मात्र झ्यालहरुबाट देखिने एकपसर आकास
मेरो आकास हुन सक्दैन
पर्दाहरुमा कोरिएका क्यानभासयुक्त
रङ्गीन चित्रहरु हेरेर मात्र पनि
म कसरी परिभाषित गरुँ ?
मेरो आकास मात्र एउटा आँखीझ्याल हो
झ्यालहरु छन्
र बन्द झ्यालका खापाहरुभित्र
अत्यन्त कडा पहराहरुबीच प्रतिबन्धित छ हावा
सरायेभोजस्तो कोठाहरुको एउटा सानो भूगोलबाट
झ्यालहरुको खुड्किलोमा अड्किएको
एकसरो बादललाई हेर्छु
बादलका पत्रहरुमाथि अट्टहास
लगाइरहेका छन् यो देशको क्रूरता
न्यायालयका ढोकाहरुबाट
बाहिर निस्केर उन्मुक्त छन् यो सहरका अभियुक्तहरु
र राजप्रसादका बार्दलीहरुमाथि लगातार
पहरा लगाइरहेछ कालो बिरालो
नारायणहिटीका पर्खालहरु चढेर
उज्यालोलाई आफ्ना टाउकाहरुले
बिस्तारै हिर्काइरहेछ छेपारो
र निर्लिप्त निलिरहेछ एउटा बिहान
र फेरि पनि पीडाहरुको पोखरीमा
आत्मदाह गरिरहेछ समय
यो क्रूर एकान्तमा
म आफ्ना तन्मय धुनहरुलाई सुसेलिरहेको छु
र आवाजहरुलाई अपहरण गर्न
मेरो कोठाभरि यत्रतत्र कुद्न थालेका छन्
यो मुलुकको मुलुकी ऐन
अनायासै
बाहिर बेतोडले चलिरहेछ आँधी
हावाको रङ बदलिएको छ
र आवाजहरुका समर जुलुसहरु उठिरहेका छन्
जुलुसहरुको अथाह प्रवाहमय भीडहरुसँगै
उठिरहेछ एउटा नयाँ समर धुन
झ्यालका पर्दाहरुबाट
मलाई छुन आइपुग्ने घामका यी कोमल स्पर्शहरुलाई
कसरी म यो आफ्नो बिहानी होइन भनुँ ?
म यो कसरी भनुँ ?
आफ्नै आँगनमा फूल खेलिरहेका
आरुका बोटहरुलाई– यो वसन्त होइन,
मात्र शिशिरको एउटा पतझड हो ।
आँखामा निख्लाम डामहरु बोकेर मात्र अब
यी आँखीझ्यालहरु मेरो जीवन बन्न सक्दैनन्
आवाजहरुको समर जुलुसहरुसँगै
म बेस्सरी बजाउन शुरु गर्छु ताली
र सुसेल्छु एउटा नयाँ धुन
गोलीहरुले पनि
अब निस्तेज गर्न सक्दैनन्
यी गीतहरु
२०५४