‘नमस्कार ।’
झल्याक्क फेसबुक म्यासेन्जरमा पुरु लम्साल देखिए । म्यासेज बक्समा पुगें । पुरु लम्सालको म्यासेन्जरमा हरियो बत्तीको उपस्थिति देखियो ।
‘सर नमस्कार ।’ प्रतिउत्तरमा लेखेर पठाएँ ।
‘आराम ?’ उताबाट प्रतिक्रिया आयो ।
‘ठिक छु सर । तपाईंको ?’ किबोर्डमा इन्टर हानें । म्यासेन्जरले लेखेको कुरा उता पठायो ।
‘आराम छु ।’ उताको जवाफ आयो ।
फोनको कुराकानी होस् वा फेसबुक म्यासेन्जरमा साथीहरुसँग हुने यस्ता च्याटिङहरुले उहाँहरुको समयलाई बेवास्ता गरेर म लामो समय कुराकानीमा बस्दिनँ । कहिलेकाहीँ काम विशेष भए म्यासेज छोड्छु वा छोटो कुराकानीमा समाचार सम्प्रेषण गर्छु । यो मेरो सायद दुर्बलता र कमजोरी दुवै हुनसक्छ । त्यसैले मलाई नजिकैबाट माया गर्ने धेरै साथीहरुको एउटा आक्षेप हुन्छ, ‘तँ साथीहरुको सम्पर्कबाट सधैं टाढा रहन्छस् ।’
म हाँस्छु फिस्स ।
कम्तिमा पनि मलाई यसैगरी माया गर्ने साथीहरु छन् । यही शुभेच्छाले मलाई उहाँहरुसँग कतै न कतै बाँधिरहेका हुन्छन् । कहिलेकाहीँ कार्यक्रमहरुमा भेट हुँदा आत्मीयताले पोखिन्छु । मनमा एक किसिमको आलोक उठ्छ । आँखाहरु तरङ्गिन्छन् खुसीले । अन्तरङ्ग बनिदिन्छ छोटै भेट पनि ।
‘यस्तै कार्यक्रमहरुमा त हो नि भेट हुने ।’ भेटघाटमा साथीहरु भन्छन् ।
उताबाट च्याटिङमा केही टाइप हुँदै गरेको सङ्केत थियो, पुरुजीको म्यासेन्जरको हरियो बत्ती हरायो । च्याटिङलाई छाडेर म आफ्नो कम्युटरको पूर्ववत कार्यमा फर्किएँ ।
‘आकाशजीको फोन थियो ।’ म्यासेजसहित पुरुजीको म्यासेज बक्समा हरियो बत्ती पिलिक्क बल्यो ।
‘केही कुराकानी ?’ सोधें ।
‘कार्यक्रमको तयारीको बारेमा केही छलफल भयो ।’ लेख्नुभयो ।
मेरो मोबाइलको घण्टी बज्यो । आकाश अधिकारीको फोन थियो । पुरुजीसँगको च्याटिङबाट छुटें र मोबाइलको फोन संवादमा आकाशजीसँग जुटें । आकाशजी ग्वालियर जाने तनहुँका हामी केही साथीहरुलाई दमौलीबाट संयोजन गरिरहनु भएको थियोे । भर्खरै पुरु लम्सालसँग फोनमा भएको कुराकानी सुनाउनु भयो ।
‘तनहुँबाट तपाईं, दिवाकार र म, तीन जना जाने भयौं । काठमाण्डौबाट पुरुसहित आदिइत्यादिका चार जना साथीहरु हुनुहुन्छ । सात जना जाने कुरा भएको छ ।’ आकाशजी सुनाउँदै हुनुहुन्थ्यो ।
‘ठीक छ, सम्पर्क र संवादमा रहँदै गरौं । अब जाने कुरो भएपछि तयारी पनि गर्दै गर्नु प¥यो । बाटोको खर्चपर्च पनि त जुटाउनु प¥यो ।’ भनें ।
०००
केही दिनअघिको कुरा ।
‘तपाईं ग्लालियर जाने ?’ आकाशजीको यो अपर्झटको सोधाइ थियो मोबाइल फोनमा । एकछिन चकमन्न भएँ । बेलाबेलामा उहाँको जिस्किरहने व्यर्थ बानीले उहाँसँग विश्वस्त हुन गाह्रो ।
‘काठमाण्डौबाट पुरुजीको आदिइत्यादि नाट्य टिम ग्वालियर जाँदै छन् । तनहुँबाट जाने साथीहरुको नाम कन्फर्म गराउनु पर्ने भयो । मैले तपाईं र मेरो नाम दिएको छु । दिवाकरसँग कुरा भएको छ । उनको अफिसमा बिदा मिलाउनु पर्ने भएकोले जाने नजाने केही दिनमा निर्णय दिन्छु भनेको छ ।’ उहाँले भन्नुभयो ।
ग्वालियरको नामले मलाई लालायित बनायो । अरु कुनै ठाउँको कार्यक्रम भए जान्न भनिदिने थिएँ । झट्ट झाँसीकी रानी सम्झिएँ । मोदनाथ प्रश्रितको ऐतिहासिक उपन्यास देशभक्त लक्ष्मीबाई धेरै पहिले पढेको हुँ । उपन्यासमा ग्वालियरमा अँग्रेजहरुसँग लक्ष्मीबाईले लडेको वीरतापूर्ण र साहसिक लडाइँको उल्लेख छ ।
‘अँग्रेजहरुले आफ्ना जासुसहरुको माध्यमबाट ग्वालियरको यथार्थस्थिति बुझिसकेका थिए । त्यसैले उनीहरुले रानीले संभालेको मोर्चातिर नै सबभन्दा बढी शक्ति केन्द्रित गरे । उनीहरुलाई पक्का विश्वास थियो .. रानीको मोर्चालाई गिराउनासाथ ग्वालियरको पतन निश्चित छ । त्यसैले रावसाहबका दस्ता खटिएका मोर्चाहरुमा तर्साएर मात्र भगाउन सक्नेगरी स–साना सैनिक टोली र दुई–दुईवटा तोप मात्र पठाए ।
रानीले शहरको पूर्वी मोर्चा सम्हालेकी थिइन् । सबभन्दा पहिले तगडा हानाहान पूर्वी मोर्चाबाटै शुरु भयो । रानीसँग मुन्दर, रघुनाथ सिंह, रामचन्द्र देशमुख, जुही र गुलमुहम्मद पाँच जना कुशल निशानेबाजहरु थिए । थोरैबेर मात्र तोप चलाचल भएपछि अँग्रेजी सेना पछाडि हट्न मजबुर भयो । रानीले पनि आफ्नो सेनालाई छापा मार्ने आदेश दिइन् । रानीको सैनिक दस्ता जसै अगाडि बढेको थियो ब्रिगेडियर स्मिथले पनि बडो चलाखीसाथ एकछिन भागेर रानीको दस्तालाई अगाडि बढ्न दिए । जसै रानीले मोर्चा कसेको ठाउँ खाली भयो होला भन्ने उनले ठाने, दुईतिरबाट आफ्नो दस्तालाई पछाडि फर्काइ तीनतिरबाट रानीलाई घेर्ने प्रयास गरे । रानीको मोर्चामा एउटा दस्ता लिएर जुही र गुलमुहम्मद सतर्कतासाथ डटेका थिए । त्यसैले अँग्रेजी दस्ताले त्यो ठाउँ ओगट्न सकेन । तैपनि रानीमाथि तीनतिरबाट प्रहार शुरु भयो । अब लर्तरो उपायले काम थिएन, युद्धले घमासान रुप लियो । थोरैबेर मात्र तोप र बन्दुक चले तर तोप र बन्दुकले तीनतिर मुकाबिला गर्नु संभव थिएन । रानीले स्मिथको चलाखी बुझिहालिन् र आफ्ना सैनिकहरुलाई तरबारको युद्ध लडेर बाटो तयार पारी पछाडि आफ्नै मोर्चामा फर्कने संकेत दिइन् । रानीले घोडाको लगाम दाँतले टोकिन् र दुवै हातले तरबार फन्काउँदै आफ्नो मोर्चातिर बढिन् । चारैतिर तरबारका झन्झनाहटहरुले वातावरण भयंकर भयो । धारिला तरबारका मारले उछिट्टिएका टाउकाहरु भकुण्डो झैं उफ्रिन थाले । भारतीय कल्छौंदाहरुको र विलायती गोराहरुको उस्तै रंगको रातो रगत एउटै खोलो भएर बग्यो । मान्छेका ताता रगतको मत्याट लाग्दो गन्धले सैनिकहरुको लडाकु उन्माद झन् तीब्र भएर बढ्न थाल्यो ।
मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीबाई (झाँसीकी रानी) उपन्यासको युद्ध वर्णित यी दृश्यहरु मेरो आँखाअघि अझै उस्तै थियो । त्यसैले पनि ग्वालियरले मलाई लोभ्यायो । बेलायती साम्राज्यवादले भारतीय गणराज्यहरुलाई युद्धले निलिरहेको बेला सन् १८५७ मा भारतीय मुक्ति संग्रामको नेतृत्व गर्दै जसरी झाँसीकी महारानी लक्ष्मीबाईले अँग्रेजहरुको विरुद्ध युद्धको मोर्चा सम्हालिन् र जसरी उनले ग्लालियरमा साहसपूर्ण लडाइँ लडिन् त्यो भारतीय महाद्धीपमै बेलायती साम्राज्यवाद र अँग्रेजी सेनाहरु विरुद्धको अद्वितीय युद्ध रह्यो । र, यस युद्धले लक्ष्मीबाईलाई एक वीराङगना र अद्धितीय महिलाको रुपमा इतिहासमा अंकित गरायो ।
धेरै अघि भारतीय प्रसिद्ध लेखिका महाश्वेता देवीको हिन्दीमा अनुवाद (अनुः डा. रामशंकर द्विवेदी) रहेको ‘झाँसी की रानी’ उपन्यासले मेरो मनमा छाडेको प्रभाव र यतिबेला आकाशजीको ग्वालियर जाने यो अप्रत्यासित प्रस्तावले मेरो मनलाई तरङ्गित बनाइरह्यो । मनमा झाँसीको त्यो ऐतिहासिक भूमिलाई टेक्ने लालसा उठ्यो । घोडसवारमा रहेर दुवै हातले तलबार उठाउँदै शत्रुसँग लडिरहेको लक्ष्मीबाई(मनिकर्णिका) को त्यो अद्वितीय चित्र मेरो आँखाअघि खेल्यो । दशकौंअघि पढिसकेको यी दुवै किताबलाई आफ्नो पुस्तकालयबाट निकालें र फेरि स्पर्श गरें । आनन्द लाग्यो ।
…. सन् १८५७ । अंग्रेजी शासन के विरुद्ध भारतवासियों के पहले स्वतःस्फूर्त विद्रोहका वर्ष । उस विद्रोह के दिन सबसे आगे की पंक्ति में खडे होकर जिस वीरांगना नारी ने प्राण दिए थे वही है झाँसी की रानी ।’
महाश्वेता देवीले लेखेका यी शब्दका पङ्क्तिहरुलाई फेरि एकपल्ट दोहो¥याएँ ।
‘मलाई कार्यक्रमको डिटेल दिनु न ।’ मैले आकाशजीलाई भनें ।
‘पुरुले तपाईंलाई फोन गर्छ ।’ उहाँले भन्नुभयो ।
०००
भोलिपल्ट पुरुजीले फोन गर्नुभयो फेसबुक म्यासेन्जरबाट । भारतको ग्वालियरमा हुने प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवबारे उहाँले धेरै कुराहरु जानकारी दिनुभयो । उद्भव सांस्कृतिक एवं क्रीडा संस्थान र अखिल भारतीय साहित्य परिषद्को आयोजनामा २०२२ अगस्त २७ देखि ३० सम्म ग्वालियरमा प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवमा आदिइत्यादि नाट्य समूहले नेपालबाट सहभागी हुने लेखकहरुको संयोजन गर्दैछ । नेपालबाट सात जना नेपाली लेखकहरु ग्वालियर साहित्य उत्सवमा सहभागी हुनेछन् । नेपालको तर्फबाट टिम संयोजक पुरु लम्सालले कार्यपत्र प्रस्तुत गर्नेछ ।
‘पुरुजी, म त्यो वीरताको गाथाले भरिएको ग्वालियरको भूमि हेर्न निकै उत्सुक छु । यो सुन्दर अवसरको लागि तपाईं र तपाईंको आदिइत्यादिलाई धेरै धेरै धन्यवाद दिन्छु ।’ हार्दिकतापूर्वक भनें ।
‘यो त मेरो पनि खुसीको कुरा हो सर ।’ भन्नुभयो ।
ग्वालियर यात्राबारे पुरुजीसँगको कुराकानीले मन फेरि फुरुङ्ग बन्यो । आदिइत्यादि नेपाली भाषा, कला, साहित्य, संस्कृति र नाटकको क्षेत्रमा क्रियाशील रहँदै आइरहेको एक नाट्य समूह हो । यसको अध्यक्ष पुरु लम्साल हुनुहुन्छ । सुशीलसिंह ठकुरी, रीता थापा, अस्मिता बयलकोटी, विमला अधिकारी, डा. अशोक थापा, जयराम तिमल्सिना, उदय रजान मगर, अनन्तप्रकाश श्रेष्ठले यस संस्थालाई जीवन्त बनाएर अघि बढाउनु भएको छ । नेपाल, भारत र बंगलादेशका विभिन्न सहरहरुमा आदिइत्यादिले थुप्रै नाटकहरु प्रर्दशनी गरिसकेको छ ।
मनमा एउटा बेग्लै उत्साह खेलिरहेको थियो । हिँड्नु पर्ने दिन थियो २०७९ भाद्र ९ गते । हामी कार्यक्रममा सहभागी हुने साथीहरुको बायोडाटासहितको ब्रोसर, ब्यानर र परिचयपत्र कार्ड पुरुजीले काठमाडौंमा तयार गरिसक्नुभएको थियो । ग्वालियर जाने सहभागीहरुमा काठमाण्डौंबाट पुरु लम्साल, ओमकुमारी बञ्जारा, उषा के. सी., जानकी कुँवर र तनहुँबाट अनिल श्रेष्ठ, आकाश अधिकारी र दिवाकर भट्टराई थियौं । केही दिनपछि आयोजक संस्था उद्भव साहित्यिक मञ्च, ग्वालियरले आमन्त्रण गरेर पठाएको पत्र पुरुजीको म्यासेन्जर बक्सबाट टुप्लुक्क देखा प¥यो ।
Mr. Anil Shrestha
Senior Writer
Tanahun, Nepal
Sub: Invitation for “Antarrasthtriya Gwalior Sahitya utsav-2022”
Dear Sir
Udbhav is a leading organization raising and representing Indian flag and culture at various international stages. Udbhav was established in the year 1997 under the inspiration and guidance of Former Union Minister Late H.H. Madhav Rao Scindia. At present, activities of this organization are being conducted under the patronage of Union Minister Of Civil Aviation and Steel H.H. Jyotiraditya Scindia.
More than a decade now, we are organizing an international dance festival udbhav utsav in the heart of incredible India, Gwalior (Madhya Pradesh). H.E. Samarguil Adamkulova(Ambassador of the Kyrgyzs republic to the Republic of India)(2017), H.E. Mr Farhod Arziev(Ambassador of the Uzbekistan to India)(2018) and H.E. Mr Sulton Rahimzodha(Ambassador of the Tazikistan to India)(2019) has graced the udbhav utsav in previous years.
We are organizing “Antarrasthtriya Gwalior Sahitya utsav-2022” from 27th to 30th August 2022 in the historical, literary and musical city Gwalior-India. We would like to invite you to represent Nepal in this festival. You will have to present a speech of 5-10 minutes on a specific subject givan by us and you can present your work in few minutes. Your arrival will be on 27th morning and departure will be on 31st morning.
We will provide accommodation and 3 meal a day. We would be indebted to you if you give us this special chance to receive some valuable idea and guidance from you. We will be waiting for your positive response.
Thank you very much.
With regards,
DR KESHAV PANDEY
Presedent
SHRIDHAR PARADKAR
Festival chief patron
DEEPAK TOMAR
Secretary
आमन्त्रण पत्र प्राप्तिको खुसी एकातिर छँदै थियो, मनमा उठिरहेका खुल्दुलीहरु उस्तै थिए । मुलुकबाहिर अन्तर्राष्ट्रिय रुपमा हुन गइरहेको यति ठूलो साहित्यिक उत्सवमा सहभागी हुने यो अवसरले पनि म रोमाञ्चित थिएँ । मनमा एउटा उद्वेग थियो । सधैं यात्रामा रमाउने मन, एउटा ऐतिहासिक र सांस्कृतिक महत्व लिएर भारतको प्रसिद्ध शहरको परिचय बोकेको ग्वालियरको यो साहित्यिक यात्राका लागि मन त्यसै त्यसै तम्तयार थियो ।
‘काठमाडौंबाट हामी दुईजना भोलि बेलुकी हिँड्नेछौं । दुईजना साथीहरु पर्सि बिहान प्लेनबाट धनगढी आउनु हुनेछ । उहाँहरुसँग धनगढीमै भेट्नेछौं । तपाईंहरु मुग्लीङमा हामीलाई पर्खनु होला । आकाशजीसँग पनि कुरा भएको छ ।’ हिँड्नु अघिल्लो दिन साँझ पुरुजीले फोन सम्पर्कमा भन्नुभयो ।
०००
‘अनिलजी, दौरा, सुरुवाल र ढाकाको टोपी छ भने राख्न नछुटाउनु होला । विदेशतिरका कार्यक्रमहरुमा यी कपडाहरुले नेपालीको अलग पहिचान दिन्छ ।’ हिँड्ने दिन बिहान यात्राका सामलतुमल कसेर ठिक्क बनाइसकेपछि पुरु लम्सालले फोन गर्नुभयो ।
म कहिल्यै दौरा सुरुवाल लगाएर हिँड्ने मान्छे भए पो ! अब कहाँ यतिबेला दौरा सुरुवाल खोजेर हिँड्नु । कहाँ गएर सिलाउनु ! कुन आफन्तसँग होला र ! सोध्नु । एकछिन अलमलिएँ ।
‘दौरा सुरुवाल चाहिने नै हो ? मसँग त छैन । के गर्ने ?’ फोन गरेरै पुरुजीसँग सोधें ।
‘भयो भने राम्रो । रेडिमेड पनि पाइन्छ किन्न । टेलरिङ पसलहरु छैन ? सोध्नु त । उनीहरुले पनि बेच्न राख्छन् ।’ पुरुजीले सुझाउनु भयो ।
फोन राखेर टेलरिङको एकाध पसलहरु चहारें । एक ठाउँमा रैछ । जेनतेनले मेरो जिउमा मिल्ने एउटाको साइज मिल्यो ।
‘उतिसारो राम्रो कपडा त होइन । दाइलाई अहिलेलाई काम चल्ला ।’ साजन टेलरिङका गान्धी भाइले भने – ‘तपाईलाई सधैं चाहिने नै भएपछि अलि राम्रो कपडाको सिलाएर राखिराख्नु ।’
‘कति प¥यो ? भाउ सोधें ।
‘चौबिस हो । दिनु न बाइस ।’
‘चौबिस रुपैया ?’
‘भइहाल्छ नि, दाइलाई ।’ गान्धी मुसुक्क हाँस्यो । बिहानै पर्सबाट बाइस सय झिकेर उसलाई त्वं शरणम गरें र हिँडेँ । बाटोको एउटा समस्या सुल्झ्यो ।
दिउँसो ३ बजे आकाश अधिकारी र दिवाकर भट्टराई माइक्रोबाट खलासीसँग गलफती गर्दै आँबुखैरेनी चोकमा ओर्लिए । उनीहरुलाई पर्खदैं म चोकको सडकको छेउ उभिइरहेको थिए ।
‘के भो ?’ सोधें
‘माइक्रोवालाहरुको मनलाग्दी नि दाजु ।’ दिवाकार हाँसे ।
गाडीबाट दुईजना ओर्लिएपछि खलासी अलमलियो ।
‘बस्नु न दाजुहरु भाडा मिलाएर दिनु ।’ खलासी भन्दै थिए ।
‘तिम्रा गाडीमा अब यहाँबाट उता गइन्न । अर्को गाडी कुरेर बसिन्छ र गइन्छ बाबु ।’ आकाशजीले खलासीलाई घुक्र्याए । गाडीको यात्राको रमाइलो हो यो पनि । माइक्रो हिँडेपछि हामी तिनै जना सडकबाट किनारा लाग्यौं र नजिकैको शुभकामना होटलभित्र खाजा खान पस्यौं । एकाध घण्टा हामीले आँबुखैरेनीमै बिताउनु थियो ।
०००
मुग्लीङ पुग्दा बेलुकीको ६ बज्दै थियो । काठमाडौंबाट पुरु लम्सालसहितको साथीहरु आउनुभएको रात्री बसलाई पर्खनु थियो । निद्रालाई आँखामा च्यापेर हामी मुग्लीङ बजारको चोकमा टहलिरह्यौं । झण्डै साढे नौ बजे हामी उभिएको सडकको किनारमा आएर रोकिएको खप्तड एयर बसको ढोकानिर उभिएर पुरु लम्सालले हात हल्लाए । हामीले बस चढ्यौं । अघिल्तिरको सिट थियो । सजिलो भयो । रातिको ११ः४५ बजे देवदहको आँधीखोला होटलमा बसले खाना खानको लागि यात्रुहरुलाई ओराल्यो । खानाको प्याकेजसहितको टिकट रैछ । झरररर … अँध्यारोमा एक्कासि भदौको आकाशे पानीले हिर्कायो । गाडीबाट ओर्लिएकाहरुलाई पानीले लखेट्यो । पानीले एकैछिन पनि बाहिर टहल्न दिएन । ओत लाग्न हामी होटलभित्र छि¥यौं । होटलभित्र मान्छेको कोलाहल र गर्मीको तातो वाफ उस्तै थियो ।
बस हिँडेपछि कति प्रयत्न गर्दा पनि निदाउन सकिनँ । रातिको यात्रामा गाडीमा हतपती निद्रा लाग्दैन । रातभरिको यात्रा अनिदोमै बित्यो । पर्दा तानेर झ्याल बाहिर हेरें । अँध्यारो हराउँदै थियो र उज्यालो पोखिँदै थियो ।
घडी हेरें । चार बज्दै थियो ।
०००