साइँली कमिनीको देश

WhatsApp Image 2026 08 13 at 2.50.47 PM 1

‘ज्यू’ गरें हजुर

म आँबुल्नी
आँबु गाउँकी साइँली कमिनी
सकिबक्सन्छ भने
यो निर्धोलाई
अलिकति दया गरिबक्सियोस्

हजुर
तपाईंको ऊ त्यो तखताबाट
जीउ तङ्ग्रयाउने
मलाई अलिकति ओखतीको झोल पाए
म यो बूढी आइमाई
हजुरको गुन कहिल्यै बिर्सने थिइनँ

ओखतीले बाँच्न पाए
अरू बाँच्ने थिएँ कि जीवन
अरू देख्न सक्थें कि दुनियाँ
कस्तो हुन्छ लोकतन्त्र ?
कस्तो हुन्छ गणतन्त्र ?
देख्न सक्ने थिएँ हुँला

जीवनको रङ त उस्तै हो, के फर्कला र
यी नाति–नातिनाको आँखामा खेलेको
खुसीहरू त देख्न सक्नेथिएँ
मलाई यिनीहरूको ओठले हाँसेको हेर्न
अचम्म रहर छ

धेरै भयो, खोकी चलेको छ
छाती असाध्यै दुख्छ
सास एकोहोरो फुल्छ
मुटु फुट्लाझैं जोडजोडले हल्लन्छ जीउ

बूढो भएपछि,
उमेरजस्तो यो जीउ कहाँ हुँदो रै’छ र ?
खोक्दाखाक्दै घुप्लक्क लडेपछि
खै ! यो जीवन यत्तिकै रै’छ झैं लाग्छ

जाँचेको कुन्नि कति पैसा लाग्छ ?
डाक्टर नानी, मसँग हजुरलाई दिने पैसा छैन
मैले इमान ढाँटेर
तपाईंलाई झुटो बोलेकी हैन
पत्याउनु हुन्न भने मेरो यो रित्तो पटुकी छ

यो जाडोमा यी नाति–नातिनालाई
एक कप तातो चिया खवाउनु पाए पनि
कति जाती हुन्थ्यो
यी केटाकेटीको ओठहरूबाट
थर्थराएको जाडोले म बूढीको मन दुख्छ

यस्तै जाडोको एकदिन
जुलुसमा हिँड्दाहिँड्दै
यिनीहरूका बाउआमाको ज्यान गयो
ऊ त्यो भित्तामा टाँगेका फोटाहरूमध्ये
दुई जना यिनीहरूकै बाउआमाहरू हुन्
सहिद भए भन्छन्

दुवै जना गिट्टी कुट्ने काम गर्थे हजुर
कहिले बालुवा चाल्थे
कहिले इँट्टा भर्थे
मेरो निधारको थाप्लोमा
यी नानीहरूको नाम्लो छाडेर
यिनेरूका बाउआमाहरू मभन्दा अघि भए
म बूढी लाचार भएर यी टुहुराहरू
डो¥याउँदै छु

हजुर, कस्तो हुन्छ लोकतन्त्र ?
म बूढीलाई लोकतन्त्रमा यी टुहुराहरू
हाँसेको हेर्न असाध्यै रहर छ ।

चित्र सौजन्यः राजेन्द्र सुवेदी

शारदादेउराली, २०६४

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these