श्रवण मुकारुङका दुई कविता

WhatsApp Image 2026 07 24 at 4.04.14 PM

श्रवण मुकारुङ (जन्मः२०२५ जेठ २६, भोजपुर) समकालीन नेपाली साहित्यका एक अग्रणी कवि हुनुहुन्छ । उहाँ कविहरुको भीडमा सुन्दर कविताको पर्यायवाचीजस्तै हुनुहुन्छ । उहाँका कवितामा ग्रामीण जीवन पाइन्छ । ग्रामीण जीवनका कथात्मकता, स्थानीय भाषा र प्राकृतिक बिम्बहरुले उहाँका कविताहरु मानक बन्न पुगेका छन् ।

उहाँका ‘देश खोज्दै जाँदा’ (कवितासङ्ग्रह–२०४९), ‘यलम्बर’ (नाटक–२०५२), ‘हिउँको दरबार’ (गीतसङ्ग्रह–२०५३), ‘जीवनको लय’ (कवितासङ्ग्रह–२०६०), ‘भावालय’ (निबन्धसङ्ग्रह–२०६०), ‘बिसे नगर्चीको बयान’ (कवितासङ्ग्रह–२०६७), ‘सुन रे सियाराम’ (गीतसङ्ग्रह–२०७१), ‘मितिनी’ (नाटक–२०७६) र ‘सलह (उपन्यास–२०८३)’ कृतिहरु प्रकाशित छन् ।

उहाँले ‘मोहन रेग्मी स्मृति पुरस्कार(२०५९), ‘युवा वर्ष मोति पुरस्कार(२०६०), ‘लोकेन्द्र साहित्य पुरस्कार’(२०६२), ‘जीवन स्मृति पुरस्कार’(२०६३), ‘व्यथित काव्य सम्मान’(२०७५), ‘महालक्ष्मी साहित्य पुरस्कार’(२०७८) लगायत विभिन्न पुरस्कारहरुले पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘देश खोज्दै जाँदा’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।

माझीगाउँको हल्ला

नदीमा
ताराहरु डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।

उसलाई सबभन्दा
ध्रुवताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलीबाट चिहाएर
ध्रुवतारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी धोकेर सुतेको रात होस्
ध्रुवतारा
उसको निधारमा टप्लक्क बस्थ्यो
र ऊ धपक्कै बल्दथ्यो ।


नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
परबाट
एक हुल नानीहरु रमाउँदै आए–
‘माझीदाइ … माझीदाइ,
हामीले ताराको गुहु भेट्यौं ।’

पालै–पालो सुम्सुमाएपछि
निष्कर्षमा
सबैले एकै स्वर गरे–
‘ताराको गुहु ढुङुगाजस्तै हुँदो रहेछ ।’

उसले अविराम
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरु अल्झिए
र गाउँ भरिकालाई सितन भयो ।

अब त ऊ
ध्रुवतारा झिकिछोड्ने अठोट लिएर
वार–वार गर्नेहरुलाई डुङ्गाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरु किनार उचाल्दै कराउन थाले–
‘माझीदाइ, माझीदाइ,
हामीलाई तारा छिटो झिकिदिनु होस् न ।’

वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र निष्ठुरी बाढीले
ध्रुवतारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ .. कहाँ पु¥यायो

भोलिपल्ट बिहान
सबेरै
गाउँमा अर्को हल्ला चल्यो–
‘नदीमा
रहर लाग्दो जून पनि डुबेको छ ।’
०००

desh khojdai

जिउँदो शहीद

लाज सरम छैन फटाहालाई
सूर्योदय भैराखेको छ
उतै फर्किएर इँजार खोल्छ
मन्दिरमा फूल चढाउनु पर्ने यो बेला
त्यही हातले समाउँछ
र सम्पूर्ण सयपत्रीलाई पिल्साउँदै
पिसाब फेर्छ ।

त्यही हात फटाहाको
नाक कोट्याउँछ
चुरोट सल्काउँछ
र पत्पती धुवाँ उडाउँदै छिमेकतिर लाग्छ
महिनौं भैसक्यो तास जमेको छिमेकमा
स्वास्नीको नौगेडी झिक्छ
र त्यही हातले तास तान्छ
त्यही हात चाट्छ
र कुरा खिप्छ– हिजोको फर्काउनु छ ।

फटाहालाई यही कुरा थाहा छैन कि–
‘हिजो’ कहिल्यै फर्कदैंन
र त्यो नौगेडी पनि स्वाहा पारेर बाहिरिन्छ
घर फर्कन्छ
एक्कासि स्वास्नीको पोल्टामा हात घुसार्छ
स्वास्नी भन्छे– कति इत्रिन पनि सकेको
ऊ भन्छ– लेन राजाको मोहर

उतै लाग्नुस श्रीमान् जहाँ मोहर फल्छ
र ऊ
त्यही हातले झण्डा बोक्छ
चिच्याउँदै– जिन्दाबाद/मुर्दाबाद
छिमेकी पसलमा पुग्छ
त्यही हातले मन्तरेर रक्सी
घुट्काउँछ घुट्घुट
र डुङ्डुङ्ती धूलो उडाउँदै
थर्काउँछ गाउँ–
‘बुझ्यौ, म यो गाउँ विकास समितिको अध्यक्ष ।’

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these