जुनू रानाका कविताहरु सामाजिक सचेतनाका लागि उठेका सचेत स्वरहरु हुन् । उहाँका कवितामा महिलाको मनोविज्ञान छ । सामाजिक विसङ्गति छ । संवेग र संवेदना छ । प्रवासको पीडा छ । उहाँका कविताहरु बहिष्करण र उत्पीडनमा परेका सीमान्तकृत मान्छेहरुका आवाज हुन् । र, यी कविताहरु विद्रोही छन् ।
उहाँको ‘रातो नदी’–२०८१, कवितासङ्ग्रह प्रकाशित छ ।
यहाँ उहाँको ‘‘रातो नदी’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।
रातो नदी
हरेक महिना
एउटा ‘रातो नदी’ बगाएर
साबिकको दिनचर्या
विश्व समाज–चिन्तन
र चासोसहितको
चट्टानी आँट लिएर
जीवन–सङ्घर्षको रणभूमिमा
लडिरहेकी म एक याद्धा !
रातो नदीको बहाव अवधिभर
गलेको देहले ममा ऊर्जाको मुहान
पलाइरहेको पाउँछु
कोमलताको सूक्ष्मताले
मभित्र बलेको आगो निभाउन त के
झन्–झन् दन्केको पाउँछु
हरेक महिना
मभित्र बग्ल रातो नदी
बर्खाको स्वरुपमा
र मलाई माटो बनाएर जान्छ
आफूभित्र पुनः म
तेजिलो उर्वरता पाउँछु
हरेक महिना दोहोरिने
नदीको प्रवाहको चरणबद्ध दबाबले
पुनः चट्टानको आकारमा परिणत हुन्छु
आफैभित्रको सृष्टिले
परिपक्वता दिन्छ
घिन, लाज र हीनताबोध
रातो नदीको शब्दकोशमा छैन
जसले आफ्नो अस्तित्वको
अर्थ दिएको छ
धर्म र समाजले बनाएका सीमा
संस्कृति र संस्कारले सीमाङ्कन गरेका परिधि
रातो नदीले बोक्ने आँधीले नामेट पार्दछ
भो ! नदेऊ
विज्ञानको काँध टेकेर
धर्मका ठुला–ठुला परिभाषित व्याख्याहरु
तिम्रो खोज सुरु हुनुभन्दा अगावै
म आफैभित्र
‘रातो नदी’ बाह्रै महिना भोग्छु
मलाई गर्व छ
आफैभित्र बगिरहेको
रातो नदीको अस्तित्व
र म सक्षम छु
यस नदीको परिभाषा बोध गर्न
रातो नदी बनेर म बगिरहेको छु
जहाँ म हुनुको अर्थ अलग छ
जुन नदीले सृष्टिको अस्तित्व बोक्दछ ।
०००

नुन
पहिले–पहिले जिजुबाजेहरु
खाली खुट्टा कछाड र टाउकोमा बर्को भिरेर
बोराको धागोले बुनेको कोट भिरेर
अनि कम्मरमा पटुका बाँधेर
बटौली जान्थे
र साट्थे थाप्लोमा
नाम्लोको डामसँग केही पाथी नुन
नुनकै लागि झर्थे धरान
कहिले लहैलहैमा
कहिले मजबुरीमा
पहाडबाट पुर्खाहरु
नाइल नदीजस्तै
समय बगिरहेको छ लम्बिएर
नुनका कथाहरु त्यही नाइल नदीको मुहानसँगै
सुरु भएको हुनुपर्छ
नुनको खोजीमा भौतारिए पुर्खाहरु
नुनसँग साटे शासकले तिनको स्वाभिमान
केही तक्मासँग साटिए नुन
नुनकै लागि लडे अरुको लडाइँ
बगाए रगत
वीरगति प्राप्त गरे
र नुनले लेख्यो
अनगिन्ती नुनका कारुणिक कथा
नुनले नै लेख्यो हाम्रा पुर्खाको इतिहास
नुनकै खोजीमा
छरिए संसारभर नुनको सोझो भएर
नुनको दास भएर
फोकल्याण्डको टापुदेखि
बोर्नियोको झाडीसम्म पुगे पुर्खाहरु
मलायाको घना दलदल हुँदै
आइपुगेका छन्
हङकङको शेककोङसम्म
नुन त ठुलो कुरा रहेछ
नुनको महत्व त ठुलो रहेछ
म जो यहाँ छु
नुनकै कथाको एक हिस्सा बनेर ।
०००