मातृका पोखरेलका दुई कविता

WhatsApp Image 2026 07 24 at 4.04.09 PM 1

मातृका पोखरेल (२०२३ असार ९, उदयपुर) समकालीन नेपाली प्रगतिवादी, यथार्थवादी चेतनाका एक वाहक कवि हुनुहुन्छ । उहाँका कथा, निबन्ध र समालोचनात्मक रचनाहरु पनि प्रकाशित रहेका छन् । उहाँले ‘वेदना’, ‘अमरज्योति’ लगायत विभिन्न साहित्यिक पत्रिकाहरु सम्पादन गर्नुभएको छ । उहाँको हालसम्म ‘सेता दरबारको छेउबाट’ (२०५७), ‘यात्राको एउटा दृश्य’ (२०६०), ‘अनुहारहरु’ (२०६४) कविता कृतिहरु र ‘सन्त्रस्त आँखाहरु’ (२०६१), ‘घाम झुल्किनुअघि’ (२०६७), ‘मित्रताको आकाश’ (२०७६) र ‘मलाई पनि राति निद्रा लागेन’ (२०८३) कथा सङ्ग्रहहरु प्रकाशित छन् । उहाँका कवितामा यथास्थितिको विरोध र अग्रगमनको पक्षधरता पाइन्छ । श्रमिक र निम्नवर्गहरुप्रतिको प्रेम र शोषकहरुप्रतिको घृणा उहाँका कविताहरुको विशेषता हो ।

उहाँ ‘काजीरोशन पाण्डुलिपि पुरस्कार’ (२०६४) र ‘प्रलेस प्रतिभा पुरस्कार’ (२०७८) बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ उहाँको ‘यात्राको एउटा दृश्य’ कवितासङ्ग्रहबाट दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।

प्रिय मान्छेका गीतहरु

मैले धेरै गीतहरु सुनें
मान्छेहरुका गीत
त्यतिमात्र सुनिनँ
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरुको गीत
मैले धेरै गीतहरु सुनेँ

सुनेका गीतहरुमा खोजें
मेरा प्रिय निष्ठाका गीतहरु
तर थोरै भेटें
मेरा प्रिय गीतहरु
अलिकति पानाहरुमा भेटें
प्रिय मान्छेका गीतहरु
धेरै धेरै सोचें
किन लेखिए ?
यति धेरै किताबहरुमा
मान्छे खाने मान्छेका गीतहरु
मलाई निष्ठाका गीतहरु गाउन मन लाग्यो
र आक्राशित भएर गाएँ
आस्थाका गीतहरु
मेरा प्रिय मान्छेका गीतहरु

जङ्गलका गीतहरु भन्दा पनि
किन लेखिए किताबहरुमा
त्यति नराम्रा मान्छेका गीतहरु
ती गीतहरुभन्दा
कति राम्रा छन् खेतबारीका गीतहरु
दानापानीका निम्ति
विवेक स्खलित गर्नेहरुका
टाँसिए तस्बिरहरु
भित्ताहरुमा
चोकहरुमा
म कसरी सहन्छु ?
र मैले गाएँ
असल मान्छेका गीतहरु
प्रिय मान्छेका गीतहरु

त्यति धेरै किताबहरुमा
यदि उसले खराब मान्छेका
गीतहरु नगाएको भए
म यो गीत किन गाउँथें ?
तर सहरका चोकहरुमा
बैठकका भित्ताहरुमा
बस्तीका सिरानहरुमा
मान्छे खाने मान्छेका गीतहरु लेखिए
तस्बिरहरु टाँगिए
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरु
प्रिय मान्छेका गीतहरु
०००

WhatsApp Image 2025 07 26 at 10.33.58 061cdfd4

यात्राको एउटा दृश्य

हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरु
टुकुचाको पानी पिउँदै पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरुकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

बितेका केही वर्ष
गद्दारीको बाली राम्रैसित फल्यो
बाली भित्र्याउनेहरु
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरु भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेलिएर
हिजोका मेरा सहयात्रीहरु
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्

गत वर्ष
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरुले भखैरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भ¥याङ चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक
उनीहरुकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।

मलाई अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको पैसामा साट्न
पसल थापिरहेका हिजोका नातेदारहरु
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ

मलाई अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरु
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक
उनीहरुकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं
०००

About the Author

One thought on “मातृका पोखरेलका दुई कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these