के यी कविता तिम्रा आँखाजस्तै सुन्दर हुने छैनन् ?

धर्तीमा गोधूलि चढ्दै गइरहेको एक साँझ,
सुनसान बतासले मन एकतमास छोइरहँदा
तिमीले आग्रह गरेकी थियौं,
‘कमरेड, मेरो डायरीमा
तपाईंको एउटा कविता लेखिदिनोस् है ।’

(एक सहयोद्धाको पत्रबाट)

धेरैबेर, मैले त्यहाँ कुनै शब्दहरू लेखिनँ,
तिम्रालागि– जुन मैले समर्पित गर्नु थियो तिम्रो डायरीमा
र मलाई एउटा कविता लेख्नु थियो
सयौंं सर्वदाका फूलहरु फुलिरहेको कविताको
मैले तिमीलाई दिनु थियो तिम्रो एउटा उत्कृष्ट दिन
बिहानको शीतहरूबाट खोसेर तिमीलाई
मैले सर्वदाका बैंसालु खुसीहरू दिनु थियो

धेरैबेर,
तर मैले त्यहाँ कुनै शब्दहरू लेखिनँ तिम्रानिम्ति
र त्यहाँ खेलिरहेको थियो व्यथित हावा

गत सालहरू झैँ यस वर्ष पनि खास कुनै उल्लेखनीय रहेन
र मैले तिमीलाई दिन सकिनँ कुनै उल्लेख्य खुसीहरु
हावा उस्तै चलिरह्यो
र धानका फसलहरू झुलिरहे
सधैंझैं जसरी छानामाथि उदाइरह्यो सूर्य
र करेसाबारीबाट घाम ओझेल परिरह्यो
साँझ फेरि उस्तै नमीठो गरी पिंढीहरूमा बास सरिरह्यो
र धेरैबेर, तिम्रा आँखाहरू फेरि उस्तै टोल्हाइरहे

यतिखेर, यो संविधानले अतिक्रमण गरेको
मैले तिम्रो निधारका रेखाहरू हेरिरहेको छु
लाग्छ– भूगोलको त्यो एउटा सीमा हो
जहाँ म देश खोजिरहेको छु
मैले अत्यन्तै कष्टकर भोगिरहेको यो क्षण
यो संविधानको शिष्टताले मलाई घरीघरी बेचैन तुल्याइदिन्छ

घरी म देख्छु–
त्यहाँ सुस्ता लुटिएको छ
र म अतिक्रमित छु,
घरी म देख्छु–
त्यहाँ हराएका असङ्ख्य मेरा आफन्तजनहरू छन्
र म उनीहरूका पीडा भोगिरहेको छु

म देख्छु –
मेरो देशको सगरमाथाको पहिलो घामझैं
तिम्रो सिउँदो रातो छ
त्यो अविचल छ,
र फेरि पनि आस्थापुञ्ज बनिरहेछ
मैले तिम्रा कदहरूलाई पहाडहरूझैं अग्लो
झन् अग्लो देखिरहेको छु

मृत्युका तख्ताहरूझैं हल्लिरहेछन् संसदघरका ढोकाहरू
नागरिकहरूको दैलोमा मृत्युपत्र झुण्ड्याएर
विधेयक बेढङ्गले हाँसिरहेछ
हावा उदास छ
प्रतिनिधिसभाका झ्यालहरूमा
झुण्डिरहेछन् सांसद–पिण्डहरू
र त्यसका आँखाहरुबाट सूर्यबध नाचिरहेछ
सिंहदरबारका मूल ढोकाबाट निस्केर हरिया झिँगाहरू
बाहिर सडकमा भुनभुनाइरहेछन्

सिङ्गो भूगोलमाथि
आँखाहरूको गर्भ फुटालेर
तिमीले भर्खरै एउटा सूर्य जन्माएकी छौ
तिम्रो एक शुष्क हाँसो यी सबै
कष्टहरूलाई चिरेर पनि
प्रदीप्त छ

र, लाग्छ तिमी रजस्वला भोगिरहेकी एउटी युग
जो पग्लदैपग्लदै आफै सल्किएर पनि
सारा उज्यालो दिइरहेकी छौ

म तिम्रो वसन्तको शीतल हावा पर्खिरहेको छु
र यी सम्पूर्ण युद्धहरूका विरुद्ध
युद्धको अन्तिम घोषणा गर्छु

कमरेड, के अन्तिममा
सत्ताका यी सबै यामहरूका विरुद्ध
मेरा कविताहरू तिम्रा आँखाजस्तै सुन्दर हुने छैनन् ?

जनएकता, २०५८

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these