प्रमोद प्रधान(२०१५ असोज १५) तीसको दशकदेखि आफ्नो सशक्त लेखनबाट साहित्यमा बलियो उपस्थिति बनाउँदै आउनुभएको छ । उहाँ साहित्यका सबै विधामा उत्तिकै दखल राख्नुहुन्छ । चाहे कविता होस् या निबन्ध, समालोचना होस् या शोध अनुसन्धानमूलक लेखन र सम्पादनको कार्य, उहाँको सक्रियता उत्तिकै देखिन्छ । पछिल्लो समय विशेषतः बालसाहित्यको सिर्जनात्मक लेखन, खोज अनुसन्धान र सम्पादनमा उहाँ निकै व्यस्त हुनुहुन्छ ।
उहाँका ‘रातभरिका सुस्केराहरु’ (२०३२), ‘विभाजित मान्छे’ (२०४०), ‘एकान्तगीत’ (२०५४), ‘एक उदास साँझ’ (२०७२) कवितासङ्ग्रहहरु लगायत दर्जर्नौ बालसाहित्यका कथा, कविता, निबन्ध र खोज अनुसन्धान र सम्पादनका पुस्तकहरु प्रकाशित छन् ।
उहाँ ‘प्रबल गोरखादक्षिणबाहु’ (चौथो) बाट विभुषित हुनुहुन्छ । यसका साथै उहाँ ‘प्रतिभा पुरस्कार’(२०४०), ‘व्यथित काव्य पुरस्कार’ (२०४६), ‘सर्वोत्कृष्ट युवा साहित्य पुरस्कार’ (सन् १९९१), ‘युवावर्ष मोति पुरस्कार’ (२०५४), ‘साझा बालसाहित्य पुरस्कार’ (२०६२), ‘कविताराम बालसाहित्य प्रवद्र्धन सम्मान’ (२०६५) सहित एक दर्जनभन्दा बढी पुरस्कारले पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘एक उदास साँझ’ कवितासङ्ग्रहबाट दुईवटा कविताहरु प्रस्तुत गरिएको छ ।
एक उदास साँझ
थाकेको अनुभव गर्दैछ दिन
लोलाएका छन् उसका परेलीहरु
सुन्ने इच्छा पनि छैन यतिखेर कुनै सुमधुर सङ्गीत
गुनगुनाउने रहरलाई
बन्धकी राखेको छ उसले अहिले
मिर्मिरेसँगै देखिएका उत्साह र आह्लादको बाढी
सपनाहरुलाई बगाएर शान्त भएको छ
र, ठिक यसैबेला
घर फर्किरहेका गाईका बथानसँगसँगै
क्षितिजपारिबाट
झरिरहेछ साँझ विस्तारै
गोरेटा, गल्ली, सडक हुँदै आँगनहरुमा
र, पसिरहेछ
घरका प्रत्येक कोठा–चोटाहरुमा
र, कुनाकाप्चाहरुमा झ्याल र ढोकाहरुबाट
छायाँहरु पूर्वतिर लम्किरहेछन्
र, क्रमशः हराउन थालेका छन्
यस घडी
साथ नछाड्न् बाचा गरेका छायाँहरु पनि मसँग छैन
हराएका छन् आँखाबाट सपनाहरुको जुलुस
हराएका छन् ओठबाट विद्रोहको स्वर
हराएका छन् मनबाट आगोका फिलुङ्गा
र, यो झरेको साँझ
निस्तब्ध,
निश्चल
र, निरीह फैलिरहेछ ।
सूर्योदयसँगै थालिएका
दिनचर्याका भारीहरु फुकाउँदै
एकालापमा व्यस्त छ साँझ
आफैसँग बात मारिरहेछ
र, खोजिरहेछ आफ्नै दिनको हिसाब
कति गाह्रो छ हिसाब
क्यालकुलेटरबाट पनि मिलाउन सकिन्न
कति साह्रो छ जीवन
कम्प्युटरबाट पनि संभाल्न सकिन्न
चिया गिलासको तातो बाफसँगै
उडिदिए हुन्थ्यो यो साँझ
सिलिङका माकुरा–जालहरुलाई हेर्दाहेर्दै
बितिदिए हुन्थ्यो यो साँझ
यो साँझमा जीवनको
हिसाबकिताब गर्ने रहर पटक्कै छैन
यो साँझमा माया प्रेमका
कुरा गर्ने चाहना रत्तिभर छैन
नाता–कुटुम्बहरु
साथीसङ्गीहरु
परिचित जनहरु
कसैलाई सम्झने अलिकति पनि मन छैन
कोठाबीचको
टेबलमा बलिरहेको
एक्लो, नितान्त एक्लो मैनबत्ती झें
उदास छु म
र, उदास छ यो साँझ ।
०००

सँगसँगै
मृत्यु र अभिनन्दन
सँगसँगै भइरहेछ
अनि भइरहेछ जुलुस
धर्ना र महोत्सव पनि सँगसँगै
सँगसँगै बढिरहेछन्
महायज्ञ र चेलिबेटी बेचविखन
बालश्रमविरुद्ध बढेको चेतना
र, सँगसँगै बढिरहेछन्
बालश्रमिक र सडक बालबालिका
स्वास्थ्यकर्मी र स्वास्थ्यकेन्द्रसँगै
थपिँदैछन् रोग र रोगीहरु
बढिरहेछन् शिक्षालय
र, त्यही अनुपातमा बौद्धिक वैश्याहरु
एड र एड्स पनि
सँगसँगै भित्रिदैछन्
यिनीहरुबीच कति समानता छ ?
उत्तर दिनेको खोजी गर्दैछु
नेता या प्रशासक ?
प्राध्यापक या समाजसेवी ?
पत्रकार या अनुसन्धाता ??
०००