पन्चै बाजा बजाएर स्वागत गर्न र वरण गर्न म औधि लोभिएको छु । अनिलहरुसँग म एउटा माग राख्छु– त्यो के भने तपाईहरु युद्ध बाहेक विराट् नेपाली जनजीवनका समस्या र सन्दर्भहरुलाई उत्तिकै न्याय गरेर बहुआयामिक बन्नुहोस् ।

अँ, मैले सम्राटको कान्छो छोराको सन्दर्भ उक्काएको थिएँ । कान्छाले बिउ लगेर माटामा छ¥यो । ढकमक्क पूmल फुल्यो । कहाँबाट आयो रङ्ग ? कहाँबाट आयो सौन्दर्य र मकरन्द ? गरिखाने वर्गका सौन्दर्य र सिर्जनावेत्ता सम्राट्हरुलाई हामी कहिल्यै बिर्सन सक्दैनौ । अनि उनका कान्छा छोरा अनिलहरुलाई पनि हामी आँखाको नानीमा राख्छौं । हो, अनिलहरुलाई जसले कतै खोपामा कोचिराखेर बिउ कुहाएनन् । त्यसलाई विनिमय मूल्य वा नाफामा बुझेनन् । देवकोटा, रिमाल, युद्धप्रसाद, ब्रेख्त, लोर्का, शेली, लुसुन, इच्छुक र धुमिलहरुबाट अँजुलीभरि जुन बिउ तिनले प्राप्त गरे त्यसलाई तिनले माटामा रोपिदिए । सौन्दर्य शास्त्रका पन्नित र कर्मकाण्डी पुरेतहरु, साँचो सिर्जना र सौन्दर्य माटामा उम्रिएको पूmलमा खोज्नोस् । शास्त्र त्यहाँ छ । प्रत्येक वसन्तमा रूखका हरिया चिउलाहरुमा छिपेर कोइलीले मुक्तक लेख्छे– ‘बिउ कुहियो ! बिउ कुहियो !’ कतै यो व्यङ्ग्य तपाईंलाई नै त होइन ?

आरू फुलेको साँझको भूमिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here