0

पहाडपानीको उकालो

Share

तिमी तल्लीन छौँ म जलेको हेर्न
म भने जल्दाजल्दै
तिम्रो दीर्घायुको
कामना गरेरै जलिरहेँ

छ्या ! यो मनले पनि के कल्पन्छ, कल्पन्छ । त्यो पर हिमाल छ । हिउँ पग्लिएर उठिरहेको बादल छ । गोधूलिको घाम छ । गोधूलिको घाम पोखिएको त्यो हिमाल र बैजनी रङ मिसिएर उठिरहेको धुवाँको मुस्लो झैं देखिने ती बादलहरुले ठ्याक्कै हिमाल जलिरहेको दृश्यहरुको भान आँखाभित्र समेट्छ । त्यसपछि त के लाग्छ ! मन न हो, बहकिएर उड्छ । जलिरहेको हिमाल, जलिरहेको मन र जलिरहेका आँखाहरु ।

तल फाँटहरु देखिन्थे । चुँदीबेसी र मस्र्याङ्दीका फाँटहरु । फाँटहरुको हरियाली देखिन्थ्यो । डुम्रेबाट झण्डै डेढ घण्टाको ठाडो उकालो हिँडेपछि हामी त्यो चौतारोमा थकाइ बिसाइरहेका थियौँ, जहाँबाट यी सुन्दर दृश्यहरुलाई सजिलै देख्न सकिन्थ्यो । एकैछिन अघिको त्यो उकालोलाई बिर्सेर हामी परको त्यो उत्तरतिर देखिएका गोरखा र लमजुङका ती हिमालहरु हेरिरहेका थियौँ । हामी बसेको त्यो देउराली र एकजोडी वरपीपलका छायाँहरुसँग काउकुती खेलिरहेका बतासहरुले हामीलाई बिस्तारै छोइरहेको थियो ।

जमुना मसँगै छिन् । अहिले बन्दीपुर जाने पहाडपानीको उकालोको उनी मेरी सहयात्री हुन् । हामी डुम्रेबाट सँगै बन्दीपुर जान हिँडेका छौँ ।
०००
‘कस्तो नरमाइलो हगि त्यो हिउँ जलेको दृश्य ?’ म आफ्नो भावुकतालाई उनी सामु पोख्छु ।

‘अँ ।’ उनले छोटो जवाफ दिइन् ।

बस्, यत्ति नै ।

अघिदेखि नै, त्यो उकालोको सुरूदेखि नै उनी मसँग उतिसाह्रो खुल्न सकिरहेकी थिइन । सायद मप्रतिको उनको त्यो लाज वा सङ्कोच पनि होला । हामी दुवै एकअर्कासँग त्यति साह्रो परिचित पनि होइनौँ । यसअघि उनलाई देखिरहे पनि मेरो उनीसँगको उस्तो बोलचाल थिएन । बन्दीपुरसम्मको सँगैको हाम्रो यो यात्रा पनि एउटा संयोग रहेको थियो । त्यसैले पनि मेरा यी प्रश्नहरुसँग उनलाई अरुचि रहन पनि सक्थ्यो र अप्ठ्यारो माने झैँ उनी छोटो जवाफ दिँदै थिइन् । त्यो पर देखिरहेका हिमालका दृश्यहरुसँग उनको आकर्षण थियो कि थिएन, मलाई उनीसँग सोधिरहनु आवश्यक पनि थिएन । बस्, यत्ति थियो कि उनी अहिले डुम्रेबाट मामाघर बन्दीपुर जाँदै थिइन् र यो बाटोको मेरो सहयात्री बन्न आइपुगेकी थिइन् ।

बन्दीपुरको राजाराम प्रजापतिको घर, जमुनाको मामाघर, जहाँ मैले केही महिनादेखि डेरा लिएर बस्दै आइरहेको थिएँ र मचाहिँ थिएँ बन्दीपुर हस्पिटलमा कार्यरत हुन आइपुगेको आँखाको एक स्वास्थ्यकर्मी । काठमाडौंबाट फर्कदैँ थिएँ । डुम्रे ओर्लिएर बन्दीपुर जाने कुनै गाडी नभेटिएपछि हिँडेरै जानुपर्ने भयो । डुम्रेदेखि बन्दीपुरसम्मको कच्ची मोटरबाटो खुलेको भएपनि गाडी कमै चल्थ्यो । गाडीको बेठेगान हुन्थ्यो । एकदुई जिपहरु थिए, बिहान बन्दीपुरबाट डुम्रे आउँथे र बेलुकी बन्दीपुर फर्कन्थे । त्यही पनि अघिनै हि“डिसकेछन् । अब पैदल हिँड्नुका लागि उही पहाडपानीको बाटो थियो ।
०००

‘ए बाबु ।’ मलाई देखेपछि राजाराम दाइकी दिदीले बोलाउनु भयो ।

उहाँ आफ्नो घरको दैलोमा उभिरहनु भएको थियो । पैदल बाटो हिँड्दा मलाई सधैँ आउनेजाने बाटो त्यही पथ्र्यो । सडक छेउकै पसल घर थियो ।

‘तपाईं बन्दीपुर जान लाग्नु भा‘को हो ?’ सोध्नुभयो ।

‘हजुर ।’ मैले भनेँ ।

‘ल, त्यसो भए माइलीलाई पनि सँगै लैजानुस् । बस पर्खेर बसेको, आएन । एउटै घरमा जाने भएपछि तपाईंसँगै गए नि हुन्छ । एस.एल.सी.को ट्युशन पढ्न जाने हो । पढाइ भोलिबाटै सुरू छ रे । उसलाई चाहिने किताब राख्या छ । अरु भोलि बसबाट पठाइदिउँला ।’ उहाँले भन्नुभयो ।

धेरैपटक डुम्रे जाँदाआउँदा म राजाराम दाइसँगै त्यो घरमा गएको छु र बसेको छु । दिदीको एकजना छोरा र तीन छोरीहरु छन् । ठूलाचाहिँ छोरा । अरु बहिनीहरु । ठूली छोरी बन्दीपुरमै मामाघर बसेर क्याम्पस पढ्दै छिन् । माइली अहिले एस.एल.सी. दिँदै थिई र कान्छी स्कुल पढ्र्दै । जेठीचाहिँ यमुना, सायद हामीसँगै एउटै घरमा रहने भएकाले पनि ऊसँगको मेरो बोलचाल धेरै नै भइरहन्थ्यो । अरु दुई बहिनीहरुसँग उस्तो देखभेट भने थिएन । अहिले जमुना मसँगै थिइन् । तर सबैले सधैँ उसलाई बोलाउने नाम भने माइली रहेछ ।
०००

अलि उँभो फर्केर हेर्दा बन्दीपुरको टेलिफोन टावर देखिन्थ्यो । टावर नजिकै टुँडिखेल छ । टुँडिखेलबाट मान्छेहरु कराइरहेको होहल्लाको स्वर तल हामी बसेको ठाँउसम्म सुनिन्थ्यो । सायद फुटबल खेलिरहेका ठिटाहरुको होहल्ला होला । अब कस्सिएर हिँडे यस्तै पन्ध्र मिनेटमा बन्दीपुर पुग्न सकिन्छ ।

पारि हिमालका दृश्यहरु उस्तै थिए । र, म एकतमासले ती दृश्यहरुलाई हेरिरहेको थिएँ । उँधोबाट भारी बोकेका केही आइमाईहरु हामीनिरै आइपुगे र चौतारीको एउटा कुनालाई आड लगाएर आफ्ना भारीलाई बिसाए । सायद उनीहरु बन्दीपुरका थिएनन् । नत्र चिन्नु पर्ने । बन्दीपुरभन्दा पल्लो गाउँका गुरूङहरु जस्ता देखिन्थे । उनीहरुसँग सोधिनँ ।

‘जाने हैन नानीहरु ?’ एकैछिनमा भारी बोकेर हिँड्ने तर्खर गर्दै उनीहरुले हामीलाई सोधे ।

‘जाने हो दिदीहरु ।’ मैले भनेँ ।

म अझै अरु केहीछिन त्यहाँ बसेर ती पारिका दृश्यहरुलाई आँखामा समेट्न चाहन्थे । तर मेरो त्यो लहडले जमुनालाई अरु थप झर्काे थपिरहनु नि ठीक लागेन । र, हामीले भारी बोकेर ती अघि हिँड्नेहरुलाई बिस्तारै पछ्यायौँ ।

घर पुग्दा साँझको अँध्यारो खसिसकेको थियो । मसँगै त्यहाँ जमुनालाई अचानक देख्दा उनकी माइज्यू खुसीले कराइन्– ‘लौ हेर, यतिका वर्षपछि आज कसरी माइलीको खुट्टा लागेछ बन्दीपुर आउन ।’

घरका अजा–अजी जमुनालाई देखेपछि खुसी भए ।

‘लौ, भान्जी ल्याइदिइहालेँ, म गएँ ।’ ठट्टा गरेर म आफ्नो कोठातिर हिँडे ।

बुढाबुढीहरु हाँसे ।

एकैछिनपछि माथि कोठामा केटाकेटीहरुको हल्ला सुनिन्थ्यो । यमुना, बाग्मती र केटाकेटीहरु माथि चुल्हाकोठामा थिए । जमुनालाई देखेपछि उनीहरु ठूलो स्वरमा चिच्याउँदै थिए ।
०००

लायन्स आँखा हस्पिटलले आफ्नो केही कार्यक्रमका लागि केही कर्मचारीहरु मागेको छ भन्ने मैले सुनेँ । खासगरी बन्दीपुरको लागि र बन्दीपुरमै रहेर काम गर्न सक्ने स्थानीय हुनुपर्ने भन्ने रै’छ । यो खबर मलाई बन्दीपुरबाट मेरी फुपूकी छोरी राधा कायस्थले पठाएकी थिइन् । मलाई तुरून्तै बन्दीपुर आइपुग्नु भन्ने खबर थियो । म आँबुखैरेनीमा थिएँ । खबर पाउनेबित्तिकै हतारिँदै म बन्दीपुर पुगेँ । त्यहाँ एक हप्तादेखि लायन्स आँखा हस्पिटलले आँखा शिविर सञ्चालन गरिरहेको रहेछ । त्यो दिन शिविरको अन्तिम दिन थियो । मैले राधा दिदीलाई भेटेँ । राधा दिदीले मलाई सँगै लिएर एकजना दिदीनिर पुग्नुभयो, जो त्यतिबेला कतै बाहिर हिँड्ने तरखरमा देखिनुहुन्थ्यो । झट्ट हेर्दा र उहाँको त्यो पहिरनबाट उहाँ विदेशी नागरिकझैं भान हुन्थ्यो । राधा दिदीले त्यहीँ नै उहाँसँग मलाई चिनजान गराउनु भयो । उहाँको नाम जमुना श्रेष्ठ रहेछ । काठमाडौँ हिँड्नका लागि निस्किसक्नु भएको रहेछ । मोटर आँगनमै थियो । अलिकति ढिला भएको भए सायद मैले उहाँलाई भेट्न सक्ने थिइनँ । धन्नले अलि छिटो पुगेछु ।

‘ल, कति ढिलो आएको ? भर्खरै जीवन र डाक्टर सा’बहरु हिँडिसक्नु भयो । म पनि अहिले काठमाडौँ हिँड्न लागेको । अब काठमाडौँ गइसकेपछि मात्र उनीहरुसँग भेट हुन्छ ।’ जमुना दिदीले मलाई भन्नुभयो ।

म अलमल्लमा परेँ । मैले त्यहाँ के बोल्नु ? के नबोल्नु ? त्यहाँ जमुना दिदीसँग राधा दिदीको के कुरा भएको थियो, त्यो मलाई थाहा थिएन । मलाई त्यहाँ किन बोलाइएको थियो, त्यो पनि थाहा छैन । मैले राधा दिदीसँग ती सबै कुराहरुबारे सोध्न भ्याइसकेको थिइनँ । म अलमलिएर कहिले राधा दिदी र कहिले जमुना दिदीतिर हेर्दै थिएँ । एकछिनपछि उहाँले मलाई एउटा कार्ड दिँदै भन्नुभयो– ‘जीवन त अहिले पोखरा गएको छ । त्यहाँबाट एक दुई दिनमा ऊ काठमाडौँ फर्कन्छ । तिमीले काठमाडौँ आएर यो कार्डको नम्बरमा फोन गर्नु । म त्यहाँ जीवनसँग कुरा गर्छु ।’

त्यसपछि उहाँहरु हिँड्नु भयो । मैले पछि राधा दिदीसँग जीवन को हो ? भनेर सोधेँ । उहाँहरु आँखा शिविरको लागि काठमाडौबाट बन्दीपुर आउनुभएको रहेछ । जमुना दिदी र जीवन पिया बन्दीपुरकै हुनुभएको र शिविरको कार्यक्रम उहाँहरुकै पहल र सहभागितामा बन्दीपुरमा गर्नु भएको रहेछ । जमुना दिदी एकजना ब्रिटिश नागरिक र त्रिभुवन युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक स्टेफन माइक्सेलसँग विवाह गरेर काठमाडौँमा नै मानव अधिकारको क्षेत्रमा काम गर्नुहुँदो रहेछ र जीवन पिया काठमाडौँकै उद्यमी र व्यापारी । जमुना दिदी नाताले जीवन पियाको फुपू हुनुहुँदो रैछ ।

त्यसको पर्सिपल्टै बिहान म काठमाडौँ पुगेँ र जमुना दिदीलाई भेटेँ । जीवन पिया काठमाडौँ फर्किसक्नु भएको थियो । उहाँले जीवन पियासँग कुरा गरेर म बन्दीपुरबाट यहाँ आएको बताउनु भयो । उहाँहरु टेलिफोनमा धेरैबेर कुराकानी गरिसकेपछि जमुना दिदीले मलाई भन्नुभयो– ‘बन्दीपुरबाट अर्कै मान्छे आउने कुरा भएको रहेछ । तर मैले जीवनसँग कुरा गरेँ । अहिले उसलाई क्यान्सिल गरेको छ । तिमी अलि छिटो आयौ र राम्रो भयो । ढिलो भएको भए त्यो अर्को मान्छे आइसक्थ्यो ।’

कस्तो संयोग जुर्दाे रै’छ कहिलेकाहीँ । बन्दीपुरमा एकछिन ढिलो भएको भए जमुना दिदीसँग भेट नहुने रहेछ । एकदिन अघि काठमाडौँ आएर जीवन पियासँग यी कुराहरु नभएको भए पनि अर्कै मान्छे आउने रहेछ । मन अलिकति हलुङ्गो भयो । सायद बन्दीपुरमा राधा दिदीले जमुना दिदीसँग मेरो पारिवारिक स्थितिका बारेमा धेरै कुराहरु बताएको हुुनुपर्छ । त्यसैले मलाई अलि बढी नै सहानुभूति दिएर उहाँले टेलिफोनमा जीवन पियासँग कुरा गर्नुभएको सुनिरहेको थिएँ । मैले यसको लागि उहाँसँग आफ्नो कृतज्ञता व्यक्त गरेँ । त्यो बिहानको खाना मैले दिदीकोमै खाएँ । त्यसपछि उहाँले जीवन पियासँग भेट्नका लागि मलाई पुतलीसडकस्थित उहाँको घर र फोन नम्बर दिनुभयो । पुतलीसडकस्थित जीवन पियाको घरमा मैले उहाँलाई भेटेपछि उहाँले त्यो दिउँसो मलाई मीनभवनमा रहेको लायन्स आँखा हस्पिटल पठाउनु भयो । तीनकुने र मीनभवन जाने आउने सडकलाई जोड्ने बाग्मती पुल नजिकै त्यो आँखा हस्पिटल थियो । मैले त्यहाँ डा. यन्तमणि प्रधानलाई भेट्नु थियो जससँग केही समयअघि जीवन पियाको टेलिफोनमा कुराकानी भएको थियो । मैले आफू जीवन पियाले पठाएर आएको भनेपछि डा. प्रधानले मलाई हेर्दै ‘ए, अँ…’ भन्नुभयो र नजिकैको एउटा कुर्सीमा मलाई बस्नको लागि देखाउनु भयो । उहाँले मसँग अरु धेरै कुराकानी र सोधखोज त गर्नु भएन । तर भन्नुभयो– ‘ठीक छ । तिमीलाई जीवनजीले सबै कुराहरु भन्नु भएको होला । तिमीलाई हामी यहाँ केही समय तालिम दिन्छौँ र पछि बन्दीपुर पठाउँछौँ । त्यहाँ हामीले एउटा आँखा क्लिनिक खोल्दैछौँ । तिमीले तालिमको यो एक वर्ष त्रिपुरेश्वर आँखा हस्पिटल र यहाँ हामीसँगै काम गर्नुपर्छ । जीवनजीले तिमीलाई स्कलरसीप दिन्छु भन्नु भएको पनि छ । तिमीलाई राम्रै हुन्छ ।’

मेरालागि त्योभन्दा खुसी अरु के हुन सक्थ्यो ! अघिसम्म मेरो मनमा जुन डर थियो त्यसबाट मुक्त रहेर अहिले म आपूmलाई उत्तिकै सहज अनुभव गरिरहेको थिएँ । म बाहिर निस्केपछि त्यहाँका केही स्टाफहरु मलाई अचम्मले हेर्दै थिए ।

एकजनाले मलाई सोध्यो– ‘तपाईं बन्दीपुरबाट आउनुभएको हो ?’

‘हो ।’ मैले भने ।

‘ट्रेनिङका लागि आउनु भएको हो ?’ फेरि सोधे ।

मैले फेरि ‘हो’ भनेँ ।

‘तर त्यहाँबाट अर्को मान्छे आउने कुरा भएको थियो ।’ उनले भने ।

सायद त्यसैले नै उनीहरु अलमलिएर मलाई यति अचम्मले हेरिरहेका थिए भन्ने मलाई लागिरह्यो । तर उनीहरुका लागि मसँग अर्को कुनै जवाफ थिएन । उनीहरु जिल्ल थिए ।
०००

काठमाडौँसँग छुटेको मेरो साहित्यिक सम्बन्धलाई फेरि एकचोटि मैले त्यहाँ पुगेर जोडेँ । आँखाको उपचारसम्बन्धी लायन्स आँखा हस्पिटलको मेरो तालिम एक वर्षको थियो । तर मैले झण्डै अरु तीन वर्ष काठमाडौँमै रहेर काम गर्नुप¥यो । ती दिनहरु नयाँ ठाउँ भ्रमणका लागि मलाई ठूलो अवसर रह्यो । लायन्स आँखा हस्पिटलको आफ्नो एउटा कार्यक्रम थियो ‘फस्ट आइसाइट प्रोग्राम’ । र, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको देशको दुर्गम ग्रामीण भेकहरुमा रहेका आँखाका रोगीहरुमा हुने मोतिविन्दुको शल्यक्रिया गर्नु र मोतिविन्दु र आँखाका अन्य रोगहरुका कारणहरुबाट हुने अन्धोपन निवारण । धेरै यस्ता शिविरहरुका लागि हामी नयाँ ठाउँहरु पुगिरहेका हुन्थ्यौँ जसले मलाई नयाँ सिर्जनात्मक अनुभूतिहरु दिइरहे । कार्यक्रममा एउटा प्राविधिक चिकित्सकहरुको टोली हुन्थ्यो– केही डाक्टरहरु, नर्सहरु, र केही असिस्टेन्टहरु । सधैँ नयाँ ठाउँ र भूगोल हुन्थ्यो । नयाँ, नयाँ अनुभूतिहरु हुन्थे । ती विकट र दुर्गम भेकहरु जहाँ दिउँसै आँखा खोलेर हिँड्न त कति गाह्रो हुने ठाउँहरु छन् । झन् आँखै बन्द भएर त्यो बुढ्यौली उमेर काट्नुपर्दा जीवन कस्तो ताडनाले बित्दो होला ? आँखा चिम्लिएर अलिकति अँध्यारोको कल्पनाले मात्रै हामीलाई कति छटपटीहरुले एकैचोटि अँठ्याउँछ । दृष्टि हराएर अँध्यारो भोगिरहेका ती मान्छेहरुको जीवन झनै ती अनकण्टार गाउँहरुमा हामी कसरी कल्पना गर्न सक्छौँ ? हामीले सधैँ त्यहाँ पुग्ने कोसिसहरु गरिरहयौँ जहाँ आँखाका रोगहरुले दृष्टि गुमाएर मान्छेहरु आफ्नो जीवनलाई अभिशाप ठानिरहेका हुन्थे । हामी उनीहरुको बीचमा पुग्थ्यौँ । शल्यचिकित्साबाट उनीहरुको आँखाको दृष्टि फर्काउँथ्यौँ । शल्यक्रियापछि बाँधिएको आँखाको पट्टी खुल्दा त्यहाँ उनीहरुको अनुहारको खुसीलाई हामी सजिलै अनुमान गर्न पनि सक्दैनथ्यौँ । उनीहरु हामीलाई आशीर्वाद दिन्थे । हाम्रा हातहरुलाई आफ्नो निधारमा लगेर ढोग्थे र हाम्रो लामो आयुको कामना गर्दै खुसीहरु पोख्थे । हिजोसम्म आफन्तहरुले डो¥याएर घरको भित्रबाहिर गरिरहँदा र एउटा कुनामा चुपचाप झोक्रिएर आफैलाई सरापिरहँदाका कथाहरु उनीहरु हामीलाई अचम्मले सुनाउँथे । ती बुढाबुढीहरु आँखाको पट्टी खुलेपछि आफैसँग दङ्ग देखिन्थ्यो । उनीहरु आफ्नै हातका औँलाहरु गन्थे । आफू नजिकै रहेका आफन्तका अनुहार छाम्दै, हातहरु मुसार्दै– ‘मैले तेरो अनुहारलाई देख्ने भए । यी हेर बाबु ।’ भन्दै गर्दा शिविरको त्यो वातावरण नै एकप्रकारको खुसी र उत्साहले भरिएको हुन्थ्यो । कोही उभिएर हिँड्न खोज्दै हुन्थ्यो । उनीहरुको लागि खुसीको त्यो पागलपनका क्षणहरु जस्तै लाग्थ्यो । हामीहरु नजिकै बसेर उनीहरुको त्यो अबोध व्यवहारलाई नियालिरहेका हुन्थ्यौँ । त्यसबेला उनीहरुका ती खुसीहरुभित्र हामी आफ्ना खुसीहरु पनि खोजिरहेको हुन्थ्यौँ । उनीहरुका ती खुसीहरुमा हाम्रा आफ्ना खुसीका क्षणहरु पनि मिसिएका हुन्थे ।

ओखलढुङ्गाको रुम्जाटार आँखा शिविरको मलाई सम्झना आउँछ । दुईवटै आँखा अप्रेशन गरेकी एउटी बुढीआमै आँखाको पट्टी खुलेपछि कति साह्रो खुसी देखिइन् भने शिविरको त्यो अन्तिम दिन हामी सबै बिरामीहरुलाई औषधी र कालो चस्मा वितरण गरिरहँदा रेडियोमा बज्दै गरेको एउटा गीतसँगै उनी उठेर छमछमी नाच्न पो सुरू गरिन् । त्यसपछि त के थियो ! उनको खुसीले त्यहाँ सबैको खुसीलाई समेटेर हँसायो । हामीले ती आमैलाई ‘धेरै नउफ्रनु आँखालाई असर हुन्छ भनेपछि बल्ल थामिइन् ।

‘बाबु, मेरी ठूली छोरीको बिहा भएको पन्ध्र वर्ष भयो । त्यसबेलादेखि मैले आँखा देख्न छाडेको । अरु दुइटा छोराहरुको बिहा भएर नातिनातिना भैसके । छोरीतिरका नातिनातिनाहरु आउँछन् । मलाई बोलाउँछन् । उनीहरुको बोली मात्र सुन्छु । देख्न सक्दिनँ । मेरा अठारजना नातिनातिनाहरु छन् । यो दसैँमा त सबैलाई एकै ठाउँ राखेर मुख हेरेर टीका लाइदिन्छु ।’ ती बूढीआमै भन्दै थिइन् ।

आमैको खुसी देखेर डा. यन्तमणि प्रधान हाँस्दै हुनुहुन्थ्यो ।

हामी सँगै उभिएर आमैलाई हेर्दै थियौँ । उनी हामी नजिकै आइन् र भन्न थालिन्– ‘बाबु तपाईंहरुलाई सय जुनीको पुण्य मिलोस् । हाम्रो लागि कहाँकहाँबाट आएर यति ठूलो धर्म गरिदिनु भयो । बाबुहरुको धन्य होस् । बाबुहरुको जय होस्’ ।

बूढीआमैको आँखाभरि आँसु टिलपिल थियो । उनको त्यो आँसुले हामीलाई त्यहाँ झनै अरु सुखद र भावुक बनायो ।

यस्ता धेरै क्षणहरुले मलाई धेरै अनुभूतिहरु दिएका छन् । कहिलेकाहीँ विषादहरुले पनि कोरिएको छु । यति धेरै खुसीहरुका बीच जब कहिलेकाहीँ केही मान्छेहरु देख्न असमर्थ हुन्थे र सोध्थे ‘बाबु, सबैले देख्ने भएका छन् । म किन देख्दिनँ ।’

मन अमिलिन्थ्यो । यस्ता विरलै केसहरुलाई डाक्टरहरुले रोक्न पनि सक्दैनथे ।

‘देख्नुहुन्छ, अहिले घाउ आलै छ । त्यो निको भएपछि बिस्तारै देख्दै जानुहुन्छ ।’ यस्ता झुठा जवाफहरुले पनि कहिलेकाहीँ हामी उनीहरुलाई आश्वस्त बनाइरहेका हुन्थ्यौ । यसले उनीहरुको मनलाई कत्तिको शीतल बनाउँथ्यो, बनाउँदैथ्यो । तर त्यो उनीहरुका लागि सहानुभूति मात्रै हुन्थ्यो ।
०००

केही महिनादेखि म बन्दीपुर छु । तर मेरालागि त्यो नौलो ठाउँ भने थिएन । मेरो आफ्नो पुख्र्याैली ठाउँ थियो । २०२५ सालअघि नै मेरा बापट्टिका बाजे नन्दलाल श्रेष्ठ बन्दीपुर छाडेर आँबुगाउँ बसाइ सरेका थिए । मेरा बाजेका दुईटी स्वास्नी र उनीहरुबाट जन्मेका अठार छोराछोरीहरु । उनीहरुमध्ये छोराहरु चार दाजुभाइ र बाँकी सबै छोरीहरु । सबैभन्दा कान्छा मेरा बा । मेरा बाजेका जेठीपट्टिका चारजना छोरीहरु । छोरी धेरै जन्मे भनेर स्वास्नी र छोरीहरुलाई छाडेर मेरा बाजे आँबुगाउँमा आई अर्का स्वास्नी लिएर बसेका रे । त्यसपछि बाजेको बन्दीपुर फर्कने कुरा विच्छेद जस्तै भयो । छोरीहरु बिहेबारी भएर बन्दीपुरमै रहे । त्यसैले मेरा फुपूतिरका नातासम्बन्धहरु बन्दीपुरमा अझै छन् । घर जग्गाहरु बेचिसकेकोले मेरो बाजेको चल अचल सम्पत्ति अहिले बन्दीपुरमा छैन तर बाजेका दाजुभाइका सन्तानहरु र उनीहरुका जायजेथाहरु भने त्यहाँ छन् । २०२५ सालतिर बन्दीपुर रहेको सदरमुकाम र त्यहाँको अड्डा अदालत र व्यापारकेन्द्र भत्केपछि भने धेरैले बन्दीपुरलाई छाड्न थाले । फेरि पनि एउटा परम्परालाई बाँध्न हरेक वर्ष बन्दीपुरमा सबैका गुठीपुजाहरु चल्छ । सबैको भेटघाटको एउटा कार्यक्रम बन्छ । नयाँ पुरानालाई चिन्छन् । पुरानाले नयाँ चिन्छन् ।

२०५० सालको असारदेखि म काठमाडौँलाई छाडेर बन्दीपुर आएँ । लायन्स आँखा हस्पिटलले सुरू गर्ने भनिएको आँखा क्लिनिकको कार्यक्रमलाई मैले बन्दीपुरमा रहेर सञ्चालन गर्नु थियो । बन्दीपुरमै मेरा केही आफन्तहरु रहे पनि मैले राजाराम प्रजापतिको घरमा डेरा लिएर बसेँ ।

बन्दीपुरमा मान्छेहरुको त्यति चहलपहल देखिँदैन । एउटा बुढो बिरामीले दिन कटाउने बुढो आश्रयस्थल जस्तो देखिन्थ्यो बन्दीपुर । यहाँका घरका छानाहरुबाट बिहान सधैँ एउटा उत्साहहीन घाम उदाउँथ्यो र बेलुकी भने चिसो बतासको सुस्केरा हालेर गुरूङ चे डाँडा उदासी पोखिरहन्थ्यो । बालाबजार, भैसेखार र बाकुन्टोल दिउँसै सुनसान देखिन्थे । कुनै हिन्दी हरर फिल्मका दृश्यहरुभैmँ ती घर र बजारहरु निष्प्राणजस्ता लाग्थे ।

एउटा अस्पताल छ तर आफै रोगीजस्ता । डाक्टरहरु छैनन् । केही सहायक स्वास्थ्यकर्मीहरुले यो अस्पतालको दैनिक रूटिनहरुलाई धानिरहेको छ । अस्पतालको वार्डका वेडहरुमा क्षयरोगका बिरामीहरु पल्टिरहेका हुन्छन् । उनीहरुका आँखाहरु त्यहाँ सधैँ उदास छन् । अस्पतालमा रहेर रोगको पीडा झेलिरहेका एकथरी यस्तै मान्छेहरुसँग मेरा दिनहरु बित्ने गर्छन् । जीवनप्रति उनीहरुसँग कुनै गुनासाहरु छैनन् । अस्पतालदेखि केही तल टुँडिखेल छ । बुढ्यौलीले गाँजिरहेका वरपीपलका रूखहरु छन् । सल्लाका बोटहरु छन् । र, त्यसका सुसाइहरु छन् । त्यहाँबाट उत्तरतिर लस्करै हिमालहरु देखिन्छन् । टुँडिखेलको हावामा एकैछिन मन बाँधिन्छ ।
०००

तिमी तल्लीन छौ म जलिरहेको हेर्न
म भने जल्दाजल्दै
तिम्रो दीर्घायुको
कामना गरेरै जलिरहेँ ।

अघिसम्म बाँधिएको मन फेरि छ्यालब्याल्ल पोखिन्छ । टुँडिखेलको एउटा छेउमा उभिएर फेरि म त्यो पहाडपानीको उकालो हेरिरहेछु । त्यो उकालो उस्तै छ जसलाई मैले धेरैचोटि टेकेर हिँडेको छु । धेरैचोटि त्यो उकालोमा गीतहरु गुन्गुनाएको छु । आजभोलि त पहाडपानीको त्यो उकालोले जिउ गल्दैन । पाइलाहरु अभ्यस्त बनिसकेका छन् ।

शब्दाङ्कुर, २०६९

%d bloggers like this: