अनादि लय

WhatsApp Image 2026 08 17 at 2.37.37 PM

कहाँ पुगेर टुङ्गिन्छ
यो बाटो ?

अनादिदेखि
म यो बाटो हिँडिरहेको छु
यायावर झैं
निरन्तर

मेरो यात्रामा छन्
रुखपात
कीट पतङ्ग
चराचुरुङगीहरु
र, जङ्गल

तेजस्वी घाम
वेगवान नदीहरु
हावाको लय
बेगमबेली फूल
पारिजातको सुगन्ध
र, पूतलीको उडान

अनादिदेखि
म यो बाटो हिँडिरहेको छु

मेरो यात्रामा छन्
जूनेली रात
र, जुनकीरीहरुको
उज्यालो

असङ्ख्य तारा गण

कहिले
निद्रामा देखिन्छन्
सुनौला महलहरु
सिंहदरबार
र, ती अग्ला
सिङ्गमरमरका ढोकाहरु

र, ती अग्ला ढोकाहरुसम्म पुगेर
यो बाटो हराउँछ

र, म कहिले
सपनामै देख्छु
यसका गर्भहरुभित्र लुकेका
असङ्ख्य खाडलहरु

आखिर
कहाँ पुगेर टुङ्गिन्छ
यो बाटो ?

जनमत

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these