सहिद दिवसले जन्माएको सहिद

WhatsApp Image 2026 09 13 at 7.57.17 PM

‘ए केटा, के हेरिरा’को ? जा, भाग यहाँबाट ।’

आफूभन्दा केही पर उभिएर टोल्हाउँदै अघिदेखि आफूतिर नियालिरहेको फुच्चे केटोलाई हप्काउने स्वरमा नाङ्लो पसले करायो र आफ्ना अगाडि रहेका ग्राहकलाई नाङ्लाका सामान बेच्ने क्रममा जुट्यो । बदाम, चना, केराउ, खैनी, सुर्ती, चुरोट, बिस्कुट, छुर्पी ……, सहिदमञ्चको पछाडि सडकपेटीमा पैदल हिँड्ने ग्राहकहरुका लागि सुलभ बनेको यो नाङ्लो पसल खिच्रिङमिच्रिङ सामानहरुको एउटा सानोतिनो खुद्रामार्केटझंै देखिन्थ्यो । प्रायः चुरोट र सुर्ती किन्नेहरुले नाङ्ला पसलेलाई व्यस्त बनाउँथ्यो ।

नाङ्ला पसलेको हात एकछिन खाली बन्यो । उसका फुर्सदिला आँखाहरु फेरि उही केटोमाथि पुगेर एकचोटि ठोक्किए । केटोलाई पूर्ववत् उभिएर आफूतिरै नियालिरहेको देखेपछि नाङ्ला पसले फेरि उही शैलीले करायो– ‘एई केटा, तँ याँ’बाट अझै गा’छैनस् ?’

केटो बोलेन ।

चुपचाप उभिएर उस्तै गरी टोल्हाइरह्यो ।

यतिखेरै टुँडिखेललाई परिक्रमा गर्दै सुन्धाराबाट आइरहेको विद्यार्थीको जुलुसको होहल्ला र झण्डाहरु सडकमा देखिए । सहरमा केही दिनदेखि चलिरहेको विद्यार्थीको आन्दोलनले सडकलाई असामान्य बनाइरहेको थियो र प्रहरीप्रशासनले सडकमा प्रहरी गस्तीलाई सक्रिय बनाएको थियो । पञ्चायती व्यवस्था विरूद्व जनताले लडेर ल्याएको सरकारले जनजीविकाको समस्याहरुलाई हल नगरेको र सहिदहरुको बलिदानको अवमूल्यन गरिरहेको भन्दै विद्यार्थी समूहहरुले सरकार विरूद्व दवाव आन्दोलन सुरु गरेका थिए । विद्यार्थीको नारावाजी सुनेपछि सहिदपार्क छेउछाउका पर्खालहरुमा रुखका छायाँहरुसँग टाँसिएर सुस्ताइरहेका प्रहरीहरु आफ्ना हतियारहरुलाई अलर्ट बनाउँदै सडकमा ओर्लिए ।

‘पुलिस आइरा’छ हेर केटा, गोली हान्ला ।’ विद्यार्थी र प्रहरीको यो भिडन्तको स्थितिलाई अन्दाज गरिरहेको नाङ्ला पसलेले केटोलाई हच्कायो ।

केटो अलिकति हतासियो । तर छिनभरमै पुलिसको भय हराएर उसको आँखामा पुलिसप्रतिको घृणा र आक्रोश एकैचोटि खेल्यो । उसको आँखाअघिल्तिर प्रहरीहरुको एउटा झुण्डले क्रूरतापूर्वक पिटिरहेको आफ्नो निरीह बा‘को चित्र आएर खेल्यो । त्यो दर्दनाक दृश्य थियो । आङ जिरिङ पार्ने उसको बा‘माथिको प्रहरीहरुको त्यो यातनाको सम्झनाले उसले आफ्ना आँखालाई चिम्म पा¥यो । उसको मनमा एउटा आवेग उठ्यो । त्यही आवेगले आफ्ना दुबै हातलाई उसले मुठ्ठी पारेर कस्यो । उसले छातीभित्र तीब्र श्वासको गतिको महसुस ग¥यो ।

पसलेलाई के लाग्यो कुन्नि ! उसलाई केटाको निर्दोष आँखाले छोयो । केटाको अनुहारमा खेलिरहेको अबोध मुद्रालाई उसले निकैबेर नियालिरह्यो । ‘केटो टिठालु छ र यो सामान्य केटोले अहिले किन यतिसाह्रो उसको मनलाई छोइरहेको छ र उसको मनलाई पगालिरहेको छ’, केटोप्रति पसलेको मन एक किसिमको नजानिँदो करुणाले भिजेर आयो ।

उसको एक झलकले केटोलाई फेरि समग्र नियाल्यो । केटाको शरीरमा झुत्रो र मैलो कमिज थियो । फाटेको कट्टु थियो । खुट्टामा चप्पल थिएन । आँखामा भोकको उद्विग्नता थियो । तर, पनि केटो उतिर हेरेरै नजानिदो मुस्कुराइरहेको थियो । अघिसम्म सामान्य सडकछाप लागिरहेको यो केटाको मुस्कुराइरहेको आँखाले उसलाई एक्कासि विचलित बनायो । केटाको आँखाबाट आफू किन तेजोबध हुँदै छु र कमजोर बन्दै छु भन्ने पसलेलाई लागिरह्यो ।

उसले फेरि नियालेर हे¥यो केटालाई ।

केटाको अनुहारमा उसले आफ्नो छोरो हरिको रुपलाई देख्यो । केटाको अनुहारको रङ, उसको उमेर, उसको शरीरको कद, ………………. ।

ठ्याम्मै हरिसँग मिल्दोजुल्दो त्यो केटो । हरिको झझल्कोले झस्काइदियो नाङ्ला पसलेलाई ।

परारकै साल भएको जनआन्दोलन हो उसको हरिले सहादत पाएको । एघार टेक्दै त थियो छोराको उमेरले । एउटै छोरा थियो उसको आँखाअघिल्तिर पाउलिँदै गरेको । उसको नाङ्ला पसलअघि सडक छोपेर हुर्किरहेका चेरीका फूलहरुझैं छोराका पदचापहरुमा उसका सपनाहरु हुर्किरहेका थिए । तर जब शासकहरु विवेकहीन हुन्छन् र बन्दुकले विवेक चलाउँछ; राज्यप्रणाली कसाइखाना बन्छ । नागरिकहरुको दैलोमा मृत्यु उत्सवले खेलिरहन्छ । शब्दहरु निःशब्द बन्छन् । आँखाहरु ऐठनले बाँधिन्छन् ।

एउटा कहालिँदो विगतले नाङ्ला पसले साहुलाई फेरि भाउन्न पा¥यो । छोरालाई सम्झ्यो । प्रहरीको गोलीले रक्तमुछेल छोराको शरीरलाई सम्झ्यो । पट्ट्ट्ट्, पट्ट्ट्, पट्ट्ट्ट् ……. आन्दोलनकारीहरुमाथि उल्लास मनाइरहेका गोलीका आवाजहरुलाई सम्झ्यो । नाङ्लामा सामान बेचिरहेको उसको अघिल्तिर खेल्दै गरिरहेको छोरो एक्कासि लडेको भेउ एकछिन त उसले पाउन पनि सकेन । जब छोरो उसको सामुन्ने भुइँमा निशब्द लडिरह्यो र हिरिक्क भएर तनक्क तन्क्यो, उसलाई तन्द्राबाट ब्युँझेझँै भयो । ऊ झल्याँस्स भयो र छोरालाई अङ्गाल्न पुग्यो । छोराको सर्वाङ्ग चिसो शरीरलाई उचालेर ऊ एकचोटि बेस्मारी चिच्यायो । तर त्यो कोलाहलले उसको चीत्कारलाई सोहोरेर लग्यो । बारुद मिसिएको कालो धुवाँको पिरोले पूरै वातावरणलाई छोपिरहेको थियो । कसैको आँखाले उसलाई त्यहाँ देखेनन् । भीडले कुल्चिएर धेरैबेरसम्म ती दुई बाबुछोरा जमिनमा लतारिइरहे ।

‘पसले दाइ’

केटोको आवाजले झसङ्ग झस्कायो उसलाई । छोराको सम्झनाले अनायासै बन्द हुन पुगेका थिए उसका आँखा । मन विदीर्ण थियो र सहनै नसक्ने गरी एउटा बलियो वस्तुले छातीमा थिचिरहेको महसुस ग¥यो उसले । जब उसले आँखा खोल्यो आँखाभरि आँसु थियो ।
केटालाई नजिकै आउन उसले हातको इशारा ग¥यो ।

‘तिम्रो नाम के बाबु ?’ केटोलाई उसले आफूसँगै तान्यो र नजिकैको मुढामा बसाल्यो ।

‘बिर्खे ।’ केटोले जवाफ दियो ।

‘अनि तिम्रो घर काँ नि ?’ सोध्यो

तर यतिबेला बिर्खे किंकर्तव्यविमूढ थियो । कुनै जवाफ थिएन । अलमल्लिएर पसलेको अनुहारमा टोल्हाइरह्यो । आफ्नो अगाडि गाहकी उभिएको देखेर पसले सामान बेच्न जुट्यो । बिर्खेले नाङ्लोमा बेच्न राखिएका सामानहरुलाई हे¥यो । बिस्कुट, चाउचाउ, पुष्टकारी, मिठाई, दालमोठ …. । भोक उसको आँखामा आएर उछित्तोसँग बस्यो । उसले आफ्नो कस्सिएको मुठ्ठीलाई खोल्यो । एक मोहरको डबल टल्किरहेको थियो । बिहान आमाले दिएकी ।

‘बाजे, यसको बिस्कुट आउँछ ?’ झट्ट सोध्यो उसले

बिर्खेको स्वरले झस्कायो पसलेलाई । बिर्खेलाई हे¥यो । हातमा एक मोहर थियो । बिर्खेको अनुहारमा भोकको रेखा देख्यो उसले ।

‘भोक लाग्यो ?’ सोध्यो

बिर्खेले स्वीकारोक्तिको मुन्टो हल्लायो ।

पसलेले बिस्कुटको प्याकेटबाट एउटा बिस्कुट निकाल्यो र बिर्खेलाई दियो । उज्याल्लियो बिर्खे । बिर्खेको आँखाबाट पोखिएको खुसीले छचल्कियो नाङ्ले पसलेको मन । एक किसिमको पीडा र आनन्द मिसिएर नाङ्ले पसलेको मन विस्मातले खेलिरह्यो । बिस्कुटलाई एउटा हातमा लिएर बिर्खेले एक रुपैयाको डबल बोकेको हातलाई पसलेतिर बढायो । निष्कपट थियो बिर्खे । निर्दोष थियो उसका आँखा । पसलेको मन जित्यो ।

‘खल्तीमा राख ।’ पसलेले बिर्खेको हातबाट मोहरलाई लिएर उसको कमिजको खल्तीमा राखिदिँदै भन्यो, ‘भोलि फेरि अर्को बिस्कुट किनेर खाऊ ।’

अकमक्किएर बिर्खेले पसलेलाई हे¥यो । एउटा अविश्वास जस्तो लागिरहेको थियो उसलाई त्यो क्षण । एकछिन ऊ अन्यमनस्क बनिरह्यो ।

‘अनि तिम्रो घरमा को को छन् नि ?’ बिर्खेलाई आफूतिर ध्यानाकर्षण गरायो पसलेले ।

‘आमा ।’ बिर्खेको छोटो जवाफ थियो ।

‘आमा के गर्छिन् ?’

‘अरुको भाँडा माझ्छ ।’ बिर्खेको शुलभता बोल्यो ।

‘अनि घरमा बा’ छैनन् ?’

‘अँ, बालाई त अस्तिनै आन्दोलनमा पुलिसले गोली हानेर मारेको ।’ यतिखेर भने बिर्खेको स्वर ओस्सियो । त्यहाँ बिर्खेको स्वर मात्र ओस्सिएन, पसलेको मन पनि ओस्सियो । कसलाई के थाहा त्यहाँ ती दुई उमेरले फरक तर एउटै वियोगान्त कथा बोकिरहेका पात्रहरु यतिखेर बाहिर शान्त बनेर भित्रभित्रै कोलाहलले बाँचिरहेका छन् ।

एउटासँग छोराको वियोग थियो । अर्कोसँग बाबुको । दुवैसँग राज्यको शासनयन्त्रले दिएको समान पीडा थियो । उनीहरुका आँखाबाट बग्ने आँसुको कथा उस्तै थियो । उनीहरुले चिहाइरहने उदास आकास एउटै थियो । सिंहदरबारदेखि उनीहरु सुत्ने चिसा छिँडीसम्म चल्ने चिसो बतास उस्तै थियो ।

विस्मृतिमा हराइरहेको बाबुको अनुहारको एउटा आकार आएर बिर्खेको आँखाअघि बस्यो । राम्ररी बाबुको काखमा खेल्न पनि नपाएको बिर्खेको स्मृतिमा बाबुको एउटा अस्पष्ट चित्र छ । पानीको तरङ्गले ल्याउने चित्रजस्तो उसको आँखाअघिल्तिर बाबुको तस्विर घरी आइरहन्छ, घरी हराइरहन्छ । कुनै सरकारी कारखानाका कामदार थिए रे बिर्खेका बा । कामदारहरुले सरकारको विरोध ग¥यो भनेर कामबाट निकाली दिएका रे । कामदारहरुको सरकार विरुद्ध चर्कै आन्दोलन शुरु भएपछि उसका बा‘को नाममा सरकारले पक्राउ पूर्जी जारी गरेछ । एकदिन दिउँसो उसका बा हुर्रिएर घरभित्र पसे र केहीबेरमै घरबाहिर निस्के । दैलोबाट लोग्नेलाई आश्चर्यले नियालेर हेरिरहेकी उसकी आमाले भनेकी थिइन्, ‘भरे छिट्टै फर्कनु नि फेरि ।’

तर त्यो रात उसका बा घर फर्केनन् ।

भोलिपल्ट सुकुम्बासी बस्तीबाट उठेको जुलुसमा एक्कासि उसले आफ्नो बालाई जुलुसको अघिल्तिर देख्यो । जुलुसमा एक स्वरले उठिरहेको आवाजले सुकुम्बासी वरपरको पूरै बस्तीलाई कम्पायमान बनायो । हावाको तरङ्गले जुलुसको स्वरलाई सहरभरि फैलायो । डर, भय, उत्साह, उत्कण्ठा र उत्सुकताले बिर्खेले जुलुसलाई पछ्याइरह्यो । ऊ आफ्नो बाको हात समात्न दौडेर अघि पुग्न चाहन्थ्यो । तर भीडले उसलाई लतारेर पछाडि हुत्याइदिन्थ्यो ।

जुलुस विष्णुमतिको किनारबाट निस्किएर सोह्रखुट्टेको उकालोनिर पुग्यो । सोह्रखुट्टेसम्म आइपुग्दा जुलुस आन्दोलनकारीहरुको एक मानवसागरमा परिणत भइसकेको थियो । प्रहरीको सशस्त्र जत्थाले अघिदेखि नै सडकलाई घेराबन्दी गरेर बसेको देखिन्थ्यो । जब नाराबाजी गर्दै आन्दोलनकारीहरु प्रहरीको घेरा नजिकै आइपुगे एक्कासि प्रहरीको अश्रुग्याँस र कटबाँसका लौराहरु अन्धाधुन्ध आन्दोलनकारीमाथि बर्सिए । आक्रोश र उत्तेजनाले आन्दोलनकारीहरु माहुरीझैं प्रहरीमाथि खनिए । दोहोरो झडप बढ्यो । अघिसम्म आँखामा उत्सुकता र कौतुहलता बोकेर जुलुसलाई पछ्याइरहेको बिर्खेले प्रहरीहरुले निर्घातसँग चुटिरहेको आफ्नो बालाई देख्यो । उसको मन भयभित बन्यो । आँखामा आतङ्कले खेल्यो । बामाथि भइरहेको प्रहरीको चुटाइले ऊ छटपटायो । प्रहरीको पिटाइबाट बालाई जोगाउने प्रयत्नमा सहारा खोज्न उसका आँखा यताउति कुदिरहे । र ऊ भीडबाट जोडले चिच्यायो, ‘बा.. ।’

‘के भो ?’ नाङ्ला पसलले झक्झक्याएपछि बिर्खे झल्याँस्स भयो । उसका आँखाबाट आँसु टिल्पिलाएर खस्यो । उसको श्वासप्रश्वास बढेको थियो । छातीभित्र बढेको स्वासको गतिको तीब्रतालाई उसले बाहिरबाटै महसुस गरिरह्यो । उभित्रको त्यो चीत्कारलाई नाङ्ले पसलेले पनि बाहिरबाट महसुस ग¥यो । दुवैले एकअर्कालाई हेरिरहे नरमाइलोगरी ।

एकैछिन चुरोट किन्न आउनेहरुसँग पसले अल्मलिए । पछि हेर्दा बिर्खे त्यहाँ थिएन । पसलेका आँखाले पर पुगिसकेको बिर्खेका पाइतालाहरुलाई पच्छ्याए । उसले आफूलाई गलिरहेको महसुस ग¥यो र एउटा उच्छवास लियो । उसका आँखाबाट ओझेलिँदै गइरहेको बिर्खेको अनुहार झनै अघिल्तिर आएर खेलिरह्यो ।

सडकलाई पार गर्न लम्किरहेको बिर्खेको गोडामा बादललाई चिरेर ओर्लिएको अलिकति घाम आएर पोखियो । उसले आकाश हे¥यो । स्वयम्भूमाथिको आकाशमा घामलाई छेकर हाल्दै कुदिरहेको बादल देखिन्थ्यो । हावाले बादलका रङगीबिरङगी चित्रहरु बन्दै र भत्कँदै गथ्र्यो । उसको मनले सोच्यो, ‘घाम डुब्न अझै बाँकी छ । उसकी आमा अझै घर फर्कने बेला छैन ।’ उसले पछाडि फर्केर भर्खरै पार गरेर आएको सडकलाई अन्यमनस्क बनेर हे¥यो ।

सडकमा मान्छेहरुको सामान्य हिँडडुल र मोटरसाइकलहरुको छिटफुट उपस्थिति बाहेक खासै अरु चहलपहल देखिँदैन । केही दिनदेखि आन्दोलनकारी र प्रहरीले द्वन्द्वग्रस्त बनेको सहरका सडकहरु अझै सामान्य बन्न सकिरहेका छैनन् । त्यसैबेला परबाट आफूतिर नजिकै आइरहेको जुलुस र नाराबाजीले बिर्खेको छातीभित्रको सास तातो भएर बढ्यो । उसले देख्यो, त्यहाँ मान्छेहरुको भीडको एउटा विशाल सागर थियो । हावाले फर्फराइरहेका राता तुल र झण्डाहरु थिए । गगनभेदी नारा थियो । एउटा प्लेकार्डमा पुगेर टक्क उसका आँखा अड्किए –‘सहिद दिवस ।’

बिर्खेको छातीभित्रको सासको गति अरु छिट्छिटो बढ्दै थियो ।

‘ओइ बिर्खे !’

भीडबाट कसैले आफूलाई बोलाइरहेको बिर्खेले सुन्यो । उसको टोलको साथी रने थियो । रने उल्लासको मुद्रामा हातमा एउटा झण्डा बोकिरहेको थियो र बिर्खेलाई इशारा गर्दै आफूतिर बोलाइरहेको थियो । उसले अलमलिएर एकछिन रनेलाई हेरिरह्यो र अनायासै उसका पाइलाहरु भीडभित्र तानिए । ऊ दगुर्दै रनेनिर पुग्यो र रनेको हातलाई च्याप्प समात्यो ।

बिर्खेको उपस्थितिले रने खुसीले अरु चिच्यायो–

‘हामीलाई खान दे ।’
‘हामीलाई लाउन दे ।’
‘हामीलाई पढ्न दे ।’

रनेलाई पछ्याउँदै बिर्खेले नारालाई दोहो¥यायो । आन्दोलनले उसको मनमा एक किसिमको रोमाञ्चकता उठ्यो । नारा लाउँदै बिर्खे अगाडि बढ्यो । उसले यतिखेर आन्दोलनको अग्रपङ्तिमा रहेर अगाडि बढिरहेको आफ्नो बुबालाई सम्झ्यो । बुबाको रक्तमुछेल शरीरलाई सम्झ्यो । प्रहरीका क्रूर र बर्बर यातनालाई सम्झ्यो । बुबाको सहादतलाई सम्झ्यो । यी सब घट्नाहरुको सम्झनाहरुले उसको मनलाई कत्तिपनि विचलित बनाएन । उसले आफ्नो मनलाई आन्दोलनमा झनै दृढ बनायो । कामबाट फर्किएकी उसकी आमा यतिखेर उसलाई पर्खिएरहेकी छिन् भन्ने ख्याललाई पनि उसले बिस्र्यो ।

केही पर सडकमा तैनाथ प्रहरीहरु आफूतिर बन्दुक ताकेर उभिरहेको बिर्खेले देख्यो । एकचोटि शीताङ्ग बन्यो ऊ । उसले फर्केर पछाडि हे¥यो । उसको आँखाले पनि हेर्न नभ्याउने मान्छेहरुको त्यो भेलको टुङ्गिने विन्दु कहाँनिर छ उसलाई अनुमान लगाउनसम्म पनि गाह्रो भो । उसको छातीभित्र साहस जुर्मुरायो । अब भने उसले आफूलाई यो आन्दोलनको साँच्चैको विजेता भएको महसुस ग¥यो । उत्साहले उसका गोडाहरु उचालिएर झन् झन् अघि बढिरहे । उसले आफ्नो सानो कद अग्लिएर त्यो सिंहदरबारको छानाभन्दा पनि माथि उठिरहेझै लागिरह्यो ।

एक्कासि पट्ट पट्ट आएको आवाजले आन्दोलनको भीडमा एउटा अन्योलको स्थितिको लहर उठ्यो ।

‘गोली चल्यो !’ ‘गोली चल्यो !’ भीडभित्र हतास स्वरहरु सुनिए ।

पट्ट, पट्ट आवाज दोहोरिरह्यो ।

‘ऐया ।’ कसैले नसुन्ने गरी बिर्खेको मुखबाट एउटा हलुका चीत्कार निस्क्यो र गोलीले हताहत बनेको उसको शरीर भुइँमा लड्यो । एउटा तेजिलो सौर्यकिरणको शक्तिले उसको आँखालाई छपक्क छोप्यो । उसले ती किरणहरुमा आफ्नो बुबाको मुस्कुराइरहेको चम्किला आँखाहरुलाई देख्यो । र, ऊ पनि मुस्कुरायो विस्तारै, मुसुक्क ।

‘हाम्रो माग पुरा गर,’ उसको ओँठबाट एउटा साहसले भरिएको स्वर निस्क्यो ।

उसले अदबले एकचोटि आन्दोलनको भीडलाई हे¥यो । उसको स्वर दबिँदै गयो र सुस्तरी उसका आँखाहरु बन्द भए ।

२०४८

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these