0

सीमा आभासका दुई कविता

Share

सीमा आभास नेपाली कवितामा एक हस्तक्षेपकारी नाम हो । ओखलढुङ्गामा जन्मिएर विराटनगरलाई आफ्नो कर्मथलो बनाएका उनले मोफसलमै रहेर पनि आफ्नो लेखनका माध्यमबाट साहित्यमा सशक्त उपस्थिति देखाएका छन् । ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रह (२०६३), ‘टापुका स्वरहरु’ कथासङ्ग्रह (२०६६) र ‘म स्त्री अर्थात आइमाई’ कवितासङ्ग्रह (२०७३) उनका हालसम्म प्रकाशित कृतिहरु हुन् ।

उनका कविताहरु विभेद र असमानताका विरुद्ध छन् । सीमान्तकृत र उत्पीडनमा रहेका वर्गका पक्षमा छन् । विद्रोह उनका कविताको मूल स्वर हो । उनका कवितामा ग्रामीण जनजीवन छ । ग्रामीण जनजीवनको दुःख छ । पहिचान र उन्मुक्तिको खोजी छ ।

कवि र कविताको भीडमा कवि सीमा आभासको एउटा सग्लो आकृति कोर्दै ‘साँझको सङ्घारबाट’ कवितासङ्ग्रहमा कवि कृष्णभुषण बल लेख्छन्, ‘नछोएको आकाश छुन खोजिन्, नभेटेको क्षितिज भेट्न खोजिन्, नचढेको शिखर चुम्न खोजिन्, नहाँसेको धरती हँसाउन खोजिन्, नबजेको बाँसुरी बजाउन खोजिन्, नपुजेको मन्दिर पुज्न खोजिन्, रुख विरुवामाथि विचरण गर्ने हावामा गति भर्न खोजिन्, दक्षिणतिर हानिएको रोशीमा सङ्गीत भर्न खोजिन्, अथवा साँझको सङ्घारबाट जे जे देखिन् वा भोगेर, देखेर, टेकेर हेरेर र पृथक लाग्ने शालीनता, शिष्ट भाषामा तीब्र भाव, नम्र स्वभाव र बेग्लै तरिकामा कवितासँगै हराएर आफूलाई बेग्लै उभ्याउने र चिनाउने नाम हो सीमा आभास ।’

साहिँली ब्यूँझ न !

ए ! साहिँली ब्यूझ न !
आज तिम्रो जन्मदिनको रात हो यो
बादल बैंसले पट्ट फुटेर
वृष्टि भएको बिहान हो यो
तिम्रो दीर्घायुको कामना उचालेर गाएको गीतले
तिम्रै आगमनको स्वागत गर्दा आफै लुछिएकी छ्र्यौ
तिम्रो जन्मदिनमा बालेका बत्तीहरुले
आफै पोलिएकी छ्यौ
एक हत्केलो आकाश उचाल्न
एक फुट धर्ती बोक्न
हार र जीत नभएको युद्ध गरिरहेकी छ्यौ
परिचय पाउन नसक्ने नामबाट

छाउपडीभित्र कति लुकिरहेकी छ्यौ ?
सुकोमल किशोरी बन्न
उन्माद र मादकतामा
आँसुले भिजेका खोल ओढेर

एक टुक्रा इतिहासको बीचमा
उज्यालो हुन नसकेको
उद्धिग्न रातको परपीडा
बिहानी किरणका फ्रेमभित्र जुठो बारेर
आफैलाई नचिन्ने धर्मभीरुहरु
आफैलाई देखेर गर्व गरिरहेछन् ।

गुन्युले बेरेर तिम्रो अस्तित्व
जिउँदो पुल्ठोको लप्का धुँवाइरहेको छ
तिम्रो जन्मदिनमा मृत्युको बाजा बजाएर
तिम्रै इन्द्रियहरु पिल्स्याइएका छन्
फगत बाँचेका अस्तित्हरु
स्वादमा कति चाट्छन् हँ !
बिनाबन्दुक
बिनासम्झौता
बाङ्साङ्ग् झुपडीबाट छाउपडी भत्काउँदै
पीडाबोधमा ब्युँझने बिहानीसँगै
हार या जीत बोकेर
युद्धको आँगनमा जाऊँ है साहिँली ।
०००

129480336 2464988690470367 8467876031088013610 n

लखेटिँदा लखेटिँदै

मैले प्रथमपटक टेकेको माटोबाट लखेटिँए
मैले प्रथमपटक हेरेको अनुहारबाट लेखेटिँए
मलाई प्रथमपटक समातेका हातहरुबाट लखेटिँए
लखेटिँदा–लखेटिँदै आफू आफैबाट लखेटिँए ।

कतै स्नेह र प्रेम नछरिएको
मरुभूमिभन्दा पनि शून्य र उराठ बाटो हुँदै
पसिनैपसिनाको कन्चट
आँतभरि तिर्खा लिएर लखेटिँए ।

लखेटिँदा लखेटिँदै
बाटो वरिपरि गुराँस फुल्ने देशको याद आयो
चिसो पानी बग्ने गाउँको पँधेराको याद आयो
काफल पाकेको जङ्गलमा कोइली गाएको गीतको याद आयो
र याद आयो मलाई झुक्याएर भागेको विगतको
लखेटिँदै जाँदा
बाटोमा कतै विश्राम भेटिएन
समी, पीपल र चौतारो पनि भेटिएन

लखेटिँदै जाँदा
थुप्रै चीजहरु भेट्टाएँ र गुमाएँ
समात्न खोजेका हातहरु छोडिएका छन्
संगाल्न खोजेका साथहरु छोडिएका छन्
छेकबारहरु चुँडेर दौडिरहँदा
अञ्जान बस्तीमा नानीहरु खेलेको भेटेँ
आफूभरि आँखाभरि

लखेटिँदा–लखेटिँदै
कल्पनाका गुराँसबाट पनि लखेटिँए
मैले विश्राम नगरेको चौतारोबाट लखेटिँए
मैले शीतलता नतापेको छहारीबाट लखेटिँए
स्वयम् आफ्नै छाँया छोडिएर लखेटिँए
यसरी
मैले प्रथमपटक टेकेको माटोबाट
म आफै लखेटिँए
०००

%d bloggers like this: