0

अलबिदा सेन, अलबिदा इच्छुक

Share

तिमीसँग
ऊ त्यो एउटा सारङ्गी छ
त्यो हामीलाई देऊ
दिनसक्छौ ?
तिमीले त्यो सारङ्गी ?
हामी आफ्ना हातहरूले बिस्तारै
त्यसका तारहरूलाई
छोइरहन्छौं

जब हामी छोइरहन्छौं
त्यसका तारहरू
र, त्यसबाट निस्किरहनेछ धुन
म ती धुनहरू टिपेर
मेरो प्रिय कविलाई
समर्पित गर्छु

अनिरुद्ध
शरद ऋतुको यो अन्तिम साँझ
हामी बिदाको एउटा अन्तिम गीत
गाइरहेका हुने छौं
‘अलबिदा सेन,
अलबिदा इच्छुक’

तिमीसँग
ऊ त्यो एउटा हारमोनियम छ
त्यो हामीलाई देऊ
ऊ त्यो एउटा मादल
त्यो बाँसुरी
त्यो गिटार
हामीलाई दिनसक्छौ ?
तिमी यी सब चीजहरू ?
हामी आफ्ना औंलाहरूले बिस्तारै
त्यसका लयहरू
खोजिरहन्छौं

र, जब गीतिमय
त्यसका लयहरू निस्किरहन्छन्
म ती लयहरू टिपेर
मेरो प्रिय कविलाई
समर्पित गर्छु

अनिरुद्ध
शरद ऋतुको यो अन्तिम साँझ
हामी बिदाको एउटा अन्तिम गीत
गाइरहेका हुनेछौं
‘अलबिदा सेन,
अलबिदा इच्छुक’

उदास डाँडा बिग्रिएका घरका छानाहरू भएर
शरदकालीन हावा बग्छ
र सुकिरहेका रूखका हाँगाहरूमा
बेसरम मैथुन खेल्न सुरू गर्छन्
निकृष्ट जल कौवाहरू
पानीका तलाउबाट निस्किएर
अत्यन्त निकटस्थ देखिने ती मौज्दात
जल कौवाहरू नै कविताका विरूद्ध
अहिले युद्धरत् छन्
म केही जरूरी फरमानहरू जारी गर्छु
र, माग गर्छु जल कौवाहरू विरूद्धका
केही कविताहरू

म प्रिय सर्वदाका मजबुत आँखाबाट
कविताको बीजन गर्छु

तिमीसँग
ऊ त्यो एउटा कलम छ
मलाई देऊ
आवश्यक छ अहिले केही कविताहरू
यो बन्द कारागारबाट
माथि आकाशमा देखिएको
बादलको एकसरो रातो धर्कोले बाँधेर
म मेरो प्रिय कविलाई
एउटा रातो किताब
समर्पित गर्छु

पर्खालहरू चुपचाप छन्
र मृत्युका अन्तिम आदेशहरूले बिस्तारै
हामीलाई चियाइरहेका छन् जेलका
गुप्त फाइलहरूबाट

आँखाहरू फेरि यतिबेला
शरद ऋतुको यो अन्तिम साँझ
अन्तिम कोरस गाइरहेछ
‘अलबिदा सेन,
अलबिदा इच्छुक’

अनिरुद्ध
जेलका पर्खालहरू नाघेर
टाढा टाढासम्म फैलिरहेका यी गीतहरू
के तिमीले सुनिरहेका छौ ?

२०५९

%d bloggers like this: