0

त्यो फेब्रुवरी

Share

साउदी अरबबाट प्रकाशित हुने एउटा दैनिक अङ्ग्रेजी पत्रिका ‘अरब न्युज’मा नेपालसँग सम्बन्धित समाचार थियो तर छोटो । समाचार थियो– ‘नेपालमा विद्रोही माओवादीसँग सम्बद्ध उसको भातृ विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले निजी बोर्डिङ स्कुलहरुलाई बन्द गर्न दिइएको कडा धम्की र चेतावनी । उनीहरुको यो बन्द कारवाहीले नेपालभरिका आठहजार पाँच सय निजी बोर्डिङ स्कुलहरु र ५ लाख विद्यार्थीहरु प्रभावित ।’

१६ अप्रिलको त्यो समाचारलाई मैले आफ्नो डायरीमा नोट गरेँ ।

केही दिनदेखि नेपालमा भइरहेका तीव्र राजनीतिक घटनाक्रमहरुलाई हामीले साउदी अरबको यो निर्जन मरूभूमिबाट उत्सुकतापूर्वक हेरिरहेका र सुनिरहेका थियौँ । हामीले सजिलै पढ्न र बुझ्न सकिने आफ्नो नेपाली भाषाको कुनै न्युज च्यानलहरु हामीसँग थिएनन् । तर पनि नेपालसँग सम्बन्धित थुप्रै न्युज च्यानलहरुले दिइरहेका समाचारहरुका बारेमा कहिले बङ्गाली बन्धुहरु र कहिले श्रीलङ्काली मित्रहरुले हामीलाई बताइरहन्थे । र, उनीहरुका भाषाका न्युज च्यानलहरुबाट दिइरहेका नेपालका समाचारहरु हामीलाई सुनाउँथे । हामी उनीहरुको कोठामा पुगेर उनीहरुको भाषामा प्रसारण भइरहेका नेपालसम्बन्धी समाचारका दृश्यचित्रहरु हेथ्र्यौं ।

गएको अघिल्लो महिना २ फेब्रुवरीको एउटा बिहान । ड्युटी जान बस चढ्दै गर्दा जाकिर हुसैन जो मसँगै जेटिआईमा काम गर्ने बङ्गाली कुक थिए, ले मलाई सोध्यो– ‘‘तिम्ले हिजो साँझको बी.बी.सी. न्युज सुन्यौ ?’

‘किन ? कुनै खास न्युज थियो ?’ मैले सामान्य उत्सुकताले उसलाई सोधेँ ।

‘क्या यार तुम अपनी देशकी न्युज सुनता नही ?’ मेरो अनभिज्ञताप्रति जाकिरको अर्को प्रश्न थियो ।

‘नेपालको राजाले हिजो पुरै पार्लियामेन्ट भङ्ग ग¥यो र सङ्कटकाल लगायो । प्रधानमन्त्री र मन्त्रीहरु सबैलाई बर्खास्त गरेर जेल हाल्यो ।’ उसले थप सुनायो ।

नेपालबारेको त्यो समाचार बसभरि सबैको लागि तातो गफ बन्यो । बसभित्र नवीन र मबाहेक सबै बङ्गाली र श्रीलङ्कालीहरु थिए । नेपालको चर्चा उठेपछि प्रसङ्गवस यो राजनीतिक विषयलाई उनीहरुले अरु गरमागर्मी बनाए । उनीहरुमध्ये केहीले भन्दै थिए– ‘‘तिम्रो नेपालका पोलिटिकल लिडरहरु किन निडर छैनन् हँ ? किन यति कमजोर छन् ? नेपालका पोलिटिकल पार्टी र पब्लिकले राजाको यो कार्यको किन विरोध गर्न सक्दैनन् ?”

‘राजतन्त्र अब कुनै दुनियाँमा छैन । तिम्रो देशमा भने राजा किन यति पावरमा छ हँ ?’ उनीहरुले जोड दिएर हिन्दीमा भनेका थिए– “दुनियामे ये राजतन्त्र कही“ नही । राजाको सब मिलके लात मारके भगाओ ।’

बसभित्र होहल्ला चर्कै थियो ।

जाकिर भन्दै थियो– ‘तुम्हारे मुलुकमे तो वो क्या माओइष्ट है ना, वो क्या कर रहा है ? वो तो राजाके खिलाफमे लड् रहा है न ?’

राजनीतिप्रतिको जाकिर हुसैनको गहिरो चासो थियो । र ऊ नेपालको राजनीतिसँग पनि रामै्र जानकारी राख्दो रहेछ भन्ने कुरा उसका यी कुराकानीहरुले पनि छर्लङ्ग थियो ।

‘अनिल तिमी पनि माओइष्ट हो ?’– एकजना श्रीलङ्कालीले पछाडिबाट मलाई सोध्यो ।

मैले हाँसेरै उसलाई सोधेँ– ‘कसले भन्यो ?’

‘नवीनले ।’ उसले भन्यो ।

‘साला, तुम झुठ बोला, तुम झुठ बोला ।’ पछिल्लो सिटमा नवीन श्रीलङ्कालीसँग प्रतिवाद गर्दै थियो ।

‘तिमीलाई नेपालको माओइष्टको बारेमा थाहा छ ?” मैले श्रीलङ्कालीलाई सोधेँ

‘लिट्टेजस्तै, विद्रोही आम्र्स पार्टी होइन ?’ उसले भन्यो ।

नेपालमा सशस्त्र विद्रोह लडिरहेको माओवादी र श्रीलङ्काका विद्रोही लिट्टे (लिबरेशन टाइगर्स अफ तमिल ईलम) लाई उनीहरुले उस्तै ठानिरहेका थिए । सशस्त्र तर भिन्न उद्देश्यका लागि लडिरहेका यी दुई युद्ध उस्तै होइनन् भन्ने बुझाउन उनीहरुलाई आवश्यक थियो । लिट्टेको विद्रोह श्रीलङ्कामा तमिलहरुको जातीय विद्रोह थियो । नेपालमा माओवादी विद्रोह भने गणतन्त्र प्राप्तिको लागि सामन्तवादको विरूद्धमा लडिएको हतियारबद्ध राजनीतिक आन्दोलन थियो । तर बसभित्र भइरहेका यी अनौपचारिक राजनीतिक प्रसङ्गका कुराकानीहरु र होहल्लामा मैले धेरै कुराहरु गरिरहनु जरूरी देखिनँ ।
०००

हिजो साँझ । खाना खाएर मेस हलबाट फर्किरहँदा केही अस्पष्ट हल्लाहरु हामीले सुनेका थियौँ । हल्लाहरु नेपालको राजनीतिसँग सम्बन्धित थिए । हल्लाका वास्तविकताहरु के हुन् बुझ्न सकिरहेका थिएनौँ । अनेकथरी आशङ्काहरु थिए । नेपालमा फोन सम्पर्कहरु गर्न खोज्यौँ, कतै पनि फोन लाग्न सकिरहेको थिएन । हामी खाना खाएर फर्किरहेका सबैका हातका मोबाइलहरु नेपालका एउटा न एउटा नम्बरहरु थिचिरहेका थिए । तर कसैको मोबाइलले पनि सम्पर्क खोज्न सकिरहेको थिएन । सबैका आँखाहरु अनिश्चयले घेरिएका थिए ।

‘नेपालमा पक्कै पनि केही त भएको हुनुपर्छ ?’ सूर्य भन्दै थियो ।

अब त्यो आशङ्का रहेन । कुरा स्पष्ट थियो– देशमा राजाले आफ्नो प्रत्यक्ष शासन सुरू गरे । देश अब राजाको हस्तक्षेप र निगरानीमा थियो । सबै राजनीतिक पार्टी र त्यसका कार्यक्रमहरु सायद प्रतिबन्ध गरिए । हिजो साँझको हल्ला र हाम्रा आशङ्काहरुले जाहिरसँगको यो कुराकानीले अब अलिकति उज्यालो पायो । मलाई यो कुनै अप्रत्यासित घटना होइन भन्ने लाग्यो । आखिर एकदिन यो हुनु नै थियो र राजाले आफ्नो सत्ताको कुरुप यथार्थलाई कुनै दिन यसरी नै बाहिर प्रकट गर्नु नै थियो, जुन ग¥यो । नेपालका अलोकप्रिय संसदीय पार्टीहरु र अस्थिर राजनीतिक घटनाक्रमहरुले यसलाई एउटा पूर्वानुमानित घटनाको रुपमा देखाइसकेको थियो नै । तर हेर्दा बाहिरी रुपमा यो घटना संसदीय व्यवस्थाको विरूद्धमा राजाले चालेको कदम देखिए पनि भित्री रुपमा माओवादीहरुको बढ्दै गएको विद्रोह र जनयुद्धको लोकप्रियतालाई समाप्त पार्न खोज्नु नै थियो । अब भने यसपछिका घटनाक्रमहरु कसरी अघि बढ्ने हुन् ? तर निश्चित छ– यसले देशमा अब दुईवटा राजनीतिक शक्तिहरुबीचको ध्रुवीकरणलाई तीव्र रुपमा विकास गर्नेछ । र स्पष्ट छ देश झन् चर्काे राजनीतिक द्वन्द्वको घमासानतिर अघि बढ्नेछ ।

साँझको ५ बजे, बी.बी.सी.को हिन्दी न्युज सुन्यौँ । नजरबन्दपछिको गिरिजाप्रसाद कोइरालाको पहिलो वक्तव्य, जुन क्यासेट गरिएको वक्तव्य थियो, दिइएको थियो । ६ बजे टेलिभिजनबाट बी.बी.सी. च्यानलको न्युज हे¥यौँ । समाचार छोटो थियो र कफ्र्यूपछिका काठमाडौँका सुनसान सडकहरुलाई दृश्याङ्कन गरिएको थियो ।

यी फेब्रुवरीका सुरूका केही दिनहरु थिए । हामीले काम गरिरहेकोे कलेज जुवैल टेक्निकल ईन्ष्टिच्युटका कक्षाहरु खुल्न अझै केही दिनहरु बाँकी थिए । ६ फेबु्रवरीदेखि कलेजका कक्षाहरु सुरू हुनेछन् । त्यसैले पनि क्याटरिङका सबै कामहरु बन्द छन् । डाइनिङ हलको सरसफाइ र कुर्सी टेबुलहरुको व्यवस्थित गर्नुपर्ने कामहरु नै भएकोले हामीले एकदुई दिन अझै अरु यही काममा लाग्नुपर्ने छ । सुपरभाइजर श्रीलङ्काली छन्– सिड्नी । क्रिस्चियन हुन्, क्याथोलिक । बङ्गाली कामदारहरु उनलाई उत्ति मन पराउँदैनन् ।

‘सिड्नीले हामीलाई ओभरटाइम दिँदैन । अरु लोकेसनमा चार घण्टाको ओभरटाइम दिन्छ । यसले हामीले पाएको एकघण्टा पनि काटिदिन्छ । यसको मन कालो छ ।’ डाइनिङ् हलमा काम गर्ने बङ्गाली कामदार जाहिरुल इस्लाम भन्छ ।

यसै विषयलाई लिएर घरिघरि ऊ श्रीलङ्काली सुपरभाइजरसँग विवाद गरिरहन्छ । बिहानै काममा जानु, किचनबाट चिया पकाएर पिउनु, सुपरभाइजर र कामदारहरुबीच तलब र ओभरटाइमको विषयलाई लिएर विवाद परिरहनु, यी एकदुई दिन यसै गरी नै बित्छ । दिउँसो दुई बजेपछि कुनै काम हुँदैन । कोठामा गएर सुत्नु र कुनै नयाँ फिल्म खोजेर हेर्नु, समय बित्ने मेलो यही हो ।
०००

झट्ट हेर्दा अलि नयाँ झैं लाग्ने खालको नाम थियो त्यो फिल्म– ‘पेज ३’ । दिउँसो हाइरामले मलाई छाडेर गएको थियो हेर्नको लागि । फिल्म हेरेँ । औसत हिन्दी फिल्मको कथासुत्रभन्दा अलि भिन्न कथावस्तुको पृष्ठभूमि थियो । पत्रकार जगत् र यसले समेटेको सहरी सम्भ्रान्तहरुको एउटा वृत । एउटा प्रमुख अङ्ग्रेजी दैनिक पत्रिकाको पेज ३ र यो विभाग हेर्ने एउटी पत्रकार नायिकाको मुख्य भूमिका रहेको फिल्मले कथावस्तुलाई खासै उल्लेख्य बनाउन नसके पनि कथाले एउटा नयाँ विषयलाई समात्ने प्रयास गरेको थियो । बस्, यत्ति नै हो फिल्मको उपलब्धि ।
०००

रोशन र चन्द्रकान्त दुवैले केही दिनदेखि काम बन्द गरेका छन् । उनीहरु दुवै सँगै, एउटै काममा थिए । बस्नका लागि हामी सँगै एउटै कोठामा छौँ । दुवै जना नयाँ हुन् । नेपालबाट भर्खरै यहाँ आएको तीन महिना हुँदै छ । गार्डनरको काम गर्छन् । यस महिना पनि उनीहरुलाई ओभरटाइम दिइएन । दुई सय तीस रियाल तलब बुझेछन् । बङ्गाली सुपरभाइजर रै’छ, असाध्यै धूर्त । उनीहरुले ओभरटाइमको कुरा ग¥यो भने ‘तँ नेपाल जा, कम्पनीले तँलाई ओभरटाइम दिन्छु भनेको छैन’, भनेर डर देखाउँदो रै’छ । केही समयअघि मसँगै जेटिआईमा हाउस किपिङको काम गर्दै आइरहेको चिरञ्जीवीले काम बन्द ग¥यो । उसलाई कम्पनीले अनेक डर, त्रास, धम्की देखायो । केही दिन मेसहलबाट उसको खानासमेत रोकिदियो । उसलाई उसको तलब दिइएन र एक महिनापछि कम्पनीको हेड अफिस अलखोबार पठायो । अर्काे एकजना साथीले यसै गरी एक हप्तादेखि काम छाडेर बसेको छ । यहाँ काम गर्न आउनेहरुको सबैको यस्तै कथा छ । असी, नब्बे हजार नेपाली रूपैयाँ म्यानपावरका दलालहरुलाई बुझाएर उनीहरु यहाँ काम खोज्न आउँछन् र यहाँ आइपुगेपछि शारीरिक र मानसिक रुपले अनेक डर, धम्की र त्रास खेपेर काममा जानआउन बाध्य छन् ।
०००

नेपालमा फोन सम्पर्कहरु भएका छन् भन्ने कुराहरु बिस्तारै सुनिँदै थियो । नेपालमा भएका राजनीतिक घटनाहरुबारे यहाँ साउदीबाट निस्कने केही हिन्दी भाषाका समाचारपत्रहरुले पनि उल्लेख गरेर लेखेका रहेछन् । एकदिन फागुन ५ गतेको ‘कान्तिपुर’ समाचार दैनिक फेला प¥यो । कताकताबाट हो त्यो पत्रिका मेरो हातमा आइपुगेको थियो । धेरै समयपछि नेपाली पत्रिकाका समाचारहरु पढ्न पाएँ । कहिलेकाहीँ यहाँ यस्तै आक्कल झुक्कल यी पत्रिकाहरु देखिन्छन् र पढ्न पाइन्छ । नेपालमा राजनीतिक फेरबदलपछिको यो पहिलो नेपाली पत्रिका पढ्दै छु । आँखाहरु धेरै उत्सुक थिए । तर समाचारहरु खासै सम्प्रेषणीय देखिएन । धेरै समाचारहरु उत्साहहीन थिए सेन्सरले बाँधिएकाजस्ता । पत्रकार महासङ्घका विष्णु निष्ठुरी, गोपाल बुढाथोकी र मानवअधिकारकर्मी कृष्ण पहाडीको गिरफ्तारीपछि थुनामा राखिएका समाचारहरु थिए त्यहाँ । यसले राजा ज्ञानेन्द्रको राजनीतिक ‘कु’पछिको प्रेस जगत्को स्थितिको बोध गरायो ।
०००

दुई दिनदेखिको अनिद्रा छ । एककिसिमको इन्सोमनिया । गएको अघिल्लो रात बिथोलिएको निद्राले शारीरिक र मानसिक रुपमा पुरै तनाव पैदा गरेको छ । राति निद्रा पर्दैन । दिउँसो ड्युटी हुन्छ । सुत्न सकिँदैन । शरीरका मांशपेशीहरुको सङ्कुचन र मानसिक असन्तुलनहरु सुरू भएका छन् । एकप्रकारको विक्षिप्तता छ । बिहान अफिसबाट मेडिकल जानको लागि मेडिकल पेपर मागेँ र कोठामा फर्केँ । कुनै हालतमा पनि मलाई अब निदाउनु जरूरी थियो । क्याम्पभित्र लुकिछिपी रक्सीको अवैध बिक्री हुने गरेको थाहा थियो । त्यसैले कसरी हुन्छ मलाई अलिकति रक्सी ल्याइदिनको लागि पल्लो कोठामा रहेका बन्धुराज पौडेललाई आग्रह गरेँ । उसले धेरैबेर खोजेर आधा गिलास रक्सी ल्यायो र भन्यो– ‘बेलुकी एक बोतल मगाएको छु । यसले निद्रा प¥यो भने भरै पनि खाएर सुत्नुस् ।’

साँच्चै नै त्यो आधा गिलासले पनि मलाई बिहानको एकाध घण्टा रामै्र निद्रा प¥यो । जिउले एक किसिमको राहत महसुस ग¥यो । मस्तिष्कको भारीपना हटेर गयो । दिउँसो मेसहलमा खाना खान जाँदा नेपालीमा लेखेर टाँसिएको एउटा सूचना देखेँ– भित्तामा । जुबैल दावा सेन्टर नेपाली भाषा विभागले आयोजना गरेको नेपाली मुस्लिमहरुको भेटघाटको कार्यक्रमको सूचना रहेछ त्यो ।
०००

क्याम्प–टुभित्र एकजना नेपाली कामदारको मृत्यु भएको गाइँगुईं हल्ला दिउँसो जेटिआईको ड्यूटीमा सुनेँ । किन र कसरी मृत्यु भयो ? त्यो थाहा थिएन । तर ऊ मरिसकेको अवस्थामा बिहान ओछ्यानमै थियो रे । मर्ने कामदार तामिमी कम्पनीमा काम गर्ने लिम्बु थरको नेपाली रै’छ । पाँचथर जिल्लाका रै’छन् । हिजो रातिसम्म ऊ ठीकै थियो रे । साँझमा साथीहरुसँगै भलिबल खेलेर कोठामा सँगै फर्केको थियोे भन्ने सुनियो । बिहानै साउदी प्रहरीहरु आएर उसको लास र कोठामा सँगै बस्ने उसका साथीहरुलाई सोधपुछको लागि थानामा लिएर गएछन् । उसको त्यो शव अब कति दिनसम्म हस्पिटलमा फ्याँकिएर रहने हो वा भोलि उसको घर परिवारले उसको त्यो मृत शरीर पाउन सक्ने पनि हो वा होइन ? सोच्छु, कति कहालिलाग्दोे छ यो समुद्रपारि कमाउन आउनेहरुको जीवन । मान्छेहरुले कस्तो बेखबर भएर बाँच्नुपर्छ यहाँ र बेखबर भएरै मर्नुपर्छ ।
०००

यो मार्चको २ तारिख थियो । काठमाडौँमा लागेको सङ्कटकालले एक महिना पूरा गरेछ । यो अझै अरु कति दिन लम्बिने हो ? थाहा छैन । दमन र धडपकडका खबरहरु हामीले अझै सुनिरहेका थियौैँ । कफ्र्युले देश चलेको छ ।

आजकै दिन, काठमाडौँलाई छाडेर खाडीको यो मुलुक टेक्न हिँडेको ठीक दुई वर्ष पूरा भएर बित्यो । यी दुई वर्षहरु साउदी अरबको यो मरूभूमिमा टेकेर कसरी बिताएँ होला– अहिले सोच्दै छु । अघिल्लो दिन, काठमाडौँलाई छोड्नु अघि हवाई यात्राको एउटा रमाइलो र रोमाञ्चकारी कल्पनाले मन उडेको थियो । तर भोलिपल्ट जब साउदी अरबको अलखोबारको एउटा निर्जन मरूभूमिलाई टेकेर मैले आफू माथिको त्यो निलो आकाशलाई नियाँल्दै थिएँ, त्यहाँ गहिरिँदै गइरहेको शून्यताले मेरो मनलाई एकतमास बनाउँदै थियो । मन उदास थियो र आँखाअघि घरका सम्झनाहरु बत्तासिएर खेल्दै थिए । अरु एकैछिन त्यहाँ अडिएर मैले त्यो मरूभूमिमाथि बिताउनु पर्ने ती दुई वर्षको लामा दिनहरुको कल्पना गर्नै सकिनँ । मन एक्लिएर रुँदै पो थियो । धेरैदिनसम्म पनि मनमा घरको न्यास्रो खेलिरह्यो ।

‘तपाईं किन यसरी न्यास्रिनु भाको ? घर छाडेर अब आइ त हाल्यौँ । जेजस्तो पर्छ पर्छ, एकदुई वर्ष बिताएरै फर्किने त हो ।’ साथीहरु मलाई डाढस दिइरहन्थे ।

त्यहाँ हामीले भेटेका केही पुराना साथीहरु थिए र उनीहरु एक डेढ वर्षदेखि त्यहाँ काम गर्दै आइरहेका थिए । उनीहरुले हामीलाई यहाँका ठाउँहरु, हावापानी, सहर, मान्छेहरु, साउदी नागरिकको चालचलन र संस्कृतिहरु सबैको राम्रो जानकारीहरु दिए । पछि यी कुराहरुसँग सामञ्जस्यता राख्न हामीलाई धेरै सजिलो पनि भयो ।

‘एकदुई महिना हो, पछिपछि त समय कसरी बित्छन् थाहा हुँदैन ।’ उनीहरु भन्थे ।

अहिले यस्तै सोच्दै छु– यी दुई वर्षहरु कसरी बिते होलान् ?
०००

बेलुकीतिर घुम्नको लागि कोठाबाट बाहिर निस्केका छौँ । साथमा नवीन र सूर्य सँगै छन् । घाम डुब्ने बेला छ । गर्मीको उस्तो ताप छैन । हावा चलेको छ । खुल्ला आकाश र त्यसको निलो रङको गहिराइमा पोतिएका बादलका केही टक्रा दृश्यहरुले हेर्ने आँखाहरुलाई असाध्य रमाइलो लाग्छ । खाडीको मौसमभित्र यस्ता क्षणहरु अत्यन्तै कम हुन्छन् घुम्नका लागि । धेरै त धूलाम्य हावा र हुरीले नै यहाँको वातावरण ढाकिरहेको हुन्छ । ठूलो क्षेत्रभित्र फैलिएको आवासगृहलाई घेरेर बनाइएका पर्खालहरु र पर्खालभित्र फेरो लगाएर बनाइएका सडकहरु हामीलाई बेलुकीपख टहल्दै हिँड्ने ठाउँहरु भएका छन् यहाँ । आवास क्षेत्रभन्दा बाहिर हिँडडुल सकिँदैन । घुम्ने जाने ठाउँहरुको असीमितता, सधैँ गोजीमा अकोमा बोकेर हिँड्नुपर्ने झन्झट, कहिलेकाहीँ बाटोमा साउदी प्रहरीहरुबाट झेल्नुपर्ने अनावश्यक सोधखोजहरुले बाहिर घुम्न निस्कनु त्यति सहज पनि रहँदैन । त्यसैले कोठाभित्र बस्दा लगाइने एकसरो कपडामै पनि हामीलाई क्याम्पभित्र हिँड्नु, डुल्नु सजिलो पर्छ । ठाउँठाउँमा भलिबल कोर्ट, टेनिस हल, क्रिकेट र फुटबल मैदानहरु र खेल्नेहरुको चहलपहल हेर्दैै हिँड्नु रमाइलो हुन्छ । कतै फिलिपिनीहरु छन् । कतै साउदियन छन् । कतै पाकिस्तानी, नेपाली, इण्डियन र श्रीलङ्काली । खेल्नेहरु आ–आफ्नै कोर्ट, मैदानहरुमा खेलिरहेका छन् । घुम्न निस्कनेहरु सडकमाथि हिँड्दै छन् । कोही दौड्दै छन् । कोही मैदानको एकछेउ उभिएर शरीरको कसरत गर्दै छन् । सबैको आफ्नो एउटा धुन छ । सुर छ । लय छ । एकलहरले लगाइएका रूखहरुले क्याम्पको हरियाली र सुन्दरता कायम गरेको छ ।
०००

२०६१ सालको चैत्र महिनाको ‘मूल्याङ्कन’ पत्रिका पढ्न पाएँ । एकजना साथीले दिएर गएको थियो । सबै लेखहरुलाई सरसर्ती एकपल्ट पढेँ । पाब्लो नेरूदाको कविता थियो– “अँध्यारोमा मानिसहरुको लागि सूर्यको किरण ।” लामो समयपछि विदेशी भूमिमा कविता पढेको यो पहिलो हो । पत्रिकाको हाम्रो मूल्याङ्कन पढेपछि सिङ्गो देश नै एउटा बन्दीगृह बनिसकेछ भन्ने लाग्यो । त्यहाँ लेखिएको थियो– ‘ …. र यसरी हेर्दा अब देश सिङ्गै त्यस्तो राजनीतिक झ्यालखानामा परिणत भएको महसुस हुन्छ, जहाँ राजनीतिक रुपमा असहमत र प्रतिपक्षी विचारलाई कैद गरिन्छ । तिनका वाहकहरुलाई बन्द गरिन्छ र त्यसमाथि सहमतिको रजाइँ चलाइन्छ ।’

‘स्वीस ढाँचाको लोकतन्त्र’ पढिसकेपछि हाम्रो अहिलेको देशले स्वीसलाई अझ बढी अध्ययन गर्न जरूरी छ भन्ने लाग्यो । दिउँसो मूल्याङ्कन पत्रिकाको लागि एउटा प्रतिक्रिया तयार गरे– ‘ …. अहिले सशस्त्र युद्ध लडिरहेको माओवादी एक्लैले नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न सक्ने स्थिति पनि नरहेको, राजा र राजतन्त्र अलोकप्रिय हुँदै गइरहेको र क्रान्तिको सम्भावना पनि तीव्र बन्दै गइरहेको अवस्थामा लोकतान्त्रिक गणतन्त्रको नारालाई सबै राजनीतिक पार्टीहरुको आन्दोलनको साझा सहमति बनाउनु पर्छ ।’

यो एउटा पाठक प्रतिक्रिया र भर्खरै लेखेको आफ्नो एउटा कविता हालेर खाम गरे र त्यसको सम्पादक श्याम श्रेष्ठलाई चिठ्ठी रजिष्ट्री गरेँ ।
०००

बिहान उठ्दा ६ बजिसकेको थियो । झ्यालका पर्दाहरु नाघेर घाम कोठाभित्र छिर्ने प्रयत्न गर्दै थियो । उठेर झ्यालको पर्दा हटाइदिएँ । घाम कोठाभित्र छिरेर निस्फिक्री खेल्यो । हिजो रातिको पानीले बाहिर जमिन भिजेको थियो । आकाश सफा थियो र बिहानको घामले उठेको जमिनको बाफको पातलो गन्ध र हावाले हल्लिरहेका रूखका पातहरुले वातावरणभरि एक किसिमको मादकता छरेको थियो । नुहाइधुवाइ सकेर खाजा खान मेसहलतिर हिँडेँ । कोठामा आइसकेपछि एकैछिन ‘शिरीषको फूल’ लाई पढेँ । काठमाडौँबाट हिँड्दा पारिजातको ‘शिरीषको फूल’ र लैनसिंह बाङ्देलको ‘स्पेनको सम्झना’ यात्रा साहित्य र अरु केही किताबहरु यात्रामा काम लाग्छ भनेर झोलामा साथमै राखेर ल्याएको थिएँ ।

लताका केही हिन्दीका पुराना गीतहरु सुनेँ ।

दिनभरि छुट्टी थियो । ड्युटी जानु थिएन । हिजो अस्तिभन्दा दिउँसो अलि गर्मी बढेको छ । दिउँसो आकाशमा बादलहरु देखिए । हावा चलेको थिएन । जमिनको आद्र्रता बढेर तातो बाफ उठिरहेको थियो । एकछिनमै पानी दरर परेर थामियो । फेरि पानी प¥यो । पानी परेपछिको बाहिरको त्यो दृश्य असाध्यै रमाइलो देखिँदै थियो । मलाई अहिलेसम्म यी महिनाहरु यसरी यसअघि पानी परेको थाहा छैन । हामी कोठाभित्र रहेका केही साथीहरु बरण्डामा निस्केर पानी नथामिन्जेल बाहिरको वातावरणको त्यो रमाइलो क्षणको आनन्दलाई अनुभव गरिरह्यौँ ।

साँझ, रेडियो बङ्गला भाषाबाट प्रसारण भइरहेको नेपालको एउटा समाचार थियो । समाचार सुन्दै गरेको एक बङगाली बन्धुले मलाई भन्यो– “नेपालमा राजाले सङ्कटकाल हटायो । भारतको प्रधानमन्त्री मनमोहन सिंहले एउटा मिटिङमा नेपालका राजाले तुरून्तै देशभित्र प्रजातन्त्रको पुनर्बहाली गर्नुपर्छ भनेर भनेको छ ।”

यो समाचारले त्यहाँ रहेका हामी सबै नेपाली साथीहरुमा एकप्रकारको उत्साहको सञ्चार गरिदिएको थियो । केही साथीहरु मोबाइल समातेर नेपालमा रहेका आफन्तका नम्बरहरु डायल गर्न थाले । मलाई भने भोलि एकपल्ट घरमा फोन गर्नुपर्छ कि भन्ने लागिरह्यो ।

चैत्र, २०६१

%d bloggers like this: