मित्रलाल पंज्ञानी (जन्मः २०१७ मङ्सिर २५, स्याङ्जा) प्रगतिवादी नेपाली साहित्य र सांस्कृतिक आन्दोलनको क्षेत्रमा निरन्तर सङ्घर्षरत् नाम हो । सरल शब्दहरुमा मान्छेका मन छुने कविताहरु लेख्नु उहाँको काव्यिक वैशिष्ट्यता हो । उहाँको कवितामा श्रमिक वर्गहरुप्रतिको समर्पणभाव पाइन्छ । शोषणपूर्ण समाजको उन्मुलन र समतामूलक समाजको स्थापनाका लागि उहाँका कविताका स्वर सधैं उच्च रहेको छ ।
उहाँका ‘सामन्तको परिचय’ (कवितासङ्ग्रह–२०३७), ‘उम्रन्छन् आँसुका वृक्ष’ (कवितासङ्ग्रह –२०४६), ‘गतिमान गण्डकी’ (खण्डकाव्य–२०५०), ‘सृष्टिकर्ता’ (कवितासङ्ग्रह–२०५४) ‘टाकुरामा जाऔँ’ (बालकविता–२०५९), ‘सपनामा उडेको’ (बालकविता–२०६१), ‘प्रशान्त’ (बाल उपन्यास), ‘बलेको आगो’ (निबन्धसङ्ग्रह–२०६५), ‘पृथ्वी कसको ?’ (कवितासङ्ग्रह–२०६५) ‘युगनायक’ (खण्डकाव्य–२०७०), ‘उद्बोधन’ (निबन्धसङ्ग्रह–२०७७) र ‘युगान्तर’ (महाकाव्य–२०७९) आदि कृतिहरु प्रकाशित छन् ।
उहाँ ‘पारिजात सृजन पुरस्कार’ (२०५६), ‘उत्कृष्ट बालपुस्तक लेखन पुरस्कार’ (२०६६), ‘भेषजबिन्दु साहित्य पुरस्कार’ (२०७६), ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ (२०७७) लगायतका पुरस्कारहरुबाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँका ‘पृथ्वी कसको ?’ कवितासङ्ग्रहबाट दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।
झार
घाँस कुँडो खुवाएर गोरुलाई घँस्याउनु
बाँझो चिर्नु हलो जोती डल्ला फोर्नु चस्याउनु
र छर्नु अन्नका दाना उब्जनु दुःखले गरी
नछरीकन उम्रन्छन् झार पापी गराभरि
एक वर्ष उखेर फाल्यो उम्रन्छ फेरि यो
फेरि फाल्यो उखेलेर फेरि उम्रन्छ हेरियो
झारले उम्रँदै गर्छ उखेल्दै गर्नुपर्दछ
झार उम्रे पनि बीउ अन्नकै छर्नुपर्दछ ।
०००

लाठो यिनैको ठूलो
यो डुङ्गा कसरी यहाँ हुन गयो आँधी चल्यो सिन्धुमा
फर्की हेर्छु पछाडिका दिनहरु आएर यो बिन्दुमा
जिन्दावाद भनी खुला सडकमा लाखौं झरेकै थिए
हाम्रो नायक गर्वयोग्य छ भनी माया गरेकै थिए
त्यत्रो शक्ति थियो पछिल्तिर मिठो विश्वास भारी थियो
बोक्ने ताकत नै पुगेन यिनको भैंमा सबै पोखियो
आपस्मै झगडा सधैं गरिरहे मिल्नै सकेनन् यिनी
खाए खाद्यसँगै अखाद्य यिनले खानै सकेनन् बिनी
दौडे होस नपाई राग रिसमा बाटो कता हो कता
छाडामा बदली भयो सहिदको गम्भीर स्वतन्त्रता
मिल्ने हुन् कहिले अनिश्चय भयो ईष्र्या बढेको बढ्यै
खाने धूर्त कुनै पराईजनले हामी लडेको लड्यै
गर्ने भूल परन्तु भन्न नहुने सुन्नै नसक्ने उनी
बानी नै नअघाउने परिगयो आफ्नै प्रशंसा सुनी
मान्छे खोज्दछ भूल भन्दिन सिधै पाएन मौका भनी
बोल्दै हिँड्दछ बाहिरैतिर समेत् आगो भुसैको बनी
आफ्ना दोष सुनी खुसी हुन सके आफै चिने बैगुन
सच्याईकन हिँड्न ताकत भए सक्थ्यो र कल्ले छुन
बेलैमा उपचार क्यै नगरिँदा च्यापी गयो रोगले
हाम्रो सुन्दर लोकतन्त्र रुखमा ठूला समस्या फले
रित्तैमा तलमाथि हेर यिनको इन्साफ जोख्ने तुलो
यो अन्याय भयो भनौं नि कसरी लाठो यिनैको ठूलो ।
०००