गौरी देवकोटाका दुई कविता

WhatsApp Image 2026 07 24 at 3.50.02 PM

गौरी देवकोटा (जन्मः वि. सं. २०२९ पुष १५, गोरखा) कविता सिर्जनामा निरन्तर लागिरहनु हुने ऊर्जाशील कवि हुनुहुन्छ । ‘स्वाधीनताको रोजाइ’ (कवितासङ्ग्रह, २०६३) ‘मुक्तिको क्यानभासमा’ (कवितासङ्ग्रह, २०६८) र ‘सारथी’ (खण्डकाव्य, २०७३) प्रकाशित गरिसक्नु भएका गौरी देवकोटा मूलतः प्रगतिवादी स्रष्टा हुनुहुन्छ । ‘प्रतिरोध’ (२०७७) कवितासङ्ग्रह उहाँको चौथो काव्यकृति हो । देशको राष्ट्रिय राजनीतिले नेपाली समाज र सामाजिक जीवनमा पारेका प्रभावहरु उहाँका कविताहरुको मुख्य भावभूमिको रहेको छ । साहित्य लेखनसँगै विभिन्न साहित्यिक सङ्घसंस्था र सामाजिक कार्यहरुमा पनि उहाँको उत्तिकै सक्रियता रहेको देखिन्छ ।

उहाँ ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार’ (२०७७), ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ (२०८०) र ‘पुष्पपराग सफलता स्मृति सम्मान’ (२०८१) बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘प्रतिरोध’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।

अवैध पुल र पर्खालहरु

पुल बन्नुपर्ने ठाउँमा
पर्खाल बनेपछि
तरिँदैन पारि
पारि तर्न त पुल चाहिन्छ
पुल बन्नुपर्ने मनहरुले
पराइकै गुन गाएपछि
पारि तर्न पर्खेको आँखामा
आगो नबलेर
पानी मात्र बगाउन
हुँदैन सबैसँग माक्र्सलाई
बुद्ध देख्ने आँखाहरु

पर्खाल बन्नुपर्ने ठाउँमा
पुल बनेपछि
रोकिँदैन माटो
माटो रोक्न पर्खाल नै चाहिन्छ
पर्खाल बन्नुपर्ने मनहरु
पुल भएपछि
माटोमा ज्वालामुखी नफुटेर
शान्तिको मुल फुट्न
हुँदैन सबैसँग माक्र्सलाई
बुद्ध भन्ने मनोदोष

माक्र्सको जुक्ति लगाउनुपर्ने ठाउँमा
शान्तिको जोकर बनेपछि
समशान्ति खोज्नेहरुको हृदयमा
आक्रोश नउब्जिएर स्तुति गाउन
हुँदैन सबैसँग भिक्षु बन्ने अभिलाषा

भिक्षुहरु फिक्री गर्दैनन् घरको
माया मान्दैनन् माटोको
रमाउँछन् स्वयं शान्त रहनमा
चलाइरहन्छन् ऐन मौकामा
जोकरहरुले राज
बनिरहन्छन् ठाउँ कु–ठाउँ
पुल र पर्खालहरु
तर, माटोसँग हार्दिकता हुनेहरु
चलाइरहन्छन् स्वाभिमानको बुल्डोजर
अवैध पुल र पर्खालहरुमाथि
निरन्तर, निरन्तर, निरन्तर ।
०००

pratirodh 1

सज्जनवृन्द !

हो तिमी सज्जन छौ
तिम्रै सज्जनताको राडीले
घर्लप्प छोपेर
निसास्सिएकी म
राडी हुत्याएर
न्यानोको निम्ति
चिप्लिँदै चिप्लिँदै हिउँमा
उक्लिरहेँ शिखरतिर
तिमीले मलाई
जोगाउने बहानामा
थरीथरी नारा लगाउँदै
तानिरह्यौ, तानिरह्यौ
अनेकन हन्डर खेपेका खुट्टाहरु
तिम्रा सज्जनताबाट जोगिँदै जोगिँदै
उक्लिरह्यो, उक्लिरह्यो

हो तिमी भद्र छौ
तिम्रै भद्रताको महासागरमा
चुर्लुम्म डुबाइएकी म
शीतलताको निम्ति
हाम्फालेँ भुत्भुतेतिर
तिमीले मलाई
बचाउने बहानामा
लोरी गाउँदै, गाउँदै
थुम्थुम्याइरह्यौ, थुम्थुम्याइरह्यौ
अनेकन दाउपेच छिचोलेका मेरा स्नायुहरु
तिम्रा भद्रताहरुबाट जोगिँदै, जोगिँदै
उछिट्टिरह्यो, उछिट्टिरह्यो ।

हो मैले
मलमल मोडेको
दुम्सिकाँडे राडी हुत्याइदिएँ
त्यसैले म अभद्र
तिम्रा भद्रताका
मुखौटोहरु च्यातिदिएँ
त्यसैले म दुर्जन
चाहिँदैन मलाई
तिम्रा सज्जन र भद्र सम्बोधन
थन्क्याऊ आफूभित्रै आफ्ना भद्रताहरु
प्रदर्शन नगर आइन्दा
तिम्रा कुटिल सज्जनताहरु
नबनाऊ दूषित यो हावा
किनकि
बालिकाहरु श्वास फेरिरहेछन्
बालिकाहरु श्वास फेरिरहेछन् ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these