पहाडहरू

att.0DOJKcpIpr43kfVCBkde8qb7AVSMSqcrDPy4azvVSmA 1

मेरो सामुन्ने
बैंसालु दृश्यहरूको
यौटा पहाड उभिएको छ
म हेर्छु
र, एकटकले
त्यो अग्लो पहाडलाई
हेरिरहेको छु

पहाडहरू, जो कहिल्यै
आफू उभिएको भूमि छाड्दैनन्
पहाडहरू, जो कहिल्यै
आफूले छोएको धर्ती बिर्सदैनन्,
पहाडहरू जो कहिल्यै
हल्लाहरूले छुदैनन्

शान्त
स्निग्ध
र, निर्भीक
म त्यो पहाड हेरिहेको छु,
जहाँबाट सुरू हुँदै गइरहेका असङ्ख्य
पर्वत शृङ्खलाहरू छन्

पहाडहरू भएर खोलाहरू बग्छन्
पहाडहरू भएर छहराहरू खस्छन्
पहाडहरू भएर बतासहरू खेल्छन्
त्यहाँ देउराली छ
भन्ज्याङ छ
त्यहाँ लालुपाते छ
फूलहरूको मग्नता छ
त्यहाँ गोधूलि छ
निर्बन्धता छ
र छन् पक्षीहरूका उडान

पहाडहरू कहिल्यै बूढा हुँदैनन्
पहाडहरू थाक्दैनन्
बैंसले मात्तिदैनन्

पहाडहरूको कुनै राजनीति हुँदैन
त्यसैले त पहाडहरूलाई आफ्नो उचाइबाट
आफू तल खस्ने डर हुँदैन
पहाडहरूको कुनै स्वार्थ हुँदैन
त्यसैले त पहाडहरूलाई भत्किएर
आफू भाँचिने डर हुँदैन

पहाडहरू आफू दुख्छन्
अरूलाई दुखाउँदैन
पहाडहरु आफू सहन्छन्
अरुलाई रुवाउँदैन

कहिलेकाहीं
पहाडहरू कुहिरोले छोपिन्छन्
कुहिरोहरू धारिला खेलहरू खेल्छन्
पहाडभरि तार
र डिटोनेटरका
जालोहरू हुर्काउँछन्
र, विस्फोटका घाउहरू पार्छन्
तर पहाडहरू यसको कुनै
पर्वाह गर्दैनन्

पहाडहरू महान हुन्छन्
पहाडहरू अनुकरणीय हुन्छन्

म हेर्छु
र, एकटकले
म त्यो अग्लो पहाडलाई
हेरिरहेको छु

जहाँबाट नदीजस्तै मेरा हत्केलाका
रेखाहरू बगिरहेका छन् ।

२०५९

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these