0

त्यो छिम्कालेक पनि अग्लो अग्लो झैं लाग्छ

Share

हाडहरुजस्तै छरपस्ट उठिरहेका
महाभारत पर्वत श्रृङ्खलाका अग्ला लेकहरु छन्
असत्ती सत्ताका आँखाहरुले सधैं डामिरहने
कविताका हरफहरु झैं
सधैं सासनाले हिर्कारहेका
लालीगुराँसका बोटहरु पनि छन्
छन्– भुइँकुहिराहरु छन्
ओस लागेका खरीजुकाहरु छन्
बादलका काला छायाँहरुमुनि वेवजह हुर्किरहेका
बाजहरुका आततायी ओंठहरु पनि छन्

गाउँहरु छन्
बस्तीहरु छन्
र छन्
प्रकृतिका यावत कठिनहरु छन्
खर्कहरु छन्
बेसीहरु छन्
तर कतै देखिँदैन गाईगोठ र चरन उर्वरभूमिहरु
हावामा बयली खेल्ने लयपूर्ण सुसेलीहरु
पनि कतै सुनिँदैन
न कतै पातका पिपिरीहरु बज्छन्
न कतै बाँसुरीका धुनहरु खेल्छन्

रुखका हाँगा हाँगाहरुमा
कतै पातहरु झुल्दैनन् /यातना झुल्छ
पहराहरुमा कतै गुराँसहरु फुल्दैनन् /लाशहरु फुल्छन्
मान्छेका पदचापहरुभित्र गोधुलि झरेको
पनि कतै देखिँदैन

देखिएन,
यसपटक पनि देखिएन
भोर्लाका लहराहरुमा बाँदरका हुलहरु
दौडदै, उफ्रदै खेलेको पनि
कतै देखिएन
बाली बिगार्ने भयले
गोठ कुर्न जानेहरु पनि यसपटक
थोत्रा टिनहरु बोकेर बाँदर धपाउन
खोरिया हिँडेको पनि कतै देखिएन
गाउँभरि
बस्तीभरि
केबल काला बर्दीहरु देखिए
तिनीहरुका काला बुटहरुले कुल्चिएका
पाइतालाका नाङ्गा छापहरु मात्र देखिए
फापरका बोटहरुमा कतै
जीवनको रङ फुलेको देखिएन
कान्लाहरुमा आमाका छातीहरु
च्यातिइरहेको देखियो
मृत्युजस्तै दलिनहरुमा सङ्गीनहरु झुण्डिरहे
र सुस्केराहरुजस्तै पिँढीहरुबाट
चलिरहे ताता गोलीहरु
काँही कतै चराहरुले साँझ
आफ्नो बासस्थान फर्किएको पनि देखिएन

यहाँबाट
तल देखिन्छ मर्स्याङ्दी
मस्र्याङ्दी र दरौंदीले पारेको बगर
बगरजस्तै मान्छे
र करङजस्तै बस्ती
बेलुकीपख, जहाँ मुटु छेड्ने चिसो बतास
सधैं एकनास चलिरहन्छ
र अँध्यारोले अनायासै तर्साइरहन्छ
र लिलिपुटजस्ता होंचा मान्छेहरु
निन्द्रा भाँचेर रातमा बेचैनीको
तीब्र श्वास फेरिरहन्छ

यहींबाट
फेरि पनि देखिन्छ
टाढा, अझै टाढासम्म पनि देखिन्छ– ताकुकोट
झिम्पे, सिरुवानी, गाम
हुकाम र श्रीअन्तुका अग्ला लेकहरु देखिन्छ
र देखिन्छ पहाडजस्तै अग्ला कद भएका
मान्छेका गोधुलिका पदचापहरु
र जब सहज देखिन्छ
यी सब यहाँबाट
तब किन रापिएर तातो तातो लाग्छ छिम्कालीहरु
तापिएर फेरि रातो रातो लाग्छ कोटेलीहरु
कतै निद्रा छैन
कतै दुःस्वप्न छैन
मुर्छनाबाट ब्युँझिएर झनै किन
नयाँ नयाँ लाग्छ अँदेलीहरु

गाउँ उही छ
बस्तीहरु उही छन्
उस्तै दुःख छ
र पीडाहरु उही छन्
फेरि पनि यसपटक
कतै आँसुले अल्झिएका आँखाहरु छैनन्
कतै छैनन् व्यथित सुस्केराहरु
कतै निरीह/दुरुह छैन गाउँ
कतै सुस्त/दुरुस्त छैन गाउँ
आँखाबाट भुइँकुहिरो झारिरहेका
यी लेकहरु पनि
यी बस्तीहरु पनि
किन सग्लो सग्लो लागिरहेछ
त्यो छिम्कालेक पनि आज
अग्लो अग्लो झैं लागिरहेछ ।

चित्र सौजन्यः मनोज तामाङ

जनादेश, २०५५

%d bloggers like this: