साहित्यमा समाजको सौन्दर्य निर्माण

साहित्य र कला समाजको प्रतिविम्बन हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै एउटा समुन्नत, सभ्य र सुसंस्कृत समाजको निर्माणमा जोड दिन्छ । जीवन गतिशील छ । र, साहित्य त्यही गतिशील जीवनको एउटा प्रतिबिम्बन पनि हो । साहित्यले गतिशील जीवनको व्याख्या बोकेको हुनुपर्छ । साहित्यले नदीजस्तै बग्नु पर्छ । कतै शान्त र स्थिर । र, कतै वेगवान, भङ्गालोमा धार बोकेको प्रवाहजस्तै । साहित्यले सामाजिक अन्तर्वस्तुहरुलाई अध्ययन गर्छ र यसलाई लिपिबद्ध गर्छ । त्यसैले साहित्य सामाजिक चेतनाको एउटा विशिष्ट रुपको अभिव्यक्ति पनि हो । चेतनाका विभिन्न रुपहरुले झैं कला र साहित्यले पनि समाजको जीवनलाई अभिव्यक्त गर्छ । कला र साहित्यले सामाजिक जीवनको सौन्दर्यता खोज्छ ।

कला र साहित्यलाई व्याख्या गर्दै माक्र्सवादी सौन्दर्य चिन्तक प्राध्यापक डा. ताराकान्त पाण्डेय भन्छन्, ‘कलाको आफ्नो विशिष्ट प्रकृति भनेको यसले सौन्दर्यात्मक गुणलाई आत्मसात् गर्नु र सौन्दर्यात्मक विधानमा प्रकट हुनु हो ।’ यसैगरी समालोचक डा. कृष्णराज अधिकारी ‘साहित्यमा सौन्दर्यतत्व समेत निहित हुनाले कलासाहित्यलाई सामाजिक चेतनाका अरु रुपभन्दा विशिष्ट’ मान्छन् ।

कलासाहित्य सामाजिक जीवनका अभिन्न अङ्ग हुन् । साहित्यकार स्वयं समाजको एउटा भोक्ता भएको हुँदा साहित्यकारले गर्ने सिर्जना भनेको सामाजिक जीवनको यथार्थभन्दा भिन्न हुनै सक्दैन । त्यसैले समाज साहित्यको आधारभूमि हो । मान्छे जहिल्यै पनि सङ्घर्षशील छ । आफ्नो दैनिक जीवन व्यवहारमा उसका दिनचर्याहरु सधैं कहीँ न कहीँ सङ्घर्षका क्रियाकलापहरुसँग जोडिइरहेको हुन्छ । मान्छेको यही सङ्घर्षशील स्वभावले उसलाई नवीनताको खोजीतिर धकेलिरहेको छ । डा. अधिकारी लेख्छन्, ‘सौन्दर्यप्रतिको अनुरागले नै मानिसले कलाको सिर्जना गर्न पुग्दछ । निरन्तर श्रम र सङ्घर्ष अनि निरन्तर समुन्नत र सुखी जीवनको खोजले मानिसलाई कला निर्माणमा प्रेरित गर्न पुगेको हो । त्यसैले वस्तुगत जीवनको यथार्थबाटै कलासाहित्यको उत्पत्ति हुने गर्दछ ।’

कलाको यही शक्तिले मान्छेको मस्तिष्कको भित्री तहसम्म पुगेर यसले मान्छेलाई प्रभाव पार्छ र संवेदित बनाउँछ । कलाको यही सौन्दर्य शक्तिले मान्छेलाई सामाजिक रुपान्तरणमा एउटा उत्प्रेरणा पैदा गर्छ । साहित्यले मान्छेलाई आह्लादित बनाउँछ र सामाजिक परिवर्तनको लागि एउटा उद्वेग तयार गर्छ । कला र साहित्यले नै मानव सभ्यताको निर्माण गर्छ । यसर्थ पनि समाजको रुपान्तरणकारी भूमिकामा साहित्यको भूमिका प्रधान रहन्छ । जबसम्म साहित्य, कला र संस्कृति हुँदैन, त्यो समाजसँग आफ्नो केही हुँदैन ।

आँबुखैरेनीको ऐतिहासिक अवलोकनः
कुनै पनि समाजको साहित्य, कला र संस्कृतिको अध्ययन गर्दा त्यो समाजको विकासका चरणहरुको अध्ययन हुनु जरुरी हुन्छ । समयको एउटा लामो कालखण्डमा समाजले एउटा सभ्यता निर्माण गर्छ । र, कला, साहित्य र संस्कृतिको अध्ययनले त्यो समाजको ऐतिहासिक सभ्यता कति बलियो छ भन्ने कुरालाई बुझ्न सकिन्छ । यसर्थ साहित्य, कला र संस्कृति पनि समाज विकासको चरणको लामो प्रक्रियाहरु भएर निर्माण हुन्छ ।

आँबुखैरेनी तनहुँ जिल्लाको पूर्व प्रवेशद्धारको रुपमा रहेको व्यापारीक केन्द्र हो । पृथ्वी राजमार्ग र गोरखा नारायणगढ सडक खुलेपछि मात्रै आँबुखैरेनी र यस वरपरका क्षेत्रहरु व्यापार केन्द्रको रुपमा विस्तारै अस्तित्वमा आएको हो । जसरी तनहुँको इतिहासमा शाहकालीन समयको अध्ययन गर्दा तनहुँसुर राज्यको उल्लेख भएको पाइन्छ । जसरी बन्दीपुरको राणाकालीन सांस्कृतिक अभिलेखहरु पाइन्छ । त्यसरी नै ऐतिहासिक र सांस्कृतिक रुपमा आँबुखैरेनीको कुनै लेखोट वा अभिलेखहरु भने अहिलेसम्म कतै पाइएको देखिँदैन । इतिहासकार प्राध्यापक नयराज पन्तको ‘नेपालको संक्षिप्त इतिहास’ मा गोरखा राज्यको उल्लेख गर्दा वि. सं. १६९० मा राम शाहले मस्र्याङ्दी र दरौंदीको दोभानमा आइ देह त्याग गरेको उल्लेख भने पाइन्छ । यो बाहेकको यस भूमिको अरु कुनै प्रसङ्ग इतिहासमा देखिँदैन । कुनै समय मस्र्याङ्दी र दरौंदी नदीले बनाएको यो ठूलो ताल वा तलाउ थियो भन्ने कुरालाई बरु यहाँको भू–बनोट र जमिनको धरातलले सजिलै अनुमान गर्न सकिन्छ । ऐनापहराबाट काटिएर गएको पानीको निकासले समयान्तरमा यो ठाउँलाई ठूला फाँटहरु बनाएर छाडेको देखिन्छ । औलोको डरले मान्छे हिँड्न पनि डराउने यो बिशाल फाँट र टारहरु आबादी भएको ५० बर्ष पनि पुगेको देखिँदैन । मस्र्याङ्दी पारि मजुवाका टारहरुमा दराई जातिहरुले बसोबास शुरु गरेपछि मजुवाघाटमा डुङ्गा चल्यो । हिउँदमा मस्र्याङ्दीमाथि फड्के वा साँघु हालेर विस्तारै यस ठाउँलाई गोरखाली व्यापारीहरुले चितवनसँग आवतजावतको बाटो बनाए र यो ठाउँ विस्तारै भोट र चितवनको व्यापारमार्ग बन्यो । यातायातको सुविधा, खेतीयोग्य जमिन र शिक्षा, स्वास्थ्य र सञ्चार सुविधाका कारण हाल आएर यस क्षेत्रमा बसोबासको तीव्रतर विकास हुँदै गइरहेको देखिन्छ ।

आँबुखैरेनी र साहित्यः
नेपाली साहित्यमा तनहुँलाई एउटा साहित्यिक उर्वर भूमि मानिन्छ । भानुभक्तको उदयले नेपाली माध्यमिककालीन कविताको युगको शुरु ग¥यो । संस्कृत भाषाको एकछत्र दबाब झेलिरहेको समयमा भानुभक्तले रामायणलाई जनबोलीमा भिज्ने गरी लेखिदिएपछि साहित्य पनि सर्वसाधारणसम्म पुग्यो । यसले चुँदीलाई मात्र चिनाएन, तनहुँलाई साहित्यको भूमिको रुपमा चिनायो । तनहुँकै अर्का जनकवि गोकुल जोशीले आधुनिक प्रगतिवादी स्वच्छन्द कविताहरुको युगको शुरुवात ग¥यो । फरक काल, फरक समय र फरक धाराका यी दुवै कविहरु नेपाली साहित्यका मानक हुन् । अहिले लेखिँदै गरेका नयाँ पुस्ताका कविताहरुमा यी दुई फरक परम्पराका कविहरुले प्रतिनिधित्व गरेका कविताका स्वरहरु नै पाइन्छ ।

आँबुखैरेनीको साहित्यको लामो पृष्ठभूमि देखिँदैन । साहित्यको कुरा गर्दा शिक्षाले समाजमा पारेको प्रभाव र समाजमा त्यसका सम्बन्धहरु कसरी विकास भइरहेको छ त्यसको अध्ययन हुनु जरुरी छ । चेतना निर्माणमा शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । तर आँबुखैरेनीमा शिक्षाको शुरुवात धेरै पछि मात्र भएको देखिन्छ । २०२७ सालमा स्व. खड्गबहादुर बेग्नासी, स्व. तुलसीदास मल्ल, स्व. वीरबहादुर थापा, स्व. रामचन्द्र के.सी., स्व. चन्द्रबहादुर बाचे, मुक्तिबहादुर के.सी., स्व. मानकाजी श्रेष्ठ, स्व. मेघविलास खनाल, भगवानदास मल्ल, गोविन्द अधिकारीले रामशाह निम्न माध्यामिक विद्यालय खोलेपछि शिक्षाको पहिलो खुड्किलोको शुरुवात भएको देखिन्छ । शिक्षाको चेतनाको यो पहिलो प्रयास नै आँबुखैरेनीको सामाजिक र शैक्षिक विकासको पहिलो साहसिक प्रयास थियो । मलाई लाग्छ आँबुखैरेनीको सामाजिक रुपान्तरणको पहिलो अभिलेख पनि यही हो ।

आँबुखैरेनीको साहित्यको लिखित अभिलेख अनिल श्रेष्ठको २०४७ सालमा काठमाण्डौबाट प्रकाशित हुने मातृभूमि पत्रिकामा छापिएको ‘ऊ अझै जीवित छ’ कथालाई नै पहिलो मानिन्छ । प्राध्यापक जनार्दन दाहालको शोध अनुसार अनिल श्रेष्ठको कथा सङ्ग्रह ‘प्रजातन्त्र र पागल’ तनहुँको साहित्यमै पहिलो र एउटै कथासङ्ग्रह रहेको बुझिन्छ । आँबुखैरेनीलाई नै सिर्जना क्षेत्र बनाएर साधनारत् स्रष्टाहरु र सङ्ग्रहका रुपमा प्रकाशनमा आइसकेका कृतिहरुमा अनिल श्रेष्ठकै ‘मृत्युपर्व होइन मेरो देश,’ ‘आरु फुलेको साँझ,’ ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरु’, ‘मफलर युद्ध’ र ‘टाइगर हिलकी पुनम’ ‘प्रतिनिधि कविता’, ‘मध्यरातमा मुर्कट्टा’, सानुकाजी थापाको ‘अनावरण’, ‘तथ्यको गुँज’, नारायणप्रसाद पोखरेलको ‘तालिमको सिलसिलामा’, ‘तीजको गीत’, ‘टोपी,’ ‘मस्र्याङ्दी,’ ‘प्रतिबिम्ब,’ र ‘अमरगाथा,’ धनबहादुर थापामगरको ‘मेरो हजुरबा,’ ओजराज देवकोटाको ‘शूक्ष्म वेदान्त दर्शन’ र ‘संक्षिप्त पद्य रामायण’ पूर्ण थापामगरको ‘ङा मगर,’ तीर्थराज खनालको ‘प्राकृतिक रबर,’ अमृत आचार्यको ‘लुधीखोला’ र ‘मेनुका’ आदि देखिन्छ । बेलाबेलामा जागिरको सिलसिलामा आँबुखैरेनी आइपुग्ने केही साहित्यकारहरुलाई पनि आँबुखैरेनीले पाएको छ । खासगरी राष्ट्रिय वाणिज्य बैंकलाई म यहाँ उल्लेख गर्न चाहन्छु । हरिशंकर अमात्य, बाबुकाजी सिलवाल, जनार्दन पुडासैनी (राजव), माधव खतिवडा, लेखनाथ अधिकारी र माणिकरत्न शाक्यले आँबुखैरेनीमा बसेरै आफ्ना धेरै रचनाहरु सिर्जना गर्नुभएको छ । यसैगरी भगवान खनाल, भरतबाबु ढकाल, ओमकृष्ण श्रेष्ठ, युवराज बगाले, इन्द्रमान परियार, शैलेश विक, भगवानदास मल्ल, अर्जुन कुमार ढकाल, कृष्ण महत, श्रीराम भट्टराई, कमल सापकोटा, कृष्णबहादुर श्रेष्ठ, लक्ष्मण बगाले, शुक्र चुमान आदि थुप्रै नामहरु आँबुखैरेनीको साहित्यसँग जोडिएर आउँछ । आँबुखैरेनीको साहित्यिक प्रतिभाहरुको विकासमा आँबुखैरेनीबाट प्रकाशित हुने शारदादेउराली र आँबुखैरेनी पोष्ट पत्रिकाको भूमिकालाई पनि यहाँ बिर्सन सकिँदैन । विगत एक दशकदेखि आँबुखैरेनी र यस वरपरका क्षेत्रहरुमा हुँदै आइरहेका थुप्रै साहित्यिक क्रियाकलापहरुलाई आँबुखैरेनीले संयोजन गरेको छ । मनकामना साहित्यिक सद्भाव–२०६३, गणतान्त्रिक कविता महोत्सव, बन्दीपुर–२०६४, छिम्केश्वरी पर्यटन साहित्य महोत्सव–२०६६ र ८१ औं शारदा घरदैलो प्रतिभा प्रवाह आँबुखैरेनीमै संयोजन गरिएका साहित्यिक कार्यक्रमहरु थिए ।

आँबुखैरेनी स्रष्टा समाजको स्थापनाः
आँबुखैरेनी र यस वरपरका क्षेत्रभित्र रहेका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना, विकास र त्यसको सम्बद्र्धन गर्दै कला र साहित्यका माध्यमबाट वाङ्मयको क्षेत्रमा आँबुखैरेनीको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गराउन ‘आँबुखैरेनी स्रष्टा समाज’ को स्थापना गरिएको छ । यस संस्थाले (क) लेखकहरुको हकहितको संरक्षण र सम्बद्र्धनको लागि प्रयत्नशील रहने । (ख) सामाजिक विसङ्गति, विकृति, अन्धविश्वास र रुढीवादी परम्पराको विरुद्धमा प्रगतिशील र प्रजातान्त्रिक मूल्य, चेतना र न्यायपूर्ण समाजको नूतन संस्कृतिको पक्षमा क्रियाशील रहने (ग) देशभित्र विद्यमान सबै भाषाको भाषिक समानता र अधिकार प्राप्तिको लागि क्रियाशील रहने । र, (घ) साहित्यिक प्रतिभाहरुलाई उर्जा र अवसरको वातावरण सिर्जना गर्ने, जस्ता कार्यहरुलाई आफ्नो उद्देश्य बनाएर क्रियाशील रहँदै आएको छ ।

प्रथम आँबुखैरेनी महोत्सवको अवसर पारेर २०६१ भाद्र १ र २ गते यस समाजले आँबुखैरेनीको उद्योग वाणिज्य सङ्घको हलमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरेको थियो । वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौलाको प्रमुख आतिथ्य र राजधानी र मोफसलका १५ जिल्लाको प्रतिनिधिमूलक साहित्यकाररुको उल्लेख्य सहभागिता रहेको ‘मोफसलमा साहित्य’ विषयक अन्तरक्रिया र काव्य गोष्ठीलाई सफलतापूर्वक सम्पन्न गरेर यो सम्मेलनले ५ बुँदे आँबुखैरेनी घोषणापत्र जारी गरेको थियो जसलाई मैले यहाँ उल्लेख गर्न सान्दर्भिक ठानेको छु ।

५ बुँदे आँबुखैरेनी घोषणापत्र
१) सूचना र सञ्चारले केन्द्र र मोफसलको दुरी धेरै हदसम्म घटाए पनि कतिपय
अवस्थामा यो दुरी कायम रहेको
२) केन्द्र र मोफसलको मनोविज्ञानबाट स्रष्टाहरु मुक्त हुनुपर्ने
३) स्तरीय सिर्जना कर्मलाई स्रष्टाले आफ्नो अभीष्ट बनाउनुपर्ने
४) मोफसलका स्तरीय सिर्जनाको प्रकाशन तथा प्रचार प्रसारमा केन्द्रका स्रष्टा तथा
सम्बद्ध संस्थाहरुले आवश्यक सहयोग गर्नुपर्ने
५) राज्यप्रदत्त सुविधा तथा अवसरहरु समान अनुपातमा वितरण हुनुपर्ने
मितिः २०६१÷०५÷०२

आँबुखैरेनी वाङ्मय पुरस्कारः
आँबुखैरेनी स्रष्टा समाजले साहित्यतर्फ ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्यव्यङ्ग्य विधातर्फ ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ गरी जनही रु दश हजारको दुईवटा पुरस्कारहरुको स्थापना गरेको छ । संस्थाले प्रत्येक वर्ष स्रष्टाहरुका प्रकाशित कृतिहरुमध्येबाट छनौट गरी एक कृतिलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एकजनालाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ले पुरस्कृत र सम्मान गरिदैं आइरहेको छ । यसैगरी आँबुखैरेनी र यस वरपरका क्षेत्रमा बसेर समाजसेवामा विशिष्ट योगदान पु¥याउने समाजसेवी र सामाजिक अभियन्तालाई पुरस्कृत गर्ने उद्देश्यले एक ‘उत्कृष्ठ समाजसेवी’ पुरस्कार स्थापना गरिएको छ । पुरस्कारको लागि पाँचलाखको एक अक्षयकोष बनाइएको छ । र, त्यसबाट प्राप्त ब्याजले पुरस्कारहरु दिने व्यवस्था गरिएको छ । यसैगरी आँबुखैरेनी क्याम्पसका व्यवस्थापन र शिक्षाशास्त्र संकायका सर्वोत्कृष्ठ दुई विद्यार्थीलाई प्रोत्साहन स्वरुप सर्वोत्कृष्ठ छात्रछात्रा पुरस्कार प्रदान गर्ने गरी समाजले ‘महेशकुमार श्रेष्ठ स्मृति पुरस्कार’ राखेको छ ।

सायद जीवन भनेको नै एक पाइला हिँड्नु हो । एक पाइला हिँड्दा हाम्रो अर्को पाइला अघि बढिसक्छ । पाइलाहरुले नै गतिशीलता पैदा गर्छ । र, यात्रा तय गर्छ । साना साना बाँसहरुलाई बुनेर हामी एउटा बलियो साँघु निर्माण गर्न सक्छौं र नदी तर्न सक्छौं । कला, साहित्यको क्षेत्रमा आँबुखैरेनीलाई पहिल्याउन हामीले गरेको यो कार्य एउटा सत् प्रयास हो । एउटा सौन्दर्य निर्माणको प्रयत्न हो ।

आँबुखैरेनी पोष्ट

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these