डा. खुमनारायण पौडेलका दुई कविता

WhatsApp Image 2026 07 24 at 3.54.25 PM

डा. खुमनारायण पौडेल (जन्मः २०२१ भाद्र ६) स्वच्छन्दता र प्रयोगवादी कविता लेखिरहनु भएका एक कर्मशील कवि हुनुहुन्छ । उहाँका ‘अन्तिमेत्थम’(२०४९), ‘नरमेध’(२०५६) र ‘शीतनिद्रा’(२०७३) कवितासङ्ग्रहहरु प्रकाशित रहेका छन् । यसैगरी ‘आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम’ (२०६०), ‘ध्रुवचन्द्र गौतम आविष्कारी आख्यानका दशकहरु’(२०८०) ‘यी फूलहरु म कहाँ राखुँ ?’(२०८२) र ‘हरि शर्मा युगिन तरङ’(२०८३) उहाँका सम्पादित कृतिहरु हुन् ।

उहाँका कवितामा पाइने सरल शब्दहरुको प्रयोगको शैलीगत विशिष्टताका कारण कविता पढ्दा पाठकहरुले आनन्दको बोध गर्छन् । उहाँका कवितामा संवेदनाको संवेग पाइन्छ । संवेदनाहीन समयप्रतिको असहमति र विद्रोहको आवेग पाइन्छ ।

उहाँ ‘राष्ट्रिय कविता महोत्सव पुरस्कार’–२०४९, ‘उत्कृष्ट गीतकार पुरस्कार’– २०५३, ‘नारायणी वाङ्मय पुरस्कार’– २०५६, ‘प्रतिभा पुरस्कार’–२०५८, ‘युवा वर्ष मोति पुरस्कार’–२०५९, ‘महेन्द्र विद्याभूषण ‘क’ २०५९, ‘हरिभक्त कटुवाल प्रतिभा पुरस्कार’–२०६२, ‘आँबुखैरेनी वाङमय पुरस्कार’–२०७८ लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरुबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

यहाँ उहाँका ‘अन्तिमेत्थम’ कवितासङ्ग्रहमा रहेका दुई कवितालाई प्रस्तुत गरिएको छ ।

घाटमा एउटा साँझसँग
(मलाई हुर्काउने आमालाई)

भग्न छु
शोकमग्न छु

यसबेला मलाई कोलाहलको सट्टा
एकान्तको सानो परिवेश देऊ
केही कुरा गर्नु छ यो साँझसँग
समयले निर्मम उधिनेका
पीडाका चपरीहरु
र नियतिले दिएर गएका आघातहरुसँग

भग्न छु
शोकमग्न छु

केही बोल्न सकिरहेको छैन यसबेला
मलाई भक्कानोको सट्टा आवाज देऊ
केही भन्नु छ मैले यो चितासँग
डढिरहेको छाती र हातहरुसँग
सम्पूर्ण ममताको दुबो पोल्दै गइरहेका
आगोका अठोटहरुसँग

भग्न छु
शोकमग्न छु

केही देख्न सकिरहेको छैन यसबेला
यी आँसुहरुको सट्टा दृष्टि देऊ
केही अन्तिम हेर्नु छ दाउराहरुसँग
नदीको पानी र बगरसँग
धुवाँ र दावानलसँग

भग्न छु
शोकमग्न छु

यसबेला मलाई यी शब्दहरुको सट्टा
अलिकति विश्वास देऊ
मेरा विश्वासहरु आज हराएको बेला
एउटा वास्तविकता स्वीकार्न सकुँ
कि–

म शव समक्ष छु
म घाट समक्ष छु
म आगो समक्ष छु

दिनसक्छौ भने
कृपया मलाई यसबेला
एकान्तको सानो परिवेश देऊ

भग्न छु
शोकमग्न छु
०००

antimetham

समयको स्वर

हिजो घोडा चढ्नेहरु
आज पनि उन्मुक्त घोडा चढिरहेछन्
सडक आज उनीहरुकै विजयोल्लासमा थर्किरहेछ
हिजो पसिना चुहाउनेहरु
आज पनि पसिना चुहाइरहेछन्
माटो आज उनीहरुकै पसिनाले भिजिरहेछ
मखुण्डा लगाएका अनुहारहरु
आज पनि अँध्यारो खोजिरहेछन्
अँध्यारो आज उनीहरुकै साउतीले खलबलिइरहेछ
कुण्ठाग्रस्त धृतराष्ट्रहरु
आज पनि दुर्योधन हुर्काइरहेछ
परिवेश आज उनीहरुकै महत्वाकांक्षाले घाइते भइरहेछ
गुरु भएका द्रोणाचार्यहरु
आज पनि नूनको परिभाषामा
आफूलाई बाँधिरहेछन्
उनीहरुकै चक्रव्यूहभित्र आज निहत्था
अभिमन्युको हत्या भइरहेछ
शब्दहरु अचेल बन्दीगृह बाहिर छन्
त्यसैले शब्दहरु निर्वाध अरुको अस्मिता भत्काइरहेछन्
संवेदना चोरेर मानिसहरुको
संवेदनामै प्रहार गरेर मानिसहरुको
शब्दहरु अचेल सत्तास्पर्शको स्वप्न देखिरहेछन्
निर्बन्ध गलत हतियार बनाएर एकथरी मानिसहरु
अनास्था रोपेर माटोमा
षडयन्त्रको खेल खेलिरहेछन्
बिखण्डित पारेर मनहरुलाई
अविश्वासको जहर फैलाएर मनहरुमा
रगतको खेल खेलिरहेछन्
कसले जितेको छ र रगतको युद्ध ?
आस्थाको द्वार भर्खर खुलेको बेला
म देखिरहेछु
अर्काथरी मानिसहरु पाइला उठाइरहेछन्
दासता र अभावको विरोधमा
पलायनता र यथास्थितिको विरोधमा
उनीहरु सिर्जनाको नवीनमा द्वारमा छन्
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these