कुन्ता शर्माका दुई कविता

WhatsApp Image 2026 09 13 at 6.52.01 PM

कुन्ता शर्मा (जन्मः २००३ भदौ, सुनसरी) तीसको दशकदेखि नेपाली प्रगतिवादी कवितामा निरन्तर कलम चलाउँदै आइरहनु भएको छ । उहाँका कविताहरु विसङ्गतिका विरुद्धमा छन् । सामाजिक विषमताहरुको विपक्षमा उहाँका कवितामा सामाजिक न्याय र समताको स्वर पाइन्छ । शिल्प र प्रस्तुतिका हिसाबले उहाँका कविताहरु सरल र बोधगम्य छन् ।

उहाँको ‘म उभिएको ठाउँ’–२०५२ र ‘मेरो मान्छे’–२०७५ कवितासङ्ग्रह प्रकाशित छन् ।

उहाँ लोकेन्द्र साहित्य पुरस्कार, व्यथित काव्य पुरस्कार, पारिजात सृजन पुरस्कार–२०५१, केवलपुरे प्रतिभा पुरस्कारसाहित्यिक पत्रकारिता पुरस्कार लगायत विभिन्न पुुरस्कार र सम्मानले पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘मेरो मान्छे’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।

बौवाजी मिश्र कविता लेख्न चाहँदैनन्

बौवाजी मिश्र
विद्यालयका साधारण शिक्षक
‘क’ देखि ‘ज्ञ’ भन्दाभन्दै
अङ्क र दुनाई गन्दागन्दै
आधा उमेर हराइसकेका छन्
आतङ्कित छन् त्यसैले
आफ्नो भाव व्यक्त गर्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

त्यसो त उनी दिक्क छन्–
यता हे¥यो यतै नमिलेको
उता हे¥यो उतै नमिलेको
समस्याहरुले मानिसलाई निलेको
चिन्ताको अरिङ्गालले चिलेको
चिन्तित छन्, उद्धेलित छन्
कलम उठाउँछन्
शब्द र वाक्यहरुको माला गुथ्छन्
सुन्दर कविता लेख्छन्
अनि फेरि सन्त्रासको बादलले घरिन्छन्
त्रसित ग्रसित हुन्छन्
कतै फुत्किहाल्ला कविता
र सल्केला जीवनको चिता
त्यसैले भावनामा प्वाख जड्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

उनी असन्तुलित हुँदै गएका छन्
भोगेर विकटता परिस्थितिको
विचलित हुँदै गएका छन्
छटपटाइरहेका छन्,
लटपटिरहेका छन्
लामोलामो सास फेर्छन्
चारैतिर सशङ्कित भएर हेर्छन्
चित्त नबुझे पनि पित्त पोख्न जान्दैनने
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

चक धुलिएजस्तो धुलिँदै छन्
डस्टर खिइएजस्तो खिइँदै छन्
पग्लँदै चुहिँदै यौवन झरिसक्यो
साहसले शिर नुहाउँदै लाचार बनिसक्यो
परिस्थितिका विकटताहरु
चड्कनजस्ता भएर बर्सदै छन्
आफ्नो अनुभूतिसँग आफैं तर्सदै छन्
मन लाग्दालाग्दै पनि साँचो बोल्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

शिल्प सुन्दर छ
सशक्त छ उडान भावनाको
अभिव्यक्ति गहन छ
तर पनि हप्काइ खाँदा छन्
दप्काइ सुन्दा छन्
गह रसाउँछ, मुटुमा भक्कानो पर्छ
चुपचाप चुपचाम केही गुन्दा छन्
‘नचुडियोस् जीवनको चङ्गा’ यही सोचले
चिन्ताको गङ्गामा डुब्दा छन्
मनको भाव अभिव्यक्त गर्न चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।

उनी यन्त्र भइसकेका छन्
थिचिएर त्रासको ठूलो ढुङ्गाले
परतन्त्र भइसकेका छन्
पिल्सिदै छन्, अशान्त हुँदै छन्
आफ्नो कवितासँग आफै डराउने गर्छन्
लेख्छन् सशक्त कवितातर धुल्याउने गर्छन्
थाहा नपाओस् आफ्नो असन्तुष्टि कसैले
यस्तै सोच्ने गर्छन्
फेरि लेख्छन् अनि फेरि पढ्छन्
फेरि च्यातेर कविता
रद्दीको टोकरीतिर बढ्छन्
मनको भावना देखाउन चाहँदैनन्
बौवाजी मिश्र कविता लेख्न चाहँदैनन् ।
०००

WhatsApp Image 2026 09 13 at 6.49.54 PM

बिउ कुह्यो

वर्षौवर्ष
राउन्नेघारी फाडेर
माटो भिजाउँदै पसिनाले
नङ्ग्रा खिइएर मासुसम्म पुगे
ठेलाले छोपिए हत्केलाहरु
अनवरत चले ज्यावलहरु
लगातार पोखेर जाँगर
रसाएको हेर्न बिउ
आतुर रहे आँखाहरु
उत्सुक बने आकाङ्क्षाहरु
तर पन्छाएर सबै आवश्यकताहरु
भत्काएर सबै विश्वासहरु
चरी बोल्यो पारि कतैबाट
बिउ कुह्यो, बिउ कुह्यो ।

साँच्चै नै टुसाएन बिउ
महिनौंमहिना टुसाएन
वर्षौवर्ष टुसाएन
ढुङ्गा नटुसाएजस्तो
उनिउँ नफुल्नुजस्तो
छरिरहें आकाङ्क्षा र सपनाहरु
पोखिरहें उत्सुकता र अभिलाषाहरु
वर्षौवर्ष
अविरल, अन्तहीन, असङ्ख्य
थापेर थाप्लामा मुसलधारे वर्षाहरु
भोगेर असिनाका चुटाइहरु
र हिमपातका कक्य्राइहरु
तर टुसाएन, टुसाउने नामै लिएन बिउले
मात्र चरी बोलिरह्यो लगातार
बिउ कुह्यो, बिउ कुह्यो ।

के भयो ?
माटो त उर्वरै थियो
पसिनाले छपक्क भिजेकै थियो
केले साथ दिएन ?
मौसमले ठगेको पनि होइन
लहलह भए सबै आलीहरुमा बालीहरु
आलीसरह त बाली हुनै पर्ने हो
केले ठग्यो ? के भयो ?
कुन दुष्टले कपटको जालो बुन्यो ?
मैले गुलाफ रोपें, सिस्नो झ्याङ्गियो
मैले चमेली रोपें, काउछो फस्टायो
उदेक भयो, आश्चर्य भयो
समय त्यसैत्यसै खेर गयो
किन पुष्पित भएन मेरो प्राङ्गण ?
किन पल्लवित भएन मेरो परिवेश ?

अवरोधकहरु खोजिरहेछु
असहजताहरु नियालिरहेछु
हिजोआज म पनि तर्जुमा गर्दै छु
पापिष्ट कीराहरु मार्न
विनाशी फट्याङ्ग्राहरु सखाप पार्न
तर मेरो चिन्तनको विराट व्यूह भत्काउँदै
नजिकै यतैकतैबाट
विह्वलतापूर्वक चरी बोल्यो
बिउ कुह्यो, बिउ कुह्यो ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these