0

फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरू

Share

बिहानको झिसमिसे उज्यालो पोखिँदै गइरहेको थियो । पानीको सिमसिमे क्रम रोकिँदै थियो । कुहिरोको बाक्लो घेराबन्दीभित्र रहेका बाटाघाटा, वन, जङ्गल र पहाडहरु बिस्तारै उघ्रँदै थिए । आकाश धुमिल थियो र बादलहरु कुदिरहेका थिए । चराचरहरु ब्युँझदै थिए ।

म झण्डै अनकण्टार झैं लाग्ने पहाडका ती बीच खोँचहरु भएर अघि बढिरहेको छु । केहीक्षण अघि नै कमरेड सरितासँग दरिला हातहरु मिलाएर म साथीहरुको अर्को सम्पर्कको लागि हिँडिरहेको छु । बाटाहरु सजिला छन् । असजिला छन् । असङ्ख्य उकालीहरु छन् । ओरालीहरु छन् । खोलाखोल्सीहरु छन् । माथि लेकबाट बहँदै तलतिर बगिरहेको एउटा सानो खोलो छ । खोलाले छाडेका बगरहरु छन् । घरि म खोलाको वल्लो किनारबाट हिाडिरहेको छु । घरि पल्लो किनारबाट हिाडिरहेको छु । यो बाटो हिाड्ने अवधिभरि यही एउटै खोलालाई कतै सानो सानो जङ्घार परेका ठाउँहरु पारेर मैले झण्डै पन्ध्र पटक तर्नु प¥यो होला । रातभरिको पानीले ढुङ्गाहरु चिप्ला छन् । पानी धमिलो छ । र, भुइँभरि जुकाहरु मुख बाउँदै उठिरहेका छन् ।

म एक्लै छु । प्रायः एक्लै हुनुपर्दाका क्षणहरुमा मभित्रका भावनाहरु अति तरङ्गित भएर उठिरहने गर्छन् । कतै गीतहरु गुन्गुनाउँछु । कविताका पङ्क्तिहरु कोर्छु । सम्झन्छु कवि मणि थापाका कविताका हरफहरु–

हामी घेराभित्र छौँ
जेलभित्र छौँ
नेलभित्र छौँ
जहाँ छौँ, आजका दिनसम्म जिउँदा छौँ
मृत्यु कतिखेर सहिद बनेर आउँछ, थाहा छैन
तर मृत्युलाई जितेरै हामी युद्धमोर्चामा खटिएका छौँ ।

युद्ध, साँच्चै क्रान्तिको लागि एउटा कति अपरिहार्य सर्त बन्दो रै’छ । अझ युद्धलाई आत्मसात् गरेर अघि बढिसकेपछि, युद्ध नै जीवन बनिसकेपछि, क्रान्तिकारीहरुको लागि युद्ध कति सहज हुँदोरै’छ । त्यो बेला जीवनको मूल्य र अर्थहरु फेरिँदा रै’छन् । सधैँ मृत्युलाई पौठेजोरी गरेर अघि बढ्ने क्रान्तिकारीहरुको जीवन मृत्युलाई जितेरै अघि बढ्दो रै’छ । मृत्यु हार्दो रै’छ । तानाशाहका बन्दुकहरु पनि हार्दा रै’छन् ।

कति रमाइलो हुन्छ धेरै दिनपछि सबै साथीहरुसँगको एकसाथ भेट ।

आँखाहरुमा खुसीहरु छचल्किन्छन् ।
हातहरुका दरिला मुठ्ठीहरु कसिन्छन् ।
मुटुहरुले आह्लाद पोख्छन् ।
अलिकति हाँसो, ठट्टा
र धेरै गम्भीरपन,

मलाई लाग्छ गहिरो समुद्रबाट उठिरहेका ती अलिकति छालहरु हुन् जो लहराउँछन् र किनारहरुलाई छुँदै एउटा शीतल स्पर्श छाडेर हराउँछन् ।

‘ए विभू दाइ, तपाईको पेट खै ?’ प्रायः भेटमा सरिताजी यसरी नै मलाई जिस्क्याउनु हुन्छ ।

कहिलेकाहीँ साथीहरुको बीचमा म रसिक भइदिन्छु र भन्छु– ‘क्रान्तिले लग्यो ।’

उहाँ हाँस्नुहुन्छ । सायद उहाँलाई भूमिगत जीवनका मेरा सुरूका ती कठिन दिनहरुको सम्झना हुँदो हो । उकालोले अघि सर्न नसकेका मेरा गोडाहरु र पीडाले सोहोरिएको मेरो त्यो दयनीय अनुहारको अझै अलिकति झल्को उठ्दो हो उहाँलाई । र, मलाई जिस्क्याउनुहुन्छ– ‘तपाईंको पेट खै ?’

मलाई सम्झना हुन्छ– ती विकट पहाडहरु । उकालो, ओरालो अनि फेरि ठाडो उकालाहरु । कतै भीरहरु, पहराहरु, अनकण्टार परेर उठिरहेका चट्टानहरु । म थकित थिएँ । गलित थिएँ । कतिसम्म गारो भने केहीक्षण अघिसम्म रोमाञ्चित र कौतुहलले उठिरहेका मेरा आँखाहरु असह्य पीडाले खुम्चिरहेका हुन्थे । पिँडुलाका मांसपेशीहरु दुख्थे । गोडाहरुमा कैँडा लाग्थे । गोडाहरु काँप्थे र पाइलाहरु लड्खडाउँदै पछि सर्थे । मुटु फुट्ला झैं चल्थ्यो । सास फुलेर एउटा व्यग्र छटपटी छातीभरि उठ्थ्यो । हिँड्दाहिँड्दै पाइलाहरु अडिन्थे र एकैछिन सुस्ताउन म कतै नजिकैको ढुङ्गामा थचक्क बस्थो । साथीहरु मलाई हेरेर एकछिन अडिन्थे र मेरो अनुहारमा कुदिरहेका पीडाका छायाँहरुलाई नियाल्थे ।

‘धेरै गाह्रो भयो विभूजी ?’ साथीहरु सोध्थे ।

‘हो, सहरमा बसेर हिँड्ने बानी बिग्रिएछ ।’ म अलिकति मुस्कुराउँथें ।

‘‘बिस्तारै बानी बस्छ हिँड्न ।’ साथीहरु उत्साह दिन्थे ।

त्यो अप्ठ्यारोमा केही साथीहरु ठट्टा गरिहाल्थे– ‘हैन कमरेड, सहरको पानीले तपाईंको यो पेट अलि साह्रो बढेकै हो । दुईचार दिनको उकालोले फेला पारेपछि यो पेट तह लाग्छ ।”

म हाँसिदिन्थेँ । साथीहरु पनि हाँस्थे ।

मलाई मनमनै लाग्थ्यो, ‘साँच्चै, मैले सोचेको क्रान्तिको रोमाञ्चकता र अहिले मैले भोगिरहेको यो कठिन यथार्थ बीच के कुनै तादात्म्य छ ?’ मलाई फेरि पनि के लागिरह्यो भने इतिहासको यो लामो कालखण्डसम्म आइपुग्दा कम्युनिष्ट पार्टी र क्रान्ति भनेको के अभैm केही सहरी माक्र्सवादी बुज्रुकहरुको बौद्धिक ट्रेड मात्रै रहेको थियो ? यो यथार्थको उद्घाटन त पक्कै पनि मैले भोगिरहेको अहिलेको यो अवस्थाले गरिदिएकै थियो । क्रान्ति त साँच्चै कति निर्मम हुँदो रै’छ र एउटा जटिल प्रक्रिया भएर अघि बढ्दो रै’छ । त्यो मैले अलिकति बुझेँ ।

यी त मैले हिजो भोगेका क्षणहरु थिए ।

अब भने मैले हिँड्नुको लागि हिजोको झैं त्यति धेरै कठिनाइहरु भोग्नुपर्छ भन्ने मलाई लाग्दैन । जस्तोसुकै कठिन उकालाहरु पनि म अहिले सजिलै हिँड्न सक्छु । कुद्न सक्छु र दौड्न सक्छु । यो एउटा अभ्यास बसिसकेको छ ममा । सहरी पानीले हुर्किएको त्यो नाथे भुँडी पनि मसँग अहिले छैन । त्यसैले त सरिताजी मलाई जिस्क्याउनु हुन्छ– ‘‘विभू दाइ, तपाईको भुँडी खै ?’

म भन्छु– ’क्रान्तिले लग्यो ।’

अनि फेरि मलाई हेरेर उहाँ मज्जाले हाँस्नुहुन्छ । मलाई उहाँको यो हाँसो निकै विनोदप्रिय लाग्छ । क्रान्तिको लागि आफ्नो जीवनलाई समर्पण गरेर योद्धा बनेकी यी केटीको यो ठट्टा र यो हाँसो मलाई निकै मन पर्छ । क्रान्तिप्रतिको आस्था, निष्ठा र समर्पणभावले युद्धलाई आत्मसात् गरिरहनु भएको कमरेड सरिताजीको यो हाँसोको निश्छलताले यतिबेला म एककिसिमको रमाइलो र आनन्दको अनुभूति गर्छु ।

जुन दिनदेखि म साथीहरुको बीचमा छु । गाउँमा छु र जनताको माझमा छु, मैले सधैँ त्यहाँ आन्दोलनमा उठिरहेका आँखाहरुलाई देखेको छु । आफन्तका न्यानो पाएको छु । वर्गीय भावले उठिरहेको प्रेम पढिरहेको छु ।

हामी गाउँमा छौँ र गाउँहरु वर्ग सङ्घर्षको एउटा सजीव कथा कोरिरहेका छन् । सहिदका स्मृतिका गाथाहरु बोकेर बाँचिरहेका छन् । बेपत्ता पारिएकाहरुको तस्वीरहरुलाई खोजिरहेका छन् र वर्ग शत्रुहरुप्रति असङ्ख्य घृणा र आक्रोशहरु बोकेर विद्रोहका ज्वारभाटाहरु उठाइरहेका छन् ।

म फेरि सम्झन्छु– गाउँका ती बूढा बाहरु । ती बूढी आमैहरु र ती साना नानीहरु जसका आँखाहरुमा अभैm ती सहिदका अनुहारहरु सजीव भएर उठिरहेका छन् । जसका ओँठहरुले ती सहिदहरुले छाडेर गएका गीतहरु गाइरहेकै छन् । एकजना बूढा बा छन् । ती सधैँ भावविभोर भएर भन्छन्– ’ऊ त्यहाँ अझै छ त्यो आकाश नानीले बनाइदे’को हलो । अहिले पनि म त्यै हलोले जोत्छु ।’

हामीलाई फेरि गम्भीर बनाउँछ । र, एउटा शून्यतामा बूढा बालाई हेरिरहन्छौँ ।

कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा एउटी बूढी आमै पँधेरोबाट डोकोमा पानी बोकेर आइरहेकी भेट्छौँ । हामीलाई देख्ने बित्तिकै ती बूढी आमै खुसी हुन्छिन् । डोको बिसाउँछिन् र गाग्री झिकेर पिँढीमा गुन्द्री हालिदिँदै भन्छिन्– ’यो डोको त्यै आकाश नानीले बुनिदेको हो । यै हेर्दै त्यो नानीलाई झल्झली सम्झन्छु ।’

हो, यस्तै यस्तै कति धेरै स्मृतिका गाथाहरु छन् गाउँहरुसँग ।
हामी सुन्छौँ
सुनिरहन्छौँ
र लिपिबद्ध गरिरहन्छौँ ।

अहिले म झण्डै अनकण्टार झैं लाग्ने तिनै पहाडहरुको बीच खोँचहरु भएर अघि बढिरहेको छु । पहाडको सिरानमा अलिकति घाम पोखिएको छ । बेलाबेलामा हावा चल्छ र रुखका पातहरु सर्सराउँदै पानीका थोपाहरु तल भुइँतिर खस्छन् । म अलिकति शीतल अनुभव गर्छु । कतैकतै भुइँकुहिरो कुदिरहेछ । यी लेकहरुमा कुहिरोसँग खेल्दै हराउनु पनि मलाई आफैमा मज्जा लाग्छ । मनलाई भावुक बनाउँछ । प्रकृतिलाई आँखाभरि लुकाएर मान्छे आफैमा हराउनु पनि त एउटा कविता रहेछ । मान्छे कविताको सौन्दर्यमा बाँच्न खोज्नु नै त जीवन रहेछ ।

तर शासकहरु किन कवितादेखि डराउँछन् हँ ?

यी दूरदराजका लेकहरुबाट म यतिखेर कवि इच्छुकलाई सम्झिरहेको छु जसले कविता लेखेवापत सधैँ सत्ताका सासनाहरु खेपिरहे र जेलनेलको कठोर यातनाहरु भोगिरहे । के तानाशाहहरुको देशमा कविता कोर्नु पनि अपराध हुन्छ ? यदि गम्भीर अपराध मानिन्छ यो मुलुकमा कविता लेख्नु भने म भारतीय कवि मलयराय चौधरीका कविताका हरफहरु अझै जोडजोडले उच्चारण गरिरहन्छु र भन्छु –

“अब दिवारोके अलावा
कही और कविता लिखना बेकार है ।”

हो, शासकहरु गीतहरुदेखि डराउँछन् । कविताहरुदेखि डराउँछन् । गाउँहरुमा आजकल मादलहरु बजेको सुनिँदैनन् । बाँसुरीका धुनहरु पाइँदैनन् । गितार र हार्मोनियमका लयहरु भेटिँदैनन् । त्यहाँ च्याङ्बा लामाहरुका हत्या हुन्छन् । गाउँहरु अनेकोट बन्छन् । गाउँहरु खारा बन्छन् । तानाशाहका गोलीहरु नाचिरहन्छन् । किनकि तानाशाहलाई गीतहरु मन पर्दैन । तानाशाहलाई कविताहरु मन पर्दैन ।

तर गाउँहरुलाई तानाशाहका कुनै बन्देजहरु स्वीकार्य पनि छैन ।
फेरि पनि गाउँहरु गीत गाइरहेकै छन् ।
गाउँहरु कविता कोरिरहेकै छन् ।
हामी गाउँमा छौँ
र लेकहरुमा छौँ ।
छन्– गाउँमा गीतहरु छन् ।
कविताहरु छन्
र ती सधैँ अमिट भएर रहेका छन् ।

‘दुश्मनका खुनी तीर छातीमा, हाँसीहाँसी सहन्छन् रोल्पाली
जाली तमसुक जलाउँदै सुदखोरका, रूकुम उठ्यो ।
उठ्दैछन् डोल्पाली
(कमाण्डो र दङ्गाको गस्तीले) २
सिन्धुली र जाजरकोट झुकेनन्
मुठ्ठी कसी उठ्दैछन् गोर्खाली
कफ्र्यू लाग्यो गाउँबेसी, नदीनाला भीर
फेरि पनि उच्च रह्यो छिम्कालेक शीर ।

हो, साँच्चै लोकप्रिय छन् दिलीप श्रेष्ठका यी गीतहरु । छन्, मसँग अझै छन्– यी र यस्तै थुप्रैथुप्रै गीतहरु छन् । कविताहरु छन् । एउटा फाइलै छ । मसँग कमरेड नमुनाका गामबेसीमा फुलिरहेका फूलहरुका एक थुँगा रातो फूल छ । सहिदहरुप्रति उठिरहेका कमरेड सरिताका श्रद्धाका भावपूर्ण आँखाहरु पनि छन् । महासमरमा कुदिरहेका राता सिपाहीहरुलाई पछ्याउँदै हिँड्ने कवि अमरका प्रतिबद्ध पाइलाहरु पनि छन् र कवि कुसुमका सारङ्गी धुनहरु पनि मसँग छन् । मसँग अझै आशा खनालहरुका कविताका थुप्रै बिर्सन नसक्ने पङ्क्तिहरु छन् ।

गाउँहरु बन्दुकको मोहरीबाटै गीतहरु गाइरहेका छन् ।

वैरीहरु छेक्न खोजून् चाहे त्यो सूर्यलाई
कहिल्यै हत्केलाले छेकिएको छ ?
र, हामी छेकिन्छौ ?
दुष्टहरु रोक्न खोजून्
त्यो समयको गति कहिल्यै रोकिएको छ ?
र, हामी रोकिन्छौ ?
सयौँ हारहरु जित्दै, कयौँ प्रहारहरु सिक्दै,
हामी लड्दैछौँ ।

हो, अमिट छन्,
फेरि पनि अमिट छन् छिम्कालेकमा गुञ्जिरहने यी गीतहरु ।

जनादेश–२०५५

%d bloggers like this: