आजकल सिंहदरबारमा फूलहरु फुल्दैनन्

WhatsApp Image 2026 08 15 at 5.10.22 PM

मलाई फूलहरु मन पर्छ
फूलहरुलाई गमलामा रोप्छु
र म ती फूलहरुको सौन्दर्यतालाई
आफ्ना आँखाले नियालिरहन्छु

फूलहरु छैनन् भने
मेरो घरको छतको सौन्दर्य छैन
बार्दलीको कुनाको उज्यालो छैन

बिहानको घामले
फूलहरु मुस्कुराउँछन्
र म मुस्कुराउँछु
साँझको हावाले
फूलहरु बयलिन्छन्
र म बयलिन्छु

फूलहरु छैनन् भने
मेरो बारीको आरुका बोटहरुमा कुनै वसन्त छैन
चराहरुको कुनै सङ्गीत छैनन्

वर्षाद्ले फूल रुझ्छन्
र रुझिरहेका फूलहरुले आँखामा मादकता पोख्छन्
फूल र साना नानीहरुको खुसी
मलाई उस्तै लाग्छ

फूलहरु छैनन् भने
पुतलीको उन्मुक्तता छैन
जीवनको लय छैन

फूलहरु रङ्गीन छन्
फूलहरु कोमल छन्
फूलहरु लजालु छन्
फूलहरु निष्कपट छन्

फूलहरुलाई
हिंसाका आँखाहरु मन पर्दैन

सिंहदरबारका पर्खालहरुमा
उम्रिरहेका छन् हिंसाका विषाक्त आँखाहरु

आजकल
सिंहदरबारमा फूलहरु फुल्न
किन छाडिरहेका छन् हँ !

इच्छुक
२०७६ माघ

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these