त्यो साँझ–१

त्यो साँझ,
एउटा कालो बाजका नङ्ग्राहरूले
मेरो कविताको छाती हिर्काएर गए
र मृत्यु बोकेर आएका
काला पखेंटाहरूले मृत्युका
घोषित आदेशहरू सुनाएर गए

त्यो साँझ,
कतै थिएनन् चराहरूका गीत
वरिपरि, जहाँ कफ्र्युको आदेश थियो
र हावा बन्द थियो
कविताको आँखाबाट दुखिरहेको गाउँ थियो
गाउँका अशान्त दृश्यहरू थिए
पहाड थियो
एउटा उदास साँझ थियो
र दुखिरहेको आकाश थियो

त्यो साँझ,
त्यहाँ कतै थिएनन् फूलहरूका परागगन्ध
र त्यहाँ कफ्र्युको आदेशमा
उल्लास मनाइरहेका गोलीहरू थिए
गोलीले ताछिएका रुखहरू थिए
कतै थिएनन् मञ्जरीहरू
हाँगा लुछिएका बोटहरू थिए
पातहरू थिए
र त्यहाँ पाइतालाहरूले
कुल्चिएका प्रपातहरू थिए

त्यो साँझ,
गाउँमा दोहोरो कालो धुँवा खेलिरह्यो
र गाउँ गोलीका खोकाका चोटहरूले दुखिरह्यो
पिंढीमा चुराहरू दुखे
साहु धनपुरे बूढाका कुराहरू दुखे
कहीं, कतैबाट
गाउँमा साँझको बत्ती बलेन
मझेरीमा अलिकति चुल्होको आगो खसेन

त्यो साँझ,
बलेसीबाट झरिरह्यो मन
आफ्नै आँखाहरूबाट शरणार्थी भएर
खसिरह्यो मन

त्यो साँझ,
साइँली कमिनीका आँसु भएर
खसिरहेको थियो कविता
मृत आमाका स्तनहरूसँग खेल्दै
अज्ञात भोकले रोइरहेको
कलावतीको नानीसँगै
दुखिरहेको थियो कविता

त्यो साँझ,
अञ्जु विकको देहसँगै
दुख्यो कविता,

बस् !
खालि दुख्नु मात्रै थियो त्यो साँझ
दुख्नु थियो आँसु

आँसु भएरै
त्यो साँझ, कविता दुखिरहेको थियो ।

२०५९

साइँली कमिनीः शहीद अञ्जु विककी आमा
कलावती/अञ्जु विकः २०६८ माघ २३ गते तनहूँ जिल्लाको साउनेपानीमा शाहीसेनाबाट हत्या गरिएका
माओवादी कार्यकर्ता ।

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these