सर्वदा भाउजू र नानीहरू

WhatsApp Image 2026 09 13 at 6.50.08 PM

खेतका धानहरू लहलहाइरहेका छन्
कुलोमा पानी बगिरहेछ
गोधूलि उठिरहेछ
धर्ती रक्तिम देखिरहेछ
कोइली ‘कुहु’ काटिरहेछ
चराहरु बयलिरहेका छन्
फूलहरु मुस्कुराइरहेछ
र सर्वदा भाउजूका नानीहरू
आँगनमा गाउँदै खेलिरहेका छन्

शशी, के तपाईंले
ती गीतहरू सुन्नुभएको छ ?
जुन गीतहरू ती साना नानीहरूलाई तपाईंले नै
गाउन सिकाउनु भएको थियो
हो, त्यही पाँचौं वसन्तको गीत गाउँदै
सर्वदाका नानीहरू अहिले आफ्नो हराएको बाबुको
सपनाहरु खोजिरहेका छन्

सन्ध्या झरिरहेछ
गोठालाहरू गाईवस्तु उकालो लगाइरहेका छन्
बेसी झरेकाहरू मेलाबाट फर्किरहेका छन्
झ्याउँकीरीहरु एकनास कराइरहेछन्
भोकले पेट सुर्किनु परेका केटाकेटीहरु
गाउँभन्दा केहीपर
एउटा डिलबाट आँखा तानेर
आमाका छायाँहरू खोजिरहेका छन्
र कराइरहेका छन्– ‘ए आमा हो …..’

तलबाट व्यथित
प्रत्युत्तर आइरहेछ– ‘उई…..‘
त्यसपछि केटाकेटीका आँखाहरू
आश्वस्त देखिन्छन्

सर्वदा भाउजू
भर्खरै घाँसको भारी बिसाएर
पिँढीमा सुस्ताइरहेकी छिन्
र मेलाबाट ल्याएको अर्नी
नानीहरूलाई बाँडिदिएकी छिन्
कुखुराका चल्लाहरू
आँगनमा चारो टिपिरहेछन्
टाँडमा परेवाहरू घुरिरहेछन्
र, घरीघरी सर्वदा भाउजूको छेवैनिर पुगेर
बाख्राका पाठाहरू उफ्रँदै खेलिरहेछन्

सर्वदा भाउजू दैलो उघार्छिन्
पानीको एक थोपो छैन
गाग्री रित्तो छ
आगो जोर्नु छ
र, नानीहरूलाई जाउलो बसाल्नु छ
शशी, सधैंभन्दा छिटो
हो, अलि छिटो आज सर्वदा भाउजूलाई
यी सब कामहरू गरिसक्नु छ
र बेलुकीको पार्टीको बैठकमा
उपस्थित हुन पुगिसक्नु छ

मधुरो उज्यालो फैलिरहेछ
र, उज्यालोमा मुठ्ठीहरू कस्सिएर
उठिरहेका छन्
आँखाहरू मौन छन्
र गम्भीरतापूर्वक चम्किरहेका छन्
र, सर्वदा भाउजू बैठकको
सुरू गरिरहेकी छिन्

शशी, के तपाईंले
फेरि पनि ती मौन आँखाहरूलाई
पढिरहनु भएको छ ?
त्यहाँ अझै कति आँधीहरू
उठिरहेका छन् ।

जनादेश, २०५६

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these