सरस्वती श्रेष्ठ ‘सरु’का दुई कविता

WhatsApp Image 2026 07 24 at 3.48.55 PM

सरस्वती श्रेष्ठ ‘सरु’ (जन्मः २०२५, लमजुङ) पोखरालाई कर्मक्षेत्र बनाएर निरन्तर साहित्य साधनामा जुटिरहनु भएकी समकालीन युवा पुस्ताकी एक सशक्त कवि हुनुहुन्छ । गीत लेखनबाट आफ्नो लेखनयात्रा सुरु गर्नु भएकी सरस्वती श्रेष्ठ ‘सरु’ कवितामा विशेष दख्खल राख्नुहुन्छ । उहाँका कविताहरुमा एउटा विशिष्ट काव्यिक सौन्दर्य चेतना पाइन्छ ।

उहाँका ‘थुँगा थुँगा जिन्दगी’ (गीतसङ्ग्रह–२०६३), ‘एक झुल्को घाम ओर्लेर सडकमा’ (कवितासङ्ग्रह–२०६७), ‘फूलहरुको आँधी’ (कवितासङ्ग्रह–२०७४) र ‘किट्टी’ (बालकथासङ्ग्रह– २०७६) कृतिहरु प्रकाशित रहेका छन् ।

उहाँ ‘नवकविता प्रतिभा पुरस्कार’–२०५४, ‘बाबा साहित्य साधक पुरस्कार’–२०६३, ‘स्रष्टा साहित्य चौतारी पुरस्कार’–२०७२ र ‘सुभद्रा अधिकारी प्रतिष्ठान पुरस्कार’–२०७६ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘एक झुल्को घाम ओर्लेर सडकमा’ कवितासङ्ग्रहमा रहेको दुईओटा कविता प्रस्तुत गरिएको छ ।

झ्याउँकिरी–१

बूढो बकैनाको रुखमा
तुन्दु्रङ्ग झुण्डिएर
झ्याउँकिरी
घामले टेकेको डोब हेरिरहेछ
चरचरी छाती चिरिने गरी

बिदा हुने बेलामा घामले भनेथ्यो–
‘जीवन कर्कलाको पानी हो
छुनै नपाई ढल्पलाउने
भोलि ब्यूँझँदा बिहानीसँग
म पनि ब्युँझेछु भने
भेटौँला यही बकैनाको रुखमा ।’

तिमी पानी भर्ने निहूँमा सुटुक्क यतै आउनू
तिमी खनायो खाने निहूँमा लुसुक्क यतै आउनू
तिमी गोठालो जाने निहूँमा खुसुक्क यतै आउनू
र भरौँला तिर्खाएका मनहरु धित मरुन्जेल
र टिपौँला आश रित्तिएका पोल्टाभरि खनायो धित मरुन्जेल
गोठालोमा मनका गीत गाऔंला
रुँदै, हाँस्दै
हाँस्दै, रुँदै

बूढो बकैनाको रुखमा
तुन्दु्रङ्ग झुण्डिएर साँझपख झ्याउँकिरी
बकैनाको फेद हेरिरहेछ
फेदैमा लेसिएको माटो हेरिरहेछ
फेदैमा टाँसिएको ढुङ्गा हेरिरहेछ
माटोको पनि जीवन छ
ढुङ्गाको पनि जीवन छ
अनि यो साँझको पनि

घामले छोडेर गएपछि रोएको साँझमा
फेरि कुन बिहानीले ब्यूँझाउने हो यो साँझलाई
बकैनाका पातहरु हल्लेर
फेरि यो साँझ हल्लिरहेछ
र आकाशबाट ताराहरु चुहिएर
झ्याउँकिरी निथु्रक्कै भिजिरहेछ

बूढो बकैनाको रुखमा
तुन्द्रुङ्ग झुण्डिएर झ्याउँकिरी
फेरि भोलि घाम ब्यूँझिएर आउने बाटो
पर्खिरहेछ, पर्खिरहेछ ।
०००

yek jhulko

पहाड बोकेर उक्लने कान्छाहरु

सखारै –
एक झुल्को घाम ओडेर
कान्छाहरु
पिठ्यूँभरि दुःखको पहाड बोक्छन्
खुसीका भञ्ज्याङ्गहरु उक्लन्छन्
त कहिले
भञ्ज्याङ्गका खुसीहरु बोकेर
दुःखका पहाडहरु उक्लन्छन्

जीवनमा –
धेरै सपना नदेखे पनि
त्यही भञ्ज्याङ्गहरुमा खुसीका बाछिटा भेट्छन्
त्यही पहाडहरुमा खुसीका खुड्किला भेट्छन्
र कान्छाहरु
त्यही थोरै खुसीका बाछिटाहरुले भए पनि
तिर्खा मेट्छन्
त्यही सानो खुड्किलाबाटै भए पनि
जीवनको सुख दुःख पार गर्छन्

जीवनमा –
त्यस्ता अभावका जङ्घारहरु कति तर्छन् कति ?
र त, प्राप्ति के हो
थाहा छैन
अप्राप्ति के हो थाहा छैन ।
जीवनमा धेरै खुसीका घामहरु नभेटे पनि
धेरै सुखका गामहरु नभेटे पनि
सुनगाभा जीवन नफुले पनि
सुनाखरी जीवन नफुले पनि
ढुङ्गाजस्तो मन बोक्दैनन् कान्छाहरु
हिउँजस्तो पग्लने मन पनि बोक्दैनन् कान्छाहरु
छर्लङ्ग कुहिरो फाटेपछिको दिनजस्तो मन
स्फटिकजस्तो कञ्चन सेतो मन बाँड्छन्
सुखमा
दुःखमा
खुसीमा
पीरमा
भीरमा
तिरमा
जङ्घारमा
सङ्घारमा
र त,
भञ्ज्याङ्गका खुसीहरु बोकेर
दुःखको पहाड उक्लन्छन्
कान्छाहरु ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these