आयोजक महोदय,
कृपया, मलाई अर्को कवि गोष्ठीमा
कविता सुनाउन पुग्नु छ
तपाईंको यो गोष्ठीमा
कविता सुनाउने मेरो पालोलाई
अघि सारिदिनोस्
त्यो कवि गोष्ठीमा
मलाई पुग्नु अनिवार्य छ
जसरी अनिवार्य छ मेरो उपस्थिति यहाँ
त्यसैले हतार छ मलाई
मैले छिट्टै यहाँबाट हिँड्नु
जरुरी छ
आयोजक महोदय,
यो कवि गोष्ठीमा
कविता सुनाउने मेरो पालोलाई
अघि सारिदिनोस्
मेरो उपस्थिति बेगर
कसरी त्यो कवि गोष्ठी
पूर्ण लाग्नेछ ?
कसरी सुरु हुनेछ
कविताको आह्लाद ?
कसरी आँखाहरु त्यहाँ
मलाई खोजिरहने छन् ?
कसरी लय हराउने छन्
गोष्ठीका कुर्सीहरु ?
आयोजक महोदय,
मलाई आतुर पर्खिरहेका
अर्का आयोजक मित्रहरु छन् त्यहाँ
कृपया, कविता सुनाउने मेरो पालोलाई
अघि सारिदिनोस्
मैले त्यहाँ सुनाउनु छ एउटा तरुनी कविता
रातभरि, जसको सामिप्यतामा
हराएँ मैले आफ्नो निद्रा
मेरो कवितामा गडगडाहट उठ्नेछ ताली
उठ्नेछ ‘वान्समोर’
गुञ्जिरहनेछ ‘वाह’
गोष्ठीको एउटा कुनाबाट
मुस्कुराइरहेका मेरा युवती फ्यानहरुका
गालाबाट पोखिइरहनेछन् हलभित्र
उनीहरुका लाजका धर्काहरु
तालीको गडगडाहटपछि
एकैछिन् स्तब्ध हुनेछ कवि गोष्ठी
आयोजक महोदय,
मलाई अर्को कविगोष्ठीमा
कविता सुनाउन पुग्नु छ
कृपया, कविता सुनाउने मेरो पालोलाई
अघि सारिदिनोस् ।
कला सौजन्यः खगेश्वर भण्डारी
जनमत,
२३ साउन २०७३